म्यामराज राई
झन्डै एक दशकदेखि बेनामी एउटा गाउँ थियो। प्रस्तावित नामहरू थुप्रै आए। सुहाउँदो र एउटा नाममा सहमति नजुटेपछि निर्वाचनबाट टुंगो लगाउने निर्णय भयो-जुन नाममा धेरै भोट आउँछ, उही नाम रहने गरी।
गाउँलेले पूर्ण मताधिकार गाउँका प्रतिष्ठित मानिएकाहरूलाई सुम्पेका थिए। हुन त मतदातामा छानिएकाहरूभन्दा माथिल्लो तहमा पनि केही व्यक्ति थिए। तर, तिनीहरू संरक्षकको रूपमा मानिन्थे। उनीहरू संरक्षकमा रहे पनि मतदाता नामावलीमा परेकाहरूलाई निर्वाचन अगाडि बारम्बार जिस्काइरहन्थे। कहिले फकाउँथे त कहिले धम्काउँथे।
यता गोप्य बुथ, मतपत्र र स्वस्तिक चिन्ह भने प्रयोगमा आउने भएँ भनेर एक अर्कामा निकै उत्साहित देखिन्थे।
मतदान सुरु भयो। झन्डै एक घण्टामा मतदान सकियो। मतदाता थोरै भएकाले मतगणना पनि चाँडै सकियो। मत परिणाम घोषणा भयो। जनताको चाहनाविपरीत नामको पक्षमा बहुमत आयो। अर्थात् गाउँलेहरूको भाषामा पहिचानरहित नामबाट गाउँको न्वारान भयो।
गाउँलेहरूले मानेको पहिचानवादी नेता ठाँटीलाल जुरुक्क उठ्यो र करायो,‘यो नाम हुनै सक्डैन। ऐटिहासिक सभ्यटा नामेत गरियो। सुरुदेखिको हाम्रो पोइन्टमा अडिग छु म।’
ऊ भावुकतामा थामिएन। आफ्नै कुर्सीमा थचक्क बस्यो र खुइय्य सुस्केरा छोड्यो।
उसको मनले उसैलाई झपार्नु झपार्यो,‘भोट दिने बेलामा संरक्षकको आदेश भन्दै आफ्नै विचारमाथि घात गरिस्। अहिले मेरो पहिचान नामेट गरियो भन्न लाज लाग्दैन?’
प्रकाशित: १ चैत्र २०७९ ०७:४६ बुधबार