२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

प्रेम दिवसमा सौराहामा खाना महोत्सव हुने

पर्यटकीय नगरी चितवनको सौराहामा प्रेम दिवसको अवसर पारेर ‘खाना महोत्सव’ हुने भएको छ। रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) सौराहाले सत्रौं खाना महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव यही माघ २९ देखि आगामी फागुन २ गतेसम्म सौराहाको सडकमा नै सञ्चालन गरिने आयोजकले जनाएको छ।

महोत्सवमा स्थानीय तथा विदेशी खानाका परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाइने कार्यक्रम संयोजक ध्रुव गिरीले बताए। सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए।

महोत्सवअन्तर्गत कार्यक्रमस्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ। यस्तै हरेक दिन बेलुका जनजातिको कला तथा संस्कृतिसहितको प्रदर्शन समेत गरिनेछ।

महोत्सव अवधिभर दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने र सौराहामा तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ। महोत्सवअन्तर्गत उज्यालो सौराहा, शैक्षिक विपन्न कोषमार्फत विपन्न र जेहेनदार विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने र वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले प्लास्टिकजन्य पदार्थ न्यूनीकरणलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

रेस्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा हुने महोत्सवमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ चितवन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र साना पर्यटन व्यवसायी संस्था सहआयोजकका रूपमा रहेका छन्। महोत्सवमा नेपाल पर्यटन बोर्ड, वाग्मती प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र रत्ननगर नगरपालिकाले सहकार्य गरेका छन्। रासस

प्रकाशित: २२ माघ २०७९ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App