२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

प्रकृति! तिमी भएर त म छु

निबन्ध

तिमी कति स्नेही, कति प्रिय, कति मायालु ! कति सुन्दर, कति नौलो ! प्रत्येक पटकको दृष्टिकोणमा कति नवीनतम् प्रकृति तिमी। तिमी भएर ‘म’, म भएर ‘तिमी’।

हरेक पटकको हेराइमा तिम्रो रूपले मेरा आँखा र मनलाई लट्ठै पार्छ। म तिमीलाई बिछट्टकै अवतारमा अवतरित भएको पाउँछु। अनि म खुसीले रमाउँदै बिहानीलाई स्वागत गर्न थाल्छु।

तिम्रा अङ्ग–अवयवका रङहरूको अनौठो संयोजन कति सुन्दर। प्रकाशका कोमल किरणहरूले तिमीलाई चुमिदिँदा ओहो प्रकृति ! तिमीमा रङरूपका बिछट्टै स्वरूप देखिने। त्यही स्वरूपमा लोभी आँखा र मन झुम्मिने। यस्तो दैवी सिर्जनामा आँखालाई कति शीतल, कति आनन्द प्राप्ति हुने। रूप–स्वरूप अनि छाया, रङ र प्रकाश आहा ! कति मिठासले भरिपूर्ण। मिलाउनै नपर्ने आफैं मिलेको। बनाउनै नपर्ने आफैं बनिबनाउ। कसैले केही गर्नै नपर्ने चिरिच्याँट्टको हार्दिक संरचना।

तिमी कति स्नेही, कति प्रिय, कति मायालु ! कति सुन्दर, कति नौलो ! प्रत्येक पटकको दृष्टिकोणमा कति नवीनतम् प्रकृति तिमी। तिमी भएर ‘म’, म भएर ‘तिमी’।

प्राकृतिक दृश्यहरूका सुकोमल स्पर्शहरूमा झङ्कृत पार्दै। प्रकृति सुस्वादु दृश्यहरूमा झुम्म पार्दै। प्रकृति तिम्रै परिवेशमा म लट्ठ, मुग्ध, मन्त्रमुग्ध!

प्रकृतिको रङ हजार। प्रकृतिको रूप हजार। प्रकृतिको अनुभूति हजार। प्रकृतिको प्रभाव हजार। प्रकृतिको प्रेरणा हजार। अतः हजारौं सौन्दर्यको खानी प्रकृति तिमी !

म प्रकृति। प्रकृति म। प्रकृतिप्रेमी मेरो स्वभाव। म ‘प्रकृति’, अर्थात् प्रकृति ‘म’। प्रकृति भएर ‘म’, म भएर नै ‘प्रकृति’। हामी अन्योन्याश्रित एकअर्कामा। गहिरो सम्बन्ध, नङ र मासुजस्तै। अनुपम सम्बन्धको सुन्दर साइनो। त्यही साइनोले स्थापित सनातन सिलसिला।

म हुर्किरहेछु हर्लक्क। फुलिरहेछु ढकमक्क, बाँड्दै सौन्दर्य र सुवास। बगिरहेछु म अविरल सागरको गहिराइ पुग्न। उडिरहेछु म आकाश भेट्न। हाँसिरहेछु जीवनको खुसी बाँड्दै। रमाइरहेछु म आफू आफैंसँग। प्रकृतिबाट प्रेरणा पाएर साथ भेटेर हरदम सक्रिय, हरपल ऊर्जाशील म।

प्रकृतिको रङ हजार। प्रकृतिको रूप हजार। प्रकृतिको अनुभूति हजार। प्रकृतिको प्रभाव हजार। प्रकृतिको प्रेरणा हजार। अतः हजारौं सौन्दर्यको खानी प्रकृति तिमी!

म मेरो जिन्दगी मस्तले बिताइरहेछु। मसँग प्रेरणा र प्रणयका खातहरू कतिकति। माया र प्रेमका उच्छ्वासहरू पनि कति धेरै। म आफैं मख्ख र गजक्क। अनि आफैं प्रफुल्लित। यही खुसीमा लुट्पुटिएर हुर्किएको मेरो जीवन। छलछामभन्दा पर मायाको मिठो मिठास। निःस्वार्थ प्रेरणाको सुमधुर आभास।

चराको चिरीबिरी गुञ्जनमा लट्ठ पर्दै। सूर्यको किरणमा जाडो धपाउँदै। न्यानोमा आलिङ्गनबद्ध। शान्त र शीतल हावाको स्पर्शमा रोमाञ्चित हुँदै। आफू मात्रै होइन अरूलाई पनि आनन्दित पारिरहेछु, बाँडिरहेछु, हाँसिरहेछु, रमाइरहेछु।

जीवन हो, कहिले के हुन्छ कसले भन्न सक्छ र! न सधैं खुसीमै मस्त रहन सकिन्छ। न सधैं दुःखकै गहिराइमा डुबिरहिन्छ। सम्बन्धहरू पनि कहिले नजिकिन्छ। कहिले टाढिन्छ। कहिले फाट्छ, कहिले सुधिन्छ, कहिले बिग्रिन्छ। तर सधैं उस्तै रहिरहँदैन। सधैं एउटै अवस्था रहनु पनि हुँदैन।

मिलन र विछोड। हर्ष र विष्मात। दिन र रातजस्तै अविच्छिन्न। घाम र छायाजस्तै एकसाथ।

चुपचाप बस्न नसक्ने जीवन। सधैं चञ्चल चलायमान चरित्रको। गतिशीलता नै उसको पहिचान। सिर्जनशीलता नै उसको स्वभाव। मुर्दाशान्ति वा मृतप्रायः त्यो जीवन होइन।

चराको चिरीबिरी गुञ्जनमा लट्ठ पर्दै। सूर्यको किरणमा जाडो धपाउँदै। न्यानोमा आलिङ्गनबद्ध। शान्त र शीतल हावाको स्पर्शमा रोमाञ्चित हुँदै। आफू मात्रै होइन अरूलाई पनि आनन्दित पारिरहेछु, बाँडिरहेछु, हाँसिरहेछु, रमाइरहेछु।

फड्को मारेर अवरोधका बाटाहरू। नेटो काटेर घुम्ती, देउराली र भञ्ज्याङहरू। छलाङ मारेर कैयौं जंघारहरू। दुःखका पीडा बिर्सिंदै क्रमशः सफलतासँग हातेमालो गर्दै खुसीसँग अँगालो मार्दै लक्ष्य प्राप्तिमा प्रतिपल प्रतिबद्ध।

सुकिलो बिहानीको कलिलो घाममा तृप्त मन आल्हादित हुनुको बेग्लै सन्तुष्टि। बेग्लै प्राप्ति र प्रेरणाहरू! बेग्लै अनुभूति र अवस्थितिका आयामहरू।

परन्तु, कहिले नभोगेको भोगाइ भोग्नुपर्छ। नदेखेको दृश्य देख्नुपर्छ। कहिले नसोचेको घटना पनि घटित हुन्छ। सामना र सम्झौता पनि गर्नुपर्छ। नहिँडेको बाटो पनि हिँड्नुपर्छ। कहिलेकाहीं नचाहेको कुरा पनि गर्नुपर्छ।

त्यसैले सोचेजस्तो हुन्न जीवन, चाहेजस्तो बन्दैन जीवन।

तर यी सुन्दर आँखाहरूले सधैं सुन्दरताकै रसपान गरिरहूँन्। स्वादे जिब्रोलाई निस्तो, नमिठो, नमज्जा नहोस्। बरू अल्छे तिघ्रोलाई चाहिँ हिँड्न जाँगर चलिरहोस्। नहिँडे गन्तव्य पुगिँदैन। गन्तव्य नपुगे न प्राप्ति, न परिणति, न प्रेरणा।

उपलब्धि शून्य बाँच्नु अर्थहीन जीवन। अतः अर्थपूर्ण जिन्दगी हामी सबैको चाहना !

तस्बिरका जस्तै झरनाको वेग–वायुपंखी स्वभावलाई हेरौं न। कठोर चट्टानमा बज्रिँदै बग्छ झरना। एक्लै, एकान्तमा गुन्गुनाउँदै, हाम्फाल्दै दौडिन्छ झरना। उसको सौन्दर्य मात्रै देख्छौं हामी तर उसको दुःख ऊसँगै छ।

आँखाको हेराइमा कहिले रमाएँ, कहिले डराएँ। कहिले त चहर्‍याएर भुतुक्क पनि भएँ। तथापि धेरै पटक यही हेराइ र देखाइले मलाई नवीन  ऊर्जा दिएको छ, नयाँ ठाउँ देखाएको छ। नौलो परिवेशसँग साक्षात्कार गराएको छ। घुम्नु, पुग्नु र रमाउनुको चाहनाले नै लैजान्छ कतै न कतै। त्यसैले हेर्नु, देख्नु र भेट्नुबाट म सधैं अतृप्त र अवाक्।

परन्तु, कहिले नभोगेको भोगाइ भोग्नुपर्छ। नदेखेको दृश्य देख्नुपर्छ। कहिले नसोचेको घटना पनि घटित हुन्छ। सामना र सम्झौता पनि गर्नुपर्छ। नहिँडेको बाटो पनि हिँड्नुपर्छ। कहिलेकाहीं नचाहेको कुरा पनि गर्नुपर्छ।

हेराइ न हो, त्यही हेराइले कहिले मात लगाउने, कहिले घात गराउने। तर म हेर्नुमै लट्ठिने, हेरिरहनुमै मज्जा लिने। त्यही हेराइकै परिणामतः अनुभूतिका अटेसमटेस भेलहरू। तिनै भेलबाढीमा ओहो जिन्दगीको एक अनुपम यात्रा–अभिलेख।

चाहनाहरू पनि कस्तो हो, कहिल्यै अघाउँजी नहुने। कहिल्यै तृप्ति नमिल्ने। जहिल्यै हेर्नुको, देख्नुको कुत्कुती। जहिल्यै भेट्नुको, बोल्नुको, लेख्नुको हतार। जहिल्यै खानुपिउनुको, घुम्नु, रम्नु, रमाउनु आदिले चौचौ। यही अनेकौं चौचौहरूले चिथोरिँदै जीवन-यात्रामा प्रफुल्लित भइरहनुको प्राप्ति कति हो कति?

देख्नुको दृश्य प्रकृति हेर्नुको आनन्दमा झन् जागृत। त्यही जागृतिले ऊर्जावान् मन। अनि सुन्दरताका बिहानीहरूले चुम्न आउने। मुस्कानमय आभाहरूले हरदम हँसिलो। खुसीका पलहरूमा सधैंभरि चुर्लुम्म। यस्तोमा तृष्णाले झनै भोको आँखा। प्रकृतिलाई हेर्नुको हतारोमा झनै चञ्चल मन।

कति व्याप्ति हो प्राकृतिक सौन्दर्यको। कति मिठो सुवास हो मगमग। रङहरूको कति मिठो मिलन। अनेकौं जीवन कति मजाले मिलेर बसेका। यही हो सामाजिक सद्भाव र अनुकूल पर्यावरणीय परिवेश।

चाहनाहरू पनि कस्तो हो, कहिल्यै अघाउँजी नहुने। कहिल्यै तृप्ति नमिल्ने। जहिल्यै हेर्नुको, देख्नुको कुत्कुती। जहिल्यै भेट्नुको, बोल्नुको, लेख्नुको हतार। जहिल्यै खानुपिउनुको, घुम्नु, रम्नु, रमाउनु आदिले चौचौ। यही अनेकौं चौचौहरूले चिथोरिँदै जीवन–यात्रामा प्रफुल्लित भइरहनुको प्राप्ति कति हो कति?

म मेरो हृदयको अनुभूतिमय तलाउमा डुब्छु। त्यहाँ प्रकृतिको विराट विम्ब उपस्थित! आकृतिहरूको अनौठो अवस्थिति। जता हेरे पनि, जे देखे पनि प्राकृतिक छटा र छविको सुन्दर संयोजन।

अन्ततः प्रकृतिको समीपमा हर्षले गदगद म। प्रकृतिसँगको साक्षत्कारमा खुसीले पागल म। प्रकृतिको सुन्दरतामा म सुटुक्क सामेल। आहा ! जिन्दगी तिमी यसरी रम, यसैगरी रमाऊ। म प्रकृतिलाई हेरेर अघाउन्न। म प्रकृतिलाई देखेर सारा पीडा बिर्सन्छु र आफैंभित्र हराउँछु। साँच्चै हो, ‘प्रकृति तिमी भएर म’। अनि म हेर्नु, देख्नु र भेट्नुको उपलब्धि र तृप्तिले मदहोस चुपचाप ! चुपचाप!

प्रकाशित: १६ असार २०८० ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App