चिसो सिरेटोले माघको मध्यान्न पनि चिसिँदै छ। आइतबार तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै गर्दा टुँडिखेलको माहौल साझसम्म नै तात्न पुग्यो। डम्फुको तालमा तामाङ सेलो गाउँदै तामाङ पहिरनमा सजिएकी यूवा यूवतीका भिडले राजधानीको मुटुमा रहेको टुडिखेल तमुवान क्षेत्रजस्तै देखियो।
‘यहाँ देशभरबाट आएका तामाङ समुदायको जमघट हुन्छ,’ विगत १३ वर्षदेखि राजधानी बस्दै आएका दोलखा दोरम्बाका प्रवीण मोक्तानले भने, ‘ गाउँमा गुन्जने डम्फुको धुन र तामाङसेलो यहि भिडमा सुन्दै रमाउने गरेका छौं।’ पर्वको लागी परम्परागत तामाङ पहिरनमा सहभागी भएका उनले पुराना कपडा अब चाँडपर्व र विवाहमा सीमित हुन थालेको सुनाए।
उनको जस्तै भनाइराखे कृष्ण तामाङले पनि। अन्य समयमा जिन्स र ज्याकेटमा सजिने उनी आइतबार भने तोङसर (कमिज), कङ्सुर (हाफ कोट) र तागी (टोपी) मा सजिएक थिए। ‘जात्रामा त परम्परागत पहिरन लगाउने फेसन नै भइसक्यो,’ उनले भने, ‘बुढापाकादेखि युवायुवती सबै परम्परागत पहिरनमा सजिँदा माहोल निकै रहरलाग्दो बन्छ।’
ल्होछारले टाढा-टाढाका आफन्त, साथीभाइसँगको जमघट र खानपान हुने भएकाले आपसी सद्भावना बढाउने कतिपयको बुझाइ छ। ‘भोजनले भोक मेटाउने मात्र हैन, सम्बन्ध जोड्ने काम पनि गर्छ,’ जोरपाटी नयाँवस्तीकी नवीना तामाङ भन्छिन्, ‘आफन्तलाई निम्ताएर मिठो परिकार खुवाउँदा खुसीले घर नै उज्यालो हुन्छ।’
तामाङ समुदायले प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्छन्। ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ। अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो।
देशका विभिन्न भागबाट उपत्यकामा रहेका तामाङ समुदायले खुल्लामञ्च, टुडिखेल, स्वयम्भु, वौद्धलगायतका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रममा साथ शनिबार राष्ट्रिय पर्व ल्होछार मनाए। ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्रवटा हुन्छन्।
ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। यसपटक बाघ वर्षलाई बिदाई गर्दे खरायो वर्षलाई स्वागत गरिएको छ।
मुलुकमा रहेका सबै जातजाति समुदायको भाषा, संस्कार संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य रहेको भन्दै तामाङ समुदायको ठूलो पर्व सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रूपमा विकास गर्नतर्फ सरकार र तामाङ समुदाय लाग्नुपर्ने धारणा कतिपयले राखेका छन्।
‘एक दिनको पर्वमा मात्र रमाएर पुग्दैन,’ टुडिखेलमा भेटिएका सुन्दर लामाले भने, ‘समुदायको हकहितमा सरोकारवालाले ध्यान पुराउने हो भने हरेक दिन ल्होछारजस्तै भव्य बन्ने छ ।’
प्रकाशित: ९ माघ २०७९ ०२:१५ सोमबार