२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

बजगाईंको ‘उमिहोतारु’ भर्चुअल लोकार्पण तथा अन्तरक्रिया

डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईको ‘उमिहोतारु’ नियात्रासंग्रहको भर्चुअल लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ। समकालीन साहित्य प्रतिष्ठान बेलायतल आयोजना गरेको कार्यक्रममा अमेरिका, बेलायत, जापान र भारतका साहित्यकारहरूले उमिहोतारुबारे आआफ्नो धारणा प्रस्तुत गरेका थिए।

बेलायत निवासी बजगाईंका अघिल्ला तीन नियात्रासंग्रहको विश्लेषण गरेर ‘नियात्रामा नौलो आयाम’ पुस्तक प्रकाशन गरेका समालोचक डा. विदुर चालिसेले चौथो नियात्रासंग्रह उमिहोतारु अरू कृतिभन्दा फरक रहेको बताए। चालिसले भने, ‘विषयवस्तु नयाँ छन्। प्रस्तुति शैली रोमाञ्चक देखिन्छ।’

कार्यक्रममा समालोचक प्राडा कपिल अज्ञातले बजगाईंका नियात्रामा अनुभव र ज्ञान दुवै भएको बताए। प्रतीक ढकाल, दामोदार पुडासैनी र कृष्ण बजगाई नियात्राका त्रिमूर्ति भएको बताए। अज्ञातले ‘कोरा भावुकता र यात्राका विवरण नियात्रा होइन। सन्तुलित र व्यवस्थित लेखन नै नियात्रा हो। नियात्रा मार्फत अनुभव र ज्ञान दुवै प्राप्त हुन सकोस्। बजगाईका नियात्रामा दुवै छन्। उमिहोतारु पढेपछि महत्त्वपूर्ण विषयमा ज्ञान दिने काम नियात्राको रहेछ भन्ने लागेको बताए।

अमेरिका निवासी साहित्यकार विश्वराज अधिकारीले नेपाली साहित्यमा बजगाईको योगदान उल्लेख गर्दै नियात्रामा सङगृहीत ‘बतासे शहरमा बादलको गेट’ शीर्षकको नियात्राबारे चर्चा गरे। उनले भने, ‘बजगाईं अरूलाई पनि सहयोग र प्रोत्साहन गरेर साहित्यमा स्थापित गराउन खोज्ने साहित्यकार हुन्। बजगाईं समकालीन साहित्य डटकम र अनुसन्धानमूलक साहित्यि जर्नल प्रवासनका प्रधानसम्पादक हुन्। उनको साहित्यिक योगदान विशिष्ट छ। बतासे सहरमा बादलको गेट उमिहोतारुका नियात्रा पढिरहँदा पाठक आफैं त्यहाँ पुगेझैं लागिरहन्छ। यसले मनोरञ्जन मात्र हैन जानकारी पनि दिन्छ। ती जानकारीको ऐतिहासिक महत्त्वका छन्।’

अमेरिकाको टेक्सासमा रहेका साहित्यकार खेमराज पोखरेलले संग्रहमा रहेको ‘योनि म्यूजियम चियाउँदा’ शीर्षकको नियात्राबारे चर्चा गरे। पोखरेलले बजगाईको नियात्रामा गतिशीलता, जानकारी र निजात्मकता भएको बताए। योनि चेतनालाई नियात्रामार्फत आकर्षक बनाइएको छ। संसारभरिका योनिका महत्त्वहरू छन्। इमानदारपूर्वक लेखिएको यो नियात्रा एकदमै राम्रो छ। उनी एकदम राम्रा नियात्राकार हुन्, पोखरेलले भने।

जापान निवासी साहित्यकार प्रकाश पौडेल ‘माइला’ले प्रवासमा भएर पनि निरन्तर लेखिरहने बजगाई सफल स्रष्टा भएको बताए। ‘लोभलाग्दो किसिमले उहाँले निरन्तर स्तरीय लेखिरहनुभएको छ, पौडेलले भने।

अमेरिकाबाट साहित्यकार भारती गौतमले नेपाली साहित्यको भण्डारमा नयाँ-नयाँ कृति थप्न बजगाईलाई शुभकामना दिइन्। ‘बजगाईं व्यक्तिभन्दा संस्था हुनुहुन्छ’, गौतमले भनिन्।

नेपालबाट सहभागी साहित्यकार तथा टेलिभिजनका कार्यक्रम प्रस्तोता मोहराज शर्माले बजगाईका प्रायः नियात्रामा नेपालको प्रसंग आएको बताए। हरेक नियात्राको क्लाइमेक्समा नेपाल जोडिएको छ। संसारका विभिन्न विश्वविख्यात कविहरूको निवास स्थान र म्युजियम जाँदा उहाँ लक्ष्मीप्रसाद देवकोटा सम्झनुहुन्छ। लेखनाथ पौड्याल सम्झनुहुन्छ। नेपालको अवस्थाको चिन्ता प्रकट गर्नुहुन्छ,’ शर्माको भनाइ थियो।

बेलायतबाट प्रकाशन हुँदै आएको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय साहित्यिक जर्नल प्रवासनका सम्पादक डा. कृष्ण उपाध्यायले बजगाई सफल नियात्राकार भएको भन्दै तारिफ गरे। लेखकमा ‘जेम्स बन्ड सिन्ड्रोम’ देखिएको बताए। ‘उहाँमा कुनै पनि स्थान र घटनालाई सूक्ष्म तवरले हेर्ने दृष्टि छ। उहाँले पाठकलाई विषयवस्तुमा गहिरो तवरले लानुहुन्छ। सूक्ष्म चिज खोतलेर त्यसमा आफ्नोपन हाल्ने उहाँमा नयाँ प्रवृत्ति भेटिन्छ। उहाँको चिन्तन प्रणाली काव्यिक छ।’

नियात्राकार राजेन्द्रमान डंगोलले उमिहोतारुमा बजगाईले यात्राको दौरानमा प्रकृति, मानव र समाजसँगको अन्तरक्रिया र अनुभूतिहरूलाई कलात्मक ढंगबाठ प्रस्तुत गरेका छन्। उमिहोतारु प्रतीकात्मक, विम्बात्मक, सूचनामूलक, कौतूहल र ओजपूर्ण छ, डंगोलले भने।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ भाषाविद् तथा समालोचक प्राडा माधवप्रसाद पोखरेलले बजगाईको उमिहोतारुमा आलोक र उज्यालाका कुरा भएको उल्लेख गरे। पोखरेलले लेखक र आफ्नो जन्मस्थान एकै भएको सम्झाउँदै डायोस्पोरा लेखनबारे प्रकाश पारे। ‘उहाँ डायोस्पोरा होइन परदेशी हो। भारतीय नेपालीहरू डायस्पोरा शब्द मन पराउँदैनन्। देशले टिक्न नदिएर जानेहरूलाई डायस्पोरा भन्नुपर्ने हुन्छ। हामी देश छाडेर गएका हैनौ,सीमानाले गर्दा त्यस्तो भएको भन्छन् भारतीय नेपालीहरू। उनले प्रवासी र परदेशी शब्द छुट्याउँदै भने, ‘आफ्नो मातृभूमि फर्केर आउने परदेशी र नेपाल नआउने प्रवासी नेपाली हुन्।’

कार्यक्रममा उमिहोतारुका लेखक कृष्ण बजगाई, समालोचक डा. फणिन्द्रराज निरौला, साहित्यकार पशुपति पराजुली ‘सालघारी’, प्राडा शिव गौतम, केशव पराजुली लगायतले आआफ्नो धारणा राखेका थिए। लेखक बजगाईका विभिन्न विधाका चौधवटा पुस्तक प्रकाशित छन्। उमिहोतारु उनको चौथो नियात्रा कृति हो। डायोस्पोरामा रहेर पनि साहित्य लेखन, पत्रिका र जर्नल प्रकाशन निकै कठिन कार्य भएको बताउँदै सहभागीहरूले बजगाईको प्रशंसा गरेका थिए।

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उमिहोतारुमा २१ नियात्रा सङगृहीत छन्। समकालीन साहित्य प्रतिष्ठान, बेलायतका सचिव डा. लेखप्रसाद निरौलाद्वारा सञ्चालित कार्यक्रम भुँडीपुराणका प्रकाशक केशवप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।  

प्रकाशित: १३ पुस २०७९ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App