विज्ञहरू भन्छन्, ‘ललितकलाको अभिन्न अंग चित्रकलामा समग्र भाषा, साहित्य र संगीत अटाउँछन्।’ भाषाको विकास हुनुअघि नै चित्रकलाको विकास भएको मानिन्छ। प्राचीन कालमा चित्रलाई जादु र चित्रकारलाई जादुगरका रूपमा लिइन्थ्यो। चित्रकला बुझ्न र बुझाउन कुनै भाषा जान्नुपर्ने बाध्यता हुन्न, न कुनै अभिनयको खाँचो पर्छ। चित्रकला अरू विधाभन्दा यस कारणले भिन्न छ कि दृष्टिगोचर गरेरै यसलाई बुझ्न र अथ्र्याउन सकिन्छ।
चित्रकला मानवीय भाव अभिव्यक्तिको सुन्दर माध्यम हो। जीवन र जगत्का विविध पाटापक्षलाई रङ र रेखाको सहयोगबाट मूर्त–अमूर्त रूपमा सौन्दर्यपरक पाराले प्रस्तुत गर्दा चित्रकला जन्मन्छ। यसले कुनै न कुनै सकारात्मक सन्देश प्रवाह गरेर मानवसमाज परिवर्तनमा योगदान पुर्याएको हुन्छ। तस्बिर आफैं बोल्छ भन्ने भनाइले पनि चित्रकलाको सामथ्र्यलाई इङ्गित गर्छ।
आफूले जन्माएका अमूल्य कलाकृतिका कारण संसारमा थुप्रै कलाकार महान् बनेका छन्। नेपालमा पनि यस्ता कैयौं कलाकारले प्रसिद्धि पाएका छन्, जो उच्चस्तरका कला सिर्जनामा सिद्धहस्त छन्। तिनै कलाकारका पदचापलाई पछ्याउँदै ३८ वर्षीय सुरेम देशार अढाइ दशक यता चित्रकलामा जोडिएका छन्। युवा पुस्ताका प्रतिभाशाली कलाकार उनी बिस्तारै चर्चाको खुड्किलो चढ्दैछन्। चित्रकलामा योगदान दिई आफ्नो नामलाई अझ गर्विलो बनाउने ध्याउन्नमा उनी जुटिरहेका छन्।
हालै बंगलादेशको ढाकामा आयोजित अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सुरेमको कलाकृतिले उत्कृष्ट स्थान हासिल गर्यो। फोकस बंगलादेशले आयोजना गरेको ‘डट्स इन्टरनेसनल मिनियचर’ विषयक सो प्रदर्शनीका लागि विभिन्न देशका २०० कलाकारका कलाकृति छानिएका थिए। तीमध्येबाट उत्कृष्ट १० मा ‘नेचर’ शीर्षकको उनको अमूर्त चित्रकला पनि समेटिएको थियो। सोही चित्रकलाले उनलाई पुरस्कारका लागि योग्य ठहर्याएको हो। उनी यो सफलतालाई लामो समयदेखिको अनवरत कलासाधनाको प्रतिफलका रूपमा लिन्छन्। ‘चित्रकलामा धेरै मिहिनेत गरियो, बल्ल अलि राम्रो हुन थालेको छ,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा यस्तो सफलता पाउँदा निकै खुसी लागेको छ। थप केही गर्ने जाँगर पलाएको छ।’
सुरेम ललितपुरस्थित चापागाउँका स्थायी बासिन्दा हुन्। स्कुल पढ्दाताका रहरैरहरमा कोरेका चित्र पुरस्कृत हुँदा उनी भविष्यमा चित्रकलामै केही गर्ने भनेर हौसिएका थिए। त्यतिबेला टाढाटाढा पुगेर चित्रकलामा भाग लिन गएको र पुरस्कार जितेको उनी सम्झन्छन्। ‘पत्रपत्रिकामा चित्रकला प्रतियोगितासम्बन्धी सूचना देखियो कि कक्षा नै छाडेर भाग लिन जान्थें, कुनै न कुनै पुरस्कार पनि जितेकै हुन्थें,’ स्कुले जीवन स्मरण गर्दै उनी भन्छन्।
आफ्नो पढाइ त्यति राम्रो नभए पनि चित्रकलामा भने प्रशंसा पाउने गरेको उनी सुनाउँछन्। ‘पढाइ राम्रो थिएन, चित्रकलामा सानैदेखिको रुचि होे, आफूले बनाएको चित्रलाई अरूले प्रशंसा गर्दा मजा लाग्थ्यो,’ उनी सुनाउँछन्, ‘पढ्न छाडेर कति चित्र मात्र बनाइरहेको भनेर गाली पनि धेरै खाएको छु तर मैले आफ्नो रुचिलाई रोक्ने काम कहिल्यै गरिनँ।’ दाजु प्रेम देशारको साथ, सहयोग, हौसला र प्रेरणाले चित्रकलालाई निरन्तरता दिन सकेको उनी बताउँछन्। ‘दाजुको साथ नपाइएको भए मेरो कलायात्रा यहाँसम्म आइपुग्दैनथ्यो,’ उनी भन्छन्।
कक्षा चढ्दै जाँदा उनले सैद्धान्तिक रूपमै चित्रकला बुझ्न थाले। अन्ततः उनी चित्रकलासँग यसरी गाँसिए कि उच्च शिक्षा पनि त्यसैमा गरे र पेसा पनि त्यसैलाई बनाए। ललितकला क्याम्पसबाट आधुनिक चित्रकलामा स्नातकोत्तर उनी काठमाडौंको बाँसबारीस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयमा कला गुरु छन्। अरू दुईचारवटा विद्यालयमा पनि उनी चित्रकला सिकाउँछन्।
विभिन्न संघसंस्थाको पहलमा देशका विभिन्न भूभागमा गरिएका कलायात्रामा सहभागी भएर उनले प्रकृति र संस्कृतिलाई चित्रमा उतारेका छन्। दर्जनौंपटक सामूहिक कला प्रदर्शनीमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका उनले तीनपटक एकल प्रदर्शनी गर्न पनि भ्याइसकेका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल कला परिषद्, ललितकला मञ्च, अमेरिकी दूतावास, भारतीय दूतावास लगायत विभिन्न प्रतिष्ठित संघसंस्थाद्वारा आयोजित विभिन्न प्रतियोगिता, कार्यशाला र प्रदर्शनीमा सहभागिता जनाउँदै उनी पटकपटक पुरस्कृत र सम्मानित भएका छन्। उनले राष्ट्रिय स्तरका थुप्रै पुस्कार हात पारेका छन्।
कलायात्राका सिलसिलामा भारतको मात्रै भ्रमण गरेका सुरेमका कलाकृति भने विभिन्न देशमा पुगेका छन्। ‘अमेरिका, अस्ट्रेलिया, क्यानडा, थाइल्यान्डलगायत धेरै देशमा प्रदर्शनीका लागि मेरा कलाकृति पुगेका छन्,’ उनी भन्छन्, ‘अब अन्तर्राष्ट्रिय प्रदर्शनी तथा प्रतियोगितामा पनि सहभागिता जनाउने तयारीमा छु।’
दुई पटक अल इन्डिया आर्ट टुर गरेका उनले लमजुङ, सिन्धुली, सिन्धुपाल्चोक, धनकुटालगायत धेरै ठाउँमा कलायात्रा गरेका छन्। २०७२ सालको भूकम्पले निम्त्याएको विकराल स्थितिलाई उनले थुप्रै चित्रहरूमा उतारे। तीमध्ये केही कलाकृति राम्रो मूल्यमा बिक्री भएको उनी सुनाउँछन्।
उनी चित्रकलालाई जीवनको अभिन्न मित्र ठान्छन्। भन्छन्, ‘चित्रकला त मलाई जीवनमा सँगै हिँड्ने साथीजस्तै लाग्छ। चित्रकलाबिना त म अधुरो नै हुन्छु। यसले मलाई रचनात्मक भएर बाँच्न सिकाएको छ। चित्रकलामा घोत्लिँदा निकै आनन्द आउँछ।’
चित्रकला बेचेर पनि उनी धेरथोर कमाउँछन्। ‘पहिलापहिला चित्र बेच्न विदेशीको मुख ताक्नुपथ्र्यो तर अहिले नेपालमै पनि बिक्री हुन थालेको छ,’ उनी सुनाउँछन्, ‘कहिलेकाहीँ कुनै विषयमा चित्र कोर्न अर्डर पनि आउँछ, यस्तो बेला पहिला नै मूल्य तोकेर काम गर्न पाइन्छ।’ सुरेम पछिल्लो समय अमूर्त चित्रकला सिर्जनामा सक्रिय छन्। ‘आधुनिक कलामा अमूर्त चित्रिकलाको विशिष्ट स्थान छ,’ उनी भन्छन्, ‘कुनै पनि घटनालाई रङहरूको प्रयोगले मानवीय भावनासँग जोडेर प्रस्तुत गर्दा अमूर्त चित्रकला जन्मन्छ।’
उनका अनुसार अमूर्त चित्रकलामा रङ र रेखाको व्यापक प्रयोग हुन्छ, जसबाट एक प्रकारको सौन्दर्य प्रकट हुन्छ। त्यस्तो सौन्दर्यलाई भावकहरू आआफ्नै तरिकाले बुझ्छन्, अथ्र्याउँछन् र आस्वादन गर्छन्। त्यसकारण उनी आफ्ना हरेक कलामा जीवन र जगतको सौन्दर्य प्रकट हुनुपर्नेमा विश्वास राख्छन्। यथार्थवादमा आधारित मूर्त चित्रकलाको पनि आफ्नै खालको महत्व हुने उनी बताउँछन्।
सरकारले कला जगत्प्रति चासो नदिएको देख्दा उनलाई दुःख लाग्छ। ‘कला क्षेत्रले प्राथमिकतामा नपाउँदा कैयौं कलाकार पलायन भएका छन्,’ उनी सुनाउँछन्, ‘कतिपयले त निराश भएर जीवनलाई नै बर्बादतिर धकेलेका छन्।’ चित्रकलामा लाग्नेले उचित सम्मान र संरक्षण पाउनुपर्नेमा उनी जोड दिन्छन्। चित्रकलामा लाग्नेलाई राज्यले आयआर्जनसँग जोडिदिनुपर्ने धारणा उनी राख्छन्। ‘कलाकार बाँचे मात्र कलाको श्रीवृद्धि हुन्छ। भोका कलाकारहरूले कलाको विकास गर्न सक्दैनन्,’ उनी भन्छन्, ‘सरकारले माध्यमिक तहसम्मको पाठ्यक्रममा चित्रकला विषय राखेको छ तर शिक्षकको दरबन्दी एउटा पनि छैन। राज्यले हरेक विद्यालयमा कम्तीमा एउटा कला शिक्षकको दरबन्दी कायम गरिदिए धेरै कलाकारले बाँच्ने आधार भेट्टाउँथे।’
कलाको प्रवर्धन र कलाकारको संरक्षणमा ललितकला प्रतिष्ठान, संस्कृति मन्त्रालय, शिक्षा मन्त्रालयलगायत सम्बद्ध निकायको ध्यान जानु जरुरी रहेको उनी ठान्छन्।
हरेक प्रदेशमा कला अनुसन्धान केन्द्र खोलेर कला क्षेत्रको उत्थान गर्दै त्यसमा देखापरेका कमीकमजोरीलाई न्यूनीकरण गर्नेतिर राज्य लाग्नुपर्ने सुझाव उनको छ। जंगबहादुरको पालामा चित्रकला अध्ययनका लागि कलाकारलाई बेलायतसम्म लगिएको इतिहास कोट्याउँदै उनले अहिलेको लोकतान्त्रिक सरकार कला क्षेत्रप्रति उदासीन रहेको आरोप लगाए। ठुल्ठुला घरमा पोस्टरको सट्टा चित्रकला झुन्ड्याउने प्रचलन थालिए कलाकारको रोजीरोटीमा योगदान पुग्ने सम्भावना उनी देख्छन्। ‘सरकारले एउटा मापदण्ड बनाएर घरघरमा चित्र राख्ने परिपाटी सुरु गरे कलाकारलाई केही हदसम्म राहत मिल्थ्यो,’ उनी भन्छन्।
विभिन्न संघसंस्थामा संलग्न उनी पछिल्लो समय कुक (कुची र कलम) समूहमा आबद्ध छन्। लेखक र चित्रकार सम्मिलित सो समूहले कुक यात्रा गरेर सरकारको पहुँचमा नपुगेका ठाउँलाई शब्द र चित्रका माध्यमले चिनाउने प्रयास गरिरहेको छ। ‘कुक यात्रामार्फत विभिन्न ठाउँ, त्यहाँका कला, संस्कृति, जनजीवन, भौगोलिक बनावटलाई चिनाउने कोसिसमा छौं,’ उनी भन्छन्।
प्रकाशित: ४ चैत्र २०७९ ००:१३ शनिबार