१३ माघ २०७९ शुक्रबार
कला

डा. हिमलाल श्रेष्ठका पाँच लघुकथा

लघुकथा

डा. हिमलाल श्रेष्ठ

१) सोलीफिस्टो

हजुरआमा र मेरो दोस्ती खुब जम्थ्यो। म उहाँलाई घरको काममा सहयोग गर्थें र उहाँले मलाई माया थप्नुहुन्थ्यो। मायाको चिनोस्वरूप थपिएको दूध, चिउरा, घिउले झानेको भुजा पाउँदा म पुलकित हुन्थें। बिहान४ बजे हजुरआमाले मलाई उठाउनुहुन्थ्यो। कहिलेकाहीं राति सक्नुपर्ने बिहानको काम भए म पनि सहयोग गर्थें। धेरैजसो म पढ्न बस्थे, हजुरआमा ढिकीजाँतोमा व्यस्त हुनुहुन्थ्यो। पढाइको काम सकेपछि पानी ल्याउने, मोही पार्ने, दूध तताउने जस्ता काममा धेरैजसो र कहिले कसो घाँस काटेर घर आइपुग्दा खाना तयार हुन्थ्यो र खाना खाएर स्कुलका लागि तयार भैइन्थ्यो। स्कुल पुग्न १ घण्टा लाग्थ्यो। बाटाभरि साथीहरूसँग कुराकानी हुन्थ्यो। घर भुसुक्क बिर्सिन्थ्यो। स्कुलबाट छुट्टी भएपछि १ घण्टा हिंडेर साँझमा घर पुग्दा थालभरि मकै र बटुकाभरि मोही पाइन्थ्यो। फेरि पुलकित हुने पालो मेरै हुन्थ्यो।

खाजा खाइसकेपछि फेरि बेलुकाको काममा लगिन्थ्यो। काम सकेर आउँदा झमक्क साँझ पर्थ्यो। खान तयार हुनुअघि पढाइतिर लागिन्थ्यो। अक्सर खानापछि सुतिन्थ्यो। जब शनिबार अथवा अन्य बिदाको दिन हजुरआमासँग धेरै नजिक भएर बस्न पाइन्थ्यो तब म हजुरआमासँगै तरकारी, सागसब्जीको जोहो गर्न लगिन्थ्यो। बारीभरि भिन्डी, घिरौंला, भ्याकुर र करेला फलेका हुन्थे। दुवै मिलेर टिपिन्थ्यो। बारीमा त्यो बुट्यान छिचोलेर तरकारीको जोहो गर्नु पनि कठिन काम हुन्थ्यो। किराफट्यांग्रा परिहाल्छ कि भनेर माकुरा जालो थापेर बसेको हुन्थ्यो। बारीभरि माकुराको जाली जालो सेताम्मे देखिन्थ्यो। शीत पर्ने मौसममा जालोमा अड्केको शीतको थोपामा परेको झुल्के घाम टलक्क टल्किन्थ्यो। माकुराको जालोले पनि रमणीयता थप्थ्यो। सँगसँगै कपासको बोटमा फुलेको सेतो फूलले झनै रोमाञ्चक थप्थ्यो। कहिलेकाहीं त असुरो लगायत अन्य पातहरू जोरेर आफ्नो घर बनाउँथ्यो, सोली फिस्टो र हजुर आमाले ससाना पात जोडेर कसरी त्यो सानो चराले आफ्नो गुँड बनाउँथ्यो भनेर देखाउनुहुन्थ्यो। खुब रहर लाग्थ्यो हेर्न। नजिकै फुलेको कपासका फूल ल्याएर ससाना पात जोडेर सोली आकारको घर बनाउँथ्यो र बच्चा कोरल्थ्यो र उडाउँथ्यो। आफूजस्तै ससाना प्रकृतिप्रेमी चरा-सोलीफिस्टो। त्यो सोलीको घरसँगै जोडेर माकुरा जाल थाप्थ्यो र नजिकै भीमसेनपाती झ्याङमा ढुकुरले घर बसाउँथ्यो। जब तरकारीको जोहो गर्न हामी बारीमा छिथ्र्यौ तब ढुकुर भुर्र उडेर भाग्थ्यो।

हजुरआमा डाली भर्न लाग्नुहुन्थ्यो। म भने बारीभरि लटरम्म फलेका अम्बा टिप्नतिर लाग्थें।

२) काग र कोइलीको हानाथाप

‘होइन, कसले बिगार्छ मेरो गुँड’ अल्छी चराले दुख पोख्यो। ‘दिनभरि लगाएर काठको झिंजा खोजेर घर बनाए अहिले बास बस्ने बेलामा लथालिङ्ग छ त।’

नजिकै भएको अर्को चरा बोल्यो, ‘ऊ हेर न, न आफू घर बनाउँछ न अर्काले घर बनाएको देखिसहन्छ। उसकै काम त होला नि।’

ऊ भने एउटा हाँगाबाट अर्को हाँगा, एउटा रुखबाट अर्को रुखमा हाम्फाल्दै व्यस्त थियो।

चिर्बिरचिर्बिर गर्दै अर्को चराले थप्यो, ‘उसको त मुटु नै छैन भन्छन्। ऊ आउँछ, सोइसाला खेल्छ, उथलपुथल पार्छ, र सबै बिगार्छ।’

अल्छी भए पनि बडा परिश्रम गरेर कागले आफ्नो गुँड तयार गयो र यो वर्षको उसको उपक्रम शुरू भयो। ढंग त त्यति थिएन तथापि ओत लाग्ने कामचलाउ गुँड बनायो। दिनभरि यताउता गर्थ्यो, चाहर्थ्यो र खुब खोजीनिती गर्थ्यो।

भनिन्छ-ऊ मानिसहरूको समाचारवाहक हो। कहिले खुशीको, कहिले दुखको समाचार बोकेर चारचौरास घुम्थ्यो। साँझ परेपछि गुँडमा फर्कन्थ्यो। उसलाई आफ्नै गुँड नौलो लाग्थ्यो। उसलाई लाग्थ्यो-आफ्नो अनुपस्थितिमा कसैले ढलिमली गर्दैछ।

रङ्ग उस्तै छ, जिउडाल उस्तै छ। जबसम्म कराउँदैन कसैले चिन्दैनथे-ऊ काग हो कि कोइली। कग हरेक दिन आफ्नो गुँडमा अन्डा थप्थ्यो। अल्छी कोइली न घर बनाउँथी न ओथारो बस्न रहर गर्थी। खाली रनबन डुल्यो, बनै थर्क्याउने गरी ‘कुहूकुहू’ गर्‍यो हिंड्दियो।

जब काग बाहिर निस्कन्थ्यो, कोइली सुटुक्क छिरेर कागको अन्डा फुटाएर खान्थ्यो र आफ्नो अन्डा छाडेर जान्थ्यो।

काग जब ओथारो बसेर चल्ला निकाल्थ्यो। सबै चल्ला आफ्नै जस्तो ठानेर हुर्काउँथ्यो। कुनैकुनै चल्ला अरूझैं नबढेको देख्दा शंका हुन्थ्यो। तर,दोधारमा बस्दाबस्दै चल्ला ठूलो हुन्थ्यो। जब कोइली हाँगामा बसेर कुहूकुहू गर्थ्यो तब उसका चल्लाहरू जति कागलाई छोडेर भुर्र उडेर जान्थ्यो। यो क्रम हरेक वर्ष चल्थ्यो। यो क्रम दोहोरिएकाले कागलाई विरक्त लाग्थ्यो। एक वर्ष उसले गुँड नबनाउने र बचेरा नजन्माउने निर्णय गरेर गजधम्म रुखको हाँगामा बसिरह्यो। त्यो वर्ष कोइली नजिकै आएर धेरै बिलौना गर्‍यो।

कोइलीको रुवाइले रनवन सारा रोएजस्तै देखिन्थ्यो। कागलाई पनि कस्तोकस्तो खल्लो लाग्यो। त्यो वर्ष मौसम पनि प्रतिकूल थियो। हिउँदमा खुब हिउँ पर्‍यो। चैत्रमा डढेलाले बने सखाप पार्‍यो। उखरमाउलो गर्मी बढ्यो। वर्षा याममा बाढीपहिरोले धेरै रुख बगाएर लग्यो। कागलाई अफसोच लाग्यो, ‘होइन यो वर्ष त म बचेरा काढेर आकाशमा उडाउने छु। जब बचेरा उडाउन कागको बथान काँकाँ गर्दै थियो। नजिकै रुखको डालीमा बसेर कोइली पनि कुहूकुहू गर्दै नाच्दै थियो।

 ३) बा र बार्दलीको घाम

बा एकदिन बार्दलीमा घाम तापिरहेका थिए। अकस्मात् उनलाई खोई कताबाट हो फोन आयो, ‘हेलो, म बार्दलीमै छु। घाम तापिरहेको छु।’

उनको आवाज अलिक उँचो हुँदै गयो। उताबाट कसैले जिस्काएको जस्तो आभाष भयो।

फेरि उनले चिच्याएको स्वरमा बोले, ‘सुन्नुभएन, म बार्दलीमा घाम तापिरहेको छु। कुर्सीमा बसिरहेको छु्र। तपाई कुरा गर्नुहुन्छ।’

अन्तर्वार्तामा बोलेझैं उनले भने, ‘त्यो मेरो खुशी हो। कुर्ची मेरो थियो। मैले कुच्याएँ, बिगारें, भत्काएँ र फालें। त्यो मेरो खुशी हो। त्यस्ता कुर्ची सयौं बनेका छन् र म आज त्यस्तै कुर्चीमा बसेको छु। आरामले बार्दलीमा बसेर घाम तापिरहेको छु।’

फोनमा उनलाई अझै जिज्ञासा नमेटिएको प्रश्न आए जस्तो छ।

जवाफमा उनले फेरि भने, ‘होला, कसैलाई त्यो नमिठो लाग्दो हो। छिमेकीले होहल्ला भो भने होलान्। बुढा भएका मान्छे त खुरुखुरु कुर्चीमा बस्नु र लुरुलुरु अफिस धाउनु भन्ने मनसाय होला। त्यो त उहाँहरूको कुरा हो। मेरो त कुरा अर्कै छ।’

अहिले भने ह्यान्डस फ्रि गरेकाले आवाज बाहिरै सुनिन्थ्यो, ‘के कुरा हो?’

बाले प्रस्ट पार्ने कोसिस गरे, ‘हेर बाबू, पत्रकारिता तिमीले राम्रै अंक ल्याएर पास गरेकै होलाऊ। मेरो कुरा मैले अहिलेसम्म दोस्रो हुन जानेको छैन। स्कुल पढ्दा होस्, कलेज पढ्दा होस् या त तिमीले सोधेको राजनीतिमा होस्, म सधं प्रथम छु। अनि अहिले आएर म जहाजको दोस्रो पाइलट हुन मन्जुर हुन्छु त? हो त्यही हो कारण।’

अझै चर्को स्वरमा बोल्दै गए, ‘एकपटक हो र! दुईदुई पटक त्यो नाटक मञ्चन भो। मैले होइन! उनीहरूले गरे। मेरो आशय त के थियो र? म मेरो इच्छा जसलाई छ उसलाई कुर्चीको बकसपत्र गर्छु भन्ने थियो। त्यसमा ल्याप्चे लगाउ भन्ने थियो। उनीहरूले मानेनन्। कुर्ची क्षतविक्षत भयो। त्यो कुर्ची गयो त के भो, म अहिले कुर्चीमा बसेकै छु। कुर्चीमा बसेर बार्दलीमा घाम तापिरहेकै छु।’

४) असल शासन-सुशासन

नेपाल भर्खरभर्खर गणतन्त्रमय बनेको समयको कुरा हो। च्याउसरि उम्रिए-युवा संघ, सुशासन महासंघ, केके हो केके।

तीमध्ये एकजना जुझारु मित्र भेट भए। उनको इनर्जी अनि संवाद सुन्दा लाग्थ्यो–देश किन बनेन भन्ने प्रश्नको जवाफ यतै भेटिएला कि। विश्व राजनीति, राष्ट्रिय राजनीति, नेपालको राजनीतिको उतारचढाव, विद्रोहको आवाज, किसान, मजदुरहरूको स्थानबाट हेरिएको दृष्टिभाव सबैको कुरा भयो। आगामी दिनमा सँगसँगै देश विकासमा, समाज परिवर्तनको सवालमा, जनताको परिवर्तन र विकासप्रतिको उत्कट चाहनाका लागि काम गर्ने कुरा भयो। मेहनतका साथ किसान र मजदुरहरूले आफ्नो परिश्रमको मूल्य नपाउनुमा, उनीहरूले एउटा स्तरीय जीवन जिउन नपाउनुमा, देशमा मौलाएको भ्रष्टाचार हो, अन्धविश्वास र जातीय, लिंगीय र वर्गीय थिचोमिचो हो भन्ने कुरामा सहमत भयौं। यो सबैको शुरूवात असल शासन अर्थात् सुशासनबाट गर्नुपर्छ र त्यो नै आमजनताको विद्रोहको अभिव्यक्ति हो। भ्रष्टाचारको अन्त्य गर-सुशासन कायम गर। उपयुक्त नारा तय गर्‍यौ।

अब छुट्टिने समय भयो। अमुक नगरपालिकाको राम्रै बजेटमा होटेल तालिमको अफर छ-सुशासन विशेषज्ञको रूपमा काम गर्नुहुन्छ त केही रकम नगरपालिका स्वयंलाई दिनुपर्ने र केही रकम सुशासनको काम गर्ने संस्थालाई अनि लागेको खर्च काटेर केही रकम प्राप्त हुने प्रस्ताव गर्नुभयो।

म अक्क न बक्क। के यही हो त सुशासन? भनसुनबाट काम सम्पन्न गर्ने-त्यो पनि सुशासनको तालिम।

५) मनको कथा

मलाई लाग्छ, म अझै मेरो भूमिसँग जोडिनुपर्छ। त्यसैले म सधैं मेरा बालसखा मोहनसँग निरन्तर सम्पर्कमा रहन्थें र घन्टौं गफमा मस्त रहन्थ्यौं। हामी देश अनि समाज विकासको, राजनैतिक खिचातानी, शैक्षिक माहोल अनि साहित्य लेखन, लोकसंस्कृति र त्यसभित्र क्रमशः भित्रिंदै गरेको अराजकता र विकृतिहरूको कुरा गर्थ्यौ। समय बितेको पत्तै हुन्थेन।

उनी मेरा हरेक प्रकाशनको कामका लागि मेरोभन्दा धेरै तनमनका साथ लागेर काम फत्ते गराउँथे। चेपाङ जाति विषयक मेरो कृतिको प्रकाशनमा उनको खटाइ धेरै थियो। विदेशमा रहेर स्थानीय जातजातिको संरक्षणमा टेवा पुर्‍याउने कृति प्रकाशन गर्दै योगदान गरेकोमा राष्ट्रिय पुरस्कार पाएको  थियो। पछि पुरस्कार थाप्ने क्रममा मेरो भावुकता चुलिएको थियो। पुरस्कार बापतको रकमसहित उनको संरक्षकत्वमा चेपाङहरूको शिक्षामा टेवा पुर्‍याउने कोषको स्थापना गर्ने घोषणाका लागि मोहनलाई मनाउन कसरत गर्नुपरेको थियो। म सपनामा पनि आफैले छानेका पात्रहरूसँग सम्वाद गर्छु, ‘कहिलेकाहीं मलाई लाग्छ-बुद्धले दरबार छोड्दाको समयमा म त्यहीं भएको भए, योगमायाले जल समाधिमा लाग्दा म त्यहीं अरुण नदीको तटमा भएको भए र द्रौपदीको चिरहरण हुँदाको सभामा त्यतै कतै उभिएको भए, झोला बोकेर शरणार्थी बन्दै हिंडेका ब्रहमपुत्रको छेउछाउ डुल्ने नेपालीहरूसँगै म पनि लुखुरलुखुर हिंड्दै गरेको भए, भन्ने जस्ता काल्पनिकताले मलाई बारम्बार झस्काइरहन्छ। यथार्थमा पनि म स्वदेश फर्केर अहिले बाँचेका ऐतिहासिक पात्रहरूसँग एकाकार भएको रोमान्चकतामा समय गुजार्ने गर्दछु।

एकदिन नेपालबाट मोहनको भाइ महेशले गरेको फोनको मलाई अझै सम्झना छ–हजुरको पछिल्लो प्रकाशित कृतिले यो वर्षको मदन पुरस्कार पार्‍यो। खुशीमा मान्छे झन् बढी स्खलित हुन्छ र विस्मृतिमा नदुख्नुपर्ने, बिलाउनुपर्ने चोटहरू झन् ऐंठन पार्न आउँछ र गलामा अप्ठ्यारो बनाउँछ। मनमा लागिरह्यो, मेरा कृतिका पात्रहरूलाई देशभित्रै रुवाबासी गर्दै संघर्ष गर्न छाडेर आफू भने उनीहरूकै कथा लेखेर पुरस्कार विजेता बन्दा पात्रहरूको संघर्षको अगाडि आफूलाई धेरै तल भएको महसुस गरें। वास्तवमा मैले मोहनको अभाव महसुस गरें।

प्रकाशित: २४ मंसिर २०७९ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App