१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

कापिटी स्मृतिका डोब

संस्मरण

न्युजिल्यान्डवासीहरूले सन् २०१० पछिका विध्वंसात्मक भूकम्पपश्चात् सहरी पुनर्निर्माण र पुस्तान्तरणका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे। उनीहरूले गरेको पुनर्लाभ प्रक्रियाबाट सिकेका पाठहरू हाम्रो पुनर्निर्माणमा कार्यान्वयन गर्न सकियोस् भन्ने उद्देश्यले नेपालबाट सन् २०१९ मा त्यसतर्फ गएको भ्रमण टोलीमा मलाई पनि सहभागी हुने संयोग मिल्यो।

संस्कृतिको विद्यार्थीका नाताले पनि म त्यहाँका आदिवासी माउरी जातिको संस्कृति एवं सभ्यताका बारेमा जान्न ज्यादै उत्सुक थिएँ। भ्रमणका क्रममा उनीहरूसँग एकापसमा वार्तालाप मात्र भएन, नजिकबाट बुझ्ने सुअवसरसमेत मिल्यो।

त्यो द्वीप र समुद्र

त्यो डिसेम्बर ७ तारिखको दिन थियो। हामी वालिङ्टन सहरबाट कापिटी द्वीपको यात्रामा निस्कियौ। त्यो द्वीपको यात्राका लागि तम्तयार हामीलाई क्याप्टेनले ब्रसले जुत्ता पुछेर पावर बोर्टमा चढ्न भने। भ्रमण दलका सबै सदस्यहरू ज्यादै उत्साहित थियौं। बोर्टमा बसेलगतै क्याप्टेनले लाइफ ज्याकेट दिए र यात्रामा पालना गर्नुपर्ने नियमका बारेमा सर्सती बताए। करिब पन्ध्र मिनेटको समुद्री यात्रापश्चात् कापिटीद्वीप टेकियो। त्यो द्वीप हाम्रै पूर्वी नेपालको कोसीटप्पुजस्तै समुद्रको बीचमा सुहाएको टीकाझैं प्रतीत हुन्थ्यो। क्याप्टेनले कापिटीद्वीपको तट बोर्ट पुर्‍याई रोके र भरपूर आनन्द लिन भन्दै बोर्ट घुराए।

सूचना केन्द्र र माउरी संस्कृति

बोर्टबाट झरेलगतै हामीले कापिटीको यात्रा तय गर्‍यौं। नजिकैको सूचना केन्द्रमा पुगी रोकियौं। त्यहाँ हामीलाई आदिवासी माउरीहरूले परम्परागत मौलिक भाषा र लवजमा स्वागत गरे। नयाँ कामको सुरुवात गर्दा होस्, अतिथिको स्वागत सत्कार गर्दा होस्, नयाँ अन्नबाली लगाउँदा होस् वा पाकेको अन्नवाली भित्र्याउँदा वा खाना खानुअघि नै किन नहोस् उनीहरू आफ्नै संस्कृति र परम्पराअनुसार विधिविधानको कटिबद्ध भई अक्षरशः पालना गर्छन्।

माउरीको थातथलो

पश्चिम अफ्रिका मूल घर भएको माउरी जाति न्युजिल्यान्डको उत्तरी टापुमा ईश्वीको बाह्रौं शताब्दीदेखि आदिम जातिका रूपमा निरन्तर बस्दैआएको रहेछ। ‘कृषि पेसामा आबद्ध ती माउरी जातिलाई सरकारले त्यहाँबाट अन्यत्र स्थानान्तरण गरी उनीहरूको पुरानो आवादी क्षेत्रलाई हाल नेचर रिजर्भका रूपमा घोषणा गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्‍यो,’ गाइडले अघि भने।

पर्यटकहरू दुहुना गाई हुन्। तिनलाई जति बढी घाँसपात, कुँडो र परालादि खुवाइन्छ, त्यति नै बढी दुध दिन्छन्।

त्यो द्वीपमा खेतीको सुरुवात कहिले भयो भन्ने सन्दर्भमा खोजी गर्दा सन् १८३८ मा पहिलो पटक युरोपेली एक कृषकले आफूसँगै भेडा र बाख्रा ल्याएका थिए रे! त्यसको एकवर्षपछि  (१८३९) त्यहाँ भयानक आगजनी भई सबै जङ्गल नष्ट भयो। सन् १८९७ मा त्यहाँको सरकारले संरक्षण ऐन बनायो। त्यहाँ खेती गर्ने माउरीहरूलाई सरकारले जग्गाको मुआब्जा स्वरूप क्षतिपूर्ति दियो र तीन वर्षभित्र (सन् १९०० को नोभेम्बर) मा खेतीयोग्य भूमि खाली गर्न उर्दी नै गर्‍यो। त्यो टापुको उत्तरी भेगका २ उपत्यका सन् १९६० सम्म पनि निजी स्वामित्वमै कायम थिए। तीमध्ये एउटा उपत्यकाको सानो भूभाग चाहिँ अद्यापि माउरीकै स्वामित्वमा रहेछ।

द्वीपको दिगो संरक्षण

भ्रमणताका गाइडले हामीलाई त्यो द्वीपको प्राचीनता, त्यहाँ बसोबास गर्ने विभिन्न वन्यजन्तु, पशुपन्छी एवं वनस्पतिका बारेमा विस्तृत जानकारी दिइन्। ‘सन् १९२८ तिर यहाँबाट करिब २ हजार बाख्रा अन्यत्र सारिए, सन् १९३५ सम्ममा वन बिरालाहरू लोप भएर गए। त्यहाँ रहेका पोजुम्स आदि वन्यजन्तुहरू उन्मूलन गर्न सन् १९८० देखि लगातार छ वर्षको समय लाग्यो भने मुसाहरू सन् १९९६ तिर उन्मूलन गरिए,’ गाइडले भनिन्।

हामीलाई घुमाउने ती महिला गाइड स्थानीय माउरी समुदायकै महिला थिइन्। गाइडले बाटोमा हिँड्दै गर्दा जङ्गलमा सानो किवी चराको गुँड (प्वाल) देखाइन्। अलि पर पुगेपछि हामी हिँड्ने मार्ग फाटियो। हामीमध्ये केहीले उकालो मार्ग रोज्यौं भने केही साथीहरूले समथर मार्ग पछ्याए।

भ्रमणको निम्तो

हामी सुस्तरी उकालो चढ्दै थियौं, बाटोमा तीन–चार जना महिलाहरू भेटिए। ती सबै माउरी रहेछन्, आन्तरिक पर्यटक। हाम्रो एकअर्कामा परिचय भयो। गिरि (पर्वत) राज सगरमाथाको देश नेपालबाट आएको भनेपछि हामीप्रति तिनले खुब चासो देखाए। मैले गफैगफमा तिनलाई नेपाल भ्रमणको निम्तो दिएँ।

चराको गुँड

कापिटी द्वीपको जङ्गलमा चराहरू भुर्रभुर्र उडेका देखिन्थे। त्यो ठाउँ चरा पर्यटकका लागि पनि प्रसिद्ध रहेछ। ती दुर्लभ चराको नाउँ पनि स्थानीय माउरी भाषामै राखिएको रहेछ। त्यहाँ काका, सानो किवी, किङकाङ, टिकी, हिही जस्ता थल र समुद्री चराको गुँड नै रहेछ। ती पन्छीहरूको प्रदर्शित व्यवहारलाई नजिकबाट नियाल्दा परिवारका सदस्यझैं लाग्थे। त्यहाँ जङ्गली सिकार निषेध छ।

नयनले नभ्याउने समुद्र

उकालो चढ्दै गयौं। अन्ततः हामी टापुको शिरमा टुप्लुकियौं र गलैंचाझैं घाँसमा पल्टिएर लामो श्वास फेर्‍यौं। त्यो गिरि (पर्वत) बाट नेत्रले नभ्याउने विशाल गैरवाचाल समुद्र देखेर हामी सबैको मन प्रफुल्ल मात्र भएन कि थकान र भोक सबै मेटिएको महसुस भयो। आहा ! त्यो क्या सुन्दर र मनै लोभ्याउने अनुपम भू–सामुद्रिक सङ्गमथलो, जसले कापिटीको जैविक विविधता र सामुद्रिक वैभवताको दुर्लभ र महत्वपूर्ण अंशलाई सँगालेको छ।

कठालो र किङकाङ चरो

त्यो हामीले टेकेको बिन्दु कापिटी द्वीपको कठालो रहेछ, जुन सन् १९९२ मा स्थापित कापिटी मारिन रिजर्भको पूर्व र पश्चिमबाट घेरिएको छ। त्यो साँच्चिकै कठालो नै रहेछ, जहाँबाट मान्छेमाथि चढ्न असम्भव छ तर किङकाङ चरो जो त्यो गिरिको कठालोमाथिको पहाडी भिर र विशाल समथर समुद्री फाँटमाथि खुला आकाशमा बेलाबखत पखेटा फिजाई उडान भर्दोरहेछ। त्यो प्राकृतिक सौन्दर्यबाट मोहित हामीमा विभिन्न पोजमा तस्बिर खिच्ने प्रतिस्पर्धा नै चल्यो।

खोज र अनुसन्धान

बृहत्तर वालिङ्टन क्षेत्रको जलीय सौन्दर्य एवं मनमोहक भूपरिदृश्यको संरक्षण गर्ने उद्देश्यले स्थापित उक्त क्षेत्रमा माछा मार्न, वन्यजन्तु र वनस्पतिको विनाश, वातावरणीय प्रदूषण एवं प्राकृतिक वस्तुको विनास गर्न पूर्ण रूपमा बन्देज छ। सरकारको संरक्षण विभागले बर्सेनि त्यो टापुको खोज, अनुसन्धान गरी अध्यावधिक तथ्य प्रकाशित गर्दोरहेछ।

जीवन निर्वाहको आधार

वास्तवमा कापिटी एउटा त्यस्तो भूस्थल हो, जसले समुद्रलाई मात्र जोडेको छैन, त्यहाँका वनस्पति, जीवजन्तु र रैथाने माउरी संस्कृतिको संरक्षण गर्दै पर्यटन उद्योगमार्फत् जीविकोपार्जनको आधारसमेत सुनिश्चित गरेको छ। त्यो द्वीप पर्यटनले गर्दा आज कनकमय (सुवर्णमय) बनेको छ भने त्यहाँका आदिवासी माउरीका लागि त्यो भूमि मणितुल्य साबित भएको छ।

भनिन्छ, पर्यटकहरू दुहुना गाई हुन्, जसलाई जति बढी घाँसपात, कुँडो र परालादि खुवाइन्छ, तिनले त्यति नै बढी दुध दिन्छन्। आज माउरीहरू दुहुना गाईरूपी आन्तरिक र बाह्य पर्यटकलाई व्यावसायिक ढंगबाट सेवा प्रदान गर्न आतुर र लालायित देखिन्छन् भने त्यहाँको पर्यटन राजहाँसजस्तो देखा पर्छ, जसले प्रत्येक दिन सुवर्ण अन्डा पार्दछ। आज संसारभरिका पर्यटकहरू नौका चढी त्यस क्षेत्रमा रमाउन पुग्छन्।

माउरी कला र संस्कृति

हाम्रा लागि ती आदिम माउरी जाति र तिनको संस्कृति अनि त्यहाँको ससाना पोथ्रा रुखहरूले भरिपूर्ण कापिटी द्वीप बिल्कुल पहिलो र नौलो थियो। यात्राको अन्त्यतिर हामी त्यहीं समुद्री तटको लजमा दिउँसोको खाना खायौं। त्यो लजको आँगनीको अग्रभागमा सयन मुद्रामा दायाँ हातले शिर अडेस लगाई लमतन्न सुतेको नारी आकृति देखिन्थ्यो। त्यो नारी आकृतिले पुरातन माउरी जातिको कला र संस्कृतिलाई झल्काउँदो हो, जुन ज्यादै सुन्दर थियो।

अन्त्यमा,

बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक एवं भौगोलिक विविधताले युक्त प्रकृति र सांस्कृतिक दृष्टिकोणले सम्पन्नशाली उच्च सम्भावना बोकेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका असंख्य गन्तव्य स्थलहरूको सही पहिचान गरी वर्तमान सरकारले अगाडि सारेको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ भन्ने मूल नारालाई योजनाबद्ध र वैज्ञानिक ढंगबाट विकास गरी आन्तरिक एवं बाह्य पर्यटकहरूलाई भित्र्याउन सकेमा नेपालका प्रत्येक ठाम र धामहरू संरक्षित भई कनकमय मात्र बन्ने छैनन्, नेपालको समग्र अर्थतन्त्रमा अभिवृद्धि भई हरेक नेपालीको मनमा सुख र ओठमा मुस्कान अवश्यम्भावी छाउनेछ।

यो अठोटलाई साकार पार्न नेपाल सरकारले एक प्रदेश एक सांस्कृतिक ग्राम, नेपाल भ्रमण दशक (सन् २०२३–२०३२) र विशेष पर्यटन वर्ष (सन् २०२५) घोषणा गरिसकेको सन्दर्भमा अब हामी सबै नेपालीलाई दृढ संकल्प र एकीकृत ढंगबाट अघि बढ्ने प्रेरणा मिलोस्, अस्तु।

(लेखक पुरातत्व विभागका अधिकृत हुन्)

प्रकाशित: ३० असार २०८० ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App