१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

च्यारिटी कन्सर्टमा सहभागी धरानका जनता। तस्बिर: राेहित/ नागरिक

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्। धरान उपमहानगरपालिका–२० स्थित कोकाहा खोलाको पानी ल्याउन बराह क्षेत्र नगरपालिका हुँदै २५ किलोमिटरभन्दा बढी पाइप विस्तार गर्नुपर्ने छ।

मेयर साम्पाङले कोकाहाको पानी धरान ल्याउन देशविदेशबाट आर्थिक सहयोग र जनश्रमदान जुटाइरहेका छन्। यो परियोजनाका लागि पाइप खरिद गर्न मात्र ३ करोड बढी खर्च हुने अनुमान छ। हालसम्म देशविदेशबाट एक करोढ १४ लाख बढी आर्थिक सहयोग जुटिसकेको छ भने ४५ लाख बढीको पाइप सहयोग भइसकेको छ। श्रमदानबाटै यो योजना सम्पन्न गर्ने लक्ष्य राखेका मेयर साम्पाङलाई साथ दिन शनिबार साँझ धरानमा च्यारिटी कन्सर्ट भएको थियो।

सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा भएको कन्सर्टमा चर्चित गायक-गायिकाले पनि गीत गाएर श्रमदान गरेका थिए। धरान उपमनपा–१२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा अहिलेसम्मकै धेरै दर्शकको उपस्थिति थियो।

कन्सर्टमा चर्चित गायक राई इज किङ राजेश पायल राई, वरिष्ठ गायक दीप श्रेष्ठ, दीपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, डिल्ली फोम्बो एन्ड ब्यान्ड, द वाकिङ क्लाउड ब्यानड, रोहित मास्केले पनि गीत गाएका थिए। कन्सर्टमा मेयर साम्पाङले पनि गीत गाएका थिए।

यस्तै वडा नं २ का वडाध्यक्ष रमेश राईले गीत गाए। धरान नृत्य कला प्रतिष्ठानले आकर्षक नृत्य प्रस्तुत गरेको थियो। मेयर साम्पाङले च्यारिटी कन्सर्ट ऐतिहासिक भएको र कोकाहा खानेपानी अभियान धरानवासीको मात्र नभई सबै नेपालीको भएको बताए।

उनले कलाकारले पनि साथ दिएको भन्दै अब कोकाहाको पानी धरान जसरी पनि ल्याउने बताए। निःशुल्क गीत गाउन आएका कालाकारले मेयर साम्पाङ र धराने जनताको काम देखेर सहयोग गर्न आएको बताए। च्यारिटी कन्सर्ट कोकाहा खानेपानी अभियानलाई सहयोग गर्नकै लागि भएको र केही दिनमा आयव्याय सार्वजनिक गर्ने संयोजक एवं गीतकार मीना सिंगकले जानकारी दिइन्।

प्रकाशित: २७ चैत्र २०७९ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App