२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
कला

लोप हुँदै मादलको ताल

काठमाडौं- नेपालमा मात्र बजाइने मौलिक लोक बाजा मादलको ताल र बोल लोप हुँदै गएकामा संगीतकर्मी चिन्तित भएका छन्। मादल बजाउनेको कमी भएसँगै यसका लोकधून लोप हुन थालेकोमा संगीतविज्ञले चासो प्रकट गरे।

लोकस्रष्टा कल्याण शेरचनको ७१ औं जन्म जयन्तीको अवसरमा बिहीबार कल्याण शेरचन स्मृति प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले संयुक्त रूपमा आयोजना गरेको 'नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग' विषयक कार्यशालामा संगीतकर्मीले मादलका धून हराउँदै गएको बताएका हुन्।

कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै संगीतकर्मी प्रदीप बम्जनले मादल उत्पत्तिको ठोस प्रमाण नभेटिएको बताए। २०३१ सालमा काजी सिंहले लेखेको 'मादल' नामको पुस्तक र २०३९ सालमा लेखिएको अर्को पुस्तकमा मादलको बारेमा वृस्तसतरूपमा लेखिएको बताउँदै नेपाली संगीतमा यसको विशिष्ट स्थान रहेको बताए। 'संगीतमा प्रयोग हुनेमा मादलका झ्याउरे, ख्याली, सोरठीका ताल हुन्छन्,'  उनले भने, 'तर, गाउँघरमा यसको पहिचान भनेको ६ मात्रामा बज्ने फुर्तिलो र लोक तालको बाजा नै मादल हो।' यसका ताललाई उनले भारतखण्डे बाजाका खेम्टा र दादरासाग दाँज्दै मादल उनीहरूसँगै निकट रहेको बताए। उनले गाउँले जीवन जिउँदो राख्न पनि मादलको धून संरक्षण हुनुपर्नेमा जोड दिए। कार्यपत्रमा उनले उल्लेख गरे अनुसार विश्वभर २ सय वटा बाजा छन्। जसमध्ये १ सय ८ बाजामात्र प्रयोग भइरहेका छन्। आफूले गरेको अध्ययनमा नेपालमा भने करिब ३६ प्रकारका बाजाका प्रयोग भइरहेका छन्। उनको कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा वरिष्ठ मादल वादक नुच्छेमान डंगोलले मादलको छुट्टै लिपी तयार हुनुपर्ने आवश्यकता औंल्याए। लिपी  अभावमा जथाभावीका गुरुले जे जे सिकायो त्यही सिक्न नयाँ पुस्ता बाध्य भएको पनि उनले बताए। नेवारी समुदायले बजाउने बाजामा पनि मादलको ताल र बोल प्रशस्त रहेको बताउँदै उनले यस्ता लोकसांस्कृितक धूनको खोजी गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

अर्का टिप्पणीकार रामकृष्ण दुवालले मादल मगरजातिको पहिचानसँग जोडिएको बाजा रहेको बताए। तर, यसको तालबोलमा नेपालले स्वामित्व लिन नसके भविष्यमा अरु देशका मानिसले आफ्नो बनाउने जोखिम रहेको बताए।

मादलकै सुरतालमा नेपाल र मेची पारिका नेपाली मुलका धेरै संगीतकर्मीले उचाइ छुन पुगेको फिल्म निर्देशक तथा गीतकार चेतन कार्कीको धारणा थियो। उनले कार्यपत्रमा धेरै राम्रा कुराहरु आए पनि नेपालका हरेक भेगमा बज्ने मादलका फरक धूनको फरक तरिकाले व्याख्या नभएको उल्लेख गरे। उनले अन्य बाजाहरू मृदंग, तबला, ढोलक लगायतसँग यसको समनता वा भिन्नताका बारेमा पनि तुलनात्मक अध्ययन हुनुपर्नेमा जोड दिए। शास्त्रीय संगीतमा मादलको सुरताल प्रयोग हुनसक्ने हो भने नेपालको शास्त्रीय संगीत पनि मौलिक बन्ने भएकाले यसको पनि अभ्यास हुनुुपर्ने उनले सुझाए।

कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ संगीतकार दीपक जंगमले नेपाली संगीत क्षेत्रले आफ्ना सांगीतिक निधिको अभिलेख राख्न नसकेको अवस्था रहेको बताए। नेपाली समाजको लोकप्रिय बाजा मादल रहेको पनि यसलाई आफ्नो बनाउने कार्यमा चुकिरहेको बताए। ‘नेपालको राष्ट्रिय एकतालाई मादलले नै जोडेको छ,' जंगमले भने, ‘यसको मौलिकता जोगाउने काम गर्न ढिला गर्नु हुँदैन।’

नेपालका विद्यालयमध्ये जम्मा ६ वटा विद्यालयमा मात्र संगीतको पढाइ हुने गर्छ। जसका कारण पनि यस्ता मौलिक बाजा नयाँ पुस्तासम्म पुग्न नसकेको संगीतकर्मीले जिकिर गरे। ‘नेपाली संगीतमा मादल भएन भने संगीतको कल्पना पनि गर्न सकिन्न,’ सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले भने, ‘गाउँघरमा मादल बादक अचेल भेटिन छाडेका छन्। यसले मादलकै भविष्य नै संकटमा परेको छ।’ सहरबजारमा त्यति नबज्ने मादल गाउँघरमा पनि रहरको समयमा बजाउने बाजाको रूपमा सीमित रहेको बताए।

प्रकाशित: १३ श्रावण २०७४ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App