खिलक बुढाथोकी/ऋषि खतिवडा
काठमाडौं- मानिस बूढो तनले हुन्छ कि मनले? सामान्य आँखाले यही भन्छ– तनले। राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्ने र देख्ने आँखा भने यो मान्न तयारै हुँदैन। किनकि, मनले तन्नेरी कविवर घिमिरे तनले पनि उस्तै सक्रिय र जोशिला देखिन्छन्।
आज उनको ९८औं जन्मदिन। अहिलेसम्म पनि कविवर घिमिरे ठमठमी हिँड्छन्। मञ्चमा जोशले मन्तव्य ठोक्छन्, लयले कविता गाउँछन्। साँझ–बिहान नित्य कर्म र सिर्जना–साधनामा उनलाई उमेरको कुनै तगारोले आजपर्यन्त छेक्न सकेको छैन।
'उमेरले बूढोजस्तो देखिए पनि मलाई आफू बूढो भएजस्तो लागेकै छैन,' बिहीबार लैनचौर कपुरधारास्थित निवासमा दौरा–सुरुवाल, कोट र ढाका टोपीमा ठाटिएर बसेका घिमिरेले भने, '५०/६० वर्षका जुनियरलाई बूढो देख्ने यी आँखाले आफूलाई तन्नेरी नै देखिरहेको छ।'
आफूलाई बुढ्यौलीले गाँजे पनि आत्मबलले त्यसलाई छेउ पर्नै नदिएको उनको अनुभूति छ। त्यसो त मन बूढो नहुन्जेल मान्छे बूढो नहुने धारणा राख्छन् उनी।
जीवनमा कुन त्यस्तो तŒवले राष्ट्रकविलाई अहिलेसम्म तन्नेरी बनाइरहेको छ त?
भन्छन्, 'कविताको नशाले सधैँ सक्रिय बनाउँदो रहेछ।' त्यसबाहेक पारिवारिक वातावरण र शारीरिक व्यायामले उनमा बूढ्यौली अनुभूतिलाई ढिम्कनै दिएको छैन।
आफ्नो चम्किलो आभापछाडिको उनले अर्को पनि कारण सुनाए–' धुम्रपान तथा मद्यपान नगर्नाले जोशजागँरमा कहिल्यै कमी आएन।'
यो उपलब्धिले कविवर घिमिरेलाई मात्र होइन, उनको सिंगो परिवारलाई औधि सुखी र खुसी तुल्याएको छ। बुबाकै बाटोमा हिँड्ने जमर्काेले कविता लेखिरहेकी कान्छी छोरी ज्योति पौडेलले केही समयअघि सुनाएकी थिइन्, 'बुबाको हाउभाउ, जोश–जाँगर र उज्यालो अनुहार देख्दा शताब्दी टेक्न लाग्नुभयो भन्ने पत्यारै लाग्दैन।'
विसं १९७६ असोज ७ मा जन्मिएका घिमिरेको जन्मोत्सव शुक्रबार साहित्यिक वृत्तमा विभिन्न कार्यक्रमसहित मनाइँदै छ। परिवारले भने तिथिका आधारमा असोज १४ गते अष्टचिरञ्जीवीको पूजा गरेर तिथिका आधारमा मनाउने गरेको छ।
बिहीबार दिउँसो घिमिरेे निवास पुग्दा उनी बैठककोठामा केही सोचिरहेका थिए। '‰यालबाट प्रकृतिको रुप हेरेर केही सोच्दै थिएँ,' उनले सुनाए, 'सोचिरहँदा नयाँ केही फुर्न सक्छ।'
घिमिरे लेखेर कहिल्यै थाक्दैनन्। अहिले पनि उनी महाकाव्य लेखिरहेका छन्। 'लेख्न छाडे त बूढो भइहालिन्छ नि,' मुस्कानसाथ उनले भने, 'समाजले त मलाई बूढो लेखक भन्दो हो तर मलाई लाग्दैन, किन पो हो, आफैंलाई आश्चर्य लाग्छ।'
घिमिरेको महाकाव्य हो– 'रितम्भरा'। आफूले त्यसमा विश्व जीवनबारे लेखिरहेको उनले बताए। प्राचीनकालमा मान्छेको हृदय सफा तर अहिलेको विश्वका मान्छेको हृदय लडाइँ, झगडा, जिन्दावाद–मूर्दावाद, ईर्श्या र डाहमा अडिएको विषय काव्यमा समेटिएको उनले सुनाए। मान्छे मस्तिष्कमा (प्रविधि) मा धेरै अगाडि पुगिसके पनि हृदय (दया, माया, करुणा) मा पछाडि परेको छ। 'घरमा बसेर संसार चाहर्न सक्छौं,' उनले खण्डकाव्यको विषय खुलाउँदै भने, 'त्यही संसार चाहर्ने क्रममा अमेरिका पुगेका छोराले बुबाआमालाई भुल्छ।'
मस्तिष्कमा अगाडि भए पनि हृदयमा पछि परेको विषयलाई सन्तुलन मिलाउने विषय खण्डकाव्यमा समेटेको उनी सुनाउँछन्। 'यही जन्मोत्सवमा लेखिसक्ने जोश भए पनि सकिएन,' राष्ट्रकवि घिमिरेले भने, 'सिर्जनामा जोशले मात्रै हुँदैन, फुर्ने समय पनि चाहिन्छ। अन्तिम चरणमा पुगेको छ, अर्को जन्मोत्सवमा सक्नेछु।'
कार्यक्रममा गइरहनुपर्ने बाध्यताले सोच्ने समय कम भइरहेको उनले बताए।
त्यसो त उनी निम्तो आएजति सबै कार्यक्रममा पहिलेजसरी जाँदैनन्। जेठी बुहारी विजेताका अनुसार मन तन्नेरी भए पनि उमेरले बुढ्यौली छाइसकेकाले बाहिरी हावापानीले असर गर्ला भनेर कमै पठाउने गरिएको हो।
परिवारका अनुसार घिमिरेलाई सुगर र प्रेसरबाहेकको कुनै रोग छैन। '१० वर्षदेखि सुगर र पे्रसरको औषधि सेवन गर्दै आउनुभएको छ,' विजेताले भनिन्, 'अन्य त्यस्तो रोग देखा परेको छैन।'
घिमिरे बिहान ६ बजे उठ्छन्। नृत्यकर्मपछि घरकै चौरमा शारीरिक व्यायाम, योग गर्छन्। पत्रिका पढ्छन्। ननुहाई कहिल्यै नखाने उनको बानी रहेको १६ वर्ष कान्छी श्रीमती महाकालीले भनिन्, '११ बजे भुजा खाएपछि भेट्न आउनेलाई समय दिनुहुन्छ, त्यसपछि केही समय विश्राम गर्ने बानी छ उहाँको।'
महाकालीका अनुसार अपराह्नको समय लेख्न पनि बस्छन् घिमिरे। साँझमा उनी मस्तिष्क व्यायाम गर्छन्, एकान्तमा।
बेलुका ८ बजे खाना खाएर लेख्न बस्ने बानी छ घिमिरेको। 'कहिलेकाहीँ त राति १२/१ बजेसम्म पनि लेखिरहनुहुन्छ,' महाकालीले सुनाइन्, 'सुत्ने समय निर्धारित हुँदैन, शास्त्रीय संगीत सुन्दै लेख्ने गर्नुहुन्छ।'
घिमिरेका ६ छोरी, २ छोरा छन्।
प्रकाशित: ७ आश्विन २०७३ ०१:४८ शुक्रबार