७ वैशाख २०८१ शुक्रबार
कला

डिजे बन्द गराउन ज्ञापनपत्र

डिजे बाजामा बजाइने अश्लील गीत तथा त्यससित हुने अश्लील नृत्यले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गराउन जिल्ला प्रशासन कार्यालयमा आइतबार ज्ञापनपत्र बुझाइएको छ। जिल्लाका केही सचेत युवाले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार झालाई ज्ञापनपत्र बुझाएका हुन्।

सरस्वती पूजाका अवसरमा प्रतिमा सेलाउने तथा विभिन्न ठाउँमा मेला लगाउने बहानामा धेरै ठाउँमा अश्लील गीत बजाइएको र नवयुवाले अश्लील गीतसँगै अश्लील नृत्य गरेको पाइएको थियो। अश्लील नृत्य र अश्लील गीतले महिलालाई बाटोमा हिँड्न पनि असुरक्षित बनाएको भन्दै सोही बेहोराको ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय रौतहटलाई पनि बुझाइएको छ।

बिहे, छठियार तथा जन्म दिन मनाउन पनि डिजे बाजाको प्रयोग र सँगसँगै अश्लीलता पनि बढेको भन्दै जिल्लामा डिजे बाजाप्रति व्यापक जनगुनासो रहेको छ। अत्यधिक चर्को स्वरमा विद्यालयको वरपर डिजे बजाउँदा पढाइको वातावरण पनि बिग्रने गरेको छ भने चर्को आवाजले मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पर्ने बताइन्छ।

केही मानिसले आफ्नो स्वार्थका कारण डिजे बाजालाई बढावा दिएको तर समग्र समाजलाई नोक्सानी भइरहेको ज्ञापनपत्र बुझाउने युवाहरूको भनाइ छ। डिजे बाजाको अश्लील गीत र नृत्यले महिलालाई अप्ठ्यारोमा पारेको महिला पत्रकार वीणा श्रीवास्तवको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार झाले डिजे बाजासँगै अश्लील नृत्य भएको आफूले पनि देखेको र समाजबाट रोक्नका लागि ज्ञापनपत्र समेत आएकाले डिजे बाजा नियन्त्रणका लागि आफूले प्रयास गर्ने बताएका छन्। सर्वोच्च अदालतले डिजेमाथि प्रतिबन्ध लगाएको भए पनि रौतहटमा निर्बाध रूपमा बजिरहेको पाइएको छ।  

प्रकाशित: १६ माघ २०७९ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App