२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘विश्वका राष्ट्रिय गान’ लोकार्पण

नेपाल वाङमय फाउन्डेसनले ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक लोकार्पण गरेको छ। ललितपुर, कुपण्डोलमा आयोजित विशेष समारोहमा परराष्ट्रमन्त्री एनपी साउदले ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको लोकार्पण गरेका थिए।

पुस्तक नेपाल वाङमय फाउन्डेसनले प्रकाशन गरेको हो। विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी पुस्तकमा समेटिएका छन्।

मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको बिम्बलाई प्रतिनिधित्व गर्ने भएकाले हरेक नागरिकलाई राष्ट्रिय गानले आत्मसम्मान र गौरव महसुस गराउने बताए।

‘हरेक देशको राष्ट्रिय गानले त्यो राष्ट्र कुन स्थितिमा निर्माण भएको हो भन्ने विम्ब झल्काउँछ। राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्’,उनले भने,‘राष्ट्रको भावी यात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ।’

उनले सबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको विम्ब राष्ट्रिय गानमा झल्कने बताए। मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न र संयुक्त भावले काम गर्नुपर्छ भन्ने भावना जागृत गर्न खोजेको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउँदै ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पुर्‍याएको धारणा राखे। उनले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गरे।

परराष्ट्रविद् तथा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले पुस्तकको समीक्षा गर्दै राष्ट्रको पहिचानलाई वैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताए। उनले ‘विश्वका राष्ट्रिय गान’ पुस्तकमा राष्ट्रिय गानको शीर्षक छुटेको बताउँदै पुनः प्रकाशन गर्दा त्यसलाई सच्याउन आग्रह गरे।

उनले क्रिश्चियन समुदायबाट राष्ट्रिय गानको प्रारम्भ भएको बताउँदै नेदरल्यान्डको राष्ट्रिय गान पहिलो राष्ट्रिय गान भएको र राष्ट्रिय गान स्वतन्त्र राष्ट्रका लागि एउटा अनिवार्य तत्त्व भएको बताउँदै यसले एकताका लागि प्रेरित गर्ने विचार व्यक्त गरे। उनले राष्ट्र भनेको भूगोल मात्रै नभएर नागरिक, सभ्यता र संस्कृति प्रमुख भएको उल्लेख गर्दै राष्ट्रिय गान सम्बन्धित राष्ट्रको विशिष्ट पहिचान भएको विचार व्यक्त गरे।

फाउन्डेसनका विशिष्ट सल्लाहकार, कवि, गीतकार तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ सुन्दर, संग्रहणीय र अद्वितीय उपहारका साथै सिंगै संसार चिहाउने एउटा आँखीझ्याल हुने बताए।

कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक शब्द, संगीत र स्वरको त्रिवेणीका साथै देश, भूगोल, भाषा र भावनाको संगम भएको विचार व्यक्त गरे।

फाउन्डेसनका प्रमुख संरक्षक, शिक्षाविद् तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले विश्वका राष्ट्रिय गान पुस्तकलाई सर्वसुलभ बनाएर प्रत्येक नेपालीको हातमा पुर्‍याउनुपर्ने बताए।

फाउन्डसनका अध्यक्ष तथा पुस्तकका सम्पादक डा. विप्लव ढकालले पुस्तक प्रकाशनको औचित्य प्रकाश पार्दै पुस्तकमा संयुक्त राष्ट्र संघका १९५ सदस्य राष्ट्रहरू तथा दुई पर्यवेक्षक राष्ट्रका राष्ट्रिय गानहरू पुस्तकमा समेटिएको बताए।

उनले पुस्तक संसारभरिका देशहरूको हृदय जोड्ने पुलको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे। उनले भने, ‘यो पुस्तक विश्वशान्ति, सद्भाव र भाइचाराको कामनासहित नेपाली पाठकहरूमा देशभक्ति र राष्ट्रियताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रकाशित गरिएको हो।’

पुस्तकमा राष्ट्रपति रामचन्द्र पौडेल, नेपालस्थित संयुक्त राष्ट्र संघका महामहिम आवासीय संयोजक हाना सिंगर-हाम्दी र फाउन्डेसनका विशिष्ट सल्लाहकार शंकरप्रसाद कोइरालाका मन्तव्य समेटिएका छन्।

यस पुस्तकका प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहेका छन्। पुस्तकको मूलअनुवादक प्रदीप निरौला र व्यवस्थापक डा. पद्मा अर्याल रहेका छन्।

उक्त पुस्तकको प्रकाशन तथा लोकार्पणसँगै नेपाल वाङमय फाउन्डेसनको औपचारिक यात्रा आरम्भ भएको जानकारी गराइएको थियो।

कार्यक्रममा फाउन्डेसनका तर्फबाट नेपालका राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई सम्मान अर्पण गरिएको थियो भने अनुवादक प्रदीप निरौला, प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ र तेन्जी शेर्पा कदरपत्र सम्मानपत्र अर्पण गरिएको थियो।

कार्यक्रमको सहजीकरण कवि तथा गीतकार मुकुन्दराज शर्माले गरेका थिए।  

प्रकाशित: ३१ असार २०८० ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App