७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

सम्झनामा वनभोज

वन्दना कटवाल

‘सम्झना बाँकी छ हाम्रो त्यो पलको,

सँगै नरहौंला हामी तर साथ सधैंको।’

पहिला साधारण लाग्ने यो गीत गुन्जिदा अहिले मेरो आँखा त्यसै भरिएर आउँछ।

फागुन महिना पनि सकिन लाग्यो। अब चैत आउन पनि धेरै दिन बाँकी छैन। सबै विद्यार्थी खुब मेहेनत गरेर आफ्नो गन्तव्य हासिल गर्न हिंड्दै छन्। पढाइको चटारो बोकी म पनि हिंड्दै छु। तर, धन्य छु मेरो स्कुलले अहिलेसम्म धेरै दबाब दिएको छैन। अझै पढाइको दुनियाँबाट अन्त रमाइलोको दुनियाँमा घुमाउने हिसाबले २०७९ साल फागुन ८ गते श्री विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयबाट ८० विद्यार्थी र २० जना शिक्षक भक्तपुरको पवित्र स्थान चाँगुनारायण गएका थियौं।

बिहान ६:३० मा महाविद्यालय परिसरमा भेला भई हामीले २ ओटा बस प्रयोग गरी आफ्नो गन्तव्यको थालनी गर्‍यौ। हामीलाई थाहा थियो, यो वर्षको रमाइलो गर्ने अन्तिम मौका हो भनेर।

भक्तपुर नेपालको सबैभन्दा सानो जिल्ला भए पनि त्यहाँ प्रयोग गरिएका सबै खेतीयोग्य जमिनले मलाई निकै प्रभावित पार्‍यो। अग्लो डाँडाबाट देखिने हरियो खेत, बग्दै गरेको मनोहर नदी, र इँटा भट्टाबाट निस्केको धुँवा नै भक्तपुरको पहिचान रहेछ।

दृश्यले मन निकै मोहित पार्‍यो। डेढ घण्टा जतिको यात्रामा नाच्दै, गाउँदै र हल्ला गर्दै हामीले चाँगुनारायणस्थित आफ्नो वनभोजस्थल पुग्यौं।

गन्तव्यमा पुग्नेबित्तिकै भोको पेटलाई शान्त बनाउन खाजा खायौं। खाजा खाएपछि ५ मिनेट हिंडेपछि विश्व सम्पदा सूचीमा उल्लिखित उपत्यकाको जेठो नारायण चाँगुनारायण मन्दिर घुम्न गयौं।

हामी ७ कक्षामा हुँदा पनि त्यहीं गएका थियौं। त्यहाँ पुग्नेबित्तिकै त्यही पुरानो दिनको याद आयो।त्यहाँको मन्दिरको परिवेश बदलिएको रहेछ। सुनझैं टल्किने मन्दिर आजकाल पुरानै शैलीमा नवनिर्माण गर्ने क्रममा रङरोगन गरी इन्द्रेनीझैं रंगीन हुँदै रहेछ।

राजा मानदेवले बनाएको यो प्यागोडा मन्दिर नेपालको इतिहास पल्टाएर हेर्ने हो भने सबैभन्दा पुरानो हो। १० रुपैयाँमा रहेको गरुड अनि विष्णु भगवानको मूर्ति पनि त्यही रहेछ।

केहीबेरको अवलोकन गरेपछि हामी फोटो खिच्न थाल्यौं। फोटो खिच्दा रमाइलो गरेको म कहिल्यै बिर्सने छुइनँ। त्यो ठाउँलाई पनि बिदा गरी हामी अलि तल लाग्यौं। त्यहाँ ऐतिहासिक हिसाबले १ हजार ओटा सिंढी निर्माण हुँदै रहेछ।

हामीलाई पढाउने सबै शिक्षकसँगको पहिलो भ्रमण भएकाले सबैको नृत्य, गायन र विविध प्रतिभा हेर्न उत्सुक थियौं। हामी सबैका लागि निकै रमाइलो पल थियो। सधैं प्रश्न सोध्ने शिक्षकहरू पनि आफ्नै तालमा रमाउँदै हुनुहुन्थ्यो। काम धेरै र समय थोरै थियो। त्यही भएर फेरि हामीले केही समयमा नास्ता खायौं। धेरै नाचेर  र कराएर होला निकै भोक लागेको थियो।

खाजा खाएपछिको काम पनि नाच्ने नै थियो। लगातार १,२ घण्टा नाच्दा ज्यान थाक्यो होला तर मन थाकेन।

वनभोज कार्यक्रममा हाम्रो एकल प्रदर्शन पनि थियो। एकजना मेरा साथीले गीत गाइन् र दुई जना साथीले कमेडी डान्स गरे। गीत साथीसँगको तीतो विछोडको पलसँग सम्बन्धित भएर कोहीकोही भावुक भई आँसु पनि झारे। शिक्षकहरूलाई सम्बोधन गरी मैले उहाँहरूका लागि कविता लेखेर प्रस्तुत गरें।

हामी सबै प्रतियोगीले धेरै जनाबाट राम्रो प्रतिक्रिया पायौं। सुनमा सुगन्ध थप्न हामीले खेल पनि खेल्यौं। एउटाचाहिं तातो आलु थियो भने अर्को बेलुन फुटाउने थियो। भाग्यमानी ३ जना साथीले उपहार पाउन सफल भए। लाग्यो, समय निकै छिटो कटिरहेको थियो। सबै कुरा छिटोछिटो भइरहेको थियो। रमाइलो गर्दागर्दै खाना खाने समयको पत्तो नै भएन।

हामीलाई रमाइलो गर्न पाएपछि केही पनि नचाहिने भएर होला म लगायत केही साथीले सबैभन्दा अन्तिममा खाना खायौं। खाना खाएपछि पालो थियो फेरि फोटो खिच्ने। एसइई सत्रौं ब्याचसँगसँगै बसेर फोटो खिच्यौं।

जंगलको बिचमा रहेको वनभोजस्थल निकै रमणीय थियो। हरिया वनले धार्मिक सहिष्णुताको उदाहरण झल्काएको थियो।

झन्डै ५ बज्न लागेको थियो। समय त घर जाने थियो तर आमाबुवाजस्तो माया गर्ने गुरु-गुरुआमाहरू र दिदीबहिनीको जस्तो माया गर्ने साथीहरूलाई छोडेर जाने मन थिएन। रमाइलो गर्ने ठाउँमा पढाइको चिन्ता लिनु हुँदैन भनेर त्यहाँ हामीलाई पढाइको कुरा गर्न निषेध थियो। सोहीबमोजिम हामीले केही पढाइको कुरा नगरी जीवनको सम्झनालायक दिन बितायौं। यादको एलबममा नयाँ फोटो राख्यौं। भोलिको समयमा त्यसरी रमाइलो, नाच्न, गाउन, हल्ला गर्न पाए पनि नपाए पनि साथीहरूसँगको याद सधैं मनमस्तिष्कमा कैद हुनेछ।

अन्तमा, यस्तो राम्रो अवसर प्रदान गर्नुभएकामा म सम्पूर्ण महाविद्यालय परिवारलाई हृदयदेखि नै धन्यवाद दिन्छु।

कक्षाः १०

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू ,काठमाडौं।

प्रकाशित: १२ फाल्गुन २०७९ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App