१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

‘समभोक’ मा शिवदर्शन

पुस्तक

‘भोक जीवनको असन्तुष्टि हो भने भोग जीवनको तुष्टि हो, सन्तुष्टि होइन। सम्भोगबाट सन्तुष्टि होइन भोक जन्मनुपर्छ। सन्तुष्टि सृष्टि होइन, समाप्ति हो।’

थोरै मात्र पनि ज्ञान र चेतना भएको मान्छेले जाने–बुझेको सत्य के हो भने यो संसार भोक, भोग र सम्भोगमा चलेको छ। यी तीन कुरा शाश्वत सत्य हुन्। यी अजम्मरी छन् र यिनले यो मानव–संसारलाई पनि अजम्मरी बनाइराख्छन्। जुन दिन भोक, भोग र सम्भोगको मोह सकिन्छ, त्यसपछि यो संसारको अस्तित्व पनि समाप्त हुन्छ। यही शाश्वत सत्यको मनन र मन्थन गरी लेखिएको दार्शनिक उपन्यास हो ‘समभोक’। यसका लेखक हुन् शिव प्रकाश। भोक, भोग र सम्भोग सबैका लागि र सबैतिर समान छन्। यही समान भावको समास हो समभोक।

साहित्य, दर्शन र राजनीतिक विषयमा निरन्तर कलम चलाउँदै आएका शिव प्रकाशका यसअघि ‘जैमली’ र ‘घागी’ कथासङ्ग्रह तथा ‘जय नेताजी’ र ‘गोलमाल’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशित छन्। ‘समभोक’ मा शिव प्रकाशको भोक, भोग र सम्भोगप्रतिको दृष्टि प्रस्टरूपमा आएको छ। यही दृष्टि नै उनको दर्शन हो भन्ने लाग्छ। उनको दृष्टि–दर्शनले सम्भोगलाई लोग्नेमान्छे र स्वास्नीमान्छेको शारीरिक सम्बन्ध मात्रै हो भन्दैन। बरु भावनात्मक सम्बन्ध हो भन्छ, जसमा समानता र सहअस्तित्व हुन्छ। एक अर्काप्रतिको सम्मोहन पनि सम्भोग नै हो भन्ने शिव प्रकाशको दर्शन हो अर्थात शिव दर्शन हो। त्यही दर्शन ‘समभोक’ मा चेत–चैतन्य बनेर आएको छ। पाठकले ‘समभोक’ भित्र उपन्यासकार शिव प्रकाशको दर्शनको भोक, भोग र सम्भोगको चैतन्य प्राप्त गर्नेछन्।

भोक, भोग र सम्भोगलाई मियो बनाएर उपन्यास लेखिएको छ भने उपन्यासका पात्रहरूको मियोचाहिँ ईशुलाई बनाइएको छ। ईशुको वरिपरि घुम्ने अन्य पात्रहरू हुन् सवी, मुग्धा र सिन्धुका। तीन खण्डमा विभाजित उपन्यास ‘समभोक’ मा पहिलो खण्डमा भोक छ, जसलाई सुवी नामको पात्रले बोकेको छ। दोस्रो खण्डमा भोग छ, जसलाई मुग्धा नामको पात्रले बोकेको छ भने तेस्रो खण्डमा सम्भोग छ, जसलाई विशेषगरी सिन्धुका नामको पात्रले बोकेको छ। तीन खण्डमा तीन फरक–फरक तीन केन्द्रीय पात्रले उपन्यासको प्रतिनिधित्व गरेका छन्। अन्त्यमा तीनै केन्द्रीय पात्रहरूको माध्यमबाट भोक, भोग र सम्भोगको मिठो संयोजन भएको छ। यही भोक, भोग र सम्भोगको विषयको आख्यानीकृत रूप हो ‘समभोक’।

‘समभोक’ भित्र रहर वा बाध्यता जुनसुकै कारणले अवसरको खोजीमा विदेसिएका नेपाली र पछाडि छोडिएका परिवारको जीवन तथा त्यो समाजको अर्को पाटो छ। ‘भोग’ लाई पुरुषजन्य स्वाधिकारका रूपमा लिएको समाजमाथि नारी हस्तक्षेप छ। ‘समभोक’ भित्रका तीन नारीपात्र सुवी, मुग्धा र सिन्धुकाले सिङ्गो डायस्पोरिक नेपाली समाजका नारीहरूको प्रतिनिधित्व गरेका छन्। यसमा डायस्पोरिक नेपाली समाजको चित्रण छ। यो प्रवासी नेपाली समाजको कथा हो। संसारभरि छरिएर रहेका प्रवासी नेपालीको कथा हो। कथाका केही पाटाहरू नेपालको सन्दर्भमा पनि मिल्न आउँछन्। एक्काइसौं शताब्दीको प्रविधिले साँघु¥याएको विश्व–ग्राममा जहाँसुकै बस्ने मानिसलाई विश्वघटना र संस्कृतिले छिट्टै प्रभाव पारिरहेको छ।

यो भोक भोजनको मात्रै होइन, यौनको भोक हो। यौनको भोक मानिसका लागि भोजनजत्तिकै आवश्यक छ। भोजनको भोक नभए जीवन नीरस हुन्छ भने यौनको भोक नभए जीवन नीरस मात्रै होइन निरर्थक पनि हुन्छ। किनभने यौनको भोक नभए नयाँ सृष्टि हुँदैन। जीवनको अर्थ नयाँ सृष्टि हो र नयाँ दृष्टि पनि हो। यस्तै भाव बोकेको छ ‘समभोक’ ले।

उपन्यासभित्रका मुख्य पात्र हुन्ई-शु, सुवी, मुग्धा र सिन्धुका। यीसँगै कथानकमा जोडिन आउने पात्र हुन् सुन्दास, फुलकुमार, अँणबादुर, ञमराजलगायतका अरू केही पनि। ईशु र सुवी भोकका प्रतिनिधि पात्र हुन्। भोक निवारणका लागि एकअर्कामा आकर्षित र समर्पित छन् यी दुवै पात्र। ईशुले आफ्नो भोक मेट्ने खजाना देखेको छ सुवीमा अनि सुवीले चाहिँ ईशुमा। भोकको यसै शृङ्खलामा जोडिन आउने पात्र हुन् सुन्दास, मुग्धा अनि सिन्धुका।

सुन्दास र सुवी लोग्ने-स्वास्नी हुन्। तर सुवीलाई ईशुको भोक लागेको छ भने सुन्दासलाई पनि अर्कैको भोक लागेको छ। हरेक लोग्नेमान्छेलाई अर्काकी स्वास्नी राम्री लाग्छ भने हरेक स्वास्नीमान्छेलाई अर्काको लोग्ने पुरुषार्थी लाग्छ। यस्तै भएको छ ‘समभोक’ मा। सब भोकको परिणाम।

भोक, भोग र सम्भोगको दर्शनमा आधारित छ उपन्यास। उपन्यासमा बिम्ब, उपमा र दर्शनको प्रचुर प्रयोग भएको छ। उपन्यासभित्र उपन्यासकारले आफ्नो भोक, भोग र सम्भोगको दर्शन बेजोड ढङ्गले प्रस्तुत गरेका छन्।

मिठा शब्द र छोटा वाक्यविन्यासले उपन्यास पठनमा मिठास भरेको छ। सुन्तलाका केस्राजस्ता छोटा-मसिना तर रसिला वाक्यले पठनलाई नै रसिलो बनाएको छ। सरलता, सरसता र सहज प्रवाह उपन्यासका प्रमुख विशेषता हुन्। सामाजिक यथार्थको बिम्बात्मक प्रस्तुतिले उपन्यासलाई ओजपूर्ण बनाएको छ।

उपन्यासमा अमेरिकाको परिवेश छ। पात्रहरू भने सबै नेपाली छन्। भोकको दौडमा मिसिन पुगेका सबै नेपालीको साझा कथा छ ‘समभोक’ मा।

यौनको मामिलामा यसै पनि खुला छ अमेरिका। त्यसैले त सेक्स फ्री अमेरिका भन्ने गरिन्छ तर फ्रि सेक्स भने होइन। त्यहाँ बस्ने जोकोहीले यो खुलापन देखेका छन् र भोगेका छन्। अनि जीवनमा त्रिकोणात्मक सम्बन्ध पनि जोडेका छन्। यो सम्बन्ध पनि त्यही भोकले जन्माएको हो। त्यसैले लेखक शिव प्रकाशले लेखका हुन् भोकले सम्बन्ध बदल्छ। भोकले साइनो बदल्छ।

आफ्नो लोग्नेमा के अभाव देखेर स्वास्नी अर्कै पुरुषसँग लहसिन्छे र स्वास्नीमा के अभाव देखेर लोग्ने अर्कै स्त्रीसँग? मात्रै एउटा शारीरिक भोकका लागि विवाह भन्ने संस्थालाई नै चुनौती दिएर यौन स्वतन्त्रता अथवा स्वतन्त्र यौनको उपभोग गर्न लालायित हुनु अमेरिकी संस्कृति हो, नेपाली संस्कृति होइन। तर भोकले डो¥याइएर त्यहाँ पुगेकाहरू त्यही संस्कृतिमा घुलमिल हुन बाध्य छन् र बिस्तारै विलिन पनि हुनेछन्। यो परिस्थितिजन्य बाध्यताका रूपमा आएको छ। यो आमनेपालीको कथा होइन। प्रवासी नेपालीको कथा हो। तर सबै प्रवासी नेपालीको कथा पनि होइन। त्यसैले यसलाई सामान्यीकरण गरेर हेर्नु उचित हुँदैन।

सबै प्रकारका भोकहरूलाई समष्टिमा र अन्त्यमा अस्तित्वको भोकको रूपमा बुझ्न सकिन्छ। सबै प्रकारका भोकहरूमा अन्ततः अस्तित्वको अभीष्ट निहित रहेको बुझ्न सकिन्छ। त्यही भोकमाथि उपन्यासकार शिव प्रकाशको दर्शन उपन्यासभरि जताततै भेट्न सकिन्छ।

समग्रमा भन्नुपर्दा उपन्यासमा प्रवासी नेपाली जनजीवनको विविध पाटाहरू छन्। वैचारिक उथलपुथलका कथावस्तु छन्। भोकले उत्पन्न गरेको भेद छ। अनि भोकको दार्शनिक परिभाषा छ। अनौठो स्वभावका नेपाली प्रतिनिधि पात्रहरू छन्। तिनका जिजीविषा, तितीक्षा र मुमुक्षा छन्। अनि विविध उपमा र बिम्बको प्रयोग छ। साधारण भईकन पनि नौलो प्रयोग र नौलो शैलीको लेखन छ। यिनै विशेषतायुक्त ‘समभोक’ निकै पठनीय छ। 

प्रकाशित: २७ फाल्गुन २०७९ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App