२८ श्रावण २०७७ बुधबार
कला

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

नयाँदिल्ली (भारत)- दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर तिनले किन नोबेल पुरस्कार पाउन सकिरहेका छैनन्? किन यहाँको साहित्य राम्ररी अनुवाद भएर संसारभर पुग्न सकेन? ग्लोबलाइजेसनको कुरा गर्ने तर लेख्नेचाहिँ त्यसको ठीक उल्टो किन?

नयाँदिल्लीमा आयोजित तीनदिने दक्षिण एसियाली लेखक सम्मेलनमा वक्ताले उठाएका प्रश्न हुन् यी। यी प्रश्नसँगै उनीहरूले सार्कका लेखक बढी मात्रामा निजी कुण्ठा लेख्न तल्लीन भएकाले पाठकका निम्ति रुचिकर नभएको समेत कुरा उठाए।

'अब पनि हामी यस क्षेत्रका लेखकले नसोच्ने हो भने हाम्रो साहित्य आगामी पुस्ताले पढ्नेछैन,' भारतका लागि श्रीलंकाका राजदूत (हाई कमिसनर अफ श्रीलंका) चित्रांगनी वागीश्वराले भनिन्, 'अब हाम्रो जिम्मा भनेको कसरी भावी पुस्तालाई हामीले लेखेको साहित्य हस्तान्तरण गर्ने भन्ने नै हो।'

अहिलेको समयको मूल्य र उपाय हामीले भावी पुस्तालाई हस्तान्तरण नगरी सुखै नहुने उनको भनाइ थियो।

अर्का वक्ता भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का डाइरेक्टर जनरल तथा कूटनीतिज्ञ अमरेन्द्र खटुवाले पनि साहित्यिक पुस्तक बजारबारे चिन्ता व्यक्त गरे। उनले भने, 'हामी क्रमशः डिजिटल युगमा प्रवेश गरिरहेका छौं। यस परिस्थितिमा हामी लेखकले पुस्तकलाई कसरी पाठकका आँखामा पार्ने भन्ने सवालमा यसको सुन्दर प्याकेजिङका साथै प्रवर्द्धनमा ध्यान दिनुपर्ने बेला आयो।'

प्राध्यापक राजमोहन गान्धीले सार्क मुलुकबीचको सम्बन्धलाई सुमधुर बनाउने साहित्यले आवश्यक भूमिका खेल्न सक्ने बताए। मान्छेका पीडा, घाउ, अनुभूति उस्तै हुने भएकाले सार्क राष्ट्रबीचको सम्बन्धमा न्यानोपना कायम राख्न यस्तै विषयमा साहित्य लेखिनुपर्ने उनको धारण थियो।

'हाम्रा सम्बन्धका अप्ठेरालाई साहित्यले घटाउन मद्दत गर्छ,' महात्मा गान्धीका नाति राजमोहनले भने।

कार्यक्रममा राजनीतिक मनोविज्ञ, सामाजिक सिद्धान्तकार तथा आलोचक प्राध्यापक आशीष नन्दीले पछिल्लो समय सार्कलगायत अन्य मुलुकमा पनि बढ्दो राष्ट्रवाद, देशभक्तिले हानि गरेको तर्क गरे। 'देशभक्ति भावुकता हो, यस्तो भावुकता धनी वर्गमा बढी हुन्छ,' उनले भने, 'यसले हामीलाई संकुचित बनाउँछ।'

कुनै पनि मुलुकले धनी व्यक्तिलाई भिसा दिन गाह्रो मान्दैनन्, तर गरिबलाई दिनुपर्दा पछि हट्छन्। राष्ट्रवाद माटो, क्षेत्र, वर्गलाई मात्र लिएर हुन नसक्ने उनको भनाइ थियो।

भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले सार्क मुलुकमा बीपी कोइरालाको साहित्यिक योगदानबारे चर्चा हुनुपर्ने बताए। 'कोइरालाको साहित्य अन्तर्राष्ट्रियस्तरको रहेको मैले पाएको छु,' उनले भने। सम्मेलनमा भारतका लागि भुटानका साथै अफगानिस्तान, बंगलादेशलगायत मुलुकका राजदूतले पनि सम्बोधन गरेका थिए। 

तीन दिनसम्म चल्ने महोत्सवमा पाकिस्तानको अनुपस्थितिलाई भने सहभागीले भारत–पाकिस्तान सम्बन्धसँग जोडेर हेरे। नेपालका तर्फबाट दर्जनभन्दा बढी सहभागी भए पनि मूलधारका तथा लोकप्रिय लेखक छुटेको बताउँदै समीक्षक तथा कवि हरि अधिकारीले भने, 'महŒवपूर्ण साहित्य सम्मेलनमा अपरिचित र लेखाइ मजबुत नभएका पात्रको बाहुल्य हुँदा नेपाली साहित्यको वास्तविक अनुहार प्रस्तुत हुन कठिन पर्छ।' चयनकर्ताले यस्तो विषयमा ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

शुक्रबार इन्डियन इन्टरनेसनल सेन्टरमा सम्पन्न उद्घाटन सत्रको अध्यक्षता फाउन्डेसन अफ सार्क राइटर एन्ड लिटरचेर (फोस्वाल) की अध्यक्ष भारतीय लेखक अजीत कौरले गरेकी थिइन्। सम्मेलनमा सार्क सदस्य राष्ट्रका झन्डै डेढ सय कवि तथा लेखक सहभागी छन्।

प्रकाशित: १५ फाल्गुन २०७३ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App