७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

सुन्दर मनका अक्षरहरू

पुस्तक

बाबुकाजी थामी साहित्यलाई माया गरेर केही वर्षदेखि नेपाली भाषा र साहित्यको सेवा गर्न लागिपरेका छन्। विशेष गरेर नेपाली साहित्यको मुक्तक, गजल विधामा मन दिएर उनले आफ्ना सिर्जना पस्कँदै आएका छन्। फुटकर रूपमा उनका सिर्जनाहरू पत्रपत्रिकामा पनि प्रकाशित हुँदै आएका छन्। आफ्नो मातृभाषा थामी भाषामा पनि उनका रचनाहरू गोरखापत्रमा समय-समयमा प्रकाशन हुँदै आएको देखिन्छ। यसका साथै सामाजिक सञ्जालमा पनि उनका सिर्जनाहरू आइरहेकै हुन्छन्। यसरी सानै उमेरदेखि उनी नेपाली साहित्यमा सक्रिय भएर लागेको देखिन्छ।

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ का स्थायी वासिन्दा बाबुकाजी थामीको मुक्तकसंग्रह मनका अक्षरहरूका लागि सर्वप्रथम हार्दिक बधाई।

मनका अक्षरहरू उनको पहिलो प्रकाशित कृति हो। यस मुक्तकसंग्रहभित्र १०१ मुक्तक सङ्गृहीत छन्। मुक्तकहरूमा राष्ट्रभक्तिका जीवन्त आभिव्यक्तिहरू पाइन्छन्। राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकता तथा राष्ट्रिय स्वाभिमान रक्षाका खातिर सदा जुटिरहनुपर्छ भन्ने भाव मुक्तकहरूले बोकेको देखिन्छ।

आज पनि हामी आफ्नो अस्तित्वरक्षाका खातिर ज्यान दिन्छौं तर कुनै पनि लोभमा फस्दैनौं। नपुंसक बनी कसैको दासत्व स्विकार्दैनौं र स्वतन्त्रताका लागि गरिने क्रान्तिको बाटोमा तगारो हाल्न कदापि दिंदैनौं भन्ने भाव उनका मुक्तकमा व्यक्त भएका छन्। हाम्रो जस्तो राम्रो देश संसारमा पाइन्न। हिमाल, पहाड र तराई मिलेर बनेको प्राकृतिक विविधताले युक्त यस्तो सुन्दर र शान्त मुलुक संसारमा अन्यत्र छैन भन्ने भावमा उनले यसरी मुक्तक लेखेका छन्ः

सुन्दर, शान्त हरियाली हाम्रो देश नै राम्रो,

चट्ट सुहाउने नेपालीहरूको भेष नै राम्रो।

हाम्रो नेपालमा हिमाल, पहाड र तराई छन्,

त्यसैले  त  हाम्रो  देशको  परिवेश नै राम्रो।

त्यस्तै नेपालीहरू स्वाभिमानी भएर आफ्नै पाखुरीको बलमा खान्छन्। मागेर खाने होइन कर्म गरेर खानुपर्छ, परदेशमा श्रम पोख्नुभन्दा स्वदेशमा परिश्रम गरेर नव नेपाल बनाउनुपर्ने विचार पनि मुक्तकहरूमा व्यक्तिएका छन्। यसका साथै नेपालका प्राकृतिक सम्पदाहरूको संरक्षण गर्नुपर्ने विचार पनि मुक्तकमा व्यक्त भएको देखिन्छ।

आहा! त्यो  हरियाली वन,

सुन्दरतामा रमाउँछ मन।

जोगाऔं हामी सबै मिलेर,

हाम्रो राष्ट्रिय अमूल्य धन।

स्वदेश आफ्नो हो। परदेश अर्काको। त्यसैले स्वदेशमै रहेर कर्म पोख्नुपर्छ भन्ने विचार मुक्तककारको रहेको छ। परदेशमा एक्लो, विरानो जीवन बिताउनु पर्दाको पीडा पनि मुक्तक भएर उर्लेको छ। उनको निम्न मुक्तकले यही कुरा देखाउँछः

परदेशमा परदेशी एक्ला एक्लै हुनु पर्दोरहेछ,

दुःखदायी जिन्दगी तड्पिएर जिउनु पर्दोरहेछ।

साहुहरूको गालीगलौज खाएर विरानो देशमा,

आफ्नो  परिवारलाई  सम्झेर रुनु पर्दोरहेछ।

समाजका विकृति र विसंगति उनको मुक्तकसंग्रहको अर्को विषय हो। समाजमा रहेका यस्ता विकृति, विसंगति, अत्याचार, अन्याय, अन्धपरम्पराको विरुद्धमा मुक्तककारले कलम चलाएका छन्। समाजमा अहिले पनि कुप्रथा कायमै रहेको छ भन्ने भाव पनि मुक्तकमा व्यक्त भएका छन्। अहिले पनि हाम्रो मानसिकता पुरानै छ।

हामी आज पनि सानो-ठूलो, धनी-गरिब, उँच-निच जस्ता यथास्थितिवादी मानसिकताले ग्रसित छौं। यस्तै सामाजिक भेदभावले गर्दा हामी विक्षिप्त छौं। समाजका दलित, पिछडिएका, गरिब, महिला आदिलाई उत्थान गर्ने कुरामा लागेका छौं, काममा लाग्न सकेका छैनौं। त्यसैले पुरातनवादी सोच बदल्न आवश्यक रहेको विचार मुक्तकहरूमा छन्। जस्तोः

छोरीको पनि आफ्नै थर हुन्छ नि,

बुबाआमासँग बस्ने रहर हुन्छ नि।

हामीले भेदभावलाई हटाउनुपर्छ,

महोदय छोरीको पनि घर हुन्छ नि।

आज देशमा चर्को राजनैतिक खिचातानी छ। यहाँ मात्र वादहरूका बिच विवाद छ। अहंकारै अहंकारको टक्कर छ। नैतिक मूल्य र मान्यताको राजनीति समाप्त प्रायः भएको छ। जनमुखी सरकारको अनुभूति जनताले गर्न पाएका छैनन्। सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने विचार मुक्तकबाटै व्यक्त गरेका छन् उनले। देशका निमुखा, गरीब, उत्पीडनमा रहेका, बेरोजगारका लागि केही गर्नुपर्ने सुझाव पनि उनको छ।

नेपालभरकै गरिब र पीडितहरूलाई पाल्नुपर्छ सरकारले,

मजदूरी गरेर खाने, फाटेका मनहरू टाल्नुपर्छ सरकारले।

हाम्रो देशमा बेरोजगारी समस्या बढ्दै छ देख्दै छौं,

भएन यसरी रोजगारीका लागि कदम चाल्नुपर्छ सरकारले।

सरकार जनताका लागि हो कि, जनता सरकारका लागि हो भन्ने प्रश्न उब्जिएको छ। सरकार आफ्नो खर्च धान्न अनावश्यक रूपमा जनतामाथि कर थोपर्दै छ। जनतासँग खाली कर मात्र असुल्ने सरकारप्रति रोष छ उनको मनमा। त्यसैले त उनले लेखेका छन्ः

म अन्धकारमा परेको छु,

करको भारमा परेको छु।

हरेक बस्तुको भाउ बढ्यो,

म यहाँ मारमा परेको छु।

संसारमा मानिसहरू सबै सोझा हुँदैनन्। अरूप्रति पनि समभाव, र सहभाव राख्ने मानिसहरू कम छन्। तर, यसको उल्टो अरूलाई होच्याउने,ईर्ष्या, डाह, रिस गर्ने जमात पनि हाम्रै समाजमा छन्। त्यस्ता मानवीय कुप्रवृत्तिको व्यंग्य गर्दै उनले लेखेका छन्ः

होच्याएर खाल्डोमा ठेलेको छ,

जालझेल गरी खेल खेलेको छ।

झूटो जीत सधैं टिक्दैन महोदय,

सोझा सिधालाई धेरै पेलेको छ।

यस मुक्तकसंग्रहमा १०१ मुक्तक समेटिएको मनका अक्षरहरूमा देशभक्ति, राष्ट्रियता, मानवताप्रतिको भावना, प्रकृतिप्रतिको स्नेह जस्ता विषय समेटिएका छन्। मुक्तककारले मुक्तकसंग्रहमा अत्यन्त गहकिला तथा सारगर्भित विचार र भावहरू व्यक्त गरेको देखिन्छ। मुक्तकहरूमा व्यक्त भावना अब्बल छन्।

अन्तमा बाबुकाजी थामीको यो मुक्तकसंग्रह पठनीय रहेको छ। कही गल्ती वा कमजोरी यसमा हुन सक्लान्। तर, यो उनको पहिलो कृति हो। पहिलो कृति नै यति राम्रो भएपछि उनको मुक्तकिलो यात्रा सुन्दर हुनेमा म ढुक्क छु। बाबुकाजी भाइलाई शुभकामना त छँदैछ।

प्रकाशित: २३ माघ २०७९ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App