१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

धरहरा र मान्छे

कविता

भर्खरै

ढल्यो एघार तले धरहरा

इतिहास अस्तायो

र अस्ताए

भिमसेन र सपनाहरू

चोइटिएको ईटाको आर्तनाद सँगै

मलाई खोतल्नु छ त्यो भग्नावशेष

र थाहा पाउनु छ

कसरी उछिट्टिन्छन् सिमेन्टले थामेका

निरीह बेग्रेल्ती सपनाहरू

धरहराको ईटा जस्तै

कसरी ढल्छन् गर्लयाम्म

मान्छेको आस्था मान्छेमाथि नै

र कसरी बजारिन्छ

मान्छेको मन

माथि.....एघार तले धरहराबाट!

अनुभूत गर्छु

टुक्राटुक्रा ईटाहरूको बिचबाट

निस्कन्छ एउटा ज्याद्रो मान्छे

हेर्न खोज्छ फेरि

भिमसेनको नग्न पत्निको जात्रा

अनि

खोपमा आफै सेरिएको

भिमसेनको बीभत्स अन्त्य

धरहराको माटोको थुप्रोभित्र

ए...फुस्रो मान्छे

भन न

एघार तले धरहरा बनाउने मान्छे

किन

आफ्नो मन दुई तले पनि बनाउन सक्तैनौ?

यति ठूलो इन्द्र सरोवर बनाउने मान्छे तिमी

किन पोखल्टो बनाउछौ तिम्रो मन?

सरकारले

इन्जिनियरले

डकर्मीले

जसले बनाए पनि धरहरा

भन न मान्छेहरू

मनको धरहरा बनाउने कसले?

भुइँचालोले स्खलित

विचारको धरहरा अग्लाउने कसले?

कोरोनाले ढलेको मानवता

उठाउने कसले?

आज सहस्राब्दी सहश्रापित भएको छ...!

प्रकाशित: ११ फाल्गुन २०७९ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App