७ वैशाख २०८१ शुक्रबार
कला

घरघराना

लघुकथा

‘उर्वशी बैनी आज किन निराश देखिनुहुन्छ? सञ्चो छैन कि क्या हो?’ रञ्जनाले प्रश्न तेर्स्याइन् उर्वशीलाई।

उर्वशीले उल्टै प्रश्न थपी, ‘ठिकै छु दिदी, किन सोध्नुभो? के म आज साँच्चै निराश देखिएकी छु र?’

रञ्जनाले ढाडस बाँध्दै भनी, सधैं हँसिलो,जोशिलो र फुर्तिलो देखिने मान्छे अचानक यस्तो मुद्रामा देख्दा प्रश्न उठ्नु स्वाभाविक हो नि अनि छोरीको खबर के छ? ठिक होलिन् नि! घरघराना र खानदानी घरको संस्कारले पनि छोरीचेलीलाई सुखी र खुशी बनाउँछ। तपाईकी छोरीको त भाग्य नै राम्रो।’ 

रञ्जनाको वाक्यले उर्वशी मौन बनी। उसको त्यस्तो मुहार देखेर रञ्जना अलमलमा परी र सोची, ‘अहो, आज उर्वशीलाई पक्कै केही भएको छ। त्यस्तो अभिमानी मान्छे आज मेरा कुराहरू उसलाई बिझे जस्तो छ। मैले यस्तो प्रश्न सोधेर चित्त दुखाएँ कि?’

केही क्षणपछि अर्को कोठामा हल्ला सुनियो। केही महिला एक अर्कामा भलाकुसाारी गरिरहेका थिए। रञ्जना अलमलमा परी।

-हैन, यहाँ त भेटघाटका लागि बोलाएको हो। किन सब मौन र निराश छन्!

त्यही बिचमा एउटा नारीको क्रन्दन सहितको आवाज गुञ्जियो, ‘अहँ, म त्यो घरमा जाँदै जान्नँ। तपाईहरू जसले जे भने पनि अब म त्यो घरमा एक रात बिताउन सक्दिनँ। खुब घरघराना खानदानी धनाढ्य छन् भनेर मलाई सुम्पिएको होइन?

चाहिएन मलाई तिनीहरूको खानदानीपन र सम्पत्ति। म त्यहाँ एकपल पनि बाँच्न सक्दिनँ। त्यो घर होइन खण्डहर हो जहाँ मानवको रूपमा दानव बस्छन्।’ 

उक्त आवाज ठम्याउन रञ्जनालाई गाह्रो भएन। उसले उर्वशीलाई हेर्दा उर्वशीको नजर झुकेको थियो। रञ्जनाले उसलाई अरू कुरा सोधेर हैरान पार्न चाहिन किनकि उर्वशीको नजर त्यही कारणले झुकेको थियो सायद। पहिला उसले रञ्जनालाई आफ्नी छोरीलाई घरघराना भाको सम्पन्न परिवारको केटासँग बिहे गरिदिएकी छु भनेर निकै फुर्ति लडाएर रञ्जनाकी छोरीको खिल्ली उडाएकी थिई।

रञ्जनालाई त्यहाँ भेला हुनुको कारण सम्झिन समय लागेन र सोची, ‘त्यसैले त महिलाहरूले आफ्नी छोरीचेली धनीमानी र घरानावाल परिवारलाई सुम्पें भनेर कहिल्यै फूर्ति लाउनु हुन्न। कसले जान्दछ र, बाहिर देख्न र भित्र भोग्नमा फरक पर्छ भनेर!’  

प्रकाशित: ९ चैत्र २०७९ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App