दाइले बारम्बार सम्झाइरहन्थे, ‘तीललाई पहाड बनाएर प्रस्तुत हुने बानी राम्रो होइन नि, भाइ! चूप लागेर बस्दा कतिपय कुरा आफैं सेलाउँछ।’
ऊ किन मान्थ्यो र! एकनासले फलाकिरह्यो, ‘त्यसले मलाई के सोचेको छ? मैले खान पाको छैन र, त्यसको बगैंचामा फलफूल चोर्न? कुरा नबुझी मलाई हेप्ने? धनको घमण्डले मात्तिएकालाई पाठ नसिकाई म पनि कहाँ चूप लाग्छु र!’
दाइले अलि हकारेको स्वरमा कराए, ‘आवेशमा नआइज न भाइ, असली चोर थाहा पाएपछि त बगैंचेलाई पनि पीडाबोध भैहाल्छ नि, शान्त भएर बस् न!’
आखिर गोर्खालीको तातो रिस न हो, माफी नमागेसम्म त्यो जिरी ग्याण्टेलाई कहाँ छोडछु र भन्दै दाइको कुरा नसुनी ऊ घरबाट बाहिरियो। पर्खाल नाघेर बगैंचाभित्रै पस्यो। आवेशमा फलफूल टिप्दै बाहिर फाल्न थाल्यो। फाँड्नु फाँड्यो र साथीको घरतिर लाग्यो।
धेरै बेरसम्म भाइ घरमा नआएपछि दाइ बगैंचातिर लागे। गेटको छेवैमा फलफूलको अपार रास देखेर सत्यानास गरेछ भन्दै यताउता भाइको खोजीमा नजर दौडाउदै थिए, गाडीको हर्न बज्यो। उसले केही सोच्न भ्याएको थिएन, पुलिस जवान गाडीबाट ओर्लियो र समातेर थानातिर लग्यो।
प्रकाशित: ११ श्रावण २०८० ०८:२४ बिहीबार