१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

इलाको आगमन

‘हामीले हाम्रो बुवालाई गुमायौँ तर त्यो बलिदानीबाट हामीले अनुभव गर्ने गरी के परिवर्तन आयो ? सोध्ने अधिकार हाम्रो पिँढीलाई छ । द्वन्द्वकालमा धेरैले ज्यान गुमाउनुप¥यो, अब त्यो बलिदानी सार्थक हुनुपर्छ,’ निर्वाचन आयुक्त इला शर्मा भन्छिन्, ‘पुरस्कार समारोहमा मेरी छोरीले मेरै भाषा बोली छ । द्वन्द्वकालमा हामी धेरैले आफन्त गुमाएका छौँ, क्षति व्यहोरेका छौँ । अब निर्वाचन प्रणालीबाट देशमा लोकतन्त्र संस्थागत हुनुपर्छ ।’   

कृष्णमोहन–नुडुप शान्ति पुरस्कार– ०७१, निर्वाचन आयुक्त इलालाई दिइयो । आफू नेपालमा नभएकाले पुरस्कार लिन इलाले जेठी छोरी पठाएकी थिइन् । आमाको पुरस्कार बुझेपछि उनले केही भनाइ राखेकी थिइन् । 

इलाका पति नवराज पौडेल तत्कालीन विद्रोही माओवादीबाट मारिएका हुन्, ०५६ मा । जतिबेला उनी जाजरकोटमा इन्स्पेक्टर थिए । द्वन्द्वपछि देश शान्तिप्रक्रियामा गयो । यो बीचमा गणतन्त्र आयो । संविधानसभामार्फत देशले नयाँ संविधान पायो । 

‘म यस्तो वातावरणमा हुर्कें कि कसैको बिहेमा गइनँ, पहिलोपटक आफ्नै बिहे हेरेँ । आठ कक्षादेखि बिएससी पास गरुन्जेल फिल्म हेर्दिनथेँ । स्कुल, कलेजमा साथीहरूले फिल्मका हिरो–हिरोइनको कुरा गर्थे, मलाई थाहै नभएर लाज हुन्थ्यो ।’

यो परिवर्तनलाई संस्थागत गर्न देशमा तीन तहको निर्वाचन हुन आवश्यक छ । अहिले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको विशेष भूमिका रहन्छ । महिलाको प्रतिनिधित्व गर्दै इला शर्मा निर्वाचन आयुक्त छन् । उनी यो स्थानसम्म कस्तो समय, संघर्ष, समाज र परिवारबाट आइन् त ?   

राणा प्रधानमन्त्री देवशमशेर तत्कालीन सत्ता संघर्षको चलखेलमा परी पदच्युत भएर लखेटिए । उनीसँगै पुरेत भएर बनारस पुगेका थिए, धादिङका पण्डित भवनाथ शर्मा रेग्मी, जो इलाका हजुरबा हुन् । बनारस एक समय नेपालीका लागि धर्म, शिक्षा र राजनीतिको त्रिवेणी थियो । राणाकालमा नेपाली पुस्तक र पत्रिका त्यहीँबाट प्रकाशित हुन्थे । राणाशासन हटाउने राजनीतिक गतिविधि पनि बनारसमै हुन्थे । मानिसहरू पढ्न र तीर्थयात्राका लागि पनि बनारस नै पुग्थे । 

भवनाथले उतै घरजम गरे र उनका छोरा माधवप्रसादले बनारसमा प्रकाशनगृह खोले । इला भन्छिन्, ‘मेरो बुवाले सुरुमा बिपी कोइरालाका बाबु कृष्णप्रसाद कोइरालासँग मिलेर कृष्ण–माधव एन्ड कम्पनी खोल्नुभएको रहेछ, जसबाट ‘गोर्खाली’ नामक पत्रिका निक्लन्थ्यो ।’ पछि यो ‘बाबु माधवप्रसाद शर्मा एन्ड कम्पनी’मा बदलियो, यो अझै पनि छ । अहिले यसलाई इलाका भाइले चलाउँछन् । 

पछि बनारस दूधविनायक भन्ने स्थानमा माधवप्रसादले घर किने । ‘साढे तीन सय वर्ष पुरानो त्यो घर अझै पनि छ,’ इला भन्छिन्, ‘ढुंगाको खम्बा, ढुंगाको दलिन, बार्दली र ठूलो चोक भएको । म त्यही घरमा हुर्केकी हुँ ।’ 

तीन वर्षकी हुँदा इलाले बाबु गुमाएकी हुन् । उनको बुवाको निधन ७७ वर्षको उमेरमा भएको हो, जतिबेला उनकी आमा ४७ की थिइन् । इलाको पालनपोषण आमा कुष्णाकुमारीबाट भयो । इलाको पृष्ठभूमि जान्न उनकी आमातिर फर्कनुपर्ने हुन्छ ।

उनकी आमाको जन्म बाग्लुङको गलकोटमा भएको हो– ठकुरी परिवारमा, १९७७ सालमा । ऊ बेला छोरीको सानैमा विवाह हुन्थ्यो । तर, अलि मोटी भएकीले २० वर्ष पुग्दासम्म कुष्णाकुमारीको विवाह हुन सकेन । कृष्णाकुमारीका बुवा ललितबम मल्ल बेलायती सेनाबाट अवकाशप्राप्त थिए । इला भन्छिन्, ‘राणाशासन हटाउने आन्दोलनका सहिद थिरबम मल्ल मेरो नजिकको मामा पर्नुहुन्छ ।’ ललितबमले गोरखपुरबाट पेन्सन बुझ्थे । पेन्सन बुझ्न जाँदा हरेक वर्षजसो उनले छोरी कृष्णालाई पनि गोरखपुर लैजान्थे । 

गोरखपुर जाने क्रममा ललितबमलाई कसैले कुरा ल्यायो, बनारसमा प्रकाशनगृह चलाएर बसेका माधवप्रसाद रेग्मीसँग कृष्णाको बिहे गर्न उचित हुन्छ । कुरा मिलेपछि उनले छोरीको विवाह गरिदिए । माधवप्रसादको यो तेस्रो विवाह थियो । त्यसअघिका दुई पत्नीको देहान्त भइसकेको थियो । 

माधवप्रसादका दाइका छोरा नरेन्द्र रेग्मी राष्ट्रिय नेपाली कंग्रेसको पहिलो कोषाध्यक्ष हुन् । उनले युगवाणी भन्ने पत्रिका निकाल्थे ।  यसरी एउटा शिक्षित परिवार र वातावरणमा ठकुरी आमा र बाहुन बाबुबाट इलाको जन्म भयो, ०२३ सालमा । उतिबेला बनारसमा तीनवटा नाम चलेका प्रकाशन गृह थिए– विश्वराज हरिहरराज शर्मा एन्ड कम्पनी, सुब्बा होमनाथ केदारनाथ एन्ड कम्पनी र इलाको बाबुको कम्पनी । ‘मेरो बुवाको निधन हुँदा कपी राइटका ११ वटा मुद्दा थिए,’ इला भन्छिन्, ‘सबै आमाले नै सम्हाल्नुभयो ।’ प्रकाशन चलाउनेसँग विवाह भएकाले पनि इलाकी आमाले लेखपढ गर्न सिकिन् ।

इलाको प्रकाशनमा सुरुमा कृष्णप्रसाद ढुंगाना नाम गरेका गुरुले शुद्धाशुद्धि हेर्ने काम गर्थे । उनी नेपाली संस्कृत महाविद्यालयका प्राचार्य पनि थिए । उनले सिद्धान्त ज्योतिष र नेपाली विषय पढाउँथे । उनी इलाकै घरमा बस्थे, इला र उनका भाइलाई बिहानमा अष्टाध्याय र तर्कसंग्रह घोकाउँथे । घरको यही वातावरणले गर्दा पनि इलाले संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरिन् । शास्त्री पढ्दा एउटा विषय नेपाली साहित्य पनि पढ्नुपथ्र्यो । सँगसँगै उनले अंग्रेजी माध्यमबाट औपचारिक शिक्षा पनि लिँदै थिइन् । 

भारतीय स्वतन्त्रता संग्रामबाट प्रभावित इलाकी आमा केही प्रगतिशील थिइन् । खासगरी गान्धी विचारधाराप्रति उनको झुकाव थियो । छोराछोरीलाई रंगीविरंगी कपडा लगाउन हुँदैन भन्थिन् र छोराछोरीलाई पढ्नैमा जोड गर्थिन् । इला भन्छिन्, ‘म यस्तो वातावरणमा हुर्कें कि कसैको बिहेमा गइनँ, पहिलोपटक आफ्नै बिहे हेरेँ । आठ कक्षादेखि बिएससी पास गरुन्जेल फिल्म हेर्दिनथेँ । स्कुल, कलेजमा साथीहरूले फिल्मका हिरो–हिरोइनको कुरा गर्थे, मलाई थाहै नभएर लाज हुन्थ्यो ।’ 

उनकी आमा अध्ययनशील थिइन् र साहित्यको परख पनि गर्थिन् । उनलाई टेलिभिजनमा आउने झाँसीकी रानी सिरियल खुब मन पथ्र्यो । उनले मोदनाद प्रश्रितलाई बोलाएर भनिन्, झाँसीकी रानी लक्ष्मीबाईमा आधारित उपन्यास लेख्नुस् ।’

इला सम्झन्छिन्, ‘मलाई सम्झना छ, साँझ ४–५ बजेतिर सधैँजसो मोदनादजी झोला बोकेर हाम्रो घरमा आउनुहुन्थ्यो र त्यो दिन लेखेको चार–पाँच पाना पाण्डुलिपि पढेर मुमालाई सुनाउनुहुन्थ्यो । अनि, मुमाले फिडब्याक दिनुहुन्थ्यो । यसरी जन्मेको त्यो उपन्यास त्यतिबेलाको बेस्ट सेलर थियो ।’  

पुस्तकबारे इलाकी आमाको दृष्टिकोण साँच्चिकै उच्च थियो । छोराछोरीलाई पुस्तक जति भने पनि किनिदिन्थिन् । ‘मलाई टिनटिन कमिक्स खुब मनपर्ने । मुमाले मेरो जन्म दिनमा  एउटा र भाइको जन्म दिनमा एउटा टिनटिन कमिक्स किनिदिनुहुन्थ्यो,’ इला आमाको पुस्तकप्रतिको लगाव भन्छिन्, ‘मेरो पास्नीमा पनि मलाई ‘भृकुटी’ उपन्यासको कपी राइट उपहार दिनुभएको थियो, राजेश्वरदत्त शास्त्रीले लेखेको । बनारसमा मेरो मुमाको लाइब्रेरी अझै पनि छ, जसमा नेपाली भाषाका दुर्लभ पुस्तक छन् ।’

नेपाललाई साहित्यमा पढिन्
इलाको प्रकाशनगृहमा साझा प्रकाशनका पुस्तक पनि राखिएका थिए । इलाले लक्ष्मी निबन्ध संग्रह, भीमनिधि तिवारीका कथालगायत थुप्रै नेपाली साहित्य पढिन् । तिनै साहित्यमा पढेको परिवेश, पात्र, घटनालाई जोडेर उनले नेपाल र नेपालीबारे चित्र र धारणा बनाउँथिन् । 

उनले बनारसबाटै बिएससी र एलएलबी गरिन् । ‘मैले पढेको हरिश्चन्द्र कलेज गोरखपुर युनिभर्सिटीमा सम्बद्ध थियो । मैले एलएलबीमा गोरखपुर युनिभर्सिटी टप गरेँ,’ उनी भन्छिन्, ‘मलाई पढाउने प्राध्यापकहरू भन्थे– इलाले कि त यहीँ पढाउँछे या न्यायाधीश बन्छे । सिभिल सर्भिसका लागि जाँच दिन २१ वर्ष पुग्नुपथ्र्यो । तर, त्यतिबेला म भर्खर १९ की थिएँ ।’

त्यसपछि उनी टोफेल गर्न नेपाल आइन्, ०४४ सालतिर ।  घरमा पढाउने गुरु कृष्णप्रसाद ढुंगानासँग । इला अड्कल काट्छिन्, ‘छोरीले नेपाल देखोस्, उतै विवाह होस् भनेर होला, घुम्न–डुल्न घरबाट बाहिर निस्कन पनि नदिने मुमाले मलाई नेपाल पठाउनुभयो ।’ 

नेपाल आएको दुई वर्षमै उनको विवाह नवराज पौडेलसँग भयो । नवराजका बाबु रामराज पौडेल गोरखापत्रका पूर्वसम्पादक हुन् । उनी पुस्तक, प्रकाशन यस्तै सिलसिलामा इलाको घर बनारस गइरहन्थेँ । काठमाडौंमा इला रामराजकहाँ बसिन् । टोफेल मात्रै गरिनन् । आफू बसेको घरको वातावरणका कारण पनि उनले नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारितामा डिप्लोमा गरिन् । 

पत्रकारिता पढेपछि इन्टर्नसिप गर्नुपथ्र्यो । इला इन्टर्नसिपका लागि अंग्रेजी दैनिक राइजिङ नेपालमा गइन् । त्यहाँ पत्रकार चाहिएका बेला दरखास्त दिएर जागिर सुरु गरिन् । झन्डै १३ वर्ष उनले राइजिङ नेपालमा काम गरिन् । उनले खासगरी राजनीति, अर्थ विकास र लैंगिक सवालमा सम्पादकीय लेख्थिन् । यो बीचमा उनले आफ्नो अध्ययनको सदुपयोग गर्दै वकालत पनि गरिन् । उनी भन्छिन्, ‘कानुनमा मास्टर्स गर्न अमेरिका जान भनेर टोफेल गर्न आएकी थिएँ, यतै भुलेँ ।’ 

रामराजका छोरा नवराज प्रहरी जागिरे थिए । सुरुमा नवराजले इलाको विवाहका लागि आफ्ना साथीहरूसँग कुरा चलाउँथे । एक दिन नवराजले भनेँ, ‘इला, तिमीलाई म काठमाडौं घुमाइदिन्छु ।’ उनले मोटरसाइकलमा राखेर इलालाई काठमाडौंका कुना–कुना देखाए ।  ‘सुरुमा उसले मलाई हेर्न आफ्ना साथीहरू ल्याउँथ्यो । मेरो विवाह कुनै राम्रो मान्छेसँग होस् भन्ने चाहन्थ्यो,’ इला आफ्नो प्रेम प्रसंग सम्झन्छिन्, ‘तर मोटरसाइकलमा घुमाएको ५–६ दिनपछि उसले भन्यो– मलाई तिमी मन पर्याे । मलाई त्यसो भन्ने ऊ पहिलो थियो, मलाई पनि ऊ मन पर्न थाल्यो । हामीले ०४५ सालतिर बिहे गर्यौं ।’

विवाहपछि पनि उनी पढाइ र जागिरमा सक्रिय भइन् । नेपालमा एलएलएम खुल्यो, इलाले पहिलो ब्याचमै एलएलएम गरिन् ।  यतिन्जेल उनका दुई छोरी भइसकेका थिए भने पति नवराज लिखित परीक्षाबाट इन्स्पेक्टर भइसकेका थिए । तत्कालीन विद्रोही माओवादीबाट नवराज मारिँदा छोरीहरू ८ र ६ वर्षका थिए । यसपछि इलाको जीवनमा दुःख थपियो । तर, उनी हार मानिनन् । अन्तर्राष्ट्रिय व्यापार कानुनमा एलएलएम गर्न बेलायत गइन्, चिवनिङ छात्रवृत्ति पाएर ।

बेलायतबाट फर्केपछि देशमा डब्लुटिओसँग मिल्ने खालको ऐन बनाउनपुर्ने थियो । युएनडिपीको प्रोजेक्टमार्फत ऐन मस्यौदा तयार गर्न कन्सल्टेन्टका रुपमा उनले काम गरिन् । सन् २००५ देखि उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडमा जागिर गरिन् । यो बेला उनलाई आमाले बनारस बोलाइरहेकी थिइन् तर कामको व्यस्तताले उनी जान पाइरहेकी थिइनन् । उनी ढिला गरेर आमालाई भेट्न गइन्, सन् २००७ मा । उनी गएको दुई दिनमै आमा खसिन् । इला भन्छिन्, ‘आमा बेस्सरी कमजोर भइसक्नुभएको थियो, उहाँले मलाई चिन्नुभएन । यसले मलाई दुःखी बनायो र एक्सन एडको जागिर छाडेँ ।’ 

योबीचमा उनले केही समय काठमाडौंस्थित अमेरिकी राजदूतावासमा वरिष्ठ संस्कृतिविद्का रूपमा पनि काम गरिन् । 

बेलायतमा इलालाई पढाउने बेल्जियमका एकजना प्रोफेसर थिए  । उनले इलालाई पिएचडी गर्न बेल्जियम आउन सल्लाह दिए । युरोपियन युनियनको तीन वर्षे कोर्सको स्कलरसिप पाएर इला पिएचडी गर्न बेल्जियम गइन्, सन् २०१० मा । यहीबेला उनका दुई छोरीले प्लस टु सकेर भारतमा स्नातक गर्न गएका थिए । आमा र छोरीहरूले समय मिलाएर हरेक वर्ष एकपटक दिल्लीमा भेट गर्थे । 

सन् २०१३ मा छोरीहरूलाई भेटेर उनी काठमाडौं आएकी थिइन्, उता तीन वर्षे पिएचडी सकिएको थिएन । त्यहीबेला उनलाई तत्कालीन सरकारले निर्वाचन आयुक्तका लागि सिफारिस गर्याे ।  आयुक्त भएपछि उनले थुप्रै जिम्मेवारी पाइन् । २०७० को निर्वाचनताका नियमित आयोगका काम–कारबाही त छँदै थियो । त्योबाहेक उनलाई दोस्रो पञ्चवर्षीय रणनीतिक योजना निर्माण, निर्वाचन कानुन तर्जुमा, निर्वाचन कार्यविधि निर्माण, निर्वाचन सञ्चालन तालिका निर्माण तथा प्रेस एवं सञ्चार, लैंगिक एवं समावेशीकरणको कार्य हेर्ने विशेष जिम्मेवारी थियो । 

पछिल्लो समय इलाबारे एउटा हल्ला चल्यो– भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसुबाई कुरसेईसँग उनको प्रेम सम्बन्ध छ । यसबारे इला भन्छिन्, ‘हाम्रो भेट मेक्सिकोमा भएको हो, एउटा कन्फ्रेन्समा । उहाँको एउटा पुस्तक मैले पढेकी थिएँ– एन अनडकुमेन्टेड ओन्डर, द मेकिङ अफ द ग्रेट इन्डियन इलेक्सन । मलाई उहाँको पुस्तक मन परेको थियो । उहाँलाई त्यहाँ भेट्दा हामीबीच सामान्य परिचय भयो । मलाई डायबिटिजको समस्या छ, म दिल्लीको एपोलो हस्पिटलमा उपचारका लागि गइरहन्छु । यसरी जाँदा कहिलेकाहीँ हाम्रो भेटघाट हुन्छ तर हाम्रोबारे जसरी मिडियामा समाचार आएका छन्, ती सही होइनन् । हामी राम्रो मित्र हौँ ।’ 

प्रकाशित: ६ जेष्ठ २०७४ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App