बालकृष्ण गजुरेल
मन्त्री खाएपछि मान्छेहरू धेरै आउन थाले। मन्त्रीज्यूलाई पर्नु फसाद पर्यो। मिटिङ कक्ष ठूलो चाहिने भयो। उनले घर बनाउन इन्जिनियरहरू तयार गरे। इन्जिनियरका विभिन्न डिजाइन अनुसार घरको नमुना छानियो।
काठको ठेक्का आफ्नै गाउँका एकजनालाई दिइयो। काठे कर्मीले काठ काट्दा अचानक भुईंमा लडे। मेसिन आराले काठ छियाछिया पारिदियो। जब मन्त्रीजी साँझमा भवन निर्माणस्थल पुगे तब उनी रीसले चुरचुर भए।
मन्त्रीजीले ठाडो आदेश दिए, ‘यो काठ कर्मीलाई काठको मूल्य तिराउनु।’
विचरा ती काठ कर्मी। पैसा तथा क्षमता भए मालिक नै हुन्थे। जानेर बिगारेका थिएनन्। भूलवशमा पनि हेपेपछि उनी कुर्ले।
काठ कर्मीले आँखा रातो पार्दै भने, ‘द्वन्द्व कालमा तपाईहरूले चार लाख कमाउनेलाई रिसिभीको आडमा सामन्ती भनेर मान्छेको घाँटी रेट्दा केही भएन। सामन्ती चरित्र हेर्दा सय पटक तपाईलाई रेट्नुपर्ने हो। भूललवश भएको मेरो गल्ती पहाड बनाउन लाज छैन!’
प्रकाशित: १० फाल्गुन २०७९ ०७:३१ बुधबार