११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

वाह श्रीअन्तु !

सानो झोला बोकेर आफ्नै देशको छहरा.पहरा घुम्न नपाएको पनि धेरै समय भएको थियो। कहिले कोभिड महामारी, कहिले डेंगु त कहिले के, कहिले के। कामको व्यस्तता पनि उस्तै। तर पनि गत हप्ता भिन्नै एउटा जिम्मेवारी लिएर प्रदेश १ को झापा–इलाम जाने अवसर मिल्यो। पहिलो पटक जाने भएकाले होला, जानुअघि नै मन प्रफुल्ल थियो।

 

उक्त क्षेत्रको चिया बगानको बखान निकै पहिलेदेखि नै सुन्दै आएकी थिएँ। अर्थाेडक्स र सिटिसी मिलाएको दुध चिया अनि दुधमा चिनी र अदुवा राखेर आगोको तापक्रम मिलाएर बनाइएको चिया। अझ कहिले सुकमेल र ल्वाङ अनि कहिले मरिचसमेत हालेको चिया। सम्झँदै पनि मुख मिठो भएर आउँछ। चियाको यस्तो पारखीलाई चियाकै खानी झापा–इलामका बगान पुग्न पाउनु ठुलो हर्षको विषय बन्ने नै भयो। त्यसैले चियाका बगान पनि हेर्न पाउने लालसाले मन पुलकित थियो।

 

धेरै ठाउँमा चिया पिएकी छु। कति ठाउँमा त यति मिठो स्वाद कि बयान गरिसाध्य नै छैन। ल्वाङ, सुकमेल, अदुवाजस्ता मसलाबिना पनि यति मिठो चिया कसरी बन्दो हो ? उत्तर दिनेहरू भन्थे– महिलाको हातले मलेको अर्थाेडक्स चिया भएकाले..., चिसोले खाएको अर्थाेडक्स हो नि त..., तीन पातको कलिलो मुना मात्रै प्रयोग गरेपछि मिठो हुन्न त... आदि। काठमाडौंमा कहाँ पाइन्छ भनेर सोध्थें। भन्थे– यस्तो चिया त विदेशतिर मात्र पाइन्छ।

जब आफूले खोजेको र चाहेको चिज भेट्न विदेश हैन, आफ्नै मुलुकको वास्तविक ठाउँ पुगें, आनन्दित नहुने कुरै भएन। त्यसैले कन्याम, फिक्कलका थुम्काहरू कलात्मक शैलीमा फिँजारिएका चियाका बुटालाई मन लागुन्जेल सुम्सुमाएँ। अनि प्रत्येकको घरमा बिहानै पाक्ने सुगन्धित चियाको वास्तविक रूप र स्वाद उत्पत्ति स्थलमै गएर नियालें। अहिलेको कालमा ‘चियाबारीमा हो... चियाबारीमा’ गुन्गुनाउँदै तस्बिर नखिच्ने त को नै होला र ?

यात्री न परियो। फिक्कल पुगेपछि श्रीअन्तु के छाडिन्थ्यो र ? फिक्कलबाट गाडीमा मात्र सवा घण्टा पर रहेछ श्रीअन्तु। थुम्कैथुम्काबीच जता हेर्‍यो उतै हरिया डाँडा। सयपत्री र लालुपाते अनि गोदावरीले थपिएको रमणीयताको रसास्वादन वर्णन गर्नै गाह्रो छ। लाग्थ्यो, प्रकृतिले श्रीअन्तुलाई बेहुलीको पहिरनमा सिँगारिदिएको छ। जति हेरे पनि नअघाउने। सुन्दरी... असाध्यै सुन्दरी...।  

होमस्टे पनि कस्तो आकर्षक। रङमा रातो, हरियो, पहेंलो अनि आकारमा चुच्चे चुच्चे, फुच्चे फुच्चे घरहरू। श्रीअन्तुका अगाडि तिनको पनि कम्ता थिएन आकर्षण। मानौं, जन्तीलाई स्वागत गर्न हतारिएका घरगाउँलेजस्ता। यी सबै दृश्य नियालिसकेपछि लाग्यो– मानिस त्यत्तिकै झुम्मिएका हैनन् श्रीअन्तु पुग्न। चियाका बगान, थुम्के बनावट र बाटाका फूलहरू मात्र हैन, घर र मानिसका शैली पनि कम्ता लोभ्याउने देखिएनन्।  

दुई तीन वर्षयताको महामारी अनि डेंगुका कारण व्यवसाय मन्दप्रायः बनेका थिए। जसले सोच्ने शक्तिमा समेत ह्रास ल्याएको थियो। चिन्तनमननलाई प्रभावित तुल्याएको थियो। आशा अनि सकारात्मकतालाई डाँडो कटाएको थियो। तर धेरैपछि मन हल्का भयो श्रीअन्तुको काखमा बस्न पाएपछि। मनमा आशा पलायो। सकारात्मकताको गुन्जायस मिल्यो।

हुन पनि नेपाल प्रकृतिकै देन हो। जसलाई श्रीअन्तुले पनि पुष्टि गर्‍यो। के छैन यति सानो भूभागमा ? हिमाल, पहाड र तराई यही देशमा छ। विश्वको अग्लो हिमाल सगरमाथादेखि तिलिचो तालसम्म यहीं रमाएका छन्। एकाध घण्टाकै यात्रामा अत्यन्त चिसोदेखि अत्यन्त गर्मीसम्मको मौसमी विविधता यहीं छ। गगनचुम्बी चुचुरादेखि पानीसमेत टक्क अडिने समथर स्थलसमेत यही मुलुकको आकर्षण हो। त्यसैले त प्रकृतिप्रेमीहरू यहाँ भौतारिइरहन्छन् मात्र साङ्ग्रिलाको खोजीमा, पाखा-पखेरा, खोल्सी, कुलेसो केही नभनी। भिर र कन्दरालाई अँगालो हाल्दै, ढुङ्गाको सिरानीमा रमाउँदै श्रीअन्तुको काखमा केही छिन थकाइ मार्दा यस्तै यस्तै भावना एक एक गरी मनभरि आइरहे।

‘अतिथि देवो भवः’ नेपालकै विशेषता हो। जुन श्रीअन्तुमा नहुने कुरै भएन। करिब ९४ प्रतिशत भूभाग होमस्टे र चियाबगानले ढाकिनु आफैमा पृथक विशेषता हो। अझ सिरानीमा विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८५८६ मिटर) टल्काउन सक्नु श्रीअन्तुको अर्को सफलता मान्न सकिन्छ। राई, लिम्बु, तामाङ जातको रहनसहन, रीतिरिवाज र परम्परा पर्यटकलाई लोभ्याउन निकै सफल देखिए। फापरको रोटी, रुख टमाटर, अकबरे अनि भक्काको अचारको स्वाद अझै पनि जिब्रोमै टाँस्सिइरहे जस्तो। करम करम गर्ने नरम नरम रायोको साग, लोकल कुखुराको रस, झ्वाइँय पारेको इलामे तातो घिउ, भातलाई त ठेलेको छ, ठेलेको छ, ओरालोको गाडीजस्तो रोकिँदै नरोकिने। हेर्ने मान्छे पनि छक्कै पर्ने गरी खाइयो। काठले बनाएको चुच्चे घरको सफा ओछ्यानले निद्रालाई डग्मगाउन दिने कुरै भएन।

श्रीअन्तु खासगरी सूर्योदयको दृश्य हेर्नका लागि विख्यात छ। हामी पनि यहाँ आइसकेपछि यो अवसरलाई गुम्न दिने पक्षमा थिएनौं। त्यसका लागि अन्तु टावर हाम्रो अबको गन्तव्य थियो। होटलकी दिदीले अन्तु टावर जानका लागि ४ बजे नै उठाउने वचन दिनुभयो। त्यसैले तोकिएको समयमा नउठिएला भनेर सुत्ने तरखरमा लाग्यौं। फेरि चिसो पनि कम्ता थिएन। जसले सिरकतर्फ जान घच्घच्याइरहेको थियो।

बिहान हिँड्दा सवा ४ बजेको थियो। आधा बाटोसम्म जानका लागि ट्याम्पो र गाडीको व्यवस्था थियो। त्यहाँबाट माथि जान घोडाको व्यवस्था पनि थियो तर हामीले भने मर्निङ वाकको अवसर गुमाउन चाहेनौं। ६ बजेर १० मिनेटमा सूर्याेदय हुने जानकारी दिइएको थियो। त्यसैले अन्तु टावर पुगिसकेपछि पनि हामीसँग केही समय बाँकी रह्यो। यो मौकामा हामीले तातो तातो भक्कासँग अर्थाेडक्स चिया पियौं। मैले त चिया पनि एकैपटक २ ग्लास पिएँ, के थाहा फेरि पिउन पाइन्छ कि पाइँदैन ?

‘एक छेउबाट अर्काे छेउसम्मै राताम्मे आकाश’– आम्मामा सूर्योदयअगाडिको त्यो दृश्य ! वर्णन गर्ने कुनै शब्द नै भेटिएन। हामी सबै मन्त्रमुग्ध भयौं। हामी सबै सूर्यलाई आफ्नो पोल्टामै कैद गर्न चाहन्थ्यौं। त्यसैले हात फैलायौं पनि तर दुनिया हाम्रो चाहनामा मात्र के चल्थ्यो र ? प्रकृति हाम्रो वशमा के हुन्थ्यो र ? जे होस्, जिन्दगीको अविस्मरणीय मजा लिइयो। त्यत्तिकैमा एकजना आध्यात्मिक साथीले भन्नुभयो कि यो क्षण शक्तिशाली हो, यसबखत धेरै ऊर्जा हुन्छ, हामी सूर्यलाई सम्झेर ध्यान गरौं। नभन्दै यो क्षण यति शान्त अनि मनमोहक र यति सकारात्मक ऊर्जाशील थियो कि वर्णन गर्नै सकिन्न।

यो दिन मात्र ३–४ सय थिए सूर्योदय हेर्ने। अझ सार्वजनिक बिदाका दिन त यस्तो सङ्ख्या १२–१३ सय पुग्छ भन्दै थिए स्थानीय। म भने त्यहाँ पुग्नु त के, यस्तो ठाउँको जानकारी पाउनबाट समेत वञ्चित रहेछु। त्यसैले ती झापाली महिला उद्यमीप्रति आभारी छु, जसले झापा आएका बेला यस्तो धार्मिक, आध्यात्मिक र पर्यटकीय भूगोलमा जान सुझाए।

प्रकाशित: २४ मंसिर २०७९ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App