२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’सार्वजनिक

कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ। नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो।

२०७६ सालमा कोकगोष्ठीले कवि सोमनाथ सिग्द्यालको स्मृतिमा इलाममा आयोजना गरेको विशेष गोष्ठीका लागि लेखिकाले अन्य कविहरूका साथमा गरेको इलाम यात्रामा केन्द्रित उक्त कृतिलाई कोकगोष्ठीले प्रकाशित गरेको हो।

कार्यक्रममा अध्यक्ष शंकरराज पन्त, प्रमुख अतिथि प्राडा माधव पोखरेल तथा साहित्यकारहरू प्रतीक ढकाल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, महेश पौड्याल र कृतिकार भवानी खतिवडाले पुस्तकको सार्वजनिक गरेका थिए।

कृतिमाथि आफ्नो मन्तव्य राख्दै कवि प्रभा भट्टराईले आफू भवानीको काव्यकारिताबाट असाध्य प्रभावित भएको बताइन्। उनले कृतिमा इलामको वर्णन सुललित र सूक्तिमय भएको पनि बताइन्।

समालोचक महेश पौड्यालले ‘पद्य-नियात्रा’ भनेर गरिएको यस कृतिको निरूपण सटीक र सैद्धान्तिक दृष्टिले तर्कसंगत रहेको बताए।

त्यसैगरी अर्का वक्ता साहित्यकार प्रतीक ढकालले भवानीमा कवित्व र साहस प्रचुर मात्रामा रहेकाले उनको साहित्यिक क्षमता नियात्रा र कविता दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिएको जिकिर गरे।

साहित्यकार भुवनहरि सिग्देलले भवानीमा देखिएको छन्दको ज्ञान, शब्दसामथ्र्य र सूक्तिमयता असामान्य भएको बताए।

छन्दसारथि रमेश खकुरेलले कवि भवानी प्रतिभा र ऊर्जाको पुञ्ज भएको भन्दै उनीबाट नेपाली साहित्यले अझै धेरै अपेक्षा राखेको बताए।

प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै अभिधात्मक वर्णनको तहबाट ध्वनि, वक्रता र रसको उदात्त तहमा उठेको भवानीको काव्यकारिता विशिष्ट र प्रतिभासम्पन्न भएको मूल्यांकन गरे।

कवि भवानीले भने आफू अग्रजहरूको सानिध्यमा अगाडि बढिरहने र चाँडै शे-फोक्सुण्डो यात्रा तथा सम्पूर्ण खुम्बू क्षेत्रको यात्रामा आधारित नियात्राकृति पनि प्रकाशित गर्ने बताइन्।

विमोचन कार्यक्रममा गायिका लोचन भट्टराई, कविहरू दिनेश पाण्डे, खोलाघरे साहिंलो, नारायण पोख्रेल, रञ्जु दाहाल, सविता बराल तथा विपिन पाठकले विमोचित कृतिका केही अंश पनि वाचन गरेर सुनाए।

कृतिलाई पेज टर्नर प्रालिले वितरण गर्ने बताइको छ। नियात्रासंग्रह ‘घामभन्दा पहिले’ पछि आएको यो कृतिकार खतिवडाको दोस्रो कृति हो।

प्रकाशित: १ चैत्र २०७९ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App