‘आहा! कति लजालु ! हेर्यो। हामीलाई देख्ने बित्तिकै लाज मान्यो र गन्तव्य लाग्यो। कति राम्रो। हेर्दै माया लाग्दो देखियो।’ बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने अधिकांश पर्यटक बाघ देखेपछि आफूलाई भाग्यमानी ठान्दै यसरी भावना प्रकट गर्छन्।
बाघ हेर्दा न राम्रो देखिन्छ। पाटे बाघको एक नजरले भित्रैदेखि डर उत्पन्न गराउँछ। त्यही पनि बर्दिया पुग्ने आँखाले बाघ नै खोज्छन्। गाडी यात्रामा निकुञ्जको मुख्यालय ठाकुरद्वारा पुग्दासम्म करिब २२ किलोमिटर निकुञ्जको रम्भापुर र सैनवारको ब्यारेल छिचोल्दादेखि नै बाघ वर्णन गर्ने ती आँखाले बाघ देख्दा खुसी नसाट्ने कुरै भएन। सायद दुर्लभ वन्य जन्तु भएर होला। बाघ देख्दा सबै खुसी हुन्छन्। यात्रा सफल भएको ठान्छन्।
बर्दिया निकुञ्जमा वयस्क बाघको संख्या १ सय २५ पुगेको छ। निकुञ्जभित्र जंगलको राजा बाघ निस्फिक्री घुम्छ। आफ्नो क्षेत्राधिकारभित्र पर्ने २५ वर्ग किलोमिटर दैनिक घुमिरहेको हुन्छ। जंगली जनावर हो, कहाँ एक ठाउँमा बस्न सक्छ र। जंगलको राजा पाटे बाघ देखाउन निकुञ्ज घुम्न आएका पर्यटकलाई पर्यटन व्यवसायीले सम्भाव्य ठाउँमा घुमाउँछन्। त्यही क्रममा बाघसँग पर्यटकको जम्का भेट हुने गरेको छ। निकुञ्जभित्रका कर्णाली गेरुवा भंगालको नदी तटीय क्षेत्र र तीन कुने बाघ भेटिने ठाउँमध्येमा पर्छन्।
निकुञ्जमा १ सय २५ वयस्क बाघ। भर्खरै गरिएको गणनामा नेपाल र भारतको सीमावर्ती करिडोर र सामुदायिक वनमा राखिएको क्यामरामा बाघ कैद भएका थिए। गणनामा वयस्क बाघको मात्र गणना हुन्छ। निकुञ्जका कर्मचारीका अनुसार त्यहाँ साना ठुला गरी १ सय ५० को हाराहारीमा बाघ छन्। बाघको उल्लेख्य संख्या बढेपछि निकुञ्ज घुम्दा सावधानी अपनाउन सुझाव दिन्छन् कर्मचारी। पछिल्लो समय निकुञ्ज घुम्दा अधिकांश पर्यटकले बाघ देखेर खुसी साट्ने गरेका छन्।
निकुञ्ज घुम्न आएका पर्यटकले बाघ त देख्छन्। कहिलेकाहिँ अलि दुःख गर्नुपर्छ भन्ने मात्र हो। तर निकुञ्जभित्र मनसुनमा पालुवाको हरियो वातावरणमा घुलमिल गरेका रतुवा, मृग, निल गाई, बँदेल र चराचुरुङ्गी देख्दा जो कोहीको मन फुरुङ्ग हुन्छ। हरियो घाँसमा चरिरहेका अबोध वन्यजन्तु देख्दा मन आनन्दित बन्छ। निकुञ्जमा हात्ती सफारी बन्द छ। निकुुञ्जभित्र जंगल सफारीका जिप र जंगल वाक गर्न सकिन्छ। जंगल प्रवेश गर्दा नेचर गाइडबिना प्रवेश गर्न पाइँदैन। निकुञ्ज घुमाउनका लागि सय जना नेचर गाइड छन्। महिला नेचर गाइडको संख्या भने कम छ। व्यावसायिक रूपमा पाँच जना महिलाले निकुञ्ज घुमाउने गरेका छन्।
निकुञ्जमा ३८ वटा गंैडा छन्। भारतमा समेत आवागमन गर्ने गैंडाको अनुगमनका लागि चार वटा रेडियो कलर जोडिएको छ। कर्णाली नदी तटीय क्षेत्रमा चरिचरण गर्ने गैंडाका फोटा सजिलै क्यामरामा कैद गर्न सकिन्छ। गर्मीमा पानी खान आउँदा भेटिने बाघ र गैंडाको टाढाबाट फोटो खिचेर पर्यटकले खुसी साट्ने गरेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तुको सुरक्षाको जिम्मा स्थानीयलाई दिइएको छ। एक दशकअघिदेखि मध्यवर्ती क्षेत्रका स्थानीय २ हजार बढी युवा स्वयम्सेवकका रूपमा काम गरिरहेका छन्। नेपाली सेनाले गर्दै आएको काममा थप सहयोग पुर्याउन चोरी सिकार नियन्त्रणका लागि युवा खटिएको निकुञ्ज प्रशासन बताउँछ। स्वयम्सेवक युवा वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्नेमा सचेत भएपछि वन्यजन्तु ह्वात्तै बढेको विश्वास छ। वन्यजन्तु संरक्षणका लागि युवालाई सक्रिय भूमिकामा अघि सार्ने कामको श्रेय पूर्व वार्डेन रमेश थापालाई जान्छ।
युवाले निकुञ्ज वरिपरि साइकल वा पैदल गस्ती गरी सूचना सङ्कलन गर्छन्। योजनाबद्ध रूपमा निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुको सिकार हुन थालेपछि स्थानीय युवा परिचालन गर्दा संरक्षणमा योगदान पुगेको छ। गिरोहले निकुञ्जवरिपरिका गाउँमा पैसाको प्रलोभनमा पारेर स्थानीयलाई चोरी–सिकारीमा संलग्न गराई गैंडा मार्ने, बाघलाई पासो थाप्ने, चित्तल मार्ने तथा निकुञ्ज पस्ने गरेकाले संरक्षणमा स्थानीय सहभागिता जरुरी भएको औल्याइएको छ।
वन्यजन्तु संरक्षणको नेतृत्व सम्हालेका अर्का युवा हुन् सुशील चौधरी। चोरी–सिकारी नियन्त्रणमा युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य हुन्। आचार्यका बुबाको हात्ती आक्रमणबाट ज्यान गए पनि युवा परिचालन गरेर संरक्षणमा योगदान पुर्याइरहेका छन्।
चरा अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ बर्दिया। यहाँ ४ सय ६७ प्रजातिका चरा पाइन्छन्। सेतो गरुड, कालो गरुड, धनेशलगायतका चरा निकुञ्जमा पाइन्छन्। वन्यजन्तु हेर्न आएका पर्यटक दुई दिनमा फर्कन्छन् तर चराप्रेमी भने एक सातासम्म बस्ने गरेका छन्।
वर्षमा २५ हजारले निकुञ्ज भ्रमण गर्ने गरेका छन्। यस आर्थिक वर्षमा ८ हजार निकुञ्जले भ्रमण गरेका छन्। त्यसमध्ये २५ सय बाह्य पर्यटकले निकुञ्ज घुमेका छन्। दुई वर्ष कोरोनाले पर्यटन व्यवसाय थलिएको थियो। कोरोनापछि पर्यटन लयमा फर्किएको प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए। उनका अनुसार ठाकुरद्वारामा पर्यटन लक्षित होटलमा एनजिओ, आइएनजिओको सेमिनार, गोष्ठी र स्थानीय सरकारले गर्ने कार्यक्रम गर्ने गरेका छन्। ‘निकुञ्ज बाघको हबजस्तै बनेको छ,’ अध्यक्ष आचार्यले भने, ‘यहाँ आउने पर्यटकले बाघ देख्छन्।’ निकुञ्जको हातामा गैंडा राखिएको छ। गोही प्रजनन केन्द्र पर्यटकको अर्को आकर्षण स्थल हो। निकुञ्जको हातामा रहेको थारु सङ्ग्राहलय पनि आर्कषणको केन्द्र बनेको छ।
जैविक विविधिताले सम्पन्न निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ। मध्यवर्ती क्षेत्र ५ सय ७ वर्ग किलोमिटरमा फैलिएको छ। २०२६ सालमा सिकार आरक्षण घोषणा गरेर बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण सुरु गरिएको थियो।
हवाई यातायात
प्लेनको इकोनोमिक फेयर ओहोरदोहोरमा १२ हजार लाग्छ। नेपालगन्जमा उत्रिएपछि ४५ सयमा गाडी रिजर्भ हुन्छ। ठाकुरद्वारासम्मको यात्रा सजिलो हुन्छ। होटलमा दुई दिन बस्न चार हजारले पुग्छ। जंगल सफारीका लागि अतिरिक्त १५ हजार लाग्छ।
बसाइ खर्च
प्रतिव्यक्ति चार हजार खर्चमा दुई दिन निकुञ्ज घुम्न सकिन्छ। प्याकेजमा २० हजारले दुई रात होटलमा खानबस्न एवम् जंगल सफारी गर्न पुग्छ। जिप सफारीका लागि प्रवेश शुल्कसहित १२ हजार थप लाग्छ। बेतबाट बनेका कुर्ची, टेबल र वनकसबाट बनेका ढकिया एवम् परालबाट बनेका गुन्द्री कोसेलीका लागि किनेर लाँदा थप रकम चाहिन्छ।
बस यातायात
काठमाडौंबाट बर्दियाको अम्बासा पुग्न दुई हजार पाँच सय रूपैयाँ लाग्छ। पूर्वपश्चिम राजमार्गको अम्बासाबाट दक्षिण–पश्चिम १३ किमिभित्र पर्ने ठाकुरद्वारासम्म अटोले एक सय रूपैयाँ लिन्छ। काठमाडौंबाट ठाकुरद्वारा पुग्न बसमा १४ घण्टा यात्रा गर्नुपर्छ।
प्रकाशित: १४ माघ २०७९ ०१:०४ शनिबार