२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

विद्युतकर्मी साहित्यिक समाजले सम्झियो सिंहको साहित्यिक योगदान

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले सो संस्थाका पूर्व अध्यक्ष विष्णुबहादुर सिंहको साहित्यिक योगदानको कदर गर्दै उनको जन्म दिनको अवसरमा ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम सञ्चालन गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ को अध्यक्षता तथा  शिवपुरी साहित्यिक समाजका अध्यक्ष विष्णुबहादुर सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

उक्त कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू: कुलप्रसाद पराजुली, केशवप्रसाद रुपाखेती, वीरेन्द्र पाठक, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’, शिवपुरी साहित्यिक समाजका पूर्व अध्यक्ष वियोगी बुढाथोकी, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल तथा साहित्य अनुरागीहरू: अच्युत अधिकारी र कृष्ण पौडेलले विष्णुबहादुर सिंहको साहित्यिक र गैरसाहित्यिक योगदान सम्झिदै उनको जीवनी, व्यक्तित्व र कृतित्वका साथै उनीसँगको साहित्यिक सहयात्रा र नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न उनले खेलेको भूमिकाबारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

सो अवसरमा विद्युतकर्मी साहित्यिक समाज सातौं कार्यसमितिका पदाधिकारीहरूले सिंहका विभिन्न विधाका साहित्यिक पुस्तकहरूको समीक्षा गरेका थिए। यस क्रममा  विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले ‘सम्झनामा रुस’, उपाध्यक्ष  शारदा भट्टराई पोखरेलले ‘सीसाको घर’ विम्बकवितासंग्रह, सचिव विष्णु आचार्य ‘अतृप्त’ ले सिंहकै डोडोइट्ससंग्रह ‘समयको सुस्केरा’, कोषाध्यक्ष  मुकुन्दप्रसाद प्रसाईंले ‘चुपचाप’ कवितासंग्रहबारे समालोचकीय धारणा राखेका थिए।

त्यस्तै साहित्यिक समाजका पूर्व कार्यसमिति सदस्य यादवराज घलेले उनको हाइकुसंग्रह ‘मौन बतास’को सक्षिप्त परिचर्चा गरेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि सिंहले हालसम्म साहित्यका बहुविधामा कलम चलाइसकेको भए पनि अब नियात्रा लेखनमा केन्द्रीकृत हुने बताएका थिए। आफ्ना कृतिकाे भावार्थ सुन्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमले आफूमा लेखकीय ऊर्जा थपेको उनले बताए।

उक्त समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले ‘तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौं’ भन्ने आशय सहित ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक अभियान थालिएको बताए।

यसअघि ‘तीन तियाँ’,‘गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’  ‘लेखन प्रशिक्षण कार्यशाला’, ‘स्रष्टा सम्मान’, ‘पर्यटन साहित्य प्रवर्द्धन’ लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम संचालन गरिसकेकाले पृथक धारको कार्यक्रम खोज्ने सिलसिलामा यस्तो स्वरूपको कार्यक्रम गर्ने अवधारणाको विकास हुन गई यस प्रकृतिको कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले बताए।

 सिंहका कविता, कथा, हाइकु, तांका, गीत, गजल,चोका, नियात्रा, सिजो, डोडोइट्सु आदि विधाका गरी झन्डै ३ दर्जन पुस्तक प्रकाशित छन्। सिर्जना, सम्पादन र अनुवादमा समेत उनी निरन्तर क्रियाशील रहँदै आएका छन्। उनी नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक समेत हुन्।

प्रकाशित: १० भाद्र २०८० ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App