१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

शब्दबिम्बमा एक सत्पात्र अर्थात् सत्यमोहन

पुस्तक

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बहुआयामिक व्यक्तित्व हुन्। उनले नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान गरेका छन्। उनले वाङ्मयको क्षेत्रमा पुर्‍याएको योगदानको कति कदर भयो? यो बहसको विषय हुनसक्ला तर उनले लगाएको गुन र ऋण तिरिनसक्नु छ, योचाहिँ सत्य हो र यसमा बहसको आवश्यकता पनि छ जस्तो लाग्दैन।

एउटा मान्छे शताब्दीसम्म बाँच्नु र बाँचेर निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका लागि आफ्नो सोच, समय र श्रमको उपयोग गरिरहनु नै एउटा असाधारण शक्ति र सामथ्र्यको उदाहरण हो। कहिल्यै नथाकी, कहिल्यै नहारी र कहिल्यै नरोकिई आफ्नो कर्ममा जुटिरहनु सत्यमोहन जोशीको दरिलो आत्मबल र बलियो आत्मविश्वासको परिणाम हो। ‘चिन्ता नलिनू, चिन्तन गर्नू’ भन्ने उनको विचार र सिद्धान्तको परिणाम हो।

‘सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए ।’ शब्दबिम्बमा सत्यमोहन पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सम्पादकीयमा लेखेको यही उक्तिले सत्यमोहन जोशीले आफ्नो जीवनमा गरेको सङ्घर्ष र प्राप्त गरेको सफलता दर्शाउँछ। सत्यमोहन जोशीको व्यक्तित्व अरू धेरैका लागि प्रेरणा र आदर्श बन्नसक्छ। यस्तैयस्तै कुराहरूमाथि ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तकभित्र विविध सामग्रीहरूले प्रकाश पारेका छन्।

जीवनकालमा चिन्ताले सत्यमोहनलाई जलाएन। मृत्युपश्चात् चिताले पनि उनको शरीर जलाउन पाएन। चिता र चिन्ताले नजलाएका एक युग हुन् सत्यमोहन जोशी।

यसो त सत्यमोहन जोशीको आत्मकथा नै प्रकाशित भइसकेको छ ‘सत्यमोहन’। जसका लेखक हुन् पत्रकार एवं लेखक गिरीश गिरी। सत्यमोहन जोशीका आवाज, भावना, नम्रता, व्यक्तित्व, नेवार हुनुको गौरवलगायत धेरै विषय त्यसमा समावेश भइसकेका छन्। आत्मकथा सत्यमोहन जोशीको स्वयम्को आवाज हो र कथा हो। यसमा उनको साङ्गोपाङ्गो जीवन आइ नै सकेको छ। यो उनको आफ्नो जीवन भोगाइको आवाज हो र आफ्नो भावना हो।

यसैगरी सत्यमोहन जोशीका बारेमा अर्को कृति ‘जुरेली दर्शन’ पनि प्रकाशित भइसकेको छ। जसका सम्पादक हुन् साहित्यकार अनिल पौडेल। यस पुस्तकमा पनि सत्यमोहन जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृतिको अन्वेषण र उनका जीवनका विविध आयामहरू समेटिएका छन्। तर सत्यमोहन जोशीका बारेमा अरू धेरैले के बुझेका छन् र कस्तो धारणा बनाएका छन्, त्यो बुझ्नका लागि अरू धेरैका विचार पढ्नुपर्छ र अरू धेरैकै आवाज सुन्नुपर्छ।

 ‘शब्दबिम्बमा सत्यमोहन’ मा नेपालको साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रमा ख्याति कमाएका धेरै लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकार आदिका विचार र धारणा समेटिएका छन्। सत्यमोहन जोशीको व्यक्तित्व र कृतित्व, जीवन र जीवनशैली, सेवा र योगदान, कदर र सम्मान अनि उनको जीवनको आयाम र आदर्शका बारेमा विभिन्न दृष्टि र कोणबाट विश्लेषण गरिएका छन्।

यस अर्थमा पनि ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तकको आवश्यकता र यसको महत्व थप पुष्टि हुन्छ। यति महत्वपूर्ण कृति सत्यमोहन जोशीका बारेमा जिज्ञासु पाठकका हातसम्म पुर्‍याउन सम्पादक गोपीकृष्ण ढुङ्गानाले गरेको मिहिनेत, उनको लगन र धैर्यको तारिफ नगरी रहन सकिन्न। पुस्तकभित्र यति धेरै सामग्रीको सङ्कलन, संयोजन र सम्पादन एक्लैले गर्नसक्नु चानचुने मिहिनेत, लगन र धैर्य होइन। यस अर्थमा सम्पादक गोपीकृष्ण ढुङ्गाना धन्यवादका पात्र हुन्।

एकजोर गतिलो दौरासुरुवाल र एउटा गतिलो टोपी पनि लगाउन नसक्ने हैसियतका होइनन् सत्यमोहन। यद्यपि किन उनले सधैं सामान्य दौरासुरुवाल लगाए र किन सधैं धागोको टाँका देखिने एउटै टोपी लगाए?

‘शब्दबिम्बमा सत्यमोहन’ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनपछि उनीप्रति शब्दश्रद्धास्वरूप प्रकाशित पुस्तक हो। यसो त सत्यमोहन जोशी स्वयम् नै एउटा गहकिलो र ओजपूर्ण पुस्तक हुन्। उनको जीवनबाट धेरैले धेरै कुरा सिक्न सक्छन्, बुझ्न सक्छन् र जान्न सक्छन्। यस्ता मान्छेका बारेमा लेखिएको यो पुस्तकको औचित्य के भन्ने प्रश्न पनि उठ्न सक्छ। प्रश्न जायज छ भने यसका उत्तर पनि छन्।

सामान्यतः स्वयम्मा एउटा गहकिलो र ओजपूर्ण पुस्तकझैं बनेका सत्यमोहन जोशीलाई मान्छेले कुन रूपमा चिनेका रहेछन्, कुन रूपमा बुझेका रहेछन्, कुन रूपमा जानेका रहेछन् र कुन रूपमा स्वीकारेका रहेछन् भन्ने यथार्थ जान्न र यो कुरा आम पाठकसम्म पुर्‍याउनका लागि यो पुस्तक आवश्यक थियो।

‘शब्दबिम्बमा सत्यमोहन’ मा नेपालको साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रमा ख्याति कमाएका धेरै लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकार आदिका विचार र धारणा समेटिएका छन्।

सत्यमोहन जोशी नेपाली वाङमयका बिम्ब नै हुन् र यस्तो बिम्बको बारेमा जान्ने, बुझ्ने र उनको आदर्शलाई आफ्नो जीवनमा पनि अपनाउनका लागि भविष्यमा पनि अझ मान्छेले खोजीनीति गर्नेछन्। त्यस्तो खोजीनीति गर्ने आम पाठक, अन्वेषक तथा अनुसन्धाताका लागि यो पुस्तक एउटा ऐतिहासिक दस्तावेजकै रूपमा रहनेछ।

सत्यमोहन जोशीको जन्म कहिले भयो? कहाँ भयो? कस्तो कुल र परिवारमा जन्मिए? उनको बाल्यकाल कसरी बित्यो? शिक्षादीक्षा कहाँ र कसरी प्राप्त गरे? कतिसम्म अध्ययन गरे? उनी कस्ता विद्यार्थी थिए? पारिवारिक अवस्था कस्तो थियो? पढाइपछि के के गरे? कहाँकहाँ जागिरे बने? नेपाली लोकसाहित्यको सङ्कलन, संरक्षण र संवर्धनमा कसरी प्रेरित भए? कसरी पुरातत्व विभागको पहिलो निर्देशक बने? कसरी नेपाली भाषा पढाउन चीन पुगे र अरनिकोका बारेमा अध्ययन गरे? केके पुस्तक लेखे? कुन कुन कृतिका लागि मदन पुरस्कार पाए? राज्यबाट के के सम्मान पाए? कहिले र किन वाङ्मय शताब्दी पुरुष घोषित भए?

यी यावत् विषयमा विस्तृतमा जान्नका लागि यो पुस्तकले सघाउनेछ। जीवनभर सादा जीवन र उच्च विचारको सिद्धान्तलाई अपनाएका, अत्यन्त शालीन व्यक्तित्वका रूपमा आफ्नो परिचय स्थापित गरेका र अरू धेरैका लागि अनुकरणीय र अनुसरणीय व्यक्तित्वका रूपमा चिनिएका सत्यमोहन जोशीको इतिवृत्त जान्नका लागि यो पुस्तक अत्यन्तै सहयोगी सिद्ध हुनेछ।

सत्यमोहन जोशी नेपाली वाङमयका बिम्ब नै हुन् र यस्तो बिम्बको बारेमा जान्ने, बुझ्ने र उनको आदर्शलाई आफ्नो जीवनमा पनि अपनाउनका लागि भविष्यमा पनि अझ मान्छेले खोजीनीति गर्नेछन्। त्यस्तो खोजीनीति गर्ने आम पाठक, अन्वेषक तथा अनुसन्धाताका लागि यो पुस्तक एउटा ऐतिहासिक दस्तावेजकै रूपमा रहनेछ।

एकजोर गतिलो दौरासुरुवाल र एउटा गतिलो टोपी पनि लगाउन नसक्ने हैसियतका होइनन् सत्यमोहन जोशी। यद्यपि किन उनले सधैं सामान्य दौरासुरुवाल लगाए र किन सधैं धागोको टाँका देखिने एउटै टोपी लगाए?

आम चासो र जिज्ञासाका यावत् प्रश्नको जबाफ यसै पुस्तकभित्र छ। अनि तीन पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन्? मानार्थ महाविद्यावारिधि पाउने पहिलो र एक मात्र साहित्यकार को हुन्? भनेर सोध्दा जबाफमा आउने एउटै नाम पनि सत्यमोहन जोशी नै हो। यस्ता नमुना व्यक्तित्वका बारेमा बुझ्न यो पुस्तक उपयोगी हुनेछ।

पुस्तकमा मुख्य ६ खण्ड छन्। पहिलो खण्डमा स्वयम् सत्यमोहन जोशीदेखि अन्य विभिन्न लेखकका लेखहरूको सङ्कलन छ। सत्यमोहन जोशीलाई नजिकबाट चिनेका, उनीसँग निरन्तर सम्पर्कमा रहेका र पेसागत एवम् उद्देश्यमूलक कामका लागि उनीसँग पटकपटक भेटेर अन्तर्वार्ता समेत लिएका विभिन्न लेखक, साहित्यकार र पत्रकारहरूका अढाई दर्जनभन्दा बढी लेख यस खण्डमा समावेश गरिएका छन्। जसमा पत्रकार भैरव रिसालदेखि प्राडा जगमान गुरुङ, प्राडा गार्गी शर्मा, सिके लाल, डा. गोविन्द टण्डन, माया ठकुरी, श्रीओम श्रेष्ठ ‘रोदन’, नरेन्द्रराज प्रसाईं, गोपीकृष्ण ढुङ्गाना, अमृत भादगाउँले, गणेश राई, जयदेव भट्टराई, मोहन दुवाल लगायतका लेखक, साहित्यकार र पत्रकारहरूका लेख समाविष्ट छन्।

पुस्तकको दोस्रो खण्डमा राष्ट्रिय दैनिक लगायतका विभिन्न पत्रपत्रिकामा प्रकाशित सम्पादकीयहरू समावेश गरिएका छन्। जसअनुसार ‘एक युगको अन्त्य’ (गोरखापत्र), ‘बहुआयामिक अविश्रान्त साधक’ (कान्तिपुर), ‘श्रद्धा–सलाम युगपुरुष’ (अन्नपूर्ण पोस्ट), ‘शताब्दी साक्षी’ (नागरिक), ‘संस्कृतिविद्बाट सिक्नुपर्ने संस्कृति’ (राजधानी), ‘सत्यमोहनको संस्कार’ (नेपाल समाचारपत्र), ‘युगपुरुषको महाप्रस्थान’ (इकागज डट कम) आदि छन्।

तेस्रो खण्डमा विभिन्न समयमा विभिन्न व्यक्तिले सत्यमोहन जोशीसँग लिएका तीन वटा अन्तर्वार्ता समावेश गरिएका छन्। जसअनुसार पहिलो अन्तर्वार्ता रहेको छ पत्रकार कनकमणि दीक्षितले शिक्षा विषयमा केन्द्रित रहेर ‘शिक्षक’ मासिक पत्रिकाका लागि लिएको अन्तर्वार्ता। यसैगरी दोस्रोमा देवीदत्त पौडेलले सत्यमोहन जोशीको जीवनमा केन्द्रित रहेर ‘दैनिकी न्यूज’का लागि लिएको अन्तर्वार्ता छ भने तेस्रोमा छविरमण सिलवालले नेपाली साहित्यमा केन्द्रित रहेर ‘मधुपर्क’ मासिकका लागि लिएको अन्तर्वार्ता रहेको छ।

चौथो खण्डलाई परिशिष्टाङ्क खण्ड भनिएको छ। यस खण्डमा नेपाली साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले सत्यमोहन जोशीको साङ्गोपाङ्ग जीवनका बारेमा प्रकाश पारेर लेखेका गहन र अत्यन्त जानकारीमूलक विचार र अभिव्यक्तिहरू समेटिएका छन्। जसमा राष्ट्रकवि माधव घिमिरे, तेजेश्वरबाबु ग्वंग, तुलसी दिवस, रामदयाल राकेश, तीर्थबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, जीवनाथ धमला, दिलीप ढकाल लगायतका विचार समेटिएका छन्।

पुस्तकको दोस्रो खण्डमा राष्ट्रिय दैनिक लगायतका विभिन्न पत्रपत्रिकामा प्रकाशित सम्पादकीयहरू समावेश गरिएका छन्। जसअनुसार ‘एक युगको अन्त्य’ (गोरखापत्र), ‘बहुआयामिक अविश्रान्त साधक’ (कान्तिपुर), ‘श्रद्धा–सलाम युगपुरुष’ (अन्नपूर्ण पोस्ट), ‘शताब्दी साक्षी’ (नागरिक), ‘संस्कृतिविद्बाट सिक्नुपर्ने संस्कृति’ (राजधानी), ‘सत्यमोहनको संस्कार’ (नेपाल समाचारपत्र), ‘युगपुरुषको महाप्रस्थान’ (इकागज डट कम) आदि छन्।

पाँचौं खण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारहरू समेटिएका छन् भने छैटौं खण्डमा तीन जना कविका सत्यमोहन जोशीप्रति समर्पित कविताहरू समेटिएका छन्। अन्तिममा सत्यमोहन जोशीका केही मुख्य कृति र तस्बिरहरू समावेश गरिएका छन्।

तीर्थबहादुर श्रेष्ठका शब्दमा जीवनकालमा चिन्ताले सत्यमोहनलाई जलाएन र मृत्युपश्चात् चिताले पनि उनको शरीर जलाउन पाएन। चिता र चिन्ताले नजलाएका एक युग हुन् सत्यमोहन जोशी।

प्रायः सबैले सत्यमोहन जोशीका गुणका कुरा मात्रै लेखे। राम्रा कुरा मात्रै लेखे। सत्यमोहन जोशी निःसन्देह सत्पुरुष हुन्, सत्पात्र हुन्। के सत्पुरुषका कुनै अवगुण हुँदैनन्? सत्यमोहन जोशीका एउटा पनि अवगुण थिएनन्? सत्पुरुषका अवगुणका बारेमा लेख्नै नहुने हो र? कतैबाट उत्तर पाउन नसकिएको एउटा आम जिज्ञासा।

प्रकाशित: ३० असार २०८० ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App