विश्वास त गाउँ बुढाको सबैले गरेकै थिए। गाउँमा गाउँबुढाको मन राख्नै भए पनि पुराना मानिसहरू उनलाई सोधेरै मात्र नयाँ काम सुरु गर्दथे। बुढालाई पार्टीले विश्वास पनि गर्यो। कुनै दलबाट गाउँबुढाले चुनाव लडे। मानिसहरूले बुढालाई विश्वास गरे। गाउँबुढाले पनि जितिहाले। अब गाउँबुढा गाउँपालिका अध्यक्ष बनेपछि त साँच्चिकै गाउँबुढा पो भैहाले। उनको उत्साह बढ्यो।
बिस्तारै गाउँबुढाको स्वभावमा परिवर्तन आएको सजिलै देख्न सकिन्थ्यो। आफैंले भनेको कुरा सही हुने, आफूले भनेको सबैले मानिदिनुपर्ने जस्ता कुराले उनका विरोधी बढ्न थालेका थिए।
अर्को चुनाउको समय आयो। आम मानिसको चाहना नभए पनि पार्टीले बुढालाई नै टिकट दियो। बुढाले पार्टीलाई ठुलै रकम चन्दा दिएको सुनियो।
आम भेलामा उनले भने, ‘अब भने म यो गाउँको कायापलट गर्दछु।’
एकजनाले सोधे, ‘कसरी गर्छौ?’
बुढाले आफ्ना सबै योजना सुनाएर मत जित्ने कोसिस गरे। भित्री मनले पार्टीलाई दिएको चन्दा र चुनावी खर्च उठाउने योजना बुन्न थाल्यो। राजधानीमा यो पटक घर जोड्नै पर्ने श्रीमतीको समेत दवाव थियो।
बुढाको पार्टीमा मानिस घटेका, विश्वास घटेको भए पनि तीन पार्टीको गठजोडले उनले फेरि चुनाव जिते। अब उनी झन अटेरी र जब्बर बनिसकेको देखिन्थे। राजधानीमा घर किने। भ्रष्टाचारले डङडङ गन्हाए। पार्टीमा समेत असन्तोष चुलिन पुग्यो। उनलाई अर्को विपरीत पार्टी प्यारो लाग्न थाल्यो।
तेस्रो चुनाउ आयो। पार्टीले उनलाई टिकट नदिने पक्का भयो। जतिसुकै पैसा खर्च गरेर भए पनि चुनाव जित्ने उत्साह बढेकै थियो। बंगलादेशमा लगानी गरेर कपडा उद्योग र चिया फ्याक्ट्रीमा पार्टनर बन्नु थियो। उनी करोडौं रकम चन्दा दिएर अर्कै पार्टीबाट उम्मेदवार बने। पैसा पाएपछि अर्को राम्रै भनिएको पार्टीले उनलाई महान् क्रान्तिकारीको विशेषण दियो।
पैसा मजाले खर्च गरे। उनले चुनाउ जिते। धेरै कार्यकर्ताको रकम हिनामिना गरेको असन्तोष फैलियो। केन्द्रमा दिनुपर्ने रकम समेत दिएनन् उनले। गाउँमा दुई पार्टीको खुब द्वन्द्व बढेको थियो। पटक-पटकको भ्रष्टाचार सरकारले नहेरेपछि आम जनता क्रुद्ध थिए। गाउँमा उनलाई जोगिनै गाह्रो थियो। केन्द्रमा उनको पुरानो पार्टीको सरकार थियो। भोलिपल्ट उनले आफूले पहिले छोडेको पुरानो पार्टी प्रवेशको घोषणा गरे।
प्रकाशित: १७ फाल्गुन २०७९ ०६:५४ बुधबार