नेपालको वाग्मती प्रदेशअन्तर्गत ललितपुर जिल्लाका ६ वटा स्थानीय तहमध्ये एक कोन्ज्योसोम गाउँपालिका पनि हो। यो गाउँपालिका वडा नम्बर ५ भारदेउको गुप्तेश्वरी सामुदायिक वनस्थित फूलबारी डाडाँमा कोन्ज्योसोम प्रतिमा (बुद्धको तीनमूर्ति) रहेको छ। यो मन्दिर मात्र होइन, राजधानीनजिक रहेको यो गाउँपालिकालाई प्रकृतिले अनुपम उपहार दिएको छ। हराभरा जंगल, थरीथरीका वनस्पति, जीवजन्तु, जडीबुटी अनि सांस्कृतिक र धार्मिक पहिचानले भरिपूर्ण छ यो गाउँपालिका। राजधानी काठमाडौंका आसपासमा रहेको यो प्राकृतिक र संस्कृतिको संगमस्थल रहेको गाउपालिकाले जोकसैलाई पनि मोहनी लगाउँछ।
यो गाउँपालिकामा रहेको नल्लु भन्ज्याङबाट उपत्यकाको दृश्य एकटकले हेर्न सकिन्छ। ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यो मन्दिर दर्शन गर्नेको उत्तिकै भिड रहेको हुन्छ। बिदाको दिन आन्तरिक पर्यटक र अरू दिन स्थायी बासिन्दाको भिड लाग्ने गरेको पाइएको छ।
उपत्यकाभित्रकै जिल्ला भएर पनि ललितपुरमा प्रशस्त ग्रामीण भेग रहेको छ। ललितपुर जिल्लाको दक्षिणी भेग प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ। ललितपुरका छ ओटा स्थानीय तहमध्ये एक महानगरपालिका, दुई नगरपालिका र तीनओटा गाउँपालिका छन्।
कोन्ज्योसोम पुग्न सातदोबाटोबाट बाइस किलोमिटरको यात्रा तय गर्नुपर्ने छ। लगनखेल, चापागाउँबाट सार्वजनिक बस पनि यो रुटमा सञ्चालनमा छ। कार, बाइकजस्ता निजी सवारी साधन हुनेले पैंतालीस–पचास मिनेटको यात्रापछि सजिलै कोन्ज्योसोम पुग्न सक्छन्। फूलबारी डाडाँमा रहेको कोन्ज्योसोम प्रतिमा (बुद्धको मूर्ति) दुई हजार सात सय मिटर अग्लो स्थानमा रहेको छ।
राजधानीनजिकको कोन्ज्योसोम गाउँपालिकाका रूपमा रहेको यो पालिकाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषिजस्ता क्षेत्रको विकासमा राखेका लक्ष्य पूरा गरेको पालिकाका निवर्तमान अध्यक्ष गोपीलाल सिंतानले बताए। सोचेअनुसार पालिकामा विकास निर्माणका गतिविधिहरू सञ्चालन भइरहेको दाबी गर्दै उनी थप्छन्, ‘कोन्ज्योसोम पाँच वर्षअघि कस्तो थियो र अहिले कस्तो भएको छ। त्यो कुरा यहाँका जनताले बुझेका छन्। भित्री मनदेखि विकास गर्छु भन्ने भावना भए काम गर्न सकिने रहेछ।’
गाउँपालिकाका प्रथम निर्वाचित अध्यक्षसमेत रहेका सिंतानद्वारा कोन्ज्योसोम प्रतिमा स्थापना गरेको स्वयम् बताउँछन्। कोन्ज्योसोम प्रतिमाको निमार्णको अवधारणा सिंतान आफैले लिएको बताउँछन्। कोन्ज्योसोम गाउँपालिका ललितपुरको अग्लो स्थानमा पर्ने उनले बताए। ‘स्वयम्भुमा रहेको बुद्धको मूर्ति ४६ फिटको छ भने कोन्ज्योसोममा रहेको तीन बुद्धको मूर्तिमध्ये बीचको मूर्ति ५६ फिटको छ। यसैगरी दायाबाया ५२ फिटको बुद्धको मूर्तिको निर्माण गरिएको छ,’ उनले भने, ‘बुद्ध मूर्तिको निर्माण कार्य दुई महिना पहिले नै सफल भइसकेको छ। उक्त मूर्ति स्थापना गर्नका लागि ६ करोड बजेट विनियोजन भएको थियो। जसमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चार करोड र कोन्ज्योसोम गाउँपालिकाका तर्फबाट दुई करोड हाराहारीमा व्यवस्था भएको हो।’
भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषाअन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमले बोकेको छ। कोन्ज्योसोम प्रतिमाको अर्थ बुद्ध धर्मबाट उल्लेख गरिएको पूर्व अध्यक्ष सिंतान बताउँछन्। उनले भने, ‘कोन्ज्योको अर्थ भगवान् हो भने सोमको अर्थ त्रिवेग हो। त्रिवेग भनेको ब्रह्मा, विष्णु र महेश्वर हो। लामा भाषाबाट कोन्ज्योसोमको अर्थ बुद्धका तीन रत्न हुन्। बुद्धरत्न, धर्मरत्न, संघरत्न हो। बौद्ध सभ्यतामा संघको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ। बुद्धत्व प्राप्तिका लागि धर्म रत्नको अनुशरण र अभ्यास गर्ने अनुयायीहरूको समूहलाई बौद्ध संघ भनिन्छ। सामान्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्र बिन्दुमा स्वीकार गरी शरणगमनशील तथा पञ्चशील पालना गर्ने व्यक्तिको समूह मात्र बौद्ध संघ हुन्छ। बौद्ध सभ्यताको यसै नामबाट कोन्ज्योसोम गाउँपालिकाले पहिचान पाएको छ।
तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो। कोन्ज्योसोमलाई त्रिरत्न भन्न सकिन्छ। ८० प्रतिशत तामाङ बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्मअनुसार पहिचानको नाम राखिएको छ। नेपालभरिकै लुम्बिनीपछिको दोस्रो प्रख्यात शान्ति क्षेत्रमा घोषितको अवधारणाअनुरूप कोन्ज्योसोम प्रतिमा हुने सिंतान बताउँछन्।
‘यो गाउँपालिकामा खेती गर्ने जमिन सीमित छ,’ उनले भने, ‘अधिकांश भिरालो भूभागमा खेतीपाती हुँदैन। तर मोटर बाटो पुगेकाले यो क्षेत्रका डाँडाकाँडाहरूलाई हामीले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेका छौं। पालिकाको भारदेउ क्षेत्रमा होमस्टे, भ्युटावर, मूर्ति निर्माण कार्य सकिएको छ। कृषि क्षेत्रलाई पनि पालिकाले केन्द्रमा राखेको छ। पालिकाभित्र ९५ प्रतिशत पशुको बिमा गरिएको छ। पालिका र किसानको सहकार्यमा ८ सय रोपनी जग्गामा तरकारी खेती गरिएको छ। पालिकाले तरकारी खेतीका लागि किसानलाई बिउ, माटो परीक्षण र मलको सहयोग गरेको छ।’
फूलचोकी नजिकै रहेको फुलबारी डाँडासम्मको पद यात्रा नै रमणीय रहेको छ। सो डाँडामा वर्षेनी भारी हिमपात हुने गर्छ। फूलबारी डाँडाबाट अलि तल गुप्तेश्वर गुफा रहेको छ। गाउँको भाषा, गाउँकै भेष, स्थानीय उत्पादनलाई जोड दिएर पर्यटक तान्न सकिने प्रशस्तै सम्भावना बोकेको कोन्ज्योसोममा आउने पर्यटक हर्षित भएको पाइएको छ।
पर्यटक व्यवस्थापनका धेरै बाटोहरू छन्। सुन्दर दृश्य त छँदै छ। न त धुलो न धुवाँ, निस्सासिँदो काठमाडौंबाट गाउँतिर लाग्दा मनै फुरुङ्ग। हरियो डाँडाकाँडा, पाखापर्वत, नयाँ संरचनाअनुसार चौघरे, संखु, दल्चौकी, नल्लु, भारदेउ गाविस मिलाएर कोन्ज्योसोम गाउँपालिका बनाइएको हो। काठमाडाैंबाट जाँदा नल्लुदेखि कोन्ज्योसोम गाउँपालिका सुरु हुन्छ। यस गाउँपालिकाको कुल जनसंख्या ९,७०९ रहेको छ। जसमा सबैभन्दा बढी तामाङ जाति (७५.७८ %) रहेका छन्। यो गाउँपालिकामा पाँच ओटा वडा रहेका छन्। अहिले गाउँपालिकाको मुख्य उद्देश्य नै कोन्ज्योसोमलाई पर्यटकीय हब बनाउनलाई पूरै पहल भइरहेको पाइएको छ। यहाँ रहेको धार्मिक पर्यटन, कृर्षि पर्यटनसँगै प्राकृतिक पर्यटनलगायत गाईभंैसीको दुध, अर्गानिक तरकारी, फलपूmल आन्तरिक पर्यटनलाई लोभ्याउने माध्यम बनेका छन्।
काठमाडौं उपत्यकाका अग्ला स्थान फूलचोकी, दलचोकी र सन्चोकी रहेका छन्। नयाँ वर्षको दिन र अन्य विशेष तिथिहरूमा यहाँ पर्यटकको बाक्लो नै उपस्थिति रहन्छ। नयाँ वर्षमा पाथीभरा मन्दिर र मनकामना मन्दिरमा विशेष मेला लाग्ने छ। विभिन्न धार्मिक स्थलहरू जुन कोन्ज्योसोम प्रतिमा र प्राचीन कालदेखि नै रहेको गुप्तेश्वर मन्दिर, पाथीभरा मन्दिर, मनकामना मन्दिर, भ्युटावर, संखु कृष्ण प्रणामी मन्दिर, चौघरे गुम्बा र भारदेउको भालेश्वर मन्दिर रहेको छ। यति रमणीय गाउँपालिकाको प्रचारप्रसार कम भएकाले यसको प्रचारप्रसारमा सबैको ध्यान जान जरुरी छ।
तामाङ समुदायको स्वागत र सत्कारले कोन्ज्योसोममा आउने पर्यटकलाई थप मोहित बनाउँछ। करुवाको पानी मयूरको प्वाँखले छम्किएपछि मात्रै खानेकुरा खानुपर्ने संस्कार यहाँ रहेको छ। यसरी यहाँ मानवजीवनका लागि अत्यावश्यक खाना र भगवान्प्रतिको उच्च सम्मान देखिन्छ। मनमोहक डाँडाकाँडामा बसेका तामाङ बस्तीले यहाँ आउने पाहुनालाई मनग्यै सत्कार र परिकार पस्कन्छन्। कोन्ज्योसोम प्रतिमा र तामाङ संग्रहालय पर्यटकका मुख्य आकर्षण त छँदै छन्। हरेक शुक्रबार र शनिबार आन्तरिक र बाह्य पर्यटकहरूले दल्चोकीका होमस्टे भरिभराउ हुन्छन्। यहाँ आउने पर्यटकलाई दुध, कुराउनी, खुवाजस्ता परिकारबाट आकर्षित तुल्याइन्छ। गाउँले रहनसहन अर्काे थप आकर्षण हो। यहाँ आउने पर्यटकले कुनै वडामा पनि घरबास र होटल नभएकै कारण बास बस्न पाइएन भन्नुपर्दैन। तामाङ समुदाय र बौद्ध सभ्यताको घनाबस्ती र सम्पन्न कोन्ज्योसोम प्रतिमा र शान्ति पार्कले पर्यटकीय आकर्षण ल्याएको पूर्वअध्यक्ष सिंतान बताउँछन्। यो कोन्ज्योसोमका बारेमा थाहा पाउने मानिस दोहोर्याएर आउने गरेको पाइएको छ। सानातिना होटल तथा बास बस्ने व्यवस्था पनि यहाँ उपलब्ध छ।
प्रकाशित: २१ माघ २०७९ ०१:४० शनिबार