२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रक्सीसँग हारे खेमराज

काठमाडौं- उनलाई चार–पाँच महिनाअघि ओम अस्पतालबाट डिस्चार्ज हुनेबेला डाक्टरले अन्तिम चेतावनी दिएका थिए, 'रक्सी छुँदै नछुनू। रक्सी खाएर मकहाँ फेरि नआउनू।' उनले केही हप्ता डाक्टरको सल्लाह माने। औषधी पनि नियमित सेवन गरे।

साथीहरुसँग भेट्दा र कसैले 'अलिकति भए पनि पिउँ न' भनेर आग्रह गरेमा उनको मन थामिँदैन थियो। रक्सी छोड्नु र सुरु गर्नु उनका लागि नयाँ कुरा थिएन। अन्ततः उनी डाक्टरको अन्तिम चेतावनीलाई बेवास्ता गर्नपुगे। र उनको ज्यान नै गुम्यो। उनी अर्थात् गायक खेमराज गुरुङ अब हामीमाझ गीतहरुमा मात्र जीवित रहनेछन्।

विगत ११ दिनअघि जन्डिस बिग्रेपछि गुरुङलाई चाबहिलको मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई स्याहार्न उनकी पत्नी हङकङबाट आएकी थिइन्। उनलाई आसियुमै राखिएको थियो। 'मलाई कहिले आइसियुबाट निकाल्छन्, छिटो निस्किन पाए हुन्थ्यो, विदेशमै उपचार गर्नुपर्ने अवस्था आयो भने के गर्ने होला?' साहित्यकार तथा प्राज्ञ शशि लुमुम्बुसँग मंगलबार बेलुकी उनले चिन्ता व्यक्त गर्दैथिए।

नभन्दै कलेजो प्रत्यारोपणका लागि उनलाई एअर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पतालमा लैजाने योजना तय भयो। बिहीबार बिहानदेखि उनी भेन्टिलेटरमा थिए। बिहीबार दिउँसो दिल्ली उडाउने तयारी थियो। पछि डाक्टरहरुले स्वास्थ्यमा केही सुधार आएमा मात्र दिल्ली लैजान मिल्ने बताएपछि उक्त योजना रद्द भयो।

धेरै संगीतकर्मी र प्रशंसकहरु बुधबार र बिहीबार उनको स्वास्थ्यलाभको कामना गरिरहे। तर, उनको अवस्था सुधि्रएन। बिहीबार साँझ ५ः५० बजे मेडिकेयर अस्पतालमै ४२ वर्षको उमेरमा उनको निधन भयो। उनको कलेजोमा मात्र होइन मिर्गौलामा समेत समस्या थियो।

'खेम भाइ एउटै गीतले प्रख्यात बने। राम्रो रचना संख्यामा होइन स्तरमा गनिन्छ भन्ने स्थापित गरेर बिदा गए,' संगीतकार गायक आभाषले श्रद्धाञ्जली स्वरुप फेसबुकमा लेखे। आभाषको भनाइ सत्य हो। उनको हिट गीत 'वारि जमुना पारि जमुना' हो र यही गीतबाट श्रोताहरुले उनलाई चिने र चिनिरहनेछन्।

उनले अरु पनि थुप्रै गीत गाए। आठवटा एल्बम निकाले। अरु केही गीत पनि चले। तर, उनलाई चिनाउने र बचाउने गीत 'वारि जमुना पारि जमुना'मात्र ठहरियो। २०५७ सालतिर निस्किएको यो गीतमा ननाच्ने नेपाली सायदै भेटिएला।

संखुवासभा खाँदबारीका खेमराजको पहिलो एल्बम 'जीवन' २०५४ सालतिर निस्किएको थियो। काठमाडौंमा आएर सोही एल्बममार्फत् उनले औपचारिक रुपमा संगीतयात्रा थाले। तर, एल्बम चलेन। उनी निराश भए।

तैपनि उनले हिम्मत हारेनन्। जब, २०५७ सालमा उनले निकै दुःखका साथ 'जीवन भाग–२' एल्बम निकाले, उनको दिन फिर्‍यो। त्यही एल्बममा थियो 'वारि जमुना पारि जमुना' गीत। हरेक कार्यक्रम, जमघट र सञ्चारमाध्यममा गीत घन्किन थाले। म्युजिक नेपालले निकालेको 'जीवन भाग–२' एल्बमले बिक्रीमा रेकर्ड राख्यो।

'पहिलो एल्बम निकाल्दा गुमनाम रहेका खेमराज दोस्रो एल्बम निस्किने बित्तिकै स्थापित भए, उनी रातारात स्टार भए,' उक्त एल्बममा खेमराजका लागि केही गीत कम्पोज गरिदिएका संगीतकार पारस मुकारुङले बताए।

'जीवन भाग–२'पछि गायक खेमराजले 'अनमोल', 'धरान–पोखरा', 'सोल्टी', 'आलुतामा', 'ढाक्रे' र 'घुमफिर' एल्बम निकालेका थिए। पोखरा, काँकडभिट्टा, चितवन, इटहरी, धरान र इलामका पर्यटकीय पक्षको वर्णन गर्दै गाएका गीतहरु दुई महिनाअघिको एल्बम 'घुमफिर'मा समावेश थिए।

'घुमफिर' निकाल्ने बित्तिकै उनी सिक्किम पुगे। त्यहाँ केही स्टेज कार्यक्रम गर्नु उनको उद्देश्य थियो। त्यसबाहेक उनी सिक्किमका धार्मिक तथा पर्यटकीय स्थलहरुका बारेमा गीत गाउन चाहन्थे। काठमाडौं फर्केर उनले सिक्किम सम्बन्धी केही गीत रेकर्ड पनि गरे। तर, एल्बम भने निकाल्न भ्याएनन्।

उनी आफ्नो गीतसंग्रहलाई पुस्तकका रुपमा समेत छाप्ने योजनामा थिए। त्यसको सम्पादनका लागि प्राज्ञ शशि लुमुम्बुसँग सल्लाह हुँदैथियो। 'तर उहाँको त्यो योजना पनि अधुरै रह्यो,' लुमुम्बुले शोकमग्न हुँदै बताए।

कवि तथा प्राज्ञ श्रवण मुकारुङ खेमराज गुरुङलाई नेपाली लोकसंगीतको सौन्दर्यलाई सही रुपमा पक्रिनसक्ने खुबी भएका गायकका रुपमा चिनाउँछन्। श्रवणले खेमराजसँग केही गीतमा सहकार्य गर्ने अवसर पाएका थिए। 'उनी असल व्यवहार भएका रसिलो र हितैषी स्वभावका थिए, उनको कमजोरी त्यही रक्सीमात्र थियो,' श्रवणले सम्झे।

अघिल्लो पटक अस्पतालबाट छुटेपछि उनलाई सुधारगृहमा राखेर उपचार गर्ने हो कि भन्ने सल्लाह परिवारमा भएको थियो। तर, सांगीतिक व्यस्तताका कारण त्यो सम्भव भएन। उनलाई अमेरिकाको भिसासमेत लागेको थियो। अमेरिकाका नेपालीमाझ गीत पस्किने उनको चाहना पनि व्यर्थै रह्यो।

खेमराजसँग गायक राजेशपायल राई र भीषण मुकारुङको बाक्लो उठबस थियो। खेमराजका आमा र दिदी बेलायतबाट आएपछि मात्र अन्तिम संस्कार गरिने गायक राजेशपायलले अवगत गराए। उनको शवलाई टिचिङ अस्पतालमा राखिएको छ। उनका दुई छोरा छन्।

प्रकाशित: १० भाद्र २०७३ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App