५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

परिवर्तन

कथा

हिजो मात्रै हो उनले ३८औं वसन्त पार गरेर ३९औं वर्षमा टेकेको। यतिका उमेर कसरी बित्यो पत्तै भएन। के हुनुपर्थ्याे र के भयो त्यसको पनि विश्लेषण कहिल्यै भएन। जिन्दगीमा उचारचढाव त कति आए कति गए, खासै लेखाजोखा नै भएन। तर समय भने आफ्नै गतिमा बितिरह्यो र त्यही समयका साथमा शशीकलाको जीवन पनि निरन्तर बगिह्यो।

आज शशीकलाले कोही नभएका बेला ऐनाअघि उभिएर आफैलाई नियालिरहिन्। यो उमेरमा पनि आफ्नो चट्ट मिलेको शरीर आफैलाई पनि रहरलाग्दो थियो। दुई बच्चाकी आमा भएर पनि मुहारको चमकमा खासै फरक आएको थिएन। कालो, लामो कपाल, सलक्क परेको जिउ, मिलेका दाँत र लजालु मुस्कान। सायद कसैले पनि उनलाई हेरेर उनको उमेर अन्दाज गर्न सक्दैनथ्यो। आँखाको छेउतिर केही मसिना धर्काजस्ता देखिएका भए पनि उनको उज्यालो अनुहारले त्यतातिर मान्छेको ध्यान जाँदैनथ्यो। उनले पनि त्यसलाई खासै वास्ता गरेकी थिइनन्।

शशीकलाको बिहे ठ्याक्कै १६ पुगेर १७ लाग्दा भएको थियो। भर्खर एसएलसी पास भएपछि बिहे भयो। काठमाडौंमा बसेर पढ्ने केटा। सबै कुरा मिल्छ, केटा पनि ठिक छ भनेर परिवारले विवाहका लागि कर गरेपछि उनले केही बोल्न सकिनन्। मन भए पनि नभए पनि, उत्साह भए पनि नभए पनि उनले बाबुआमाले रोजेको केटासँग बिहे गरिन्। पढाइमा राम्रै भए पनि बिहेपछि काठमाडौं आएकी उनले आफ्नो औपचारिक पढाइलाई यत्तिकै विश्राम दिनुपर्‍यो। पढ्ने रहर त मनभरि थियो, तर बिहेको वर्ष दिनमै पेटमा बच्चा आएपछि पढाइको सपना अधुरै रह्यो। श्रीमान् मायालु नै थिए। म जागिरे छँदै छु। तिमीले पढेर जागिर खाने आवश्यकता के छ र? चाहिने जति पढिहाल्यौ भनेर सम्झाएपछि हो त नि भनेर उनी पनि मौन बसिन्। अहिले त्यही मौनताले कताकता घोचेजस्तो लाग्दै छ।

आज किन किन अलि अर्कै महसुुस भएको छ। छोरीले हिजो मामु तपाईं त पुरानै मानसिकतामा हुनुहुन्छ, चेन्ज हुनुपर्छ नि भनेर कराउँदै थिई। उनले खासै वास्ता गरिनन्। म त यस्तै हो भनेर जवाफ दिइन् तर जब छोरी कलेज जान हिँडी त्यसपछि भने उनको मनमा एउटै प्रश्नले घोचिरह्यो। उनले बारम्बार प्रश्न गरिन् आफैंलाई–के म पुरानै मानसिकतामा बाँचिरहेकी छु त? दिनभरि प्रश्नले घोचे पनि उत्तर पाउन सकिनन् तर जिन्दगीका विगतहरू किताबका पानाजस्तै पल्टिरहे। अनि श्रीमान्का केही वचनहरू पनि याद आइरहे। आज उनलाई बेग्लै अनुभव भयो। आखिर मैले परिवारका लागि के गरिनँ? श्रीमान्को खुसीका लागि जीवन समर्पण गरें।

विवाह हुँदाका बखत मलाई यौवन आएको पनि अनुभूति थिएन। बाआमाले हात थमाइदिए, लुरुलुरु श्रीमान् नामक अपरिचित पुरुषको पछि लागेर आएँ, अनि बच्चा जन्माएँ। एउटा असल आमा हुनका लागि मैले मेरो निद्रा त्यागें, मेरो शरीरको प्रवाह गरिनँ। तर आज मेरा छोराछोरीको दृष्टिकोणमा नै म पुरातनवादी ठहरिएँ। श्रीमान्का दृष्टिकोणमा पनि म एक साधारण महिलाभन्दा अरू हुन सकिनँ। सायद श्रीमान्लाई आफ्नो कार्यालयको स्वकीय सचिवजस्तो नहुँदा रिस उठ्दो हो।

शशीकलाको मनमा एक किसिमको बेचैनी बढ्दै गयो। कताकता आफू एक्लो पो हो कि भन्ने कुराले सताइरह्यो। आफूले सफा लुगा लगाउन सिकाएका छोराछोरीले पनि आफूलाई परिवर्तन हुन नसकेको आरोप लगाएपछि उनलाई आफू कता छु म भन्ने लागिरह्यो।

हातमा मोबाइल लिएर शशीकलाले फेसबुक हेरिन्। लामो समयदेखि पेन्डिङमा रहेका फ्रेन्ड रिक्वेस्टमा पनि आँखा गए। उनले खासै ध्यान नदिएका रिक्वेस्टमा उनले आँखा लगाइन्। एक एक गर्दै प्रोफाइल हेर्दै गइन्। सयौं रिक्वेस्ट यसै रहेका थिए। त्यसमध्ये कुनै एक रिक्वेस्टले उनको ध्यान खिचिरह्यो।

शशीकलाले धेरै बेरसम्म उसको प्रोफाइल हेरिरहिन्। कतै चिनेको हो कि भनेर सोचिन्। एकाधबाहेक म्युचुअल साथी पनि थिएनन्। तर मनले भन्यो– एसेप्ट गरिहालूँ न त। बढी से बढी केही कुरा त होला। बोलेर के हुन्छ र? मनले त्यही भन्यो र रिक्वेस्ट स्वीकार गरिन्। हुन पनि छोराछोरी विद्यालय जाने अनि श्रीमान् अफिस। त्यसपछि दिन कटाउन पनि त गाह्रो छ। अर्को दिन शशीकलाको फेसबुक म्यासेन्जरमा म्यासेज आयो–सन्चै हुनुहुन्छ? मलाई साथी स्वीकारेकोमा धन्यवाद! उनले एकछिन विचार गरिन्।

रिप्लाई दिनु कि नदिनु भन्नेमा एकछिन त दिमाग घुमिरह्यो तर जे त होला भनेर जवाफ पठाइन्–फेसबुकमा रिक्वेस्ट मात्रै स्वीकार गरेको हो, साथी नै त भनेकी छु र? साथमा हाँसेको इमोजी पनि राखेकी थिइन्। उताबाट के जवाफ आउँछ भन्नेमा शशीकलालाई जिज्ञासा लागिरह्यो। जीवनमा पहिलोपटक उनी कसैसँग यसरी जिस्केको भावमा कुरा गरेकी थिइन्। उताबाट रिप्लाई आयो– फेसबुकमा जोडिएकालाई त साथी नै भन्छन् नि होइन र ? साथी नभएको भए पनि हुन के भो त ? अब भए पनि त फरक पर्ला र?

यसको जवाफ त शशीकलासँग पनि थिएन। ‘मैले साथी बनाउनुपर्छ भन्ने के छ र?’ भनेर लेखिदिइन्। उताबाट जवाफ आयो–त्यो त तपाईंको खुसीको कुरा हो। मैले कर गरेर हुन्छ र? शशीकलाको अब दिनहुँजसो कुरा हुन थाल्यो। बिहान गुड मर्निङदेखि बेलुकाको गुडनाइटसम्म अब उनको आदत बन्यो। कतै आफ्नो हराएको साथी भेटिएको अनुभव भइरह्यो। अझ भन्ने हो भने मुर्झाएको जीवनले नयाँपनको अनुभव गर्‍यो। अब हरेक वार्तालापहरू रमाइला हुन थालेका थिए। वास्तवमा भन्दा शशीकला अब छोरीले वा श्रीमान्ले भनेजस्तो परिवर्तन नभएकी थिइनन्।

दिनहरू बित्दै जाँदा शशीकलामा पनि निकै परिवर्तन भइसकेको थियो। परिवारप्रतिको दायित्व, छोराछोरीको माया वा अन्य कुरामा होइन। आफूप्रतिको माया, आफूले आफूलाई हेर्ने दृष्टिकोण, आफूले आफूलाई गर्ने केयर सबैमा उनी पहिलाजस्तो थिइनन्। सकेसम्म आफूलाई राम्री बनाउने प्रयास गर्थिन्। आँखामा आएका मसिना धर्सा पनि उनले ठुलो देख्न थालेकी थिइन्। सकेसम्म उनले त्यो पनि नदेखियोस् भन्ने चाहन्थिन्। लगाइमा पनि उनको चासो बढेको थियो। खासै वास्ता नहुने मोबाइल अब हातबाट छुट्छ कि भन्ने पीर लाग्न थालेको थियो। त्यसैले त उनको अनुहारमा पनि बेग्लै चमक थियो किनकि अब त्यो फेसबुकको साथी मनको धेरै नजिक आइसकेको थियो। सायद यति नजिक कि शशीकलाको मनले मात्र होइन, तनले पनि अनुभव गर्न थालिसकेको थियो।

अब फेसबुकको कुराकानी भेटमा परिणत भइसकेको थियो। करिब करिब काठमाडौंका घुम्न जाने ठाउँहरू बाँकी थिएनन्। नयाँ साथीसँगको लगावसँगै शशीकलाको जीवनशैलीमा पनि एकाएक परिवर्तन आएको थियो।

अझ भनौं जिन्दगीको एउटा पाटो नै बदलिएको थियो। समयअनुसार परिवर्तन नभएको भन्ने छोरीले त्यही गुनासो गर्ने बाबासँग एकदिन खाना खाँदै गर्दा भनिन्, ‘बाबा ! मामु त आजकल निकै परिवर्तन हुुनुभएको छ नि, बाबालाई थाहा छ?’ त्यसबेला शशीकलाको अनुहार रातो भएको थियो। उनले मनमनमा भनिरहेकी थिइन्, ‘मेरो जिन्दगी मैले बाँच्ने हो, तिमीहरूका लागि त म धेरै बाँचिसकें।’

प्रकाशित: १८ चैत्र २०७९ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App