सङ्घर्ष काटमार मात्र होइन। सङ्घर्ष घम्साघम्सी र भिडन्तसँग मात्र पनि सम्बन्धित छैन। न सङ्घर्ष कसैलाई सिध्याउनकै लागि मात्र गरिन्छ। सङ्घर्ष त आफ्नो पहिचान स्थापित गर्न गरिन्छ। आफूमाथि भएको अन्याय चुपचाप नसहनका लागि गरिन्छ। अनि आँट र आत्मविश्वास वृद्धिका लागि यसलाई अपनाइन्छ। गत फागुन २ गते मात्र सार्वजनिक भएको कथासङ्ग्रह ‘सङ्घर्ष’को उद्घोष यही हो। जसले भद्र, शालीन र कलात्मक सङ्घर्षका विविध पाटा उजागर गरेको छ।ो पनि पढ्नुहोस्
विशेषगरी नारीको, त्यो पनि उत्पीडनमा पारिएका, लैङ्गिक र घरेलु हिंसाको आहालमा जकडिएका, प्रेमका नाममा फसाइएका तथा ‘अबला’ र ‘विचरी’ को विशेषण भिराएर जबर्जस्ती थिचिएका नारीको चित्कार,रोदन र घाउ उदिनेको छ कथासङ्ग्रहले। अनि रोगका रूपमा झाँगिएका तिनै समस्याबाट मुक्तिका लागि गरिएका प्रयासलाई सङ्घर्षको उपमा दिइएको छ। यी यस्ता सङ्घर्ष हुन् जसले नारीलाई सक्षम, आँटिलो र आत्मविश्वासी बनाउँछन्, जसले पीडकलाई नजानिँदो तवरबाट दनक दिन्छन् र आफ्नो कर्मप्रति प्रायश्चित गर्न बाध्य तुल्याउँछन्।
विश्वमै सबैभन्दा लोकप्रिय विधा हो कथा। भुतप्रेतका नाममा होस् या लोककथा र दन्त्यकथाका रूपमा होस्, कथा सुन्ने र सुनाउने प्रचलन लिपिको आविष्कारभन्दा पनि पहिले भएको मानिन्छ। नेपालको सन्दर्भमा हेर्दा विक्रम संवत् १८२७ मा शक्तिवल्लभ अर्यालद्वारा नेपालीमा अनुदित ‘महाभारत विराटपर्व’ पहिलो कथा मानिन्छ। यसरी पहिलो कथाको पदार्पण भएको १९६ वर्षपछि लेखिएको कथासङ्ग्रहमा कथाकार शोभा ज्ञवालीले शालीन र भद्रतवरले अर्थात् बिनाझडप, बिनाहतियार, बिनादुस्मनी पनि महिलाले आफूमाथि थोपरिएका अन्यायको घाउ निको पार्न सक्छन् भन्ने विश्वास उजागर गरेकी छन्। त्यति मात्र होइन, आफूलाई अझै उन्नत, अझै शक्तिशाली र अझै उर्वर बनाउन सकिन्छ भन्ने सन्देश पनि दिएकी छन्।
एउटा कथा पूर्ण हुनका लागि विषय, तत्व, प्रवृत्ति, स्रोत, दृष्टिबिन्दु, प्रभाव आदि चाहिन्छ भन्छ सिद्धान्तले। सिद्धान्तको यो कसीमा राखेर हेर्दा सङ्घर्ष न ऐतिहासिक कथा हो न त जासुसी कथा नै। यो विशुद्ध सामाजिक कथा हो, जसले वर्तमान समाजमा भइरहेका गतिविधिमाथि नै आफ्नो ध्यान केन्द्रित गरेको छ। दिनानुदिन यहीं भइरहेका घटनाक्रमलाई विषयवस्तुका रूपमा चयन गरिएको छ। अनि फूलरूपी समस्याहरू सङ्कलन गरेर मालामा परिणत गरिएको छ। त्यसैगरी तŒवका आधारमा विश्लेषण गर्दा यसलाई आञ्चलिक वा चरित्रप्रधानभन्दा पनि घटनाप्रधान कथाको सँगालो भन्नु बढी उपयुक्त देखिन्छ। जहाँ शृङ्खलाबद्ध घटनाहरूको उपस्थिति छ र पात्रले यिनलाई क्रमशः उजागर गर्दै जाने प्रवृत्ति देखिन्छ।
प्रवृत्ति कथामा हुनुपर्ने अर्को गुण मानिन्छ। यसरी हेर्दा यो यथार्थवादी कथाहरूको सङ्ग्रह मान्न सकिन्छ। समाजमा भइरहेका गतिविधिलाई कथात्मकरूपमा ढालिएको देखिन्छ। त्यसैले त पीडामा पर्नेहरू अर्थात् भोग्नेहरू धेरैले यो आफ्नैबारेमा लेखिएको महसुस गर्न सक्छन्। समाज नै कथाको स्रोत भएकाले पनि ‘संयोगवश धेरैसँग मिल्नु’ यो सङ्ग्रहका कथाहरूको विशेषता हो। प्रायः प्रथम पुरुष दृष्टिबिन्दु देखिने यो कथासङ्ग्रहलाई प्रभावका आधारमा दुःखात्मकबाट सुरु भई सुखात्मकमा गएर अन्त्य हुने मान्नुपर्ने हुन्छ।
हुन त कथाकार शोभा ज्ञवालीले आफ्नो कथाका विषयवस्तु कथाका शास्त्रीय सिद्धान्तको साँचोभित्र परे-नपरेको थाहा नपाएको उल्लेख गर्दै आफूले समाजमा व्याप्त कुरीतिहरू टपक्क टिपेर त्यसैलाई कथाका रूपमा उनेको उल्लेख गरेकी छन्। विशेषगरी नारीमाथि भइरहेको दमन, लैङ्गिक आधारमा भइरहेको हिंसा र विभिन्न बहानामा महिलामाथि भएका अत्याचारलाई आफूले समेट्न खोजेको बताएकी छन्। यस अर्थमा कथाका कुनै सिद्धान्तभित्र यसमा सङ्ग्रहित कथा अटे कि अटेनन् भनेर धेरै घोत्लिन आवश्यक छैन। तापनि पाठकका दृष्टिले केलाउनुपर्दा उनले कथाका शास्त्रीय मान्यतालाई ख्याल नगरेको बताए पनि स्वतः धेरै पक्ष समेटिएको पाइन्छ।
विषयवस्तु, पात्र, परिवेश, संवाद, भाषाशैली, उद्देश्यजस्ता सबै दृष्टिले नियाल्दा कथाहरू परिपक्व छन्। यथार्थ चित्रण गर्ने र पीडितलाई आँट दिलाउने अनि सुधारका लागि झक्झक्याउने कथाहरूको उद्देश्य देखिन्छ। कथामा प्रयुक्त भाषा ‘आमाले पनि बुझ्ने’ खालको देखिन्छ भने शैली वर्णनात्मक छ। जसले कथा पढिरहँदा वल्लो–पल्लो घरका महिला फुर्सदमा बसेर गफ गरिरहेको झल्को दिन्छ। अधिकांश कथामा संवादको प्रयोग छ। जसले सुन्ने र सुनाउनेका माध्यमबाट कथाको सन्देश प्रस्ट पार्न खोजिएको देखाउँछ र पढ्नेलाई आफ्नै व्यथाजस्तो ठान्न सघाउँछ।
कतिपय साहित्यिक वा गैरसाहित्यिक लेखन जसले समस्या उजागर गरिदिन्छन् अनि आफू टाप कस्छन् अनि कतिपयले चाहिँ दुःखात्मक पक्षबाट सुरु गर्छन् र दुःखमै अन्त्य गरिदिन्छन्। यस्तो एकपाखे रोग धेरै लेखनमा देखिन्छ। तर ‘सङ्घर्ष’की कथाकार शोभा ज्ञवालीका सबैजसो कथा सुरुमा राम्रो अवस्था भएको, त्यसपछि समस्या देखिएकोमा केन्द्रित छन्। यसरी अनायासै भित्रने समस्यालाई समस्याकै रूपमा नछाडि समाधानमा पु¥याएर टुङ्ग्याउने प्रयास सबै कथामा पाइन्छ। जसले कथाका पात्रमार्फत पाठकलाई ढाडस प्रदान गर्छन्। अनि उस्तैखाले व्यथा भोगिरहेकालाई साहस प्रदान गर्छन्।
‘नारी’भन्दा बाहिर घुमेको छैन सङ्ग्रहभित्रका कुनै पनि कथाको विषयवस्तु। त्यसैले नारी सशक्तीकरण नै सङ्घर्षको मुख्य विषयवस्तु देखिन्छ। नारीलाई शक्तिशाली बनाउनु भनेको विचार, सोच र आँट मात्र बढाउनु होइन, जबसम्म उनीहरू आर्थिकरूपमा सशक्त हुन्नन् तबसम्म नारी सशक्तीकरण नारामा मात्र सीमित रहन्छ भन्ने यो सङ्ग्रहको सबैभन्दा दरिलो सन्देश हो। यसका लागि नारीलाई सबैभन्दा पहिले सिपले सज्जित गराउनुपर्ने र त्यसपछि उद्यमसँग जोड्नुपर्नेमा कथाका पात्रहरूले कडा पैरवी गरेका छन्। यो यस्तो पैरवी हो जसले ‘अधिकार’ लाई आर्थिक पाटोसँग जोड्नैपर्ने दबाब दिन्छ र भन्छ–आर्थिकरूपमा परनिर्भर भएसम्म अधिकारले मात्र नारीलाई हेपिन वा अन्यायमा पारिनबाट बचाउन सक्दैन।
कथा विधाका गुरुहरू कथा लेख्न बस्नुअघि नै केका बारेमा लेख्ने हो, शृङ्खलाबद्ध कसरी गराउने हो, लक्ष्यसम्म पुर्याउने जिम्मा कसलाई दिने हो, सन्देश कसरी प्रस्ट पार्ने हो र आकर्षक कसरी बनाउने होजस्ता विषयमा प्रस्ट हुनुपर्ने बताउँछन्। यसरी हेर्दा ‘सङ्घर्ष’ले आफूभित्र समेटेका कथाहरू प्रस्ट छन्। घटना बुनाइका माध्यमबाट हेर्दा टुटफुट देखिँदैनन्। सलल बगेका छन्। उद्देश्य महिलामाथि भइरहेका शोषण÷अन्याय उजागर गर्दै उनीहरूका लागि सुनौलो भविष्य देखाइदिने हो। समाजका विषयवस्तु टपक्क टिपेर समाजमै बस्ने पाठकलाई उपहार दिने विषयमा कुनै द्विविधा छैन। सकभर आकर्षक बनाउने प्रयासमा पनि आलोचना गर्ने ठाउँ देखिन्न। यसरी हेर्दा यो कथासङ्ग्रह उत्कृष्ट नहोला तर कमजोर छ भन्न मिल्दैन।
हुन त यो कथाकार ज्ञवालीको दोस्रो कृति हो। यसअघि २०७७ कात्तिकमा उनको ‘सम्पूर्ण आकाश’ नामक कथासङ्ग्रह प्रकाशित भइसकेको छ। अघिल्लो सङ्ग्रह पढ्दा ‘सङ्घर्ष’ पनि त्यसैको निरन्तरताजस्तो लाग्छ। तर २ वर्षपछिको परिपक्वताका कारण हुन सक्छ, पछिल्लो कृतिमा एउटा सुन्दर कथामा हुनुपर्ने धेरै पक्ष परिमार्जित भएर आएका छन्। अर्थात् सोझै भन्दा अझ निखारपन भेटिन्छ ‘सङ्घर्ष’का कथामा। चाहे त्यो भाषाशैली होस् या विषय चयन, मिठास होस् या सन्देश।
२६ वटा कथा समेटिएको यो सङ्ग्रह नागरिक दैनिक प्रकाशन गर्ने संस्था नेपाल रिपब्लिक मिडिया प्रालिले प्रकाशन गरेको हो। ४ सय रूपैयाँ मूल्य राखिए पनि यसमा समावेश विषयवस्तु, सन्देश तथा कागज र छपाइजस्ता स्तरीयताका हिसाबले बढी हो जस्तो लाग्दैन। प्रत्येक कथामा रङ्गीन चित्र समावेश छन् भने पेजैपिच्छे राखिएका ‘हाइलाइट्स’ ले एकातिर कथाको सारवस्तु बुझ्न सघाउँछ भने अर्कातिर ‘आइफ्रेन्ड्ली’ बनाएको महसुस हुन्छ।
परिवार नियोजनका लागि प्रयोग गरिने एउटा प्रचलित वाक्यांश छ– दुई मात्र सन्तानः ईश्वरका वरदान। ‘सम्पूर्ण आकाश’ र ‘सङ्घर्ष’ पढेपछि यति कामना गर्नै मन लाग्छ– यो भनाइ कथाकार शोभा ज्ञवालीको साहित्यिक कृति सिर्जनामा लागु नहोस्। उनीबाट अझै उत्कृष्ट र खारिएका कृति, त्यो पनि निकट भविष्यमै पढ्न पाइयोस्।
प्रकाशित: १३ फाल्गुन २०७९ ००:५९ शनिबार