कविताः मनलाई फकाउँदै छु म
आकाशको घाम कठ्याङ्ग्रिएर
डाँडातिरबाट ओर्लेका सुइराजस्ता किरणहरू
भुइँका फूलहरूमाथि निर्मम शिताग्नी वर्षाउँदै छन्
छेडिएका छन् नजिकैका पाखे छानाले ओताएका भित्ताहरू
प्वालहरूबाट भुइँमा चुहेर बिलाउँदै छन्
भित्ताभित्रका सपनाहरू
भित्र पसेर मायावी झिरका टुप्पाले
मझेरी, चुल्हो र सिरानी छोएको हुनुपर्छ
ओछ्यानमा खेलिरहेका शिशुहरूका आङमाथि
छोए कि तिनले!
आमाका छातीलाई बिझाए कि तिनले!
कतै सपनाहरूको निर्मम अन्त्य त गराएनन् तिनले छानाभित्रै ?
हुँदैन, सपनाको अन्त्य हुनै सक्दैन
मनलाई फकाउँदै छु म
धमिलो बाढी टल्कँदै बगेका छन्
किरणहरू लिपीहरूको पहिरोमा
क्या सुन्दर अक्षरहरू छङछङाउँथे सङ्लो नदीझैं!
क्या कल्कलाउँथे चैतन्यमय भुल्काहरू
सत्यका लहर र छालहरू उराल्दै!
ती ‘उहिलेका कुरा’ भए
जमना फेरिएको छ
सत्य ‘रूप’ बदलिरहन्छ हेलिएर समयसँगै
कोलाहलको ज्यालामा डढेका छन् किरणहरू
ती ज्वालामुक्त भए भने
रमाउँदै खेल्ने थिए ती फूल र पुतलीहरूसँगै उद्यानहरूमा
मनलाई फकाउँदै छु म
आँखा र मन दुवैलाई पुर्याएर पारिका बिरौटाहरूमा केहीबेर
अड्याएको छु कान्लाको आडैमा धुवाँएको छाप्रोनेर
यता छेवैमा छरिँदै छन् झिल्काहरू
बग्रेल्ती आँगनमा पटका बालेझैं
क्या रमिता छ उन्मत्त ध्वनिहरूको!
झुल्किँदै छन् सम्झनामा पुराना झझल्काहरू
घरको खोपामा जतनले राखेको एउटा पुरानो कागजलाई
कतै खोसेर लग्यो कि बतासले!
कतै अनायास जलाइदियो कि निर्दयी किरणले
बात मार्दै छु आफ्नै मनसँग
पालीमा बसेर उही कागज सुम्सुम्याउँदै गुन्गुनाउँला
देउराली उक्लिँदा उही कागजको भाखा हालौंला
वा हाटबजार जाँदा बाटो काट्न बात मार्ने उपाय बनाउँला
अरू के गर्न सकिएला र
मनलाई फकाउँदै छु म
छिनछिनमा माथि हेर्दै छु खुला आकाशमण्डलमा
ओहो! कहाँ बतासिएका होलान्
चौदिशा भेट्नाविहीन पातहरू!
जरा, बोट सुकेर ती एकएक गर्दै चुँडिए हुन्!
खेलाउँदै गरेका सुनौला तीरहरूले आफैलाई घाइते पारेर
आफ्नै अन्तःस्करणको डाह मेट्न व्योमारोहण गरे हुन् कि
अथवा, चित्ताकर्षक मायावी धापमा तानिएर भौंतारिए हुन् कि
तिनलाई पछ्याउँदै दौडेका आँखाहरू
पुनः उही छानामा ओर्लेका छन् यसबेला
छानामा टल्केको शिताग्नीले घोचिरहेछ आँखाहरूलाई
तिर्खाएको छ आँत
शिताग्नीले तिर्खा मेट्न सकिन्न
भेल सङ्लिएर तिर्खा मेट्न कहिले पाइएला!
मनलाई फकाउँदै छु म।
प्रकाशित: ९ वैशाख २०८० ०२:४८ शनिबार