१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

डा.दामोदर पुडासैनीलाई पवन आलोक नियात्रा पुरस्कार

अग्रज नियात्राकार डा.दामोदर पुडासैनीलाई  नियात्राकृति ‘ग्रीष्मको नीलो बतास’का लागि पवन आलोक नियात्रा पुरस्कार-२०७८ प्रदान गरिएको छ।

नियात्रा समाज नेपालको आयोजनामा भएको एक कार्यक्रम बिच कार्यक्रमको प्रमुख अतिथि घनश्याम राजकर्णिकार एवं अतिथिहरूले पुडासैनीलाई  प्रमाण-पत्रसहित २५ हजार राशिको पवन आलोक नियात्रा पुरस्कार-२०७८ प्रदान गरिएको थियो। उक्त पुरस्कार रेखा कँडेलले आफ्नो श्रीमान् नियात्राकार पवन आलोकको नाममा स्थापना गरेकी हुन्।

उक्त कार्यक्रममा नियात्रा समाज नेपालको महासचिव एवं नियात्राविद् जय छाङछाले स्वागत मन्तव्य दिंदै नियात्रा विधाबारे संक्षिप्तमा बोलेका दिए।

नियात्राकार पवन आलोकले पवन आलोक नियात्रा पुरस्कारको  स्थापनाबारे बताए। उनले भने, ‘मेरो नियात्राप्रतिको झुकावप्रति मेरी श्रीमती रेखा कँडेल प्रभावित हुनुहुन्थ्यो। उहाँले नै घरखर्चबाट जोगाएको रकमबाट मेरो नाउँमा ‘पवन आलोक नियात्रा पुरस्कार’ स्थापना गरिदिनुभएको हो। म डा दामोदर पुडासैनीको सबै कृति पढ्छु। उक्त पुरस्कार मलाई मन परेको  नियात्राकारलाई दिन पाएकोमा हर्षित छु।’

स्रष्टा समाज नेपालका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदनले उचित पात्रले पाएको पुरस्कारले पुरस्कारकै गरिमा बढाउने बताए।

नियात्रा समाज नेपालका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराईले पुरस्कृत नियात्राकारलाई शुभकामना दिंदै नयाँनयाँ कोणबाट लेख्दै नियात्रा विधाको उन्नयनमा नियात्राकारहरूले सामूहिक रूपमा लाग्नुपर्ने बताए।

पुरस्कृत व्यक्तित्व डा.दामोदर पुडासैनीले स्वच्छ धनबाट स्थापना भएको पुरस्कार पाउँदा अत्यन्तै आनन्द मिलेको बताए। उनले भने, ‘यात्रा गर्न र लेख्न सजिलो छैन। यसरी स्वच्छ धनबाट स्थापना भएको पुरस्कार पाउँदा अत्यन्तै आनन्द मिलेको छ। अझै राम्रो गर्नुपर्छ भनेर नियात्रा समाज नेपालले मारेको धाप पूरा गर्नेछु।’

समालोचक महेश पौडेलले बजारीकृत हल्लाको बिचमा पनि नियात्रा विधा वन्दनीय  विधाको रूपमा स्थापित भएको बताए। उनले अन्य विधामा स्थापित भएको लेखक पनि नियात्रामा लागेकाले नियात्रा विधा समृद्धि यात्रामा लागेको बताए।

मोहन चापागाईले  निर्मल सोचको साथ सत्पात्रले स्थापना गरेको पुरस्कार उचित व्यक्तिले पाएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘नियात्राकार लेखनमा मात्रै हैन उनको व्यक्तित्व पनि उच्च रहेको छ। उनी मिलनसार र सहयोगी छन्। परेको बेला जस्तोसुकै सहयोग गर्नु उनकै विशेषत रहेको छ।’

उनले विज्ञान र प्रविधिको कारण पाठक सचेत भएको बेला पुरस्कत व्यक्तिले धेरै सचेत र साधनाको साथ नियात्रा लेखेकोमा खुसी व्यक्त गरे।

प्रमुख अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले नियात्राकार पुडासैनीले  हिमाल र पहाड क्षेत्रको कठिन यात्रा गर्दै नियात्रामा त्यहाँको प्राकृतिक सौन्दर्यको वर्णन तथा जनजीवनलाई अत्यन्तै लोभलाग्दो तरीकाले नियात्रामा प्रस्तुत गरेको बताए।

नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नियात्रा समाज नेपालको  कोषाध्यक्ष  भवानी खतिवडाले गरेकी थिइन्। 

प्रकाशित: १३ माघ २०७९ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App