२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

नेपालगञ्जमा २५ करोडको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल

नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन्। डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए। समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन्।

बागेश्वरी चलचित्र मन्दिरले क्युएफएक्ससँगको समन्वयमा हल आधुनिकीकरण गरेर आधुनिक प्रविधिअनुसार सञ्चालन गरिरहेको बेलामा रु २५ करोड बढीको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ थपिएकोे छ।

‘यो एउटा सिनेमा हलमात्रै होइन, नेपालगञ्जमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो’, सिने रोयलका प्रबन्ध निर्देशक डा राहुल थापाले भने, ‘समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट  मनोरञ्जन दिन खोजिएको हो।’

उनले पश्चिम नेपालमा सिनेमा रुचाउनेहरुका लागि नेपालगञ्जसम्म आउने माध्यमका रुपमा सिने रोयल हुने अपेक्षासहित भारतीय सीमावर्ती जिल्लाका लाखौँ दर्शकलाई यसले आकर्षित गर्ने आशा व्यक्त गरे।

पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउन्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित तीन स्क्रिनसहितको मल्टिप्लेक्स हल तयार गरिएको सञ्चालक डा थापाले जानकारी दिए। नेपालगञ्जस्थित वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशकसमेत रहेका उनले योजना र लगानीमा नेपालगञ्जमा यो सुविधासम्पन्न हल निर्माण गरेका हुन।

नेपालगञ्ज–१० आदर्शनगरमा हलसँगै तत्काललाई क्याफ्टेरिया पनि सुरु गरी यो स्थानमा बिस्तारै विभिन्न शपिङ आउटलेटसँगै एउटा डिपार्टमेन्टल स्टोर खोल्ने योजना रहेको डा थापाले जानकारी दिए।

सिनेमा हल निर्माणका टोली नेता किरण ढकालले सिने रोयल नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउन्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्सन’मा आधारित रहेको बताए।

सिनेरोयलमा तीनवटा स्क्रिन छन्। छ सय ५० दर्शक क्षमता भएको सिनेरोयलका दुईवटा प्रतिहल दुई सय ५० क्षमता तथा तेस्रो हल एक सय ५० सिट क्षमताका छन्। बेल्जियमबाट प्रोजेक्टर र हङकङबाट आयात गरिएका थ्रिडी प्रणाली जडान गरिएको उनको भनाइ थियो।

प्रतिनिधिसभा सदस्य एवम् नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख डा धवलशम्शेर राणाले सिने रोयललाई नेपालगञ्जको गौरवका रुपमा लिनुपर्ने बताए। यसले नेपालगञ्जको पर्यटनलाई ठूलो टेवा दिनाका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सिने रोयलजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताए। सिने रोयल सञ्चालनमा आउनु नेपालगञ्जका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै उनले नेपाललगायत भारतबाट समेत यहाँ आउने दर्शकले नेपालगञ्ज बजारलाई चलायमान गराउने विश्वास गरे। 

प्रकाशित: १६ श्रावण २०८० १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App