नवराज शर्मा
१) अव्यक्त
-कसको माया लाग्छ? मम्मीको कि बुबाको?
मिठाई पाउँदा उत्तर हुन्थ्यो ‘बुबाको ’, सकिएपछि जवाफ हुन्थ्यो ‘मम्मीको’ अनि दुवै आमाबाबु खित्का छाडी हाँस्थे आनन्दको।
बुढाबुढी घाम ताप्दै छोरा,बुहारी र नातिको लीला हेरिरहेका थिए।
बुढाले भने, ‘फूल छातीमा परे पनि थाप्लामा झरे पनि आनन्द आउँछ।’
‘फूल फल भई पोल्टामा परे आनन्द दिन्छ, पुर्पुरामा बर्सिए पीडा’ भन्दै घरभित्र जान लागेकी बुढीको अनुहार हेर्दा पनि बुढाले भेउ पाएनन्, बुढीको मुस्कानले ‘मोनालिसा’ को मुस्कान जस्तो हर्ष पोखिरहेको थियो कि विषाद!
२) अभियान
तीन दसकको रजाइँपछि आसन्न निर्वाचनको तयारीमा लागेका सोम शर्मा आफ्नू निर्वाचन क्षेत्रतर्फ घरदैलो कार्यक्रममा लागे। बुढापाकासँग निहुरेर आशीर्वाद मागे। दौंतरीलाई अँगालो मारे, भलाकुसारी गरे। सानासँग हात मिलाए। अन्त्यमा चिन्नै नसकिने गरी अविरले रगिएका र अनुहार छोपिने गरी मालाले ढाकिएका सोम शर्माले भव्य मञ्चबाट सधैंझैं चुनाउ ताका ठोक्ने भव्य भाषण ठोके। ठूल्ठूला कुरा गरे। कसैलाई पनि कुनै समस्या भए, परे निर्धक्क भएर राजधानीस्थित आफ्नू घर आउन अनुरोध गरे। अनि राजसी ठाटले विदा भए। दोस्रो चरणमा आफू अनुकूलको टोली गठन गरे-आय टोली, व्यय टोली, घोषणापत्र लेखन टोली, बाहुबलि टोली आदि।
काम बाँडफाँट गरे। निर्देशन दिए।
आय टोली: चुनाउ लड्न आवश्यक रकमको जोहो गर्ने।
व्यय टोली: मितव्ययितालाई ध्यानमा राखी आवश्यक खर्च गर्ने।
बाहुबलि टोली: प्रचारप्रसार, भाषण आदि कार्यक्रममा सुरक्षा दिने, अनावश्यक प्रश्न सोध्नेलाई सेक्ने, प्रतिस्पर्धीलाई छेक्ने, ठोक्नुपर्यो भने ठोक्ने।
भौतिक टोली गठन र काम बाँडफाँटपछि उनी आत्मिक टोलीसँग विचार-विमर्श गर्न लागे।
समानुपातिकबाट हुने आय, टिकट बाँड्दा हुने आय,उद्योगी, व्यवसायीबाट हुने आय, क्षेत्र विकास कोषबाट हुने आय।
शिक्षा, स्वास्थ्य, उद्योग, प्राधिकरण, समिति आदिमा पदोन्नति र पद व्यवस्थापन गर्दा हुने आय आदि सम्झिदै थिए घोषणा-पत्र लेखन टोलीको नाइके टुप्लुक्कियो।
‘चुनाउ जितेपछि घोषणा पत्रमा दिएका आश्वासन, देखाएका सपना, जनाएका प्रतिबद्धता पूरा गर्न योजना पनि बनाउने र जनाउने होला होइन हजुर?’
टोली नाइकेतिर फर्केर उनी मुसुक्क हाँसे।
‘आ,छाडिदेऊ यस्ता कुरा! घोषणापत्र भनेको लेख्ने हो,गर्नुपर्ने होइन, भाषण भनेको गर्ने हो, पुर्याउनुपर्ने होइन। यति जाबो कुरा तीन दशकको अनुभवले पनि थाहा पाएनौ लाटा!’
३) तृष्णा
दुवै नदीको दोभानमा एउटा ढुंगामाथि सँगै बसेका थिए। सेतो पहिरन लगाएका थिए। एक दोस्रालाई हेरिरहेका थिए। एउटा मुसुमुसु हाँस्दै थियो। अर्को केही सोचिरहे जस्तो गम्भीर थियो।
मुसुमुसु हाँस्नेले सोध्यो,‘तिमीले त राम्रै कमाइ गरेका थियौ नि, होइन र?’
- सात पुस्तालाई पुग्ने कमाएको थिएँ।
जवाफ फर्काउँदा पनि अर्को अझै गम्भीर थियो।
‘आफू त पहिले पनि यस्तै अहिले पनि यस्तै। ढिंडो जस्तो निस्तै।’ अनि सोध्यो,‘के सोचिरहेका छौ त आठौं पुस्ताको चिन्ताले तनावग्रस्त भएका छौ कि क्या हो?’
‘होइन’ भन्दै गम्भीरमानले सेतो पहिरनमा केही खोजे जस्तो गर्यो। कहिले यता हेर्ने कहिले उता छाम्ने गर्यो।
‘के खोजेको?’ उसले पुनः हाँस्दै सोध्यो र फर्किरहेका मलामीहरूलाई निर्लिप्त भावले हेर्यो।
गम्भीरमानको ओठमुख सुकेका थिए। उसले रुन्चे स्वरमा भन्यो,‘खल्ती खोजेको।’
उनीहरूको मौनतामा अघि चिता हाँसेको थियो। अहिले ऊ मरीमरी हाँस्यो। चिता मौन थियो, ‘हैट लाटा, कात्रोमा पनि कतै खल्ती हुन्छ र!’
४) सम्बन्ध
सानु बोल्यो,‘नातिनातिना खाईवरी पढ्न जान्छन्।’
जेठो बोल्यो, ‘छोरा कामबाट मिर्मिरेमा फर्किएर सुतेको छ।’
जेठी बोली,‘बुहारी काम गर्न जान्छे।’
‘घण्टी बज्छ, पूजा सकिन्छ अनि बुढी खाजा खान बस्छिन्।’ बुढी बोली।
केहीबेरमा बिहानको डुलाइ सकेर बुढा आइपुग्छन् अनि खुइय्य गरेर एक्लै खाजा खान बस्छन्।’ बुढो बोल्यो।
यतिबेर सबैको कुरा सुनिरहेको फुच्चे बोल्यो, ‘हैन हब्बा, यिनीहरूलाई सँगै बस्ने र बोल्ने रहर हुँदैन कि कसो?’
‘हामी प्राण नभएकाहरू त एक दोस्रोसँग बोल्न, बस्न र अँगालो मार्न रहर गर्छौं, यी जिउँदा भनाउँदाहरूको सम्बन्ध जीवन्त किन नभएको होला कुन्नि!’ आफ्नो वरिपरिको कुर्सीहरूलाई हेर्दै बुढो टेबलले विस्मय र विस्मातको स्वरमा भन्यो।
५) आशंका
केही स्वर चलमलाउँदै थिए।
‘सिद्धान्त र आस्था दुर्घटनामा परे।’ वेदना
‘कहाँ?’ उत्कण्ठा
‘सडकमा कि सदनमा? बाइकमा कि माइकमा?’ उत्सुकता
‘सदनमा लोभको लेउमा चिप्लिएर अरे।’ क्षोभ
‘कसरी?’ पीडा
‘लत्तो छाडेर।’ नैराश्य
‘कसले?’ उत्सुकता
‘नीतिले।’ नैराश्य
‘अनि के भयो?’ जिज्ञासा
‘सिद्धान्त सिद्धियो रे।’ उद्विग्न
‘अनि आस्था?’ जिज्ञासा
‘समाजले रुँगिरहेका छन् अरे।’ आशा
‘किन? बिउँझिन्छे कि भनेर हो कि!’ जिज्ञासा
‘होइन डरले, सिद्धान्तसँगै सती जान्छे कि भनेर।’ आशंका
प्रकाशित: ४ श्रावण २०८० ०७:३० बिहीबार