कठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदीप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको नयाँ फिल्म निर्देशनको जिम्मा दिने योजना रहेको बताएका छन्। ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धी गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन्। गीत केही दिनमा नै सार्वजनिक हुँदैछ।
‘जात्राका निर्देशक प्रदीप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ,’ हरिवंशले भने, ‘त्यसैले उनको दक्षता र मेहनतप्रति हामीलाई पूर्ण विश्वास छ।’
मह सञ्चारद्वारा निर्मित फिल्म, टेलिफिल्म तथा विज्ञापनलाई उत्कृष्ट बनाउन मह जोडीसँगै निर्देशक प्रदीपको ठूलो भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले नयाँ फिल्मको निर्देशक प्रदीपलाई नै बनाउने मनस्थिति रहेको बताएका छन्।
‘जात्रा’ फिल्मको कथाले आफूलाई निकै प्रभावित गरेको भन्दै उनले फिल्मले दर्शकको माया मिल्नेमा ढुक्क रहेको बताए। विपिन कार्की (भस्मे), वर्षा राउत, रबिन्द्र सिंह बानीया (हनुमान), रबिन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ।
‘जात्रा’ प्रर्दशनपछि मह सञ्चारले निर्माण गर्ने फिल्मको तयारीमा जुट्ने हरिवंशले जानकारी दिएका छन्। स्क्रिप्ट लगभग तयार भइसकेकाले तिहारपछि आवश्यक अन्य तयारी थाल्ने उनको भनाइ छ। फिल्ममा हरिवंश र मदनकृष्णको साथमा अहिलेका ख्याति प्राप्त कलाकारहरुसमेत रहने बताइएको छ। ‘नयाँ फिल्ममा अहिलेका हट र हिट नायक, नायिका पनि रहने छन्,’ हरिवंशले भने।
प्रकाशित: ७ कार्तिक २०७३ ०७:३४ आइतबार