१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सौन्दर्यको पर्याय रारा

नियात्रा

रारा पुग्ने रहर धेरैको हुन्छ तर पूर्वबाट सुदुरपश्चिममा रहेको रारा पुग्न सहज छैन। मलाई पनि रारा घुम्ने असाध्यै रहर थियो। साथीहरूले रारा घुमेको फोटो फेसबुकमा राखेपछि त्यहाँ पुग्ने औधी इच्छा जागेको थियो तर एक्लै घुम्न जान सक्ने आँट थिएन। खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं पत्रकार महासंघको साधारण सभा मेरा लागि रारा जाने अवसर बन्यो। २०७९ साल पुस ८ र ९ गते नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुर्खेतमा तय भएको खबर पाएँ। पत्रकार महासंघ सिन्धुली जिल्ला शाखाको कोषाध्यक्ष भएकाले पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्यलाई सुर्खेत जिल्लामा आयोजित केन्द्रीय साधारण सभामा सहभागी हुन आर्थिक व्यवस्थापनसहित पूर्ण जिम्मेवारी मेरै भयो। मन एक किसिमले हर्षित थियो किनकि मेरा लागि सुर्खेत यात्रा नै पहिलोपटक थियो। एकातर्फ सुर्खेतमा देशभरका पत्रकारसँगको भेटघाट हुने मौकामा रारासम्म यात्रा गर्ने मनसायले खुसी थिएँ भने अर्कातर्फ चुनौती पनि उत्तिकै थपिएको महसुस भएको थियो। सहज, सुरक्षित र शान्त वातावरणमा सहकर्मी तथा अग्रज पत्रकारलाई सुर्खेत पुर्‍याएर ल्याउनु मेरा लागि चुनौती नै थियो।

चुनौतीका बाबजुद हामी पुस ६ गते दिउँसो २ बजे सिन्धुलीबाट सुर्खेतका लागि यात्रा तय गर्‍यौं। नेपाल पत्रकार महासंघ सिन्धुलीका तर्फबाट केन्द्रीय परिषद् सदस्य श्यामहरि अधिकारी, केन्द्रीय परिषद् सदस्य राधिका बुढाथोकी, पत्रकार महासंघ सिन्धुलीका सचिव पुष्कर थापा र म यात्रामा सहभागी थियौं। सिन्धुलीबाट पश्चिमतर्फ मदनभण्डारी राजमार्ग हुँदै हामी हेटौंडा पुग्यौं। त्यहाँ खाजा खाएर यात्रा तय गरियो। हेटौंडा पुग्दा नै साँझ परिसकेको थियो तर बाटो छोट्याउनका लागि यात्रालाई निरन्तरता दिने निर्णय गरियो। मकवानपुर चितवन हुँदै नवलपरासी पुग्दा रातको ११ बजिसकेको थियो। हामी नवलपरासीको सुनवलमा बास बस्ने निधो गर्‍यौं, तर सुनवल पुग्दा त्यहाँका सबै होटल बन्द भइसकेका थिए। त्यसपछि बुटवल बस्ने निर्णय भयो। बुटवल पुग्दा रातको १ बजेको थियो। त्यहाँ पनि उचित लजको व्यवस्था गर्न सकिएन अनि रातभर यात्रा गर्ने निधो भयो। पुस ७ गते बिहान ६ बजेसम्म यात्रा गर्दा हामी लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङनजिकको लमहीमा पुगेका थियौं। गाडी चालकले निन्द्रा लागेको बताएपछि केही बेर त्यहाँ आराम गर्न हामी लज खोज्नतिर लाग्यौं। त्यहाँको मन्त्र गेस्ट हाउस छिर्‍यौं। त्यहाँ पुग्दा बेलुका बास बसेका उठेर गन्तव्यतर्फ जान तयारीमा थिए भने हामी सुत्ने कोठाको व्यवस्थापनमा थियौं। त्यो होटलमा हामी करिब बिहानको १० बजेसम्म सुतेर केही निन्द्रा र थकान मेटायौं र पुनः यात्रा तय गर्‍यौं। त्यहाँबाट हामी निरन्तर यात्रामा लाग्यौं। बाटोमा भेटिएका बबई नदी, भेरी नदी लगायतका पुलमा हामीले सम्झनाका लागि फोटो–भिडियो खिच्दै साँझपख सुर्खेत पुग्यौं। त्यहाँ पत्रकार महासंघले नै वाग्मती प्रदेशका केही जिल्लाका पत्रकारका लागि डिएफसी होटलमा बस्ने व्यवस्था मिलाएको रहेछ। हामी त्यही होटलमा बास बस्यौं र भोलिपल्ट बिहान पुस ८ गते सुर्खेतको सिटी हलमा आयोजित साधारण सभा कार्यक्रममा सहभागी भयौं। साधारण सभा उद्घाटनपश्चात् केहीबेर कार्यक्रममा बसेर सोही दिन सुर्खेतको काँक्रेविहार र बुलबुल ताल अवलोकन भ्रमण गर्‍यौं।

त्यो दिन हामी अघिल्लो रात बसेकै होटलमा बस्यौं। साँझ खाना खाने समयमा हामी रारा पुग्ने योजनामा थियौं। केही साथीसँग रारा जाने बाटो सोध्यौं। बाटो निकै कठिन रहेको बताए। चिसो धेरै हुने, बाटो जोखिमपूर्ण रहेकोजस्ता कुरा बताए। एकजना अग्रज पत्रकारले रारा जाने कर्णाली राजमार्गभन्दा काल मार्ग भएको बताएपछि हामी निकै आत्तियौं। तर पनि यात्रा तय गर्ने निधो गरियो। पुस ९ गते बिहान ८ बजे हामी सुर्खेतबाट मुगु जिल्लाको रारा भ्रमण गर्न यात्रा तय गर्‍यौं। दैलेख जिल्लाको दुल्लुसम्म जानका लागि एउटा राजमार्ग र अर्को छोटो सहायक मार्ग रहेछ। साँघुरो तर राजमार्गभन्दा कम दुरीमै दुल्लु पुगिने भएपछि हामी बाटो सोध्दै साँघुरो मार्गबाटै दैलेखको दुल्लु खोला पार गर्‍यौं। दैलेख जिल्लाको आठबीस नगरपालिका भएर अगाडि बढ्दा हामी कर्णाली नदीको तीरैतीरको बाटो भएर कालिकोटतर्फ लाग्नुपर्ने रहेछ। कञ्चन बगेको कर्णालीले हामी सबैको मन लोभ्यायो। हामीले बेलाबेला कर्णालीको तस्बिर र भिडियो खिच्यौं। जब हामी दैलेखबाट अगाडि बढ्न थाल्छौं अनि महसुस गर्न सकिन्छ कि नेपालको पहाडी भूभाग कतिसम्म विकट हुन्छ भन्ने। कर्णाली किनारै किनार यात्रा गर्दा दैलेख अछाम र कालिकोटका ठुलाठुला सुन्दर पहाड देख्न सकिन्छ। बिहान सुर्खेतमै सामान्य खाजा खाएर यात्रा निरन्तर गरेका हामीलाई यतिबेलासम्म निकै भोक लागिसकेको थियो। घडीमा करिब १ बजेपछि हामी खाना खाने स्थानको खोजीमा लाग्यौं। राजमार्गमा सानासाना बजार प्रशस्तै छन्। अनौठो लाग्ने नाम गरेका साना बजार यात्रा अवधिमा धेरै भेट्न सकिन्छ। 

हामीले दैलेख जिल्लाकै आठबीस नगरपालिकाको ३ नम्बर वडामा रहेको शाही डारमिन अछामी होटलमा कर्णालीको माछासँगै खाना खायौं। त्यस बजारमा अछाम जिल्लाको मिठो सुन्तला पनि पाइने रहेछ। थोरै सुन्तला किनेर गाडीमा राख्यौं। बाटोमा भेटिएको एउटा पम्पमा गाडीभरि तेल हाल्यौं। त्यति मात्र नभएर सोही गाउँ भन्ने स्थानमा रहेको त्यो पम्पबाट अगाडि अरू पम्प नपाइने भनेपछि २० लिटरको ड्रममा डिजेल बोकेर हामी अगाडि बढ्यौं। दैलेख र अछाम जिल्ला जोड्नेगरी मध्यपहाडी राजमार्गमा बनेको पुलले दैलेख जोडेको भेट्न सकिन्छ। कर्णाली नदीको तीरैतीरको यात्रा निकै रमणीय छ। कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका २ हुम्लबजार पुग्दा दैलेख छोडिसकेका थियौं। हुम्लबजारभन्दा अलि अगाडिबाट कालिकोटको मान्मा बजार निकै रमणीय देखिन्छ। भिरालो भौगोलिक बनावट भएको स्थानमा रहेको उक्त बजार राजमार्गबाट हेर्दा निकै सुन्दर देखिन्छ। हामीले त्यो सुन्दर बजारको फोटो कैद गर्‍यौं। सुर्खेतबाट यतिबेलासम्म हामी झन्डै डेढसय किलोमिटरभन्दा बढी यात्रा गरिसकेका थियौं। खाडाचक्र नगरपालिका १ मा पुगेपछि भने कालिकोट जिल्लाको सदरमुकाम मान्मा पुगिन्छ। मान्मा निकै रमणीय बजार छ। सिधै रारा जानेलाई बाटोमा अन्यत्र बैंक तथा एटिएम सुविधा छैन। त्यसैले पकेट खाली भए खातामा भएको पैसा निकाल्न मान्मा बजार नै उपयुक्त हुने रहेछ। हामीले पनि केही पैसा निकालेर पकेटमा जोहो गर्‍यौं। फेरि यात्रालाई अगाडि बढायौं। अब हामी निकै सुन्दर र ठुला ठुला पहाड देखिने स्थानमा पुगिसकेका थियौं। केही स्थानमा भत्किएर सडक जोखिम देखिए पनि साना गाडीका लागि बाटो सहज छ। साँघुरो भए पनि कालोपत्रे बाटो नै धेरै छ। 

पहाडको बाटो, उग्रिएको मौसममा उकालो भिरालो अनि सुन्दर पहाडको दृश्य अवलोकन गर्दै हामी निरन्तर यात्रामै लाग्यौं। हामी कालिकोटको तिलागुफा नगरपालिका पुग्दा झमक्क साँझ परिसकेको थियो। त्यसैले हामी बास बस्ने तरखर गर्दै अगाडि बढ्यौं। तिलागुफा नगरपालिकाकै नाग्म बजार पुगेपछि हामी बास बस्ने निधो गर्‍यौं र त्यहाँको छायानाथ मुगु होटलमा बास बस्यौं। नाग्म बजारबाट जुम्ला सदरमुकाम जाने र मुगु जाने बाटो छुट्टिन्छ। रारा जाने यात्रुका लागि सुर्खेतबाट यात्रा गर्दा यही स्थानमा बास बस्न उपयुक्त हुन्छ। यहाँ केही सुविधायुक्त होटल पनि भेट्न सकिन्छ। सोही ठाँउमा बसेर हामी भोलिपल्ट बिहान पुनः यात्रामा निस्कियौं। त्यहाँबाट करिब ७ किलोमिटर जति अगाडि बढेपछि जुम्लाको जुगडा भन्ने स्थान आउँछ, जहाँ ऐतिहासिक राजपरिवारका सालिक राखिएको छ। त्यस स्थानमा पुग्दा निकै चिसो बढेको महसुस भएको थियो। सडकको तीरैतीर भएर बगेको तिला खोला र त्यसमाथि बनेको काठेपुलसँगै राज परिवार झल्कने सालिक देखेपछि हामी जाडो महसुस गर्दै फोटो खिच्न तम्सियौं र फोटो कैद गरेर पुनः यात्रालाई निरन्तरता दियौं। पुस महिनाको मध्यचिसोमा रारा यात्रा गर्न आँट गर्नु नै ठुलो कुरा हो भन्ने हामीलाई बढ्दै गएको चिसोले महसुस गरायो। कर्णालीसहित विभिन्न उच्च पहाडी जिल्लामा जाडो मौसममा पानी जम्ने गरेको धारा, कुवा, खोला सबै स्थानको पानी जमेर पिउने पानीको अभाव भएको समाचारमा सुनेको थिएँ तर फ्रिजमा जमेको बरफबाहेक पानी जमेको कहिल्यै देखेको थिइनँ तर त्यस समयमा भेटिएका सानातिना खोला कुलामा पानी तथा धारा र झरना सबैतिर पानी जमेर स्थिर भएको देख्दा साच्चै मलाई निकै अचम्म लाग्यो। घरआँगननजिक भएर बग्ने कुलाको पानी जमेर ढुङ्गाझैं साह्रो हुँदो रहेछ। मानिसहरू गलको सहायताले जमेको पानी फुटाएर कुलो बनाइदिँदा रहेछन्। घरआँगनमा पानी जम्दा निकै चिप्लो हुने र लडिने डरले निश्चित कुलो बनाएको मानिसहरू बताउँथे। नाग्मबाट रारा जाने बाटो पूर्णरूपमा कच्ची रहेछ। ठाँउठाँउमा झरेको पहिरो र साँघुरो सडक अनि सडक छेउछाउमा स्याउका पात पनि नभएका नाङ्गा बोट हेर्दै हामी यात्रा गरिरह्यौं। तिलापछि जुम्लाको हिमा गाँउपालिकाको बाटो हुँदै हामी यात्रा गरिहेका हुन्छौं। भिरालो जमिनमा कसरी अडिएका होलान् चिटिक्क परेका घर? हामी जिज्ञासु भयौं। तर बाध्यता निकै ठुलो पहाड भएको भूभागमा समथर जमिन भेट्न असम्भव नै रहेछ। त्यसैले त्यहाँ भिरालो जमिनमै घरहरू निर्माण हुँदा रहेछन्। बाटोमा साना साना बजार धेरै छन्। बजारका रोचक नाम छन्। खस आर्य जातिको उद्गम स्थल सिंजा जुम्ला हुँदै यात्रा गर्नुपर्ने हुन्छ।

ठाँउठाँउमा प्रहरी चेकपोस्ट, नेपाल आर्मीका चेकपोस्ट हुँदै हामी मुगु जिल्लाको छायानाथ रारा नगरपालिका पुग्छौं। जहाँ नेपाल आर्मीको संरक्षणमा रहेको रारा ताल छ। ताल नजिक हराभरा जङ्गल छ। हामी त्यही जङ्गलनजिक रहेको सानो गाउँबाट गाडी छोडी घोडाको यात्रामा लाग्यौं। तालसम्म पुग्न घोडा चढ्नुको मजा छुट्टै छ। जीवनमै पहिलोपटक घोडा चढ्दा सुरुमा खसिएला कि लडिएला कि भन्ने डर लाग्यो तर सुरुमा डर लागे पनि एकैछिन यात्रा गरेपछि घोडामा सवार गर्न निकै रमाइलो लाग्यो। घोडेयात्रा मार्फत हामी रारा ताल आसपास भएर झमक्क साँझमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिकास्थित मुर्मु होमस्टेमा पुग्यौं। होमस्टेमा हामी बेलुकाको बास बस्न पुगेका थियौं। रारा ताल नजिकै रहेको होमस्टे बताइए पनि होमस्टेको भन्दा पनि आधुनिक होटलकै सुविधामा त्यहाँ बस्न सकिन्छ। निकै चिसो भएकाले झन्डै आधारातसम्म हामी आगो ताप्दै मिठा मिठा गफ गरेर राराको विशेषता बुझ्दै गयौं। राराको तापक्रम निकै चिसो भएकाले भोलिपल्ट बिहान धारा बाथरुमको बाल्टिनमा रहेको पानी सबै जमेको थियो। धारा जमेर लौरी टेकेझैं भएर बसेको देख्दा हामीलाई निकै अचम्म लाग्यो। अर्को अचम्म बाथरुममा रहेको बाल्टीको पानी पूरै जमेर ढुङ्गाजस्तै भएछ। हामी त्यही रमाइलोबीच बिहान करिब ८ बजे त्यहाँबाट रारा तालतर्फ पैदलै यात्रामा लाग्यौ। करिब आधा घण्टाको हिँडाइपछि सुन्दर रारा ताल पुग्यौं। सिन्धुलीबाट सुर्खेत हुँदै रारातालसम्मको यात्रा गर्दा जति कठिन र समस्या महसुस हुन्छ, त्यो सबै सुन्दर रारा ताल पुगेपछि बिर्साउँछ र आनन्दित महसुस हुन्छ। हो, रारा निकै सुन्दर छ। नेपाली सेनाको संरक्षणमा रहेको रारा तालको सुन्दरता बयान गरेर नसक्ने रहेछ। रारा ताललाई महेन्द्र ताल पनि भन्ने चलन रहेछ। २९९० मिटर उचाइ, ५००० मिटर लम्बाइ, ३००० मिटर चौडाइ, १६७ मिटर गहिराइको उक्त रारा ताल निलो देखिन्छ। मध्याह्न १२ बजेतिर रारा निकै सुन्दर देखिन्छ। हामी रारा तालमा गएर रमाइलो गर्दै बोटिङ गर्‍यौं र फोटोभिडियोसहित पुनः हामी फर्कियौं । फर्किंदा गाडीसम्म आउन हामीलाई अघिल्लो दिनकै घोडा लिएर तयारी अवस्थामा घोडाधनी आइपुगेका थिए। घोडामा चढेर राराको ताल नजिक फोटो खिचेपछि हामी फर्कियौं। फर्किंदा पश्चिमेली देउडा भाकामा गीत गाएर घोडाधनीहरूले हामीलाई निकै रमाइलो गराए। यसरी मैले रारा घुम्ने इच्छा पूरा गरें। रारा निकै रमणीय र घुम्नै पर्ने ठाँउ रहेछ। नेपालगन्जबाट प्लेनमा मुगु सदरमुकाम गमगढी गएर त्यहाँबाट बसयात्रामार्फत रारा जान सकिन्छ तर गाडीमा जाँदा देखिने सुन्दर बस्ती, पहाड र जोखिमयुक्त बाटोको अवलोकन गर्न गाडीमै यात्रा गर्नुपर्छ जस्तो मलाई लाग्यो। 

प्रकाशित: १४ माघ २०७९ ००:२७ शनिबार

अक्षर