१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नयाँ मोडलहरुले जिते 'एन भोग' को उपाधि

काठमाडौं- रितेशराज गुरुङ र रुबिना थापाले यस वर्षको 'एन भोग'को उपाधि जितेका छन्। शुक्रबार राजधानीको अन्नपूर्ण होटलमा आयोजित 'एन भोग' र्‍याम्प सो र मोडलिङ प्रतियोगितामा उनीहरुले 'एन भोग'को उपाधि जितेका हुन्।

मोडलिङ र व्यत्तित्व विकासको प्रशिक्षण लिन एन भोगमा आएका उनीहरु उपाधि जित्दा स्तब्ध भएका थिए। 'एन भोगको उपाधि आफैंमा ठूलो कुरा हो। यसले मलाई नेपाली मोडलिङमा व्यावसायिकरुपमा लाग्न प्रोत्साहित गरेको छ,' एन भोगको पुरुषतर्फका विजेता रितेशराज गुरुङले भने।

उनीहरुले उपाधीसँगै ५० हजार र विभिन्न उपहार प्राप्त गरेका छन्। नेपाली मोडलिङ र फेसन जगतमा प्ल्याटफर्म खोजिरहेका युवा पुस्ता प्रोत्साहन गर्न 'एन भोग' शीर्षकमा र्‍याम्प सो र मोडलिङ प्रतियोगिताको आयोजना गरिएको थियो।

कार्यक्रममा लोमेश धमला र प्रियंका रानी जोशी फस्ट रनरअप घोषित भए। सुशान्त नेपाल र दीपिका केसी भने सेकेन्ड रनरअप घोषित भए। हाउस अफ फेसनले आयोजना गरेको एन भोग मोडलिङ प्रतियोगितामा महिला र पुरुष गरी ६४ जना सहभागी भएका थिए। अडिसनबाट छानिएका मोडलहरुले करिब एक महिनाको प्रशिक्षणको दौरान र्‍याम्प मोडलिङ, क्याटवाक र आत्मविश्वासलगायत विषयमा प्रशिक्षण पाएका थिए।

फर्मल, क्याजुअल, लेहेंगा, इभनिङ गाउनलगायत विभिन्न सात वटा सिक्वेलमा मोडलहरुले र्‍याम्पमा क्याटवाक प्रस्तुत गरेका थिए। सुमी गुरुङ, प्रज्ञा चित्रकार, केटिएम सिटी, तिन्जिङ यांकी श्रेष्ठ, सभा नेपाल, दीपेश गुरुङ, विपिन गुरुङ, मुखिया गुरुङ र सोनिम कलेक्सनले तयार गरेको पहिरनमा मोडलहरू र्‍याम्पमा उत्रिएका थिए। प्रतिस्पर्धी मोडललाई कोरियोग्राफर दीपेश गुरुङ र सलोन ताम्राकारले एक महिनायता प्रशिक्षण दिइरहेका थिए।

'नेपाली र्‍याम्प मोडलिङमा महिला र पुरुष दुवै मोडलको माग बढिरहेको छ। व्यावसायिक मोडलले मोडलिङबाट राम्रो आम्दानी गरिरहेका छन्। त्यसैले हामीले महिला र पुरुष मोडललाई प्रतियोगितामा सहभागी गराएर प्ल्याटफर्म दिएका हौं,' हाउस अफ फेसनकी बानुले भनिन्। र्‍याम्प मोडलिङतर्फ ४३ जना महिला सहभागी छन्।

एन भोगको अघिल्ला संस्करणमा सहभागी सोफिया श्रेष्ठ, कन्चन गौतम, किशोर कायस्थ र अफिसालगायत सो स्टपरका रुपमा र्‍याम्पमा देखिएका थिए। नयाँ मोडलहरुलाई प्रोत्साहन गर्न पुगेका गत वर्षका विजेता आयुष्मान देशराज श्रेष्ठले 'एन भोग'को प्ल्याटफर्मले मोडलिङसम्बन्धी अवसरहरु प्रदान गरेका बताए। 'इन भोगको यो प्ल्याटफर्मले राम्रा मोडलहरुलाई नेपाली मोडलिङमा प्रवेश गराइरहेको छ। फेरि नेपाली मोडलिङ व्यवसायिक हुँदै गइरहेको अवस्थामा एन भोगले विभिन्न अवसरहरु प्रदान गर्नमा सहयोग गरेको छ,' उनले भने, 'मोडलिङ भनेको र्‍याम्पमा क्याटवाकमात्र गर्ने मात्र नभएर करियर बनाउने प्ल्याटफर्म समेत हो। त्यसैले यसलाई व्यवसायिक रुपमा लानसक्नुपर्छ।'

हाउस अफ फेसनकी ओसिमा बानु, दीपेश गुरुङ र सलोन ताम्राकार लगायत समेत सहभागिहरुसँग र्‍याम्पमा देखिएका थिए। 'मोडलिङमा रुचि राख्ने नेपाली युवा पुस्तालाई व्यावसायिक मोडलका रुपमा स्थापित हुन यो प्रतियोगिता आयोजना गरेका हौं। मोडलिङमा नेपाली मोडल सक्रिय छन् तर अझै पनि नेपाली फेसन र मोडलिङ क्षेत्र व्यावसायिक हुन सकेको छैन। पुराना नेपाली मोडल लगभग विस्थापित भइसकेका छन्,' हाउस अफ फेसनकी कार्यकारी निर्देशक ओसिमा बानुले भनिन्, 'त्यसैले यो प्रतियोगिताले मोडलिङमा करियर बनाउन चाहनेलाई प्ल्याटफर्म दिएर व्यक्तित्व विकासदेखि व्यावसायिक मोडलिङ गर्न प्रोत्साहन गर्नेछ।' सन् २०१३ मा सुरु भएको एन भोगको यो चौथौ संस्करण हो।

प्रकाशित: ८ आश्विन २०७३ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App