१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

अहम्ले जन्माएका साँझहरु

काठमाडौं- लेखक अभि सुवेदीका रचना प्याजका पत्र जस्तै हुन्छन्। एक पत्र खोलेर उदाङगो पारेको भ्रम टिक्न पाएको हुन्न तुरुन्तै अर्को पत्र देखापर्छ। पत्रिकामा लेखिने कोलम हुन् वा वाङ्मयका विधा, उनका रचनाको निहितार्थ बुझ्न न त एक पढाइ पर्याप्त हुन्छ न बसाइ। तर नाट्य लेखनमा भने उनका रचनामा केही समान विशेषता भेटिन्छन्। अहिलेसम्म मञ्चन भएका नाटक हेर्दा सुवेदीले मिथ वा पौराणिक पात्र वा परिवेशलाई टिपेर नयाँ समय सन्दर्भसँग एकाकार गराउँछन् र दर्शकलाई आफू अनुकुल व्याख्याका लागि ठाउँ दिँदै नाटकको 'ओपन इन्डिङ' गरिदिन्छन्।

सुवेदीको लेखकीय विशेषताको चर्चा गर्नुको कारण हो सहरमा फेरि एकपटक उनीद्वारा लिखित नाटक मञ्चन हुनु। बत्तीसपुतलीस्थित शिल्पी थिएटरले गत बिहीबारबाट सुवेदी लिखित नाटक 'चिरिएका साँझहरु'को मञ्चन थालेको छ र यो पटक उनले नाटकमा भक्तपुरमा वैशाख १ गते मनाइँदै आएको बिस्केट जात्राको मिथलाई नाटकीय स्वरुप दिएका छन्। 

उनका नाटकका पूर्ववर्ती विशेषताझैं 'चिरिएका साँझहरु'मा पनि एकसाथ दुईतीन विषय समेटिएका छन्। नाटकले एकतिर बिस्केट जात्राको मिथलाई समातेको छ त अर्कोतिर परापूर्वकालदेखि चलिआएको पितृसत्ताको विषयलाई पनि उठाएको छ। त्यसैगरी नाटकले नारीवाद र देवता र मानिसको अहम्को लडाइँलाई पनि मिहीन रुपमा कथानकमा उनेको छ। 

राजकुमारी मयजु (इनेशा भट्टराई)को हरेक दिन विवाह हुन्छ तर उनकै नाकबाट निस्किएका सर्पको टोकाइका कारण दुलहाको मृत्यु हुन्छ। खोपीमा दुलहीको भेषमा पस्ने राजकुमारी हरेक बिहान विधवाको रुपमा बाहिर निस्कन्छिन्। तर आफ्नी छोरीलाई एकछिन पनि विधवा देख्न नसक्ने कसम खाएका राजा (दिवेन कार्की)ले हरेक दिन आफ्ना सिपाहीलाई राज्यबाट खाइलाग्दा युवक दरबार लिएर आउन उर्दी दिन्छन् र हरेक दिन राजकुमारी दिउँसो दुलही बन्ने र अर्को बिहान विधवा बन्ने क्रम चलिरहन्छ।

यसरी राज्यभरका युवकको मृत्युको पछाडि भैरव र भद्रकालीको कारण मुख्य हुन्छ। तर एकदिन व्यापार गर्न हिँडेका युवक (सविन कट्टेल) संयोगवश त्यो राज्यमा आइपुग्छन् र बासको खोजीमा रहेका उनी अरु कुनै युवकको साटो राजदरबारमा जान राजी हुन्छन्। पहिलाझैं राजकुमारी र युवकबीच विवाह हुन्छ। पहिलाझैं युवक र राजकुमारीबीच रासलिला हुन्छ तर अरु युवकझैं व्यापारी युवक निदाउँदैनन्। व्यापारका लागि बोकेको असर्फीले किनेको किताब पढ्दै जागा बस्छन्। यही बेला राजकुमारीको नाकबाट निस्किएका दुई सर्पले टोक्न खोज्दा उनले तरबारको प्रयोगले दुवै सर्पलाई मारिदिन्छन्। सर्वसाधारणको साहसले राजकुमारी र राजाको समस्या समाधान हुन्छ भने सोही कारणले आफूमात्र शक्तिशाली भएको भद्रकालीको भ्रम पनि तोडिन्छ। तर राजकुमारीको जीवनमा देवदूत बनेर आएका युवक राजकुमारीको अथक प्रयासका बावजुद पनि दरबारको सुखसुविधाको मोहमा नलागी आफ्नो यात्रामा अगाडि बढ्छन्।

मिथमा आधारित भए पनि नाटकमा वर्तमान समयसन्दर्भसँग पनि जोडेर हेर्न सकिने प्रशस्त घटनाहरु छन्। नाटकलाई नेपाली राजनीति, समाज, नारीको अवस्था, पितृसत्ता अथवा आममानिसको शक्ति जताबाट पनि जोड्न सकिन्छ। तर नाटकले आफूलाई सर्वशक्तिमान ठान्नेको हठले समाज वा राज्यमा कस्तो अवस्था उत्पन्न गराउँछ र ऐतिहासिक कालदेखि नै नारीहरु कसरी पितृसत्ताको दास बन्न बाध्य थिए भन्ने कुरालाई जोड दिएर उठाउन खोजेको आभाष हुन्छ। मयजुले हरेक दिन विधवा बन्न अस्वीकार गर्दै बाबुसँग प्रतिरोधको प्रयास गरेको र अन्त्यमा राजकुमारीलाई छाडेर जान लागेको युवकलाई मान्छे हैन पुरुष बनेको भन्दै गरेको हुँकारले माथि उल्लेखित सत्यलाई चरितार्थ गरेका छन्। तर नाटकको सबैभन्दा टड्कारो सन्देश चाहिँ आम मानिस नै सबैखाले शक्तिको सर्वोच्च रुप हो र यसले चाहेमा जस्तो सुकै विपत्ति पनि पार लगाउँछ भन्ने नै हो।

कथासँगै भक्तपुरको पृष्ठभूमिमा बनेको नाटकको कुमार आलेको मन्च परिकल्पना नाटकको 'ज्यान' हो। मञ्चमा देखिने हाकुपटासी, ढुंगे धारा, दरबार, सिंहका मूर्ति आदिले नाटकलाई जीवन्त बनाउन ठूलो भूमिका खेलेका छन्। त्यसैगरी दीपेन्द्र बज्राचार्यको पार्श्व संगीतले पनि नाटकलाई भक्तपुरे परिवेशमा पुर्‍याउन महŒवपूर्ण भूमिका खेलेको छ। मञ्चमा देखिने सबै कलाकारले आफ्नो भूमिकामा न्याय गरेका छन्। तर थोरै समय देखिए पनि व्यापारी युवक बनेका सविन कट्टेल 'सिन स्टिलर'  बनेका छन्। उनको अभिनयले मन जित्छ। त्यसैगरी आ– आफ्नो भूमिकामा पवित्रा खड्का, सुरेश जिसी, इनेशा भट्टराई, दिवेन कार्की, संगीत पोखरेल, झकेन्द्र बिसी, सञ्जु पराजुली, सुलभ पाण्डे आदि पनि स्वभाविक लाग्छन्। परिकल्पना तथा निर्देशक घिमिरे युवराजले पनि बहुविषय समेटेको नाटकलाई  सरल प्रस्तुत गरेका छन्। फरक खालको नाटक हेर्न मन हुनेहरुका लागि 'चिरिएका साँझहरु' उत्तम खुराक हुनसक्छ। किनकि नाटक हेरुन्जेल रमाइलो त छँदैछ, सँगै नाटक हेरेर  फर्कंदा तपाईले दिमागमा 'होमवर्क' पनि लिएर जान पाउनुहुन्छ ।

मंसिर १ देखि सुरु भएको नाटक मंगलबार बाहेक हरेक दिन मंसिर २० सम्म मञ्चन हुनेछ।

प्रकाशित: ५ मंसिर २०७३ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App