रमेश प्रभात
छोटो चर्चा: ‘संस्कृति चिन्तन’
अंग्रेजी विषयका प्राध्यापक अरुण गुप्तोको नवीनतम कृति संस्कृति चिन्तन (२०८०) कूल २३६ पृष्ठको आयाममा फैलिएको र जम्मा चार खण्डमा विभाजित निबन्धात्मक कृति हो। इन्डिगो इन्कले प्रकाशित गरेको यो कृतिमा अठ्ठाइस रचना समेटिएका छन्। यसमा दुई अन्तर्वार्ता, एउटा कुराकानीमा आधारित लेख र बाँकी पच्चीस निबन्धात्मक रचना समेटिएका छन्। यी रचना प्रायः मझौला आयामका छन्।
‘नायक–खलनायक’ शीर्षकको पहिलो खण्डमा समाज र साहित्यमा प्रचलित विभिन्न नायक र खलनायकबारे सात निबन्ध र एउटा अन्तर्वार्ता समेटिएको छ। यसमा लेखक तथा चिन्तक स्पिभाकदेखि शिरीषको फूल उपन्यासको नायक सुयोगवीरसम्मको चर्चा गरिएको पाइन्छ।
त्यस्तै ‘देवी विमर्श’ शीर्षक दिइएको दोस्रो खण्डका पाँच निबान्धात्मक रचनामा देवीलाई गरिएको अति व्याख्या, कला र कामुकता, देवीबारे पाइने विरोधाभास आदि खुलेर बहस गरिएको पाइन्छ। यो खण्ड यस कृतिको निकै बलशाली खण्ड हो।
त्यस्तै ‘पात्र-विमर्श’ शीर्षक दिइएको तेस्रो खण्डमा समेटिएका नौ रचनामध्ये एउटा अन्तर्वार्ता, एउटा कुराकानीमा आधारित लेख र बाँकी सात निबन्धात्मक रचनामा फरक-फरक खालका पात्रहरूबारे चर्चा गरिएको छ। यो खण्डको सबैभन्दा सशक्त रचना भनेको अन्तर्वार्ता नै हो। यसलाई वार्ताकार उदय अधिकारीले ‘प्रश्न’ नामक कृतिमा समेटिएका अन्तर्वार्तालाई आफ्नो रचना भने जस्तो नगरेर उत्तरदाता अरुण गुप्तोले आफ्नो रचना मानेर न्याय गरेका छन्।
‘नायक-खलनायक’ शीर्षकको पहिलो खण्डमा समाज र साहित्यमा प्रचलित विभिन्न नायक र खलनायकबारे सात निबन्ध र एउटा अन्तर्वार्ता समेटिएको छ। यसमा लेखक तथा चिन्तक स्पिभाकदेखि शिरीषको फूल उपन्यासको नायक सुयोगवीरसम्मको चर्चा गरिएको पाइन्छ।
प्रश्नभन्दा पनि उत्तर महत्वपूर्ण हुन्छ भन्ने कुराको पुष्टि यसले गरेको छ। त्यसो यसमा प्रश्नकर्ताहरू पनि निकै सशक्त देखिएका छन्। यो कृतिको अन्तिम खण्ड भनेको ‘विश्वविद्यालय र सहर’ हो, यसमा छ निबन्धात्मक रचना समेटिएका छन्। ती रचनाले विश्वविद्यालय, सहर, प्रकृति आदिजस्ता विविध विषयको उठान गरेका छन्। अन्य गन्थनभन्दा यसमा गरिएको कार्लमाक्र्ससम्बन्धी पुनव्र्याख्या निकै पठनीय छ।
‘संस्कृति चिन्तन’ नाम दिइए पनि यो कृति संस्कृतिबारे मात्र नलेखिई विविध भावको सम्मिलन भएको कृति बनेको छ। कवि, प्राध्यापक तथा समीक्षक अभि सुवेदीले भूमिकामा भनेको ‘अरुण गुप्तोको संस्कृति चिन्तनमा विचार र भावनाको सिम्फोनी पाइन्छ’ भन्ने भनाइसँग म पनि पूर्णतः सहमत छु। खासमा सामान्य पाठकभन्दा पनि विशिष्ट खालका पाठकको अपेक्षा यी निबन्धले गर्छन्। यसमा संस्कृति कम विचार र भावना बढी छ भन्ने अभिमत छ मेरो पनि।
‘संस्कृति चिन्तन’ कृतिका सबल पक्ष
‘संस्कृति चिन्तन’ एउटा निबन्ध कृति मात्रै नभई बहसको उठान गर्ने कृति पनि हो। मेरो विचारमा यसको सबैभन्दा सशक्त कुरा भनेको आजसम्म पारिजातको अमर कृति शिरीषको फूल उपन्यासमा नायक भनेर व्याख्या गरिएको सुयोगवीरलाई खलनायक पुष्टि गर्नु हो। ‘मिथकीय खलनायक’ शीर्षक दिइएको यो निबन्धले नेपाली साहित्यका पाठकलाई मज्जाले हल्लाउँछ। यो कृतिमा माक्र्सवादी चिन्तन र स्वयम् माक्र्सलाई हेर्ने दृष्टिकोणका बारेमा पनि बहस उठाएर राम्रो गरिएको छ।
त्यस्तै यस कृतिमा देवीहरूबारे गरिएका बहसहरू पनि निकै सान्दर्भिक छन्। अधिकांश रचना छोटा खालका भएकाले पढ्दा रमाइलै लाग्नु यस कृतिको सबल पाटो हो।
‘संस्कृति चिन्तन’ कृतिका दुर्बल पक्ष
‘संस्कृति चिन्तन’ नाम दिएपछि यसमा संस्कृतिबारे गरिएका चिन्तन र अनुभूतिको खोजी गर्नु एउटा पाठकका लागि अत्युक्ति हुँदैन, तर यसमा संस्कृति मात्र छैन। यसमा विविध भाव छिरलिएका छन्। कतिपय सन्दर्भ बुझिने खालका छैनन्। छोटो बनाउने निहुँमा केही निबन्ध सन्दर्भ सामग्रीको खोजी गरेर पढ्नुपर्ने खालका पनि छन्। निबन्ध भनेर त्यसैमा अन्तर्वाताहरू समेट्नु कत्तिको सान्दर्भिक हो? यसबारे पनि बहस किन नगर्ने? कवि लेखनाथ पौड्यालले कवितामा भनेझैं ‘बडाले जो गर्यो काम हुन्छ सदा सर्वसम्मत’ हामी हाम्रा गुरु पुस्ताले जे गरे पनि खुरुखुरु मान्नैपर्छ भन्ने छ र? यी अन्तर्वार्ताका सट्टा पनि निबन्धै अरू रचना राख्दा लेखक गुप्तोको के जान्थ्यो?
समापनका केही शब्द
लेखक अरुण गुप्तो आफैंमा एक सिद्धहस्त समालोचक हुन्। उनको ‘समालोचनाको एउटै राम्रो पुस्तक छैन’ भन्ने निबन्धमा नेपाली समालोचकका कमीकमजोरीमाथि जमेर प्रहार गरिएको छ। मलाई थाहा छ, उनी प्रतिभा, व्युत्पत्ति र अभ्यास सबै कुरा भएका राम्रा समीक्षक हुन्। यतिबेला उनी फुर्सदमा छन्, अर्थात् प्राध्यापनको झमेलामा छैनन् उनी। सेवाबाट निवृत्त भई फुर्सदमा रहेका उनी आफूले चाहिं किन त्यस्तो शक्तिशाली समालोचना लेखेनन् त?
त्यसो त अरूले गरेका काम यसो भएन, त्यसो भएन भनेर दोष लगाउन जति सजिलो काम अरू केही छैन भन्ने लाग्छ मलाई। हो, हामी नेपालीहरूका नयाँ विचार बनाउन सक्दैनौं,बनिबनाउ विचारका पछि लाग्छौं।
अझ अधिकांश नेपालीका हकमा भन्ने हो भने आफैंले बाटो बनाउनुभन्दा अरूले बनाएको बाटामा हिंड्न चाहनेको संख्या झन्डै ९९.९ प्रतिशत छ। बाँकी ०.१ प्रतिशतमा आफूलाई उभ्याएर फरक प्रमाणित गर्न छिट्टै अरुण गुप्तोका उत्कृष्ट खालको समालोचनाको कृति पढ्न पाइयोस् भन्दै यो कृतिको सफलताको कामना गर्दछु।
प्रकाशित: ३ श्रावण २०८० ०८:०५ बुधबार