१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

भूपि काव्य पुरस्कार उषा शेरचनलाई

भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली सेवा समिति पोखराद्वारा सञ्चालित पुरस्कार यसवर्ष काठमाडौं निवासी शेरचनलाई प्रदान गरिने भएको हो। 

पुरस्कार छनोट समितिको हालै बसेको बैठकले ‘भूपी काव्य पुरस्कार–२०७९’ शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए। पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष ईन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन छन्।

पुरस्कार ८९ औं भूपि जयन्तीकोे दिन आगामी पुस १० गते पोखरामा एक औपचारिक कार्यक्रम आयोजना गरी प्रदान गरिने उनले बताए। पुरस्कार नगद ५० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ। पुरस्कार नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई हरेक दुई वर्षमा प्रदान गर्ने गरिन्छ।

यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्न शमशेर थापा, र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन्। पुरस्कृत हुने शेरचनको नजन्मेका आस्थाहरु कविता संग्रह (२०४८), अक्षरहरुका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रंग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जन बढि कृतिहरु प्रकाशित छन्।

उनी यसअघि व्यथित काव्य पुरस्कार २०४३, व्यथित काव्य वनिता पुरस्कार (२०६९), योगेश्वर कला सहित्य पुरस्कार (२०७०), नातिकाजी संगीत पुरस्कार (२०७२), वासु शशी स्मृति वानीरा पुरस्कार (२०७८), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) बाट पुरस्कृत भईसकेकी छिन भने रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक (२०४५), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), विश्वनारी नेपाली साहित्य पदक (२०७१) , भानुभक्त स्वर्ण पदक (२०७१) र सत्यमोहन जोशी शताब्दी पदक (२०७३) बाट सम्मानित भईसकेकी छन्।

बिस १९९२ साल पुस १० गते मुस्ताङमा जन्मिएका भूपी एक सशक्त कवि हुन्। लेखनको प्रारम्भिक चरणमा सर्वहाराका लागि कविता लेखेर चर्चा कमाएका उनी पछि समसामयिक विषयमा सरस र व्यंगात्मक कविता लेखेर आफूलाई साहित्यिक क्षेत्रका उज्वल नक्षत्रका रुपमा स्थापित भए। उनका ‘घुम्ने मेच माथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ। भूपीले सो कृतिबाट २०२६ सालको साझा पुरस्कार समेत पाएका थिए।

नारायण गोपालको स्वर र भुपीको शब्द रहेको अल्झे छ क्यारे पछ्यौरी गीत निक्कै चिर्चित र अजम्बरी गीत मानिन्छ। परिर्वतन नाटक (२०१०), नयाँ झ्याउरे कविता (२०१०) र निर्झर कविता (२०१५)उनका प्रकाशित कृतिहरु हुन्।

प्रकाशित: २७ मंसिर २०७९ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App