२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

साहित्यकार टंक वनेमकाे ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण

साहित्यकार टंक वनेम संस्मरणसंग्रह ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण भएको छ।

नेपाली वाङमय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि तथा मुन्धुमविद् वैरागी काइँलाको प्रमुख आतिथ्यमा संस्मरणसंग्रहको लोकार्पण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति काइँलाले स्रष्टा वनेमले संस्मरणमा ग्रामीण जनजीवन, परिवेश, बाँच्ने तरीका, रीतिरिवाज जस्ता धेरै विषय समेटेको बताए। उनले स्रष्टा वानेमले संस्मरणमा मीठाे भाषाकाे प्रयाेग गर्दै वातावरणमाथि न्यायिक कलम चलाएको पनि बताए।

नेपाल प्रज्ञाप्रतिस्ठानमा पूर्व सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले प्रेक्षित लिम्बू सभ्यता, संस्कृति र डायोस्पोरिक जीवन बाँचेका नेपालीको अवस्था बुझ्न निकै उपयोगी भएको बताए।

संस्कृतिविद् तथा दर्शनविद् डा. भक्त राईले संस्मरणमा पल्लो किरातको जीवन भोगाइ, कला, संस्कृति, धर्म परम्परा र रीतिरिवाज मुखरित भएकाे बताए।

कार्यक्रममा उपप्राध्यापक तथा समालोचक डा. हरिप्रसाद सिलवालले विस्मृतिलाई जित्दै टंक वानेमले संस्मरण लेखेको बताए। डा. सिलवालले संस्मरणमा वानेमले आफू बाँचेको जिन्दगी, संस्कार र संस्कृति सुन्दर ढंगमा समेटेको बताए।

त्यस्तै वरिष्ठ लेखक राजेश्वर थापाले कुन बेला के भएको रहेछ भन्ने इतिहास बुझ्ने कृतिले सहयोग पुर्‍याउने बताए।

कृतिमा लेखक वनेमले आफ्नो जन्म गाउँ ताप्लेजुङको मैवाखोलादेखि बेलायतसम्मका स्मृतिहरू समेटेको बताए।

यसअघि लेखक वनेमका कवितासंग्रह ‘साँघुरी र बुढासुब्बा’, ‘पेन्जिरि पेन्मिक्ह’, ‘संगिनको मूर्च्छना’, कथासंग्रह ‘श्लेष्मान्तकको साम्माङ र इतिहास खोजअुनसन्धान, संकलन तथा लेखन ‘सिन्धोलुङ फागो वनेम वंशावली इतिहास र मुन्धुम’ नामक कृति सार्वजनिक भइसकेका छन्।

प्रकाशित: २४ चैत्र २०७९ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App