२७ पुस २०८१ शनिबार
image/svg+xml
कला

पर्दामा दयाहाङ र केकीको 'घामपानी'

काठमाडौं- फिल्म समीक्षक दीपेन्द्र लामाले फिल्म निर्देशन गर्ने भएका छन्। लामो समयदेखि फिल्ममाथि कलम चलाउँदै आएका नागरिककर्मी लामाले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म 'घामपानी'को बुधबार काठमाडौंको मण्डला थियटरमा औपचारिक घोषणा गरियो।

घोषणा कार्यक्रममा बोल्दै लामाले पत्रकारिता र फिल्म उस्तै माध्यम भएको बताउँदै पत्रकारिताझैं फिल्म निर्देशनमा इमान्दार रहने प्रतिवद्धता जनाए। 'पत्रकारिता र फिल्म दुवै मास मिडिया हुन्। दुवैमा कथा भन्ने हो। दुवैको उद्देश्य जनतालाई सचेत बनाउने हो,' उनले थपे।

लामाले २०६३ सालदेखि नै फिल्म निर्देशन गर्ने सोच बनाएका थिए। तर त्यतिबेला आफू परिपक्व र तयार नभएको महसुस गरेपछि केही वर्षका लागि निर्देशन गर्ने सोच थाँती राखेको उनले बताए। 'अब चाहिँ आँट पनि पलाएको छ र संयोग पनि जुरेको छ, त्यहीभएर निर्देशनमा ओर्लिएको हुँ,' उनले थपे, 'समीक्षाका क्रममा अरुका फिल्ममा देखाएका गल्ती सकभर नदोहोर्‍याउने प्रयत्न गर्नेछु।'

फिल्ममा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, बुद्धि तामाङ, अरुणा कार्की, केशव राई, मणिराम पोखरेल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, सम्रान्त थापा, प्रेमवर्षा खड्कालगायतले अभिनय गर्नेछन्। यसअघि केही फिल्ममा सँगै काम गरेका भए पनि दया र केकीले पहिलोपल्ट जोडीको रुपमा अभिनय गर्न लागेका हुन्।

केकीले फिल्मप्रति आफू एकदमै विश्वस्त र उत्साहित रहेको बताइन्। उनले दया आफ्नो मनपर्ने अभिनेता भएको बताउँदै पहिलोपल्ट जोडीका रुपमा अभिनय गर्न पाउँदा खुशी लागेका बताइन्।

दयाले पनि पत्रकारका रुपमा दीपेन्द्र लामाले संगालेको अनुभवका कारण पनि फिल्म राम्रै बन्ने विश्वास व्यक्त गरे। उनले भने, 'नामैले पनि फिल्म हामी सबैले अनभूत गरिरहेको कथामा बनेको अनुमान गर्न सकिन्छ। सबैले जाने बुझेको सिप प्रयोग गरेर दर्शकलाई राम्रो फिल्म दिने प्रयास गर्नेछौं।'

फिल्मले अन्तरजातीय प्रेमलाई आफ्नो विषय बनाएको छ। एउटै गाउँका दुई फरक जातका युवायुवतीबीच प्रेम हुँदा पैदा हुने उतारचढाव फिल्मको मुख्य कथा हो। फिल्मको पटकथा दीपेन्द्र लामा स्वयंले लेखेका हुन्।

फिल्मलाई ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचन मिलेर निर्माण गर्न लागेका हुन्। फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिच्नेछन् भने फिल्ममा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत तथा फूलकुमार बम्जनको गीत रहनेछ। निमेष श्रेष्ठको सम्पादन रहने फिल्मको छायांकन असोजको पहिलो हप्तामा सुरु हुनेछ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र सशिला मोटर्स्का सन्तोष खतिवडाले फिल्मको सफलताको कामना गरे। फिल्मलाई गोविन्द शाहीले वितरण गर्नेछन्।

प्रकाशित: १६ भाद्र २०७३ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App