२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

भक्तपुरमा अरुण थापा स्मृति साँझ

नेपाली आधुनिक गीतका लोकप्रिय र चर्चित कृतिशेष गायक अरुण थापाको चौबीसौं स्मृति दिवसको अवसरमा भक्तपुरमा अरुण थापा स्मृति साँझ-२०८० समापन भएको छ।

आयोजक रागरागिनी इन्टरटेन्मेन्टले शुक्रबार काठमाडौं फन भ्याली पलाँसेमा अरुण थापा स्मृति साँझ-२०८० आयोजना गरेको हो।

भक्तपुरको पलाँसेस्थित काठमाडौं फन भ्यालीको प्रायोजनमा र रागरागिनी इन्टरटेन्मेन्टको अयोजनामा भएको उक्त कार्यक्रममा  चर्चित गायकहरूले गायक अरुण थापाका गीतहरू प्रस्तुत गरेका थिए।

गायक थापाका गीतहरूलाई गायकहरू- अजर जंगमले ‘जति माया लाए पनि’, कल्पना श्रेष्ठले ‘यो मनको के भर हुन्छ’, प्रनिल पलिखेले ‘चोट के हो, व्यथा के हो’,सानुमाया धौभडेल ‘आँखाको निद चोरी लाने’, कपिल कसपालले ‘दुई दिनको जीवन’ र रोजी श्रेष्ठ ‘भुलूँभुलूँ लाग्यो’ गीत गाएका थिए। त्यस्तै एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने, श्रेय अगस्ति, सुनिल लोहला लगायतले गायक थापाका गीतहरू प्रस्तुत गरेका हुन्।

सञ्चारकर्मी विजय हाछेथुले चलाएकाे कार्यक्रममा गीतकार जितेन्द्र रसिकले गायक अरूण थापाको जीवन र सांगीतिक योगदानको चर्चा गरेका थिए।

कार्यक्रममम वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल गायक अरूण थापा स्मृति दिवस १२ वर्ष अघिबाट आफू र चलचित्र समीक्षक प्रकाश सायमीको पहलमा  दिवस मनाउन थालिएको बताए।

यस वर्ष रागरागीनी इन्टरटेन्टमेन्ट भक्तपुरले आयोजना गरेको कार्यक्रममा संयोजक कपिल कसपालको भूमिका महत्वपूर्ण रहेको बताए। ढुंगेलले गायक थापासँग जोडिएको सांगीतिक यात्राको स्मरण गरे।

त्यस्तै काठमाडौं फन भ्याली डा. गोविन्द नेपालीले काठमाडौं फन् भ्यालीले हरेक दिनको सुरूवात गीतसंगीतबाटै हुने गरेको र त्यसमा गायक अरूण थापाका गीतहरू प्रस्तुत गरेर अरूण थापाको सांगीतिक योगदानलाई स्रोतामाझ पस्किरहेको बताए।

दिउँँसो २ बजेदेखि साँझ ५ बजेसम्म चलेको कार्यक्रममा दर्शकलाई प्रवेश निःशुल्क गरिएको थियो। नेपाली सुगम संगीतलाई जीवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य भएकाले गायक अरुण थापाको चौबीसौं स्मृति दिवसको अवसरमा अरुण थापा स्मृति साँझ-२०८० आयोजना गरिएको रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष, कार्यक्रम संयोजक एवं गायक कपिल कसपालले बताए। कसपालले गायक  स्व. अरुण थापालाई जीवन्त राख्न यस्ता कार्यक्रमले सघाउने बताए।

कार्यक्रममा चलचित्रकर्मी, गीतकार, साहित्यकार, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई भादगाउँ टेलिभिजन, भक्तपुर एफएम र रागरागिनीको अफिसियल युट्युवबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

कार्यक्रमको टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, रेडियो पार्टनर भक्तपुर एफएम, अनलाइन पार्टनर आइकन खबर डटकम, फोटोग्राफी पार्टनर डायनामिक मल्टी मिडिया प्रडक्सन, टेक्निकल सपोर्ट एभरेष्ट इंगलिस स्कुल, म्युजिक को अर्डिनेट पार्टनर संगीत ग्राम गुरुकुल नेपाल, मिडिया पार्टनर अन्नपूर्ण पोष्ट र बैंकिङ पार्टनर नविल बैंक रहेको थियो।

अरुण थापा स्मृति साँझ-२०८० को प्रायोजक काठमाडौं फन भ्यालीले स्मृति साँझको दिन फन भ्यालीमा रम्न चाहनेलाई  प्रवेश टिकटमा २० प्रतिशत छुट दिएको थियो।

प्रकाशित: ६ श्रावण २०८० ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App