ट्रिङ... ट्रिङ...! एकनासले फोनको घन्टी बजिरहेको छ। म भर्खर कलेजबाट आएर नास्ता खाइरहेकी थिएँ। आमाले बनाउनुभएको दहीपुरी साह्रै मिठो थियो। स्वाद लिई लिई खाइरहेकी थिएँ। हुन पनि आमाको हात एकदमै मिठो थियो। त्यसैले जहाँ जे खाए पनि मलाई भने घरकै खाना मन पर्थ्यो।
‘होइन आमा, हजुरले यति मिठो खाना पकाउन कहाँबाट सिक्नुभएको? मलाई पनि सिकाइदिस्यो न, प्लिज प्लिज’ भन्दाभन्दै आमालाई अङ्कमाल गर्न पुगेछु।
‘कतै सिकेकी होइन छोरी। सन्तानको मायाले एउटी आमालाई सबै कुरा सिकाउँछ। खालि तिमीहरू खुसी हुनुपर्यो। घरपरिवारको खुसीका लागि आमा जे गर्न पनि तयार हुन्छिन्। वास्तवमा भन्ने हो भने छोराछोरीलाई पनि आफ्ना आमाबाबा अति नै प्यारो लाग्छ। त्यसैले आमाबाबाले गरेका हरेक काम राम्रो लाग्छ। होइन आस्था, आज किन तिमीलाई मेरो वर्णन गर्न मन लागिरहेको छ? कि मबाट केही गराउनुछ? भन त आस्था। कतै तिमीलाई पैसा चाहिएको त होइन? कि बाबालाई केही भनिदिनुपरेको छ?’
होइन-होइन आमा, मैले बच्चैदेखि हजुरलाई नजिकबाट नियालेकी छु नि त। जति म हजुरसँग नजिक छु, त्यति नजिक अरू कसैसँग पनि छैन। यसकारण मलाई हजुरका सबै गुण थाहा छ। म कहिलेकाहीं सोच्छु-म पनि हजुरजस्तै पर्फेक्ट आमा, बुहारी, श्रीमती हुन पाए कस्तो हुन्थ्यो होला?
‘ओहो छोरी! कति राम्रो कुरा गर्न जानेको। ऊ अघिदेखि फोनको घन्टी बजिरहेको छ तिम्रो कोठामा। जाऊ फोन उठाऊ। म पनि बेलुकाको खाना तयारीमा लाग्छु अब।
‘हेलो...।’
‘आस्था, मैले तिमीलाई कति फोन गरिसकें, किन नउठाएको? आज स्वीकृतिको जन्मदिनको पार्टीमा जानु छ। तिमीलाई थाहा छ होइन। तिमी तयार भएर बेकरी क्याफेमा आइराख। म तिमीलाई त्यहींबाट पिक गर्छु अनि सँगै जाऔंला है? अहिले ४ बज्यो। ६ बजेसम्म पुगौंला ल। प्लिज फोनचाहिँ उठाऊ ल,’ संयोगले एकै सासमा सिध्यायो आफ्ना कुरा।
‘ए साँच्ची मैले आमालाई भनेकै छैन यो कुरा। ल ल म आमालाई सोध्छु अनि तयार हुन्छु।’
यति भनेर फोन राखेकी मात्र के थिएँ, आमा टुप्लुक्क झुल्कनुभयो कोठामै। ‘आस्था छोरु, आज डिनरमा के खाने विचार छ?’
‘ए साँच्ची, मैले हजुरलाई भन्नै बिर्सेको। आज मेरी साथी स्वीकृतिको जन्मदिनको पार्टी छ। मलाई पनि बोलाएकी छे। हजुरले पनि चिनिसिन्छ नि? हाम्रो घरमा कतिचोटि आइसकेकी छे। त्यो गोरी, अग्ली अनि चिटिक्क परेकी छे नि। हजुरलाई पनि अति नै मनपर्छ। हो, उसैको जन्मदिन हो। म जान्छु है आमा?’
‘मेरो भन्नु केही छैन। जाऊ तर छिटो आउनू। समय ठिक छैन। तिमीहरू ठुला भइसकेका छोराछोरी हौ। आफ्नो हेरविचार आफै गर्नू अनि जहाँ गएर जे गर्दा पनि आमाबाबाको इज्जत विचार गर्नू।’
आमाले थोरै कुरा गर्नुभयो तर त्यसमा सन्देश भने धेरै ठुलो थियो। जुन उपदेशले हामीलाई अनुशासित बनाउँथ्यो। आज फेरि त्यही कुरा दोहोर्याउनुभयो। जुन हामीलाई नम्रतापूर्वक वर्षौंदेखि भन्दै आइरहनुभएको छ।
आमा आफ्नो काममा लाग्नुभयो। म पनि आफ्नो कोठामा लुगा फेर्न गएँ। ओहो! के लुगा लगाउने हो? एउटा दुइटा भए पो। लगाइसाध्य नै छैन। फेरि पार्टीजस्तो कुरा। सबै एक से एक भएर आउँछन्। रनभुल्ल भएँ। आजकल संयोगको च्वाइस अनुसार लुगा लगाउने बानी परेको छ। त्यसैले सलवार कुर्था अनि कानमा झुम्का लगाएँ। त्यसपछि निधारमा कालो टीका लगाएँ। यो मेरो गेट अप संयोगलाई साह्रै मन पर्छ। अनि आमालाई सूचना दिएँ र निस्कें घरबाट।
घरबाट बेकरी क्याफेको दुरी मात्र १५ मिनेटको हिँडाइमा थियो। ढिलो नहोस् र संयोगलाई धेरै कुर्न नपरोस् भनेर ट्याक्सी लिएँ। बाटोमा अलि जाम थियो। उता किन ढिलो गरेको? कहाँ आइपुग्यौ? भनेर लगातार फोन गरिरहेको थियो संयोगले। सायद ऊ पुगिसकेको थियो। कसैको सवारीका कारण बानेश्वर क्षेत्रमा सवारी अस्तव्यस्त बनेको रहेछ। एयरपोर्ट र कोटेश्वरसम्मै जाम। हुन त आफूलाई ढिला हुने ठानेर संयोगलाई जाँदै गर नभनेकी पनि होइन तर ऊ मलाई छाडेर एक्लै जान मानिरहेको थिएन। लाग्थ्यो, बरु ऊ मलाई घण्टौं कुर्न तयार थियो तर एक्लै जान तयार थिएन।
संयोग अर्थात् मेरो साथी। हामी सँगै मास्टर्स गरिरहेका थियौं। दुवैजना काठमाडौंबासी। त्यसैले होला, हाम्रो उठबस, सोचाइ प्रायः मिल्थ्यो। ऊ संयोग श्रेष्ठ अनि म आस्था अधिकारी (शर्मा)। थर जे भए पनि हाम्रो मित्रता भने केही महिनाअघिदेखि गहिरिँदै गइरहेको थियो। हामी कलेजको कार्यक्रम होस् या साथीको निम्ता, प्रायः सँगै जान्थ्यौं। एक अर्काको अनुपस्थितिमा कलेजका नोट पनि बनाइदिन्थ्यौं। साटासाट त हुने नै भयो।
त्यति मात्र होइन, हामी फुर्सदमा नाम चलेका लेखकका किताब पनि पढ्थ्यौं। क्यान्टिन वा कलेजमा बसेर लेखकका बारेमा विश्लेषण गरी घन्टौं समय बिताउथ्यौं। किताबका विषयवस्तुबारे पनि छलफल हुन्थ्यो कहिलेकाहीं। यस्ता क्रियाकलापले हामीलाई पढन्तेका रूपमा चिनाउन मद्दत गरेका थिए।
कहिलेकाहीं भने देशको राजनीतिक अवस्थाबारे पनि कुरा गथ्र्याैं। अरू सबै विषयमा मिले पनि राजनीतिको कुरा आउँदा भने संयोग र म विभाजित हुन्थ्यौं। ऊ विद्यार्थी जीवनमा राजनीति गर्नुहुन्न र त्यता खासै ध्यान पनि दिनु हुन्न भन्ने विचार राख्थ्यो। मचाहिँ ठिक उल्टो विचारको थिएँ। देशको राजनीतिमा हामी सबै संलग्न हुनुपर्छ किनकि देश बिग्रनु र सप्रनुमा हामी सबैको हात हुन्छ। त्यसैले हामी सबै मिलेर आआफ्नो ठाउँबाट देश बनाउनुपर्छ भन्थें। देश बनाउने स्थानमा नराम्रा नेता छन् भने हामीले उनीहरूलाई सचेत बनाउनुपर्छ, नभए उनीहरूलाई हटाउनेसम्म काम गर्नुपर्छ भन्ने धारणा हुन्थ्यो मेरो।
मेरो कुरा सुनेपछि संयोगको छोटो प्रतिक्रिया हुने गर्थ्यो-ल ल मन्त्रीज्यू, धेरै भाषण नदिनूस्, मैले बुझें।
ट्याक्सी रोकियो। म ओर्लें। संयोग पनि उसको गाडीबाट ओल्र्यो। अनि आफ्नो गाडीको ढोका खोल्यो। म उसको गाडीमा ड्राइभिङ सिटको छेउको सिटमा बसें। साँझको समय। अलि अलि पानी परिरहेको थियो। रेडियोमा १९६० तिरको फरेवर सङ्गीत बजिरहेको थियो। आज पहिला पहिलाभन्दा वातावरण अलि भिन्न थियो। मलाई पनि अर्कै किसिमको रमाइलो लागेको थियो।
हुन पनि म एउटी युवावस्थाकी केटी न परें। संयोगलाई यसो हेरें। लिनेनको सेतो सर्ट, फेडेड जिन्समा सजिएको ऊ पनि कम्ती ह्यान्डसम देखिएको थिएन। किन किन आजको यो समय मलाई निकै रोमाञ्चित तुल्याउन सफल बनिरहेको थियो। सिमसिमे पानी, मिठो गीतको धून, गोधूली साँझ। ठम्याउन सकिरहेकी थिइनँ कि यो समयलाई रोमाञ्चक बनाउन कसको बढी भूमिका थियो?
यसो संयोगतर्फ नजर घुमाएँ। ऊ एकदमै गम्भीर देखिन्थ्यो। मेरो दिमागमा भने खुरापाती सोच आयो। अनि भनिहालें, ‘होइन संयोग, केकालागि हो यस्तो गम्भीर सोच? हामी त खुसी भएर गफिँदै हिँड्नुपर्ने होइन? कतै तिमी प्रियसीको यादमा त छैनौ? अँ साँच्ची संयोग, तिम्रो कोही प्रिय केटी साथी छ कि छैन हँ? तिमी कति ह्यान्सम अनि हिरो छौ। पक्कै तिम्रो कोही केटी साथी हुनुपर्छ। छैन भने म तिमीलाई राम्रो साथी खोजिदिन्छु है। तिमीजस्तो हिरो अनि गम्भीर प्रवृत्तिको मान्छे जीवनसाथी पाउने त भाग्यमानी हुन्छन्। साँच्चै कसम संयोग, तिमी त साह्रै हिरो नै छौ।’
‘ओहो आस्था, के हो यस्तो? कहिल्यै केटालाई वास्तै नगर्ने मेरो साथीले आज किन यसरी मेरो तारिफ गरेको? तिम्रो वर्णनले मलाई आनी छोइङको गीत पो याद गरायो त-फूलको आँखामा फूलै संसार...। जो केटी कलेजका धेरैको मनमा राज जमाउन सफल छे, जसको रूप र विद्वताको सबैले प्रशंसा गर्छन्, जसको बैगुन घण्टौं खोज्दा पनि पाइँदैन, उसैले आज मेरो वर्णन गरिरहेकी छ। मभन्दा भाग्यमानी को होला यो संसारमा ? थ्याङ्क यु सो मच आस्था, थ्याङ्क यु...।’
हामी दुवैजना एकछिन चुपचाप भयौं। हामी चुप लागेको मौका छोपेर गीतले भने प्रभाव जमाउन खोजिरहेको थियो:
आई जस्ट कल टु से आइ लभ यु...।
अन्नपूर्णमा गाडी पार्क गरेर हिमालयन जाभा गयौं। कफी पिउने अनि सबै साथी त्यहीं जम्मा भएर स्वीकृतिको जन्मदिन कार्यक्रममा जाने योजना थियो। निर्धारित योजनाअनुसार हामी हिमालयन जाभा पुग्यौं। सबै साथी आइसकेका थिएनन्। ८ जनाका लागि टेबल बुक ग¥र्याैं।
हामी बसेको टेबुलबाट छर्लङ्गै देखिन्थ्यो नारायणहिटी। त्यत्रो ठुलो दरबार तर जति ठुलो भए पनि के गर्नु? त्यहाँ बस्ने मानिस कोही पनि थिएनन्। लाग्यो-एउटा ठुलो चट्टान आकृति हो किनकि जीवन्तता यसमा छँदै छैन। म सानै थिएँ। रातभरि फोनको घण्टी बजिरहेको थियो। दरबारमा गोली चल्यो रे, को बाँच्यो को मर्यो केही थाहा छैन, हेलिकोप्टर उडेको उड्यै। आमाबाबा सबैलाई चिन्ताले सताएको देखेकी थिएँ। ‘कोही मर्नु राम्रो होइन। गोली चल्नु पनि कुनै हालतमा राम्रो हुँदै होइन,’ आमाबाबाले त्यतिबेला भनेको झल्झल्ती याद आयो। त्यसैले दरबार हत्या काण्डको एक मात्र साक्षी नारायणहिटी पेटभरि हेरें, टाढैबाट भए पनि।
‘आस्था कुन सोचमा हो दरबार हेरेर? रानी हुने कल्पनामा रम्दै छ्यौ कि क्या हो? त्यो कल्पनाचाहिँ नगर है,’ संयोगको कुरा सुनेर सबै साथी हाँस्न लागे। म पनि मुसुक्क हाँसिदिएँ अरूको हाँसोमा मिलाउनकै लागि।
कफी पिउने कार्यक्रम सकियो। सबैजना स्वीकृतिको घर गयौं। जन्मदिन स्वीकृतिको थियो तर सबैले रूप र बेहोराको तारिफ भने मेरो पो गरिरहेका थिए। कसैलाई हर्षका साथ अनि कसैलाई लाजका साथ रातोपिरो हुँदै धन्यवाद भनिरहेकी थिएँ। अनि कसैसामुचाहिँ राम्रो मान्छेले सबैलाई आफूजस्तै राम्रो देख्छ भनेर प्रतिक्रिया दिन्थें। थाहा भएन, किन स्वीकृतिलाई छाडेर मप्रति मानिसको आकर्षण बढिरहेको छ भन्ने। केक काटियो। ह्याप्पी बर्थ डे...को धुनसँग तालीका पर्रा छुटाइयो सामूहिक रूपमा। त्यसपछि रमाइलो गर्दै खानपिन गरियो। पार्टी न पर्यो, केहीबेर नाचगान पनि चल्यो। यसरी कार्यक्रम लगभग सिद्धियो। फेरि एकपटक स्वीकृतिलाई जन्मदिनको शुभकामना दियौं अँगालोमा बेर्दै।
सधैं जस्तै संयोगको गाडीमा हामी दुवै घर फर्कियौं। बाटोमा गाडी कुदिरहेको थियो। गाडीमा संयोग र म मात्र थिएनौं। हामीभन्दा पनि घनिभूत प्रभाव गीतले जमाइरहेको थियो। अर्थात् हामी दुवैको ध्यान उसैले खिचिरहेको थियो।
‘के हो आस्था किन चुपचाप? आज त म्याडमको सबै फ्यान देखें। त्यसैले योसँग किन बोल्नुजस्तो लाग्यो कि के हो?’ केहीछिनको मौनतालाई क्रमभङ्ग गर्दै संयोग बोल्यो।
‘होइन संयोग। त्यस्तो नभन। मैले थोरै स्याम्पियन पिएकी थिएँ। मात्र आधा ग्लास। पहिलोचोटि भएकाले होला, अलि झुम्म बनायो। तिमी त मेरो प्यारो साथी हौ। तिमीसँग मैले धेरै कुरा सिकेकी पनि छु। अनि मित्रतामा जुन सम्मान जुन विश्वास हुन्छ, त्यो सबै तिमीबाटै पाएकी छु। साँच्चै भन्ने नै हो भने साथीको मूल्य नै तिमीबाट सिकेकी हुँ। संसारको जुनसुकै कुनामा पुगे पनि तिमीसँगको मित्रता सधैंभरि सम्झने छु। त्यसैले हामी दुवैको मित्रताबारे खुसीसँग वर्णन गर्छु सबैसामु।’
कुरा टुङ्गिन पाएकै छैन, घर आइपुगिसकेछ। भोलिपल्ट शनिबार थियो। त्यसैले आइतबार दुवैजना कलेजमा भेट्ने वाचा गरेर छुट्टियौं। रातको १० बजिसकेको थियो। दाइ आफ्नै कम्प्युटरमा काम गरिरहनुभएको थियो। म जानेबित्तिकै ढोका खोल्नुभयो। अनि स्वीकृतिको जन्मदिनको कार्यक्रम कस्तो भयो त भनेर सोध्नुभयो।
‘पहिलो कुरा त स्वीकृति आफ्नो अत्यन्तै मिल्ने प्यारी साथी। त्यसमाथि जन्मदिनमा निकै राम्रो पहिरनका साथ सजिएकीले परीजस्तै देखिएकी थिई। उसै त राम्री। त्यसमाथि झन् आज त अप्सराजस्तै देखिएपछि कसको पो ध्यान नजाला र ? म त भाउजू त्यस्तै राम्री अनि पढेकी ल्याउँछु है दादा। कि स्वीकृतिलाई नै बनाम भाउजू ? राम्री छे। पढेलेखेकी छे। घरपरिवार सबै संस्कारी छन्। केही चिन्ता छैन।’
‘लल गुडनाइट,’ वर्णन र प्रस्ताव लामो भए पनि प्रतिक्रिया भने छोटो आयो दादाबाट।
आज शनिबार। गुड स्याटर्डे। हामी दाजुबहिनी अलि व्यस्त हुन्थ्यौं त्यो दिन। घरको काममा आमाबाबालाई सघाउने अनि हप्ताभर गर्न नभ्याएका काम पूरा गर्न आमाबाबासँगै लागिपर्थ्यौं । यसो गर्दा एकातिर शनिबार सजिलै बित्थ्यो अर्कातिर घरपरिवार अनि जीवन कसरी अगाडि बढाउनुपर्छ भन्ने दिव्य ज्ञान प्राप्त हुन्थ्यो। जुन कुरा आमाबाबाले हामीलाई जान्ने भएदेखि नै पढाउँदै मात्र होइन, अभ्यास समेत गराउँदै आउनुभयो।
हामी हाँसखेल गर्दै एकअर्कालाई ससाना व्यङ्ग्य हान्दै, जिस्कँदै काम गरिरहेका थियौं। दाजुबहिनी र आमाबाबा चारैजना सँगैजसो जसले जे देख्छ, जसले जे सक्छ, त्यही काम गरिरहेका थियौं। बीचबीचमा घरव्यवहारका कुरा पनि भइरहेका हुन्थे। यत्तिकैमा आमाको मुखबाट निस्क्यो-ल है अब त दादाको पनि बिहे गर्नुपर्छ। सबैजना मिलेर राम्री केटी खोज्नुपर्छ।
सबैजना चुपचाप तर एकले अर्काको मुखमा हेर्ने वातावरण बन्यो। मैले त्यति नै बेला आमातिर फर्केर भनें-स्वीकृति कस्तो लाग्छ आमा?
मेरो प्रस्ताव मन परेछ क्यार, आमाबाबा दुवै खुसी हुनुभयो। अर्थात् स्वीकृतिलाई भाउजू बनाउने मेरो प्रयासप्रति उहाँहरूको स्वीकृति थियो। उक्त स्वीकृति केही समयमै वास्तविकतामा परिणत पनि भयो।
समय बित्दै गइरहेको थियो। हामी नन्दभाउजू कलेज पढ्न सँगै जान्थ्यौं। समय खुसीसाथ बितिरहेको थियो। यत्तिकैमा धेरै ठाउँबाट मेरो विवाहका लागि पनि प्रस्ताव आइरहेका थिए। म मास्टर्स नसकी विवाह गर्दिनँ भनेर अडिग बसेकी थिएँ। त्यसैले पूर्ण मेहनतका साथ पढाइमा दत्तचित्त भएर लागेकी थिएँ।
आज संयोगको जन्मदिन। साँझ पार्टी थियो यही अवसरमा। सबै हौसिएका थिए आज बेलुका रमाइलो गर्नुपर्छ भनेर। केही साथीचाहिँ खासखुस गर्दैगरेका देखिन्थे। आफ्नै केही कुरा होला उनीहरूका भन्ने लाग्यो। त्यसैले खासै ध्यान दिइनँ। बेलुका जन्मदिनको कार्यक्रममा गयौं। मुख्य गेटबाटै भव्य तयारी भएको देखिन्थ्यो। पार्टी हल त झन् भव्य नै थियो। हरेक कुना गुलाफ अनि मैनबत्तीले सजाइएको थियो। त्यसमाथि राता, पहेंला, हरिया, सेता कपडा पहिरेका परीहरू थपिएपछि त कार्यक्रमस्थल झकिझकाउ नहुने कुरै भएन।
मलाई देखेर संयोग खुसी भयो। हामी दुवै नन्दभाउजू त्यो पार्टीमा पनि सँगै गएका थियौं, जसरी अन्य सबै ठाउँमा सँगै हुन्थ्यौं। पार्टीस्थलको वातावरण एकदमै रमाइलो थियो। जन्मदिन र प्रेमका कहानी वर्णन गर्ने गीतहरू लाउडस्पिकरबाट बजिरहेका थिए। सबैजना घडी हेर्दै खासखुस गरेको देखें। लाग्दै थियो-संसारका सबै एकैठाउँमा तर म भने एक्लै।
संयोगले केक काट्यो। हामी सबैले जन्मदिनको शुभकामना दियौं। एक्कासी बत्ती निभ्यो। बत्ती बल्दा घुँडा मारेर औंठी लिएर मेरो अगाडि संयोग थियो।
‘के मेरो विवाह प्रस्ताव स्विकाछ्यौ आस्था? के मेरो जीवनको महत्त्वपूर्ण आशा पूरा गरिदिन्छौ आस्था?’
एक्कासि यस्तो प्रस्ताव आउँदा म अलमल्ल परें। आँखाबाट आँसु बगेको बगै भए अनायासै। साथीहरू सबै आस्था आस्था! भन्न थाले एकोहोरो स्वरमा। सबैको मनमा मेरो जवाफ सकारात्मक होस् भन्ने थियो तर मैले भने कहिल्यै पनि संयोगलाई जीवनसाथीका रूपमा सोचेकी थिइनँ। साथी र जीवनसाथीमा फरक हुन्छजस्तो लाग्थ्यो। सायद उसलाई जीवनसाथीका रूपमा नलिएकाले पनि हुन सक्छ। त्यसैले रनभुल्ल भएँ। के गर्ने के नगर्ने भयो। पसिना चिट्चिट्याउन थाल्यो।
संयोग मेरो अति नै प्रिय साथी हो। कुनै पनि गुणमा कमी नभएको ऊजस्तो केटा यस धर्तीमा सायदै पाउन सकिन्थ्यो। त्यस्तो व्यक्तिलाई कुनै केटीमान्छेले जीवनसाथीका रूपमा पाउनु भाग्यकै कुरा हो। यस्तो व्यक्तिबाट मेरै जीवनसाथी बन्न प्रस्ताव आउनु त झनै उपलब्धीमूलक हुन्थ्यो। तर मेरा लागि भने...। मेरो आँखाबाट बगेका आँसुले मेरो मनमा लागेका सबै कुरा बोलिरहेका थिए। मैले मेरो साथीको मन नदुखाई केही कुरा भन्नैपर्ने अवस्था आयो।
म निहुरिएँ। संयोगलाई दुवै हातले समाएर उठाएँ। अनि भनें-मेरा सबै प्यारा साथीहरू अनि मेरो प्यारो साथी संयोग, सबैभन्दा पहिले तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना। तिम्रो जीवन सधैं उज्ज्वल साथै सुबासिलो बनोस्। आज तिमीले मलाई धेरै ठुलो स्थान दियौ। त्यसका लागि म आफूलाई भाग्यमानी सम्झन्छु। मेरो परिवारमा मेरा आमाबाबा र दाइ हुनुहुन्छ अभिभावकका रूपमा। त्यसैले विवाहबारे म एकपटक उहाँहरूको अनुमति लिन चाहन्छु। तिमी मेरो साथी हौ। साथीका रूपमा सबैभन्दा नजिक छौ। प्लिज मेरो बाबासँग कुरा गर। एकचोटि फेरि तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ।
त्यत्तिकैमा स्वीकृति आइपुगी। बाहिर दादा होइसिन्छ जाऊँ भनी। हामी बाहिर निस्केर गाडीमा बस्यौं। म चुपचाप छु। भोलिपल्ट दादाले सबै कुरा बाबाआमालाई सुनाउँदै हुनुहुन्थ्यो। स्वीकृतिको मोबाइलमा बारम्बार संयोगको फोन बजिरहेको थियो। उसले फोन आफू उठाइन। लगेर दादालाई दिई। अनि बाबाले संयोगलाई घरमा लन्च खान बोलाऊ भन्नुभयो।
ठुलो बुकी लिएर घरमा आयो संयोग। सबैजना हाँसीखुसी अरू थुप्रै कुरा गर्यौं। कुराकानीकै क्रममा संयोगले सुरु गर्यो-म हजुरकी छोरी आस्थासँग विवाह गर्न चाहन्छु। उसलाई जीवनसाथीका रूपमा हेर्न चाहन्छु। त्यसका लागि हजुरको स्वीकृति चाहन्छु।
‘मेरो परिवारलाई तिम्रो प्रस्ताव ओके छ संयोग बाबु। यो धेरै राम्रो कुरा हो तर विवाह भनेको दुई परिवारको मिलन हो। दुई रीतिरिवाजको संयोजन हो। विवाहपछि बिहानै उठेदेखि नसुतेसम्म धेरै कुरा व्यवस्थापन गर्नुपर्ने हुन्छ। फेरि हामी दुई परिवार भिन्नाभिन्नै कल्चरबाट आएका हौं। सकेसम्म एउटै जात, एउटै संस्कार भयो भने दाम्पत्य जीवन खुसी हुन्छ। हेर बाबु, साथी हामीले जुन कुनाको अनि जस्तो प्रकृतिको बनाए पनि हुन्छ तर जीवनसाथी बनाउँदा अलि गम्भीर भएर सोच्नुपर्ने हुन्छ। मैले तिम्रो प्रस्ताव नकारेको होइन। खालि हतारमा डिसिजन गरिनहालौं भन्न खोजेको मात्र हुँ।’
‘होइन अङ्कल, मैले यो विषयमा पहिलेदेखि नै सोचेको हुँ। म हजुरकी छोरीलाई रानी बनाएर राख्ने छु। उसको चाहनामा कहिल्यै ठेस लाग्न दिन्नँ। हरेक क्षण उसलाई अथाह माया दिन्छु,’ संयोगले बाबालाई आश्वस्त तुल्याउन भरमार प्रयास जारी राख्यो।
‘होइन बाबु, तिमीहरू यहीं बस्ने हो। यहींको संस्कार अपनाउनुपर्ने हुन्छ। विदेशमा बस्ने भए त केही थिएन। यहाँ हामी बुढाबुढीसँगै बाँच्नुपर्ने हुन्छ। त्यसैले तिमी हतार नगर। समय लेऊ। धेरै एङ्गलबाट सोच। जीवन धेरै गाह्रो छ बाँच्नका लागि। यो पुतली खेल होइन। जीवन जिउनका लागि व्यावहारिक हुनुपर्छ। योभन्दा बढी म केही भन्न चाहन्नँ।’
संयोग हातमा चिउँडो अड्याएर गम्भीर बन्दै बाबाको कुरा सुनिरह्यो।
प्रकाशित: २१ माघ २०७९ ००:१६ शनिबार