९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

रहस्यमयी मिसर

पुस्तक

जन्म पो उत्सव हो, जीवन रहे पो सबैथोक छ। यही मान्यताबाट हुर्केकी म जब मिश्रवासीको मृत्यु उत्सवले रचेको इतिहास पढ्दै गएँ, अवाक् भएँ। कस्तो खालको सोच थियो होला आखिर फेरोहरूको?

वर्तमानमा बाँच्नुपर्छ किनकि वर्तमान समय नै सत्य हो। जे छ वर्तमान समयमा मात्र उपलब्ध छ। भूत अतीतको छाया हो। भविष्य भोलिको कल्पना मात्र हो। जे गर्न सकिन्छ वर्तमान समयमा नै गर्न सकिन्छ। भूत बितिसक्यो, त्यो अब आउँदैन। भविष्य अनिश्चित छ। भविष्यलाई कसैले देखेको छैन। हाम्रासामु जब भविष्य आउँछ, त्यो पनि वर्तमान भएर मात्र आउँछ। त्यसैले भविष्य त फगत माया हो, भ्रम हो। भूतको चिन्ताले हामीलाई कमजोर मात्र होइन, अशक्त नै पार्छ। भविष्यको पिरले मान्छेलाई अवसाद र विषादमा पुर्‍याउँछ। त्यसकारण हामीले वर्तमान समयलाई नै सर्वाधिक महत्त्व दिनुपर्छ।

जब मैले मिसर पढ्न सुरु गरें, मेरो मस्तिष्कमा भएका यी सिद्धान्त फनफनी घुम्न थाले। आखिर सत्य के हो? हामीले कुन काललाई महत्त्व दिने? काल महत्त्वपूर्ण कि काम? यहाँ वर्तमानको कुरा परै छोडिदिऊँ, सुन्दर र सुरक्षित भविष्यलाई पनि अझ पर घचेटिदिऊँ। यहाँ त मृत्युपछिको भयङ्कर योजना छ, मृत्युपछिको कल्पना छ, मृत्युपछिको संसार छ। सुविधायुक्त भविष्य निर्माणका खातिर वर्तमान समयलाई नजरअन्दाज गरेको मिश्रको इतिहास हामी सबैसामु चिरपरिचित छ।

मिश्रका राजाहरूले वर्तमान समयलाई कति महत्त्व दिएर बाँचे होलान्? कल्पना गर्नुस् त? जीवनभरि मृत्युको तयारी गर्दै ठिक्क भयो बिचरा फेरोहरूलाई।

जन्म पो उत्सव हो, जीवन रहे पो सबैथोक छ। यही मान्यताबाट हुर्केकी म जब मिश्रवासीको मृत्यु उत्सवले रचेको इतिहास पढ्दै गएँ, अवाक् भएँ। कस्तो खालको सोच थियो होला आखिर फेरोहरूको?

कालभन्दा माथि आखिर के रहेछ त? म सोचमग्न हुन थालें। मिसर पढ्दै गर्दा आजको इजिप्टलाई जब सम्झिएँ, म अलमलमा परें। नाइल नदीको स्वरूपमा गोता लगाएँ। क्रुजमा मैले पनि सफर गरें। मरुभूमिमा ठडिएका संरचनाहरूको आकार नापें। बारम्बार सोच्न विवश भएँ, हिजो फेरोहरूले भविष्यको चिन्ता यदि नगरेका भए के आज मैले इल्या भटराईले लेखेको मिसर पढ्न पाउँथें र?

मिसर पढेपछि म सोच्न बाध्य भएकी छु। अहो ! कुनै पनि काम कुन समयका लागि गर्ने भन्दा पनि कति लगनशील भएर, कति इमानदारीका साथ कामलाई सम्पन्न गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुने रहेछ। कालभन्दा माथि त कर्म पो रहेछ। मान्छेको कर्मले नै मान्छेलाई अमर बनाउने रहेछ। शासकले पनि दृढ संकल्प र पागलपनका साथ कुनै पनि कर्म गर्ने हो भने इतिहास रचिँदोरहेछ। फेरोहरूले मृत्युपछिको चिन्ता नगरेर वर्तमान जीवनलाई मात्र ध्यान दिएका भए आज मिश्र भन्ने देशको यो इतिहास हुने थियो त?

मृत्युपछिको जीवनको चिन्ता आखिर कस्तो किसिमको चिन्ता थियो? म छक्क मात्र होइन, तीनछक्क परेकी थिएँ। अनि झट्ट गीता ज्ञानलाई सम्झिएँ–‘जे हुन्छ राम्राकै लागि हुन्छ।’ मिश्रवासीले जन्मलाई भन्दा बढी मृत्युलाई महत्त्वपूर्ण ठाने र इतिहास रचे। मृत्युपछिका लागि फेरोहरूले गरेको लगानी आखिर खेर गएन। संसारभर आज पिरामिडको देश भनेर मिश्र सुपरिचित छ।

इल्या भटराई पनि तिनै पिरामिडको देश हेर्न बाह्र दिनको भ्रमणमा जाँदा यो कृतिले जन्म लिन पुग्यो। हामी नेपालीहरू त्यो पनि आमाछोरी तिनै फेरोहरूले रचेको इतिहास हेर्न नेपालदेखि मिश्र जान सफल भएकामा निकै खुसी पनि लाग्यो। पिरामिडको देश मिश्रलाई नै मिसर भनिँदो रहेछ भन्ने ज्ञान पनि इल्या भटराईको कृति पढेपछि मात्र थाहा पाएँ। मलाई पनि मिश्रभन्दा मिसर शब्दले नै मोहनी लगायो। मिसरवासी पनि खुसी हुन्छन् रे मिश्रलाई मिसरभन्दा।

इल्या भट्टराई आफू मात्र मिसर घुमेर आनन्द लिइनन्, मिसर पुगेर त्यहाँका चौतर्फी पाटालाई नियालेर हेरिन् अनि आफूले देखेका, अनुभव गरेका कुरा, त्यहाँ घुम्दा घटेका घटनालाई नियात्राको मिठो शैलीको कसीमा बाँधेर आफ्ना कलात्मक शब्दका जादूले मिसरलाई चित्रात्मक पार्न सफल भएकी छन्। मिसर पढ्दै जाँदा नियात्राभन्दा पनि उपन्यास त पढ्दै छैन भन्ने भान पनि बेलाबेलामा नआएको होइन।

आफूले देखेको मिसरको भूगोल, इतिहास, राजनीति, शासकहरूको सोच, ममीहरूको इतिहास, रानीहरूको वैभव, मिश्रको सभ्यता र संस्कृतिलाई हृदयका आँखाले सिँगारेकोजस्तो प्रतीत हुन्छ।

संसारभर निकै लोकप्रिय मिसरको इतिहासलाई उतारेर पुस्तक तयार हुँनु मिसरको उल्लेख्य पक्ष हो। मिसरको भाषा निकै सरल, सरस र सुबोध्य छ। पुस्तकले पाठकलाई लगातार तानिरहन्छ। कुनै पनि ठाउँ घुम्न त सजिलै होला तर त्यहाँ गएर, त्यहाँ डुबेर, त्यहीं पसेर त्यहाँका बारेमा यति मजाले लेख्न सक्नु प्रशंसायोग्य कुरा हो।

मिसरले मलाई खोज र अनुसन्धान गर्न सिकायो। ज्ञानको भोक जगाउने दबाई हो मिसर। मिसरको रहस्यमयी इतिहास भुल्न लागेकी रहेछु तर कृतिले मिश्रको इतिहास जान्ने उत्सुकता जगाइदियो।

‘पिरामिडको परिकल्पना कसले गर्‍यो होला? ती भीमकाय पत्थर कसले उठाए होलान्? त्यति ठुला पत्थर कसरी त्यति माथिसम्म पुग्यो होला? कि जादुले गर्‍ यो या तन्त्रमन्त्रले गर्‍यो? कि त्यो असम्भव कार्य सम्पन्न गर्न अन्तरिक्षबाट एलिएनहरू आए? प्रविधि नभएको युगमा कसरी त्यस्तो गर्नै नसकिने काम गरे होलान्? समय, सम्पत्ति र श्रम कति खर्च गरे होलान्? मेरो गिदी त थिलथिलो भयो यस्तो सोच्दासोच्दै। ‘त्यसैले त मिश्र संसारको आश्चर्यजनक संरचना हो त लाटी!’ भन्दै आफैलाई प्याट्ट हिर्काएँ।

मिसरको इतिहास रच्न कति श्रमिकले ज्यान गुमाए होलान्, यकिन छैन। नियात्राकारलाई जस्तै मलाई पनि श्रमिकहरूको सत्यासत्य जानकारी जान्ने हुटहुटी जागेर आयो अनि ती अज्ञात श्रमिकलाई नमन गरें।

मिसर बढो रोचक, ज्ञानवर्धक, जानकारीमूलक हुनुका साथै गतिशील पनि छ। भटराईको शब्दको जहाज चढेर मिसर घुम्न चाहने पाठक सजिलै त्यहाँ पुग्न सक्छन्। मिसरको कला, संस्कृति, समाज, अर्थतन्त्रलाई पढेर कल्पना गर्न सक्छन्। कल्पना र सपनाले नै मान्छेलाई गन्तव्यमा पुर्‍याउँछ। मिसरभित्र विविधता छ।

बजार विनिमय, होटल व्यवसाय, पशुपालन, साहित्य, कला, इतिहास, समाज, रीतिरिवाज, परम्परा, वास्तुकला, इन्जिनियरिङ, भौतिक, पारभौतिक, वैज्ञानिक आदि पक्षलाई भटराईको कलमले छोएको छ। आमाछोरी मिसर भ्रमणमा जाँदाको नेपालदेखिकै सचित्र वर्णन जीवन्त छ। त्यसैले पाठकलाई पनि सँगसँगै गएको अनुभूति हुन्छ।

जीवित व्यक्तिले पासपोर्ट बनाएर विदेश गएको त हामी सबैलाई थाहा छ तर मृत व्यक्तिको पासपोर्ट बनाएर विदेश पठाएको, त्यो पनि औषधी उपचारका लागि भन्ने सुन्दा अचम्म र अपत्यारिलो लाग्यो। रामसेस द्वितीयकाे  मम्मीलाई  पेरिस पठाएको थियो।

मिसर पढ्दै जाँदा अचम्म अचम्मका प्रसंगहरूमा हराउन पाइन्छ। इजिप्टको आश्चर्य पार्ने कला, कौशल र इतिहास बुझ्न, पढ्न र हेर्न मिसरले उत्सुकता थपिदियो।

बाह्र दिनको इजिप्ट भ्रमणलाई नियात्राकारको कलमले न्याय गरेको छ। मिसर पढ्दै जाँदा नियात्राकारसँगसँगै पाठक पनि घुमेजस्तो लाग्छ।

‘मिसर’भित्र चौध शीर्षकमा यात्रा विवरणलाई सादृश्य प्रदान गरिएको छ। 

प्रकाशित: ९ भाद्र २०८० ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App