२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

डायरीको अन्तिम पाना

कथा

तारा केसी

- हेलो  पुलिस  स्टेसन।

-हो

-लास ...

- कहाँ?

- सुनकोशी किनारमा।

पुलिस इनिस्पेक्टर समीर केही प्रहरी जवानको साथमा घटनास्थलतर्फ लाग्छन्। सुनकोशी किनारमा एउटा अधबैंसे  महिलाको लास। मान्छेहरूको भिड हटाउँदै इनिस्पेक्टर समीर लास भएको ठाउँमा पुग्छन्। लासको  मुचुल्का तयार पारिन्छ।

‘हो हजुर! यी महिला हिजो दुईतीन बजेतिर मेरो होटेलमा आएकी थिइन्। उनले एउटा चुरोट र एक बोतल पानी किनेर त्यता लागेकी थिइन्। त्यसपछि मैले देखिनँ।’ देख्नेहरूमध्येको एउटाको बयान।

‘मैले देख्दा यिनी केही लेख्दै थिइन्। ऊ त्यो पर दोभान नजिकै बसेर। त्यही फेला परेको हो यो डायरी सर!’ देख्नेमध्ये अर्काे व्यक्तिको बयान।

‘म त्यहीं बाटो हुँदै आउदै थिएँ। यिनी लेख्दा-लेख्दै उठेर एक्कासि खोलामा हामफालिन्। हामीले खोलामा पौडेर बचाउन खोज्यौ तर सकेनौ। आज मात्र यिनको लास यहाँ फेला परेको हो।’ तेस्रो व्यक्तिको बयान।

घटना हुनुभन्दा अगाडि फेला परेको डायरी बोकेर इनिस्पेक्टर समीर गाडीमा बसे। लास पोष्टमार्टमका लागि हस्पिटल  लगियो। इनिस्पेक्टर समीर सरासर कोठामा लागे र डायरीका पानाहरू पल्टाउन थाले। पहिलो पानामा लेखिएको थियो, ‘यो डायरी मेरो अनुमतिविना नखोल्नु होला।’

उनले ती मृतक महिलाको अनुमति माग्दै पल्टाउन थाले डायरीका पानाहरू। सुरुको पानामा लेखिएको थियो,मेरो  नाम  सोना थर गुरुङ अर्थात म सोना गुरुङ हुँ। मेरो सम्पूर्ण बाल्यकाल फुपूसँग बित्यो। बाबुआमाको माया के हो, त्यो मलाई थाहै भएन। सानै छँदा मैले बाआमा गुमाएको रहेछु। काकाले हाम्रो सम्पत्ति खाएर मलाई नहेरेपछि फुपूले पालेकी रे मलाई। म बुझ्ने हुँदा मेरो अभिभावकको रूपमा तिनै फुपू थिइन् मेरो आफ्नो भन्नू। मेरो जीवनमा  ममतामयी फुपूको छत्रछाया छ। ओत छ ममताको।

सुनकोशीपारि फुपूको पुरानो घर। त्यसै घरको दलान। घरवरिपरि  सुन्तला, नासपाती, अमलाका बोटहरू। काँइयो फूलको बोटमा थोक्रे चराको गुड सुनकोशीको बगर। मेरो बाल्यकाल र किशोर उमेरका साथीहरू।

पढ्दै जाँदा समिरका आँखाहरू त्यहाँ टाँसिएका फोटाहरूमा गएर धेरैबेर रोकिन पुगे। त्यो डायरीमा जसको बारेमा लेखिएको हुन्थ्यो त्यहाँ उसैको फोटो टाँसिएको थियो। फुपूको अधबैंसे फोटोसँगै त्यो सुन्दर तस्विर अनि परिभाषित आँखाहरू तिनै मृतक महिलाको। डायरीका पानाहरू क्रमशः  पल्टाउदै जाँदा  बिच पानामा एउटा सुन्दर फोटो सहित लेखिएको थियो,‘ब्राह्मण कुलमा जन्मेर श्रेष्ठ जातमा परेको विवेक मेरो जीवनमा  यसरी आयो मैले नाइँ भन्नै सकिन। सधैं एकैसाथ स्कुल घर अनि घर,  कलेज गर्दागर्दै बसेको आत्मीयता थाहा नै नपाई प्रेममा परिणत भयो।

एक दिन फुपूले विवेकको अगाडि मेरो विवाहको कुरा गर्नुभयो एउटा  लाहुरे केटासँग। माझघरे च्याङ्बाको छोरा अमृत भर्खर बेलायतबाट फर्केको छ। आफ्नै जात मिल्ने नेपाली केटीसँग विवाह गर्ने भनेर। तिम्रो हात मागेका छन्। म के भनिदिऊ? लाहुरेसँग विवाह गर्छ्यौ त? म केही बोलिन। बरु विवेकले जिस्काएको बहानामा भन्यो, ‘हुन्छ भन। लाहुरेसँग धेरै धन हुन्छ। देशविदेश घुम्न पाउँछौं। बिहे गर उहीसँग होइन त फुुपू!’

फुपू हाँस्नुभयो। मलाई भने उसको त्यो भनाइले मुटु गह्रौं  भएर आयो। भोलिपल्ट भेटेर विवेकले आफू हिजोको कुराले रातभरि निदाउन सकिन भन्यो।

उसले त्यो दिन प्रेमका कुरा गर्याे र तिमीबिना बाँच्न  नसक्ने भन्दै मसँग रोयो। मैले पनि आफूलाई समाल्न सकिन् किनकि  म पनि त उसलाई प्रेम गर्थे। म फुपूसँग बेसरी रोएँ। मैले दुई हात जोडेर फुपूसँग मेरो प्रेम अनि विवेक मागे। म एउटी  टुहुरी केटी मेरो मायाले फुपू केही बोल्नुभएन।

‘हाम्रो जात मिल्दैन पछि धोका पो हुने हो कि?’ फुपूको मनको शंका हटाउदै विवेकले भनेको थियो।

‘मायाभन्दा ठूलो जात हुँदैन फुपू! म सोनालाई बाँचुञ्जेल धोका दिने छैन।’ उसले फुपूलाई वचन दियो।

फुपूको स्वीकृति लिएर हामीले मन्दिरमा विवाह गर्‍यौ। त्यो विवाहमा विवेकको परिवार खुशी थिएन। हाम्रो प्रेम छुटाउन विवेकको परिवारले ठुलो नाटक  रच्यो। जातियताको,धर्मको, संस्कृतिको खोल ओढेर हाम्रो प्रेमको हत्या गर्याे।

विवाहपछि विवेकले एउटा राम्रो कम्पनीमा मार्केटिङ  डाइरेक्टर  पदमा जागिर  पायो। पोखरा घुम्ने सिलसिलामा  एकदिन साँझपख सारनकोटबाट पोखरालाई  नियाल्दै गर्दा विवेकले आँखामा आँखा जुधाउँदै भनेको थियो-‘सोना,म सारै खुशी छु। जीवनमा सोचेको सबथोक पाएँ। आज मसँग माग जे माग्छौ म दिन्छु तिमीलाई।’

मैले त्यतिखेर विवेकको आँखामा प्रेम पढे। आफ्नो श्रीमानले अँगालोमा बेरेर सबथोक दिन्छु भन्दा कुन श्रीमतीको मन खुशी नहोला र? मेरो मन खुशीले उडेको थियो।  बिन्दवासिनी मन्दिरलाई  सारनकोटबाट हेर्दै मैले मनमनै भगवानलाई धन्यवाद  दिए र जीवनभर  विवेकको साथ मागे।

केही दिनको पोखरा बसाइँपछि हामी काठमाडौं फर्कियौ। काठमाडौं फर्केपछि  मैले पदमकन्या क्याम्पसमा  विवियर्स पढ्न थाले विवेककै चाहनामा।

बिहान म कलेज जान्थे। बिहान उठ्नु, खाना बनाउनु, खानु र अफिस जानु विवेकको दिनचर्या बनेको थियो। म दिउँसो कम्प्युटर कोर्स सिक्थे।। बेलुकाको खाना हामी प्रायः  बाहिर खाने गथ्र्यौ।

एकदिन कम्प्युटर कोर्स गर्दागर्दै चक्कर लाग्यो अनि बान्ता  पनि भयो। सञ्चो नभएझै लाग्यो र कोठामा आएँ। कोठामा पनि त्यही प्रक्रिया दोहोरिन थाल्यो। घरबेटी दिदीले घरमा डाक्टर बोलाउनुभयो। डाक्टर लिएर विवेक पनि आयो। डाक्टरले विवेकलाई बधाई दिंदै भने, ‘ल बाबु बन्दै हुनुहुन्छ।’

त्यो पल विवेक धेरै खुशी भाको थियो।

एक दिन विवेकको बुबा हाम्रो कोठामा आउनुभयो। उहाँको आगमनले हाम्रो जीवनमा आँधी आयो। त्यही आँधीले हामी दुवैलाई उडाएर कहाँकहाँ पुरायो। बाबुछोरा बिच खोई केके कुरा भयो। त्यसपछि विवेक घर जाने भयो। आमा बिरामी भएको  कुरा मसँग भनेर विवेक घर गयो।

केही दिनपछि विवेक उदास  अनुहार लिएर कोठामा आयो। उसको अनुहार पढेर मैले सजिलै अनुमान लगाउन सक्थेकी ऊभित्र यतिबेला  के चलिरहेछ। उसले मेरो हात समातेर भन्यो, ‘सोना, मलाई मार। म पापी हुँ। अपराधी हुँ। मैले तिमीमाथि ठूलो अपराध गर्दै छु। म कुन भुमरीमा फस्दै छु। मलाई नै थाहा छैन।’

मैले अनुमान लगाउन सकिन कस्तो मोड लिन्छ अब जीवनले। ‘भयो के? किन यसरी रोएको?’ मेरो प्रश्नको उत्तरमा उसले भन्यो।

मैले आमाको लागि अर्काे बिहे गर्नुपर्ने भयो। आमाको अन्तिम इच्छा नै यही छ। म मरेपछि आफ्नै जातको बुहारी चाहिन्छ। अरू जातकाले हँुदैन। मेरो मृत्युकर्म गर्न।’

म के गरौ सोना! म तिमीलाई त्याग्न सक्दिन।’

विवेकको बाध्यता, म र मेरो हुर्किदै गरेको बच्चाको भविष्य। मेरो शरीरभरि कम्प छुट्दै गयो। म के गरौ? एक त आफूले माया गरेको मान्छे। उसको पीडा र आँसु म देख्न सक्दैनथे। म रुँदा घरबेटी  दिदीले धेरै सम्झाउनुभयो। मेरो सङ्लो मायामा धमिलो मिसिदै गयो। आफ्नो कर्म र भाग्य सम्झेर म धेरै रोएँ। म रुँदा उसले धेरै सम्झायो र जीवनभर साथ नछोड्ने प्रण गर्‍यो। दुइटा डुंगामा खुट्टा टेकेर सागर तर्ने दुष्साहस त गर्याे उसले तर सम्भव थिएन।

यो माया भन्ने चिजले मान्छेलाई कति कमजोर बनाउँदो रहेछ। म कमजोर भैसकेको थिएँ। उसको त्यो अवस्था र बाध्यता देखेर ऊप्रति सहानुभूति बढ्दै  गयो। कठै! मेरो विवेक! मेरो प्रेम।

उसको बिहेको दिन। ऊ बेहुला भएर मण्डपमा बस्दा मैले धर्ती  छोड्ने विचार नगरेको होइन। त्यो दिन घरबेटी दिदीले एकपल पनि छोड्नुभएन, सम्झाउनुभयो। गाली गर्नुभयो। बच्चाका लागि भए पनि बाँच्नुपर्छ भनेर। एकातर्फ  जन्म दिने आमा अर्काेतिर प्रेम गरेर विवाह गरेकी श्रीमती यी दुवै उसको लागि उत्तिकै अमूल्य थिए। रोज्नुपर्दा प्रेम त्यागेर कर्तव्य  रोज्यो उसले।  भन्न त विवेकले भन्थ्यो

‘मलाई बहुविवाहको मुद्दा  लगाएर जेल हाल। म त्यहीं  बसेर पछुताउन चाहन्छु।’

उसलाई प्रेम गर्ने मान्छे म त्यस्तो निर्णय गर्न म कहाँ सक्थे र।

म फोनबाट थाहा पाउँथे उसमा बिस्तारै  पागलपन  बढ्दै गएको थियो। मन लागेर काम नगर्ने। अफिस नजाने। राति नसाको सुरमा घरमा जाने। अब ऊ पहिलाको स्थितिमा  फर्केलाझै लागेन। उसले जागिर छोडेको कुरा थाहा पाएँ।  ऊसँग भेट नभएको पाँचौ  महिनामा नौ महिनाको गर्भमा रहेको शिशु लिएर म उसको घर गएँ, घरबेटी दिदी र फुपूको सहारा लिएर।

त्यो घरमा मैले पाएको अपमान र दुः ख सम्झिदा मुटु भकानिएर आउँछ। मान्छे त हुन् तर व्यवहार मान्छेको थिएन। चुलामा जान बन्देज थियो। कोठामा जान बन्देज थियो। जातको कारणले त्यो घरमा म अपहेलित थिएँ। एक डल्लो ढिडो खान दिन्थे पिढीमा बसेर। गोठमा सुत्थे। तैपनि विवेकको मुख मात्र देख्दा पनि सब कुरा भुल्थे म। बेला-बेलामा विवेक नभएको मौका छोपेर बिनाकारण  कहिले सासूले कहिले सौताले कुटपिट गर्थे। कपाल लुछ्थे।

शरद ऋतुको घमाइलो दिन मलाई प्रसवव्यथाले छोयो। घरको कुनै परिवार आएनन्। विवेकले  गाउँका दिदीबहिनी बोलाएर ल्यायो। छोरा जन्मियो त्यही गोठमा। रुँदै गरेको बच्चा  मेरो काखमा  राखिदिंदै विवेकले भन्यो, ‘सोना,  अब यो छोरा तिम्रो सहारा हुनेछ। मैले तिमीलाई संरक्षण  र साथ दिन सकिन। मलाई माफ गरिदेऊ। म लाचार लोग्नेमान्छे भएर तिम्रो यो दुर्दशा हेर्नुपर्‍यो।’

केही दिनपछि फेरि विवेक मेरोसामु आयो गोठमा। जहाँ म सुत्केरी अवस्थामा सानो छोरा लिएर बस्थे। उसले पानीमा पोइजन राख्यो र मलाई खाऊ भन्यो। मैलै हात बढाएँ  खान किनकि मलाई मृत्यु पनि  सहज लाग्न थालिसकेको थियो। मेरो र बच्चाको भविष्य अन्योल थियो। बाटाहरू सब बन्द थिए। मैले त्यो पानी के पिउन आँटेको थिएँ। उसले  आफूले आफैलाई छुरा प्रहार गर्‍यो। यो के पागलपन हो? म रोएँ, कराएँ उसको हातमा घाउ लागेको थियो। ऊ हस्पिटलबाट  मानसिक हस्पिटल हुँदै थप उपचारका लागि  विदेश गयो। अब त्यहाँ मेरो भन्नु को नै थियो र?  मानसिक पीडाले म पनि बिरामी परे। एकदिन सौताको  पिटाइले मर्ने अवस्थामा  पुगेकी म फेरि फुपूको सहयोग र मायाले बाँच्न सफल भएँ।

समय बित्दै गयो। मैले विवेकलाई भुल्न सकेको थिइन। यादहरूले सताइरहन्थ्यो। उसको केही खबर आएन। कहाँ छ, के गर्दै छ केही थाह भएन। एउटा  लाहुरेको सहयोगले समिरलाई राम्रो स्कुलमा होस्टेल राखिदिनुभयो फुपूले। ‘हिजोका दिनहरू भुलेर वर्तमानमा बाँच्न सिक’ बारम्वार फूपू भनिरहनुहुन्थ्यो।

एकदिन त्यहीं लाहुरेले मेरो स्थिति देखेर मलाई  बिहे गरी बाहिरसँगै लाने कुरा गरेछ। फुपूको स्वीकृति पाएपछि उसले मसँग बिहेको कुरा गर्याे। आफ्नो र बच्चाका लागि सोच भन्यो। मैले मेरो छोराको भविष्यका लागि उसँग दोस्रो विवाह गरे। मनमा विवेक राखेर मैले त्यो निर्जीव शरीर त्यो लाहुरेलाई सुम्पिएँ।

त्यो बुढो लाहुरे उमेरमा मभन्दा तिन गुणा जेठो थियो। श्रीमतीको मृत्युपछि  छोरा बुहारीको साथमा कहिले नेपाल कहिले बेलायत बस्दै आएको त्यो बुढो लाहुरे मेरो जीवनमा आयो र मलाई बेलायतसम्म पुर्‍यायो। बेलायत बसेर मैले यो डायरीमा मेरा कथा लेख्न सुरु गरे।

धोकाभित्र प्रेम हँुदैन। घृणा र तिरस्कार हुन्छ तर मेरो मनमा आज पनि विवेकप्रति उतिनै माया र श्रद्धा  छ। मैले नचाहेरै पनि परिस्थितिले जोडिदिएको साइनो हो लाहुरेसँग मेरो। श्रीमती हुँ उनको म। समाजले भन्छ तर उनका लागि म एउटी सामान्य स्वास्नी मान्छे। उसले दया गरेको। हुस्की र ब्राण्डीका  सिसी टेबुलमा  सजाइदिने। उनका साथीभाइ आउँदा  सिंगारपटार गरेर उनको इज्जत राखिदिनुपर्ने मेरो काम। मबाट  इच्छा पूरा हुँदा उनी खुशी हुन्छन् म निर्जीव स्वास्नीमान्छे भएर लुटिन्छु उनीबाट। उनलाई लोग्नेमान्छे भएकोमा गर्व छ। त्यहाँभन्दा पर उनीले न मलाई बुझेका छन् न मैले। जीवनको एउटा मोडमा आएर बाँच्नका लागि सम्झौता गरेका छौ हामीले।

धनसम्पत्ति  सबथोक छ उनीसँग। आफ्नो  बुढो शरीर र बाँकी जीवन रमाइलो गरेर बिताउन चाहन्छन् उनी। छोराहरूको व्यवस्थापन राम्रोसँग गरिदिएकाले कसैप्रति उनको  गर्नुपर्ने दायित्व छैन। उनी आफू स्वतन्त्र छन्। अवकाशप्राप्त गोरखाली सैनिक। सारा जीवन  लडाइँको  मैदानमा खर्चेर कमाएको सम्पत्ति  र तक्मा  छ उनीसँग।

मैले जन्माएको छोरालाई मातृत्व माया दिन नसके पनि  भविष्य राम्रो बनाउने  बाटो दिएको छु। ऊ मसँग टाढा छ। मलाई सायद चिन्दैन उसले। म सन्तानको आमा भएर  साथमा सन्तान राख्न सकिन। म असल आमा बनिन्। प्रेम गरे घर बसाउन सकिन। आमाबाबाको छहारी दिने फुपूको बुढेसकालको सहारा बन्न सकिन्।

पुलिस इनिस्पेक्टर समिरले डायरी पढ्दै गयो। डायरीको अन्तिम पानामा लेखिएको थियो।

धेरै वर्षपछि नेपाल फर्किएँ दुइटा लक्ष्य लिएर। एउटा विवेकलाई अन्तिम पटक भेटौ र अर्काे  छोरा समीरसँग  माफ मागौ। तर, मेरा दुइटै इच्छा पूरा भएन। छोरा समीर उपत्यका बाहिर भएको खबर पाएपछि म पुरानो फुपूको गाउँ गए, विवेकलाई भेट्छु भनेर।

मेरो माया बसेको त्यो गाउँ धेरै परिवर्तन भैसकेको रहेछ। फुपूका पुराना घर भत्किएका र फुपूले पनि संसार छोडिसकेको थाह पाएँ। सबै नौलोनयाँ स्मृति मात्र पुरानो। मेरी फुपू, म  खेल्ने दलान, बारीका पाटा कोही भेटिनँ मैले त्यहाँ। जब विवेक मेरो फुपूको घरमा आउँथ्यो। हामी रमाउदै  खेल्न पुग्थ्यौ। सँगै स्कुल कलेज गथ्र्यौै। अनजानमै बसेको  प्रेम पनि सुनकोशीको पानीझै बगेर गयो, कहिले नफर्किने गरी। थाह पाएँ केही वर्षअघि विवेकले पनि संसार छाडिसकेको रहेछ। यही सुनकोशीको किनारमा उसको शरीर जलेर अस्तुहरू पनि सब बगिसकेका रहेछन्।

आज मलाई देखेर सुनकोशीको छालसँगै विवेकले केही भनेझै लाग्यो।

‘सोना, तिमी आयौ। म तिमीलाई  पर्खिरहने छु। अर्काे जन्ममा भेटौला ल। यो जातको दुनियाँबाट टाढा रहेर घरजम बसौला।’

पढ्दापढ्दै समीरका आँखा रसाए। भावविह्वल भएर ऊ जुरुक्क उठ्यो र सुनकोशीको किनारमा पुग्यो। त्यहाँ उसकी आमाको लास जल्दै थियो चितामाथि। उसको मुखबाट एकैचोटि निस्कियो, ‘आमा.... आमा!’

प्रकाशित: १ माघ २०७९ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App