(१) मुक्तक
यो देश युवाले सक्दैनन् बुढापाकाले हल्लाउँछन्,
कहिले पश्मिनाले त कहिले ढाकाले हल्लाउँछन्।
पात्र र पात्रो फेरिन्छ तर प्रवृत्ति पटक्कै फेरिन्न,
गर्छु भन्ने तर कहिल्यै नगर्ने भाखाले हल्लाउँछन्।
(२) मुक्तक
नानाभाँती कुरा गरी दिउँसै पार्छ रात,
अरू सबै सम्म ठान्छ आफू सगरमाथा।
भरोसा हुन्न भन्छन् दही-चिउरेहरूको,
खुकुरीलाई के थाह हुन्छ अचानोको व्यथा!
(३) मुक्तक
तिमीले जित्यौ, मेरो पनि हारको गणित छ,
विवेकशून्य भो, कस्तो षडयन्त्र जडित छ।
तिमी हाँस्दा म नि हाँस्छु, किन रुनु बेकार,
दिन मात्र कहाँ हो र,रात पनि त पीडित छ।
(४) मुक्तक
चुपचाप बसौं नामर्द भन्छन्,
केही गर्न खोज्यो आँखा तर्छन्।
को आफ्नो,को पराई भनौं खै!
बाटोभरि खिलै खिल छर्छन्।
(५) मुक्तक
भोको पेटमा जाग्दैन राष्ट्रियता,
टाढा हुँदैमा भाग्दैन राष्ट्रियता।
शब्द जालमा हैन भावनामा हुन्छ,
उत्तर दक्षिण लाग्दैन राष्ट्रियता।
प्रकाशित: २१ वैशाख २०८० ०६:२५ बिहीबार