७ वैशाख २०८१ शुक्रबार
कला

मैनालीको ‘पृथक् बाटो’मा टन्डेली

समीक्षा

आफ्नै कुरा आफैं भनिरहूँ कि म बिनाकाम, बिनाप्रयोजन पनि घुमिरहने घुमन्ते स्वभावको छु। एक्लै आफ्नै तन्द्रामा टहलिने मेरो स्वभाव छ। टन्डेली मार्नुको पनि विशिष्ट मजा हुन्छ। कुनै एक दिन खासै कामै नभई लमजुङको बेंसीसहर पुगेको थिएँ। सुनेको थिएँ लमजुङको सिडियो सा’ब घागडान साहित्यकार हुनुहुन्छ। २ दिन बस्ता पनि भेट्न भने मेसो नमिलेका मैनाली पछि सुरभि साहित्य प्रतिष्ठानको एउटा कार्यक्रममा भेटिए। म रोमाञ्चक बनें र उनलाई कुशल समालोचक भनेर त्यतिबेलै चिनें।

समयका दौरान मैले सम्पादन/प्रकाशन गरेको संयुक्त लघुकथासंग्रह ‘मदुस’ मा मैनालीको लघुकथा ‘टप्केको कुरा’ समेटेको पनि सम्झना छ मलाई। र, २०७९ सालको बर्से झरी याममा म नेपाल पुगेका बेला चक्रपथको रिचमन्ड रेस्टुरेन्टमा गुणात्मक भेट हुने अवसर जुर्‍यो। साहित्यिक विचार, साहित्यको वर्तमान अवस्थाको आरोह-अवरोहबारे गफिएका थियौं। साहित्यकै अनुभव साटासाट गरेका थियौं। र, आआफ्ना पुस्तक आदानप्रादन गरेका थियौं। त्यहीबेला उनको लघुकथासंग्रह ‘पृथक् बाटो’ उपहार पाएको थिएँ र अमेरिकामा फर्केपछि ‘पृथक बाटो’ ले बनाएको गोहोभित्र छिर्ने प्रयत्न गरेको छु। पुस्तकभित्रका गल्छेंडा तथा कुइनेटाहरूमा टन्डेली यात्राको गोलचक्करमा छु।

‘पृथक बाटो’ हार्ड कभरमा छ। मरुभूमिमा पृथक तर समानान्तर कुइनेटाका किरिङमिरिङ बाटाहरू कोरिएको जीवन बिम्बमा आवरण पृष्ठ छ। पुस्तकको पश्च भागमा लघुकथाकार मैनालीको साहित्यिक यात्राको परिचय छ। २०७५ सालमा तन्नेरी प्रकाशन काठमाडौंले प्रकाशन गरेको छ।

भूमिकाकार प्राडा खगेन्द्रप्रसाद लुइँटेलले ‘युवराज मैनालीका लघुकथारिता’ शीर्षकमा कृतिबारे रौंचिरा पारेका छन्। यही क्रममा मैनाली (२०१७) का प्रशासनिक, हास्यव्यंग्यकार, समालोचक तथा लघुकथाकार व्यक्तित्व मेरो परिचयमा आएका छन्।

कृतिभित्र २३३ लघुकथा छन्। २६४ पृष्ठ छन्। आकारको हिसाबले बृहत् छ। विहंगम तथा गहन कृतिको सबै पाटाबारे एउटा आलेखमा अनुशीलन गरिनु असम्भव नै हो। त्यसैले ‘पृथक बाटो’ भित्र जता पायो त्यतै टन्डेली मारेको छु।

मेरो टन्डेली यात्राको सारथि बनेको छ सुन्दर लघुकथा निर्माणमा चाहिने दर्बिलो कथावस्तु र सशक्त रूप विन्यासका दुई पांग्रा। एकको कमजोर प्रस्तुतिमा लघुकथा कमजोर बन्न जान्छ। कथानक गहन र भाव उत्प्रेरक भए पनि बुनौट कमजोर भयो भने याने प्रभावोत्पादन गर्न सकेन भने राम्रो लघुकथा बन्दैन।

मेरो बुझाइले भन्छ, विशेष तरीकामा लेखिएको लघु आख्यान लघुकथा हो। लघु हुँदैमा लघुकथा नबन्ने तथ्य पनि साथैमा छ। कुनै छोटो आख्यान लघुकथा भयो कि भएन भनेर मापन गरिने आधार रूप विधान हो। रूप विन्यास हो। याने कि त्यसको बुनौट हो। नेपाली लघुकथाको क्षितिजले लामो समय लगाएर नेपाली लघुकथाको गोहो निर्माण गरेको छ। हो, यही गोहो नै मेरो टन्डेली यात्राको आधार हो।

लघु कथानक, थोरै पात्र, छोटो आयाम, आकस्मिक उठान, संक्षिप्त एवं तीव्र बिस्तार, तीक्ष्ण उत्कर्ष, आकस्मिक समापन लघुकथाको फ्रेमवर्क हो। यद्यपि साहित्य फ्रेममा लेखिन्छ कि प्रेममा भन्ने बहस त अनवरत चलिरहने प्रक्रिया हो। तर पनि फ्रेमभित्र लेखिनेबित्तिकै प्रेम मर्छ भन्ने मलाई लाग्दैन। कौतूहलता लघुकथाको प्राण हो। र, कथानक, पात्र चरित्र, परिवेश तथा घटनाको विस्तारीकरण लघुकथा लेखनको बाधा हो। यही सन्जे पाठ गर्दै तथा हनुमान चालिसा गुनगुनाउँदै एक्लै ‘पृथक् बाटो’ को घनघोर जंगलमा पसेको छु। गवेषण गर्दै छु। अमल गर्दै छु।

संग्रहको शीर्षक ‘पृथक् बाटो’ छ। यसले किन पृथक भन्ने कुरा मनमा उठाइहाल्छ। सायद यसो हुनुको पहिलो कारण यसको आकार होला। ३/४ वटा लघुकथाकृति जन्मिने सामल यही कृतिमा प्रस्तुत गरिएकाले पनि यो पृथक भएको हुनसक्छ। विषयवस्तुका हिसाबमा यो लघुकथासंग्रहले बोकेका सामल सामान्य नेपाली परिवेशका घरगाउँदेखि विश्वबजारसम्म पुगेको देखिन्छ। याने विषयमा विविधता देखिन्छ। अर्कोतिर कृतिभित्र उठाएका विषयवस्तुभन्दा पनि प्रस्तुतीकरण शैली सर्वथा नवीन लाग्छन्। खास गरेर रूप विधानभित्र पृथकता भएको हुनाले यो कृति ‘पृथक बाटो’ भएको हुनुपर्छ। विषयसूचीमा वर्णनानुक्रम भएकाले पनि नौलो तथा पृथक् लाग्छ।

मेरो यो यात्राका दौरान सर्वप्रथम शीर्षक परेको छ। शीर्षक चयन प्रक्रियाका सन्दर्भमा हेर्ने हो भने लघुकथाको शीर्षकमा पनि कौतूहलता, लघु तथा विषयवस्तुसँग सम्बन्धित भयो भने सुन्दर हुन्छ भन्ने लाग्दछ। यद्यपि लघुकथाको अन्य तत्त्व आकस्मिक उठान, संक्षिप्त विकास, वक्ररेखीय तीव्र बहाव, तीक्ष्ण उत्कर्ष तथा हठात समापन जस्तो नभई नहुने तत्त्व भने होइन। तर, आवश्यक कुरा भने हो। किनभने कथावस्तु एकदम लघु हुने हुनाले लामो शीर्षक ‘चार आनेके मुर्गी, नौ आनेके मसला’ भने जस्तै हुन्छ। घनटाउके हुन्छ। त्यसकारण लघुकथाको शीर्षक चयन गर्दा कथावस्तुको कौतूहलताको रक्षा, संक्षेप याने पद वा पदावली र कथावस्तुको विषयसँग सम्बन्धित हुनुपर्छ। ‘पृथक् बाटो’ को गोहोभित्र गवेषण गर्दा करिबकरिब यो सिद्धान्त अनुसरण गरिएको देखिएको छ। अधिकांश शीर्षक पद वा पदावलीमा छन्। यो ज्यादै महत्त्वपूर्ण तथा सुन्दर कुरा हो।

लघुकथाको रासभित्र पस्दा देख्दै छु कि आकस्मिक उठान तथा समापनलाई हेक्का राखिएको छ। किनभने आकस्मिक उठानले पाठकलाई कौतूहलता प्रदान गर्छ। र, कौतूहलता लघुकथाको प्राण हो। कौतूहलताबिना लेखिएका लघुआख्यान लघुकथा नभएर छोटा कथा भइदिन्छन्। लघुकथाकार मैनालीको प्रस्तुत कृतिमा सङ्गृहीत लघुकथा उठानका हिसाबले छासमिसे छन्। धेरै लघुकथामा आकस्मिक तरीकाले उठान (उत्कर्ष २३), (अर्को यथार्थ २९), (कमाइ ५०)भएको छ।

लघुकथाको कथानकको विकास चरणमा संक्षिप्त विकास, वक्ररेखीय तीव्र बहाव, तिक्ष्ण उत्कर्षको आवश्यकता पर्छ। प्रस्तुत कृतिमा यो कुराको हेक्का राखिएको छ (अर्को यथार्थ २९), (कुन्नि किन ५६)। समापनमा पुग्दा धेरै लघुकथामा हठात तथा प्रतिध्वन्यात्मक समापन गरिएको छ (करामत ५२), (कस्तोकस्तो ५४)।

‘पृथक बाटो’ मा हिंडिरहँदा सन्देशका अनेक दृश्य भेटिएका छन्। देखिएका छन्। कृतिभित्र जीवनबोधी दृष्टिकोणहरू छ्याप्छ्याप्ती छन्। एउटा पुस्ताबाट अर्को पुस्तामा परिवर्तन हुँदा समाजमा देखापर्ने समस्या अनेक विधिबाट प्रक्षेपण गरिएका दृश्यहरू ‘पृथक् बाटो’ भरि छन् (अनुभूति २४)। त्यसलाई विचार पक्षले सजाइएको छ (अन्तर २५)। पूर्वीय सभ्यताको सवल पक्ष तथा जटिलताहरू व्यंग्यमार्फत् आएको देखिन्छ (अन्तर २५)। जीवनका जटिलताहरूलाई उन्नत वैचारिक धारले समाधान गर्ने प्रयत्न देख्दै छु बाटोभरि (प्रश्न १४६)।

मानवीय व्यवहारले उब्जाएको परिवेश ठूलाठालूले निमुखाको खुट्टा तान्ने प्रवृत्तिमाथि व्यंग्य भरपूर देखिएको छ। शीर्षक समेत सहेको पृथक् बाटोले जीवनबोध गराएको छ। वर्तमान मान्छेको आणविक तथा जीवाणु होडमााथि व्यंग्य (अमर मूर, आत्मा) प्रहार गरेको कुरा यात्रामा देखेको छु। जीवनलाई केलाउँदै जाँदा मानवीय अवस्थाप्रति सम्वेदना (अर्को क्रान्ति २८) व्यक्त गरिएको छ। शहरका पेटीमा बाइक हाँकेको बिम्बमा नेपाली समाजको मूल्यमान्यता (मूल्यमान्यता) लाई उजागर पारिएको छ।

पुस्तकको एउटा कुइनेटोमा नेपाली समाजका मान्छेले तुरुन्तै देवत्वकरण गर्ने र तुरुन्तै दानवीकरण गर्ने प्रवृत्ति (युगदृष्टि २०१) लाई मजाले चिरफार गरिएको देखिन्छ। चमेराको बिम्बमा नेपालीको साँघुरिएको बुद्धि २०५), मृत्युको भय (वातावरण २१५), अचारको बिम्बमा आचारको स्खलन (विचार २१६) लाई सिनेमाको पर्दामा झैं देखाइएको छ। पृथक बाटाभरि देखिएको जीवनबोधी शून्यता सुन्दर छ। लेखिएको छ-‘म शुन्य, म शुन्य। जगत् शून्य। ब्रह्माण्ड शुन्य। शून्यमा आवाजविहीन आवाजमा खोजी एउटा, सार्थक वा निरर्थक प्रश्नै प्रश्न...। अुनत्तरित प्रश्न’ (शून्य २२५)।

त्यही गल्छेंडामा जिन्दगी आफ्नो परिभाषा खोजिरहेको छ। जिन्दगीका मझेरीमा मायाले खेलेको वा खेल्न सक्ने भूमिकाबारे कल्पित छ जिन्दगी (अवलोकन३१)। खासमा जिन्दगी आफ्नो नाशवान् स्वरूपले त्रसित छ। त्यसमाथि विज्ञानले सोझै मानवीयतामाथि धावा बोलेकाले झन् चिन्तित देखिन्छ  

(असन्तुलन ३२), (आविष्कार ४०), (इच्छा र उपाय ४२)। र, त जिन्दगीले समयलाई सम्झँदै भन्छ ‘चेत त खुल्यो समय भट्किइसकेको थियो’ (आधार ३८)। मान्छेका घरआँगनमा एकातिर परिवेश छ अर्कातिर जिन्दगी छ र ती एक्लाएक्लै जुधिरहेका छन् (एक्लिँदै गएको परदेशी ४६)। त्यही बाटोको छेउमा एउटा मान्छे नामको जीव ‘ईश्वर छ कि छैन’ भनेर अन्योलतामा बाँचेको छ (बगाइ १५३)।

यसकारण यो ‘पृथक् बाटो’ मा मान्छेका जीवनहरू रोइरहेको देख्न सकिन्छ। टेन्सनमा छ मान्छे।

हिंडिरहँदा ‘पृथक् बाटो’ को एउटा गल्छेंडोमा राजनीतिक चहलपहल देख्दै छु। जनता राजनीतिककर्मीलाई बडो चतुरताका साथ व्यंग्य प्रहार गरिरहेको छ (आतुरी:३६), तर त्यही भीडमा जनताको गरिबीको फाइदा उठाएर चुनावमा भोट किन्ने नेता प्रवृत्ति (अवस्था-व्यवस्था ३०) पनि छ। चुनावमा धाँधली पनि सँगसँगै गर्दै छ (चलन ७०)। किनकि ऊ चुनाव जित्न आतुर छ। हुँदाहुँदा ज्ञानको ज्योति बाँड्ने कलेजका चुनावमा पनि गुण्डा परिचालन (बन्द गेट खुल्ला गेट) गरिएको देखेर राजनीतिक परिवेश चिन्तित छ।

यसरी बिग्रिएको राजनीतिक संस्कार (संस्कार २२७) ले देशैलाई एकदम चिन्ता बढाएको छ। त्यसैले पात्र भन्छ-‘मेरो सिङ्गो देश नै जडाउरी छ भने ’ (सन्तुष्टि २३४) म के गरूँ? त्यही बाटोको चौतारीमा बसेर नेपाली आफ्नै देशको राजनीतिमा विदेशी हस्तक्षेपको कहर (कस्तो-कस्तो ५४)खेप्दै छ। विद्रोह पनि गर्दै छ। परावलम्वन तथा परजीवी नेताको चित्र (चस्किन्छ मुटु ७१) ले चस्किन्छ मुटु। बाटाभरि लाठा लिएर उभिएका नेपाल बन्दका बन्दकर्ता उभिएका छन्। जनता नाम तैं चुप मैं चुप (तैं चुप मै चुप १०१) भएको देखिन्छ। त्यसैले त जनता भन्दै छ-‘उहिले राजाको सिन्डिकेट चल्थ्यो। अहिले चलिरहेको छ चार दलको’। तर के गर्नु? जतिसुकै राजनीतिकको विरोध गरे पनि, विरक्तिए पनि चुनावमा भने बुर्लक्क उफ्रेर नारा लगाउने जनताको अवसरवादी ताँती (नशा ११५) त्यहीँभित्र छ। नेपालको वर्तमान संविधानमा नेपाली नेता तथा जनताले थाहै नपाई धर्मनिरपेक्षता हालिएकोमा जनता मुर्मुरिएको पनि हेर्न देख्न सकिन्छ (निरन्तरता ११७)। बाटाभरि राजनीतिक निराशाका (बात मार्ने कुरा १६५) बारे बात मार्ने डप्फा भेटिएका छन्। ती देश माफियाको दबदबामा परेको (माफिया १९२) तथा नेताहरूको विलाशितामाथि रोष पनि प्रकट गर्दैछन्।

म अलमस्त तरीकाले हिंडिडरहेको छु। बाटैमा समाज देखिएको छ। सामाजिक जीवन विभेदको पुलिन्दा बोकेर (गन्तव्य ६४) उभिएको छ। नवशहरीया छोराले आफ्नै बाबुलाई गरेको बेवास्तामा चिन्तित बन्दै लोक कथा भन्दैछन् (परिवन्द १२६) बृद्ध बा। घरायशी अंशवण्डाको झगडाले निम्त्याएको एउटा लास (बलियो को?) त्यही बाटोको धुलोमा लडेको छ। कसैका कुरा नसुन्ने भूकम्प महादेवीको विम्बमा आफ्ना सन्तान अटेरी भएकोमा (महादेवी १८९) चिन्तित बनेको छ एउटा पुस्ता। बाटाभरि सामाजिक गरिबी मल खाडीको झारजस्तै फस्टाएको छ। र त भन्छ-‘यो घर अलिक गरिब भएर छरछिमेकको प्रेत बाधाले सताएको’ (मेकाजिन्म) छ। बाटोभरि नेपाली विपर्यास समाजको चित्र टाँगिएको छ। ‘शान्ति र सदभावलाई फालेर दोषै दोषको पोको बोकेर हिँडेको छ समाज (बिउ १७०)।

सासू-बुहारीका परम्परागत झगडाहरू (कमाइ ५०), भारतीय कोठीमा बेचिएकी नेपाली चेली (करामत ५२), विवाहपूर्वको शारीरिक सम्बन्धले उब्जाएको परिवेश (छेस्का ७९), पैसा तिरेर सिनेमामा हिरोइन बन्न दौडेकी महिला (पाउनु हराउनु १३२), पुरुषले महिलामाथि गरेको भौतिक तथा मानसिक यातना सहँदै विद्रोह (विद्रोह २१७) गरिरहेको महिला जगत्, प्रेम-शब्द सत्य २२४), स्त्रीको सङ्गतले पुरुषको कलाकारिता समाप्त भएको (फूलबुट्टे रुमाल १५१) जस्ता परिवेश बाटाकै सामुन्नेमा झोक्राएर बसिरहेका छन्।

यही हारमा मसिनो स्वरमा जवानीमा नलेखिएका/नभोगिएका/नभनिएका स्मृतिका कथा (बसाइ १६१) पनि छन्। धिमा स्वरमा यौनको आवश्यकता तथा यौन स्वतन्त्रताको कुरा (आधुनिकता ३९) उठाइरहेका छन् । र, पैसा कि माया भन्ने द्वन्द्व (लवज २१३) सिर्जना गरेर चिन्तन गर्न बाध्य बनाएका छन्।

बाटो लामो छ। पृथक् छ। बाटाभरि अभाव र महँगी छन्। घुस प्रथाको बिगबिगी छ। कसरी इमानदार कर्मचारीलाई घुसमा फसाइन्छ भन्ने परिवेश (ईर्ष्या ४३) छ। भ्रष्टाचारी, कालाबजारी र लोडसेडिङ (कुरै कुरामा ५७), सडक खाल्डाखुल्डी, पानीको अभाव र भोक (घटना दुर्घटना ६६), अभाव महँगी र टेन्सनमा बाँचेको जिन्दगी (दैनिकी १०६), महँगी तस्करी (ताली ९८) आदि समस्या ‘पृथक बाटो’ भरि जताततै छरिएका छन्।

बाटोको एउटा भड्खालोमा वैदेशिक रोजगार देखिन्छ। नेपालबाट कसरी बाध्य भएर एउटा होनहार नेपाली विदेश भासिन्छ भन्ने चित्र (पलायन) प्रदर्शनीमा छ। वैदेशिक रोजगारीमा गएकाको लास फर्किएको दर्दनाक दृश्य (निर्यात ११६), आयात-निर्यात रेमिट्यान्स, वैदेशिक रोजगारीले रित्तिएको नेपाली समाज (फूलको आँखामा),नेपाली योजनाकार र कफनमा आउने लास (म पनि कैदी नै १८४), वैदेशिक रोजगारीमा गएकाका श्रीमती पैसा सहति टाप कसेकी (माटो १९१) विविध सामाजिक विपर्यास चित्र यही बाटोमा छ।

अर्कातिर लुम्रे लेखक बाटैमा पीडा थाप्लामा बोकेर थचक्क बसेको छ। लेखक तथा प्रकाशकको अवस्था (पाखण्ड १३३), पैसा दिएर साहित्यमा पुरस्कार थाप्ने प्रचलन (पुरस्कार १३५), लेखक कलाकारको विद्रुप अवस्था (मद १८२), पुस्तक लेख्दा अर्काको सारेर लेख्ने अनि पुरस्कार हत्याउने (यस्तो पनि त छ २००), (साहित्यकार २४७) जस्ता प्रवृत्तिहरू बाटाभरि छताछुल्ल छन्। 

बाटामा विविधखाले मान्छे भेटिएका छन्। काठमाडौंको फोहोरलाई प्रतीक बनाएर मान्छेको स्वार्थी प्रवृत्ति (बिहानीको रोग) देखिएको छ। मानवताको दुब्लो उपस्थितिलाई बिम्बका माध्यमले चिन्ता (सत्य २३१) व्यक्त गर्दै गरेको मान्छे छ। आफ्नै आन्तिरिक असन्तुलित विचार वा सनकले दुख पाइरहेको मान्छेको कङ्काल छ। सोझो र इमानदारलाई दण्ड दिने प्रवृत्तिको मान्छे (सनक २३३) छ।

बाटोमा एउटा नजन्मिएको बालखको क्रन्दन कराइरहेको छ। भ्रूणमै ऊ विद्रोह गर्दैछ र भन्दै छ-अभाव, महँगी र असुरक्षामा मैले किन जन्मनु? मलाई किन जन्माउनु? (समाधि २४०), स्वार्थी मान्छेको चित्र (स्वार्थ २५५), सम्भावित प्रलयको कल्पना गर्दै त्रसित छ मान्छे। र, भन्दैछ-‘त्यसैले निम्त्याइरहेछ विश्वयुद्धको निमन्त्रणा। सिया र सुन्नि आतङ्कवाद अनि छापामार ....मण्डलग्रहमाथि बसाइँ गर्ने स्वप्नमा खन्याइरहेछ मानवकै अस्तित्व’ (हो र त्यो आउँदै छ? २६४)। अर्को मान्छे आश्चर्य मान्दै छ कि लागू पदार्थले जकडिएको तथा अभाव र काकाकुलको बिचमा छ काठमाडौं तर पनि काठमाडौं शहरलाई स्वर्ग किन भनिएको (स्वर्ग २५३) (ठुटो ९४) भन्ने कुराले चिन्ता व्यक्त गरिरहेको छ।

बल्लबल्ल ‘पृथक् बाटो’ को टन्डेली यात्राको रिङ्गलाई सकेको छु। तर बाटैको पुछारमा भेटिएका छन् ‘पृथक् बाटो’ का कल्पनाकार तथा निर्माणकर्ता लघुकथाकार मैनाली। उनी त्यो बाटोबारे मेरो अनुभूतिका जिज्ञासु छन्। अनि मैले भनेको छु, ‘पृथक् बाटो’ मा प्रयुक्त भाषा जाज्वल्यवान् छ। अनुप्रासयुक्त छ। ‘यो मन भारीका भारी। कोचाहिं आएर देलान तारी (छछ, छैन ७७) जस्ता अनुप्रासहरू बग्रेल्ती ठाउँमा छन् र तिनले बाटोलाई सुन्दर बनाएका छन्। अर्कोतिर ठेट शब्द (क्याँटका क्याँट ६०), द्वेत र सलिल भाषा छ, जसले बाटोलाई हरियाली बनाएको छ। बाटो नेपाली उखानको सौन्दर्यबाट लिपनपोतन गरिएको छ।

घाँटी हेरी हाड निल्यो, (विरोधाभाष २१९), घर ज्वाइँलाई खानैको धन्दा (व्यापार-अपार २२१)। मुखमा रामराम बगलीमा छुरा (हो यस्तै २६३) उखान मात्र होइन;द्वेत शब्दको प्रस्तुतिमा शिल्प देखिएको छ जस्तै ठ्याम्म-ठ्याम्म (क्याँटका क्याँट ६०)। थेगोको प्रयोग गर्न सक्ने क्षमता छ (चोर मनको ७५)। प्रचुर व्यंग्यको पुरिया यही बाटोमा मिसाइएको छ। ‘दल त दल भइहाल्यो, नगल्ने दाल। पकाउने गल्दछ तर त्यो गल्दैन, त्यसको ज्ञानेन्द्रिय नै छैन’ (के छ के छैन ५८)। यो वाक्यले उनको व्यंग्यात्मक शैली प्रस्टिएको छ। यसले पुष्टि गरेको छ कि मैनालीको शब्द परिचालन शक्ति बेजोड (मोह १९७), छ।

आख्यानको बाटोमा कवितात्मक शैली (आदत ३७), हास्यव्यंग्यात्मक लेखन शैली-‘यही हो चमत्कार! गर्नुस् पत्यार, नगर्नुस् बेपत्यार, सबै हो कार, मोहको चमत्कार’ (कथा चमत्कारको व्यथा बेकारको ४८), सम्वादात्मक शैली। वर्णनात्मक शैली। लघुकथा लेखनको पृथक शैली परम्परागतभन्दा फरक छ। सूत्रात्मक, संकेतात्मक र संक्षेप (खोज ६३) छ। सूत्र वाक्यमा लघुकथा लेख्छन् (अस्तित्व ३३), उपकथा भनेर कथानक बनाउने शैली छ (आखिर त ... ३४)। आत्मकथात्मक–एक्लिंदै गएको परदेशी ४६) शैली छ। त्यसैले ज्यादै पृथक र सुन्दर बनेको छ बाटो।

यसैगरी त्यही ‘पृथक बाटो’ मा महाभारतीय मिथकको प्रयोग गरेर बिम्बात्मक तथा प्रतीकात्मक पनि भएको छ। महाभारतकालीन पात्र मूरको मिथक (अमर मूर आत्मा २७), मिथक तथा बिम्बको प्रयोग गरेर वर्तमान समाजका जटिलतालाई व्यक्त गर्ने (आजका अर्जुन ३५), विश्वकर्माको मिथक कथाका आधारमा विज्ञानको न्युक्लियर बमको कुरा गर्ने (नयाँ युग ११३), परीक्षितको मिथक (प्रभाव १४४) जस्ता अनेक मिथकको बिम्बको सामग्रीले यो बाटोको निर्माण भएको छ।

लघुकथारूपी बाटो बनाउँदा ज्यादै महत्त्वपूर्ण कुरा बिज वाक्यको निर्माण हो। साधारणतया लघुकथाको समापनमा पाइने बिज वाक्य बनाउनु लघुकथाकारको लागि चुनौती नै हो। भन्न खोजेको विचार अनेक सादृश्यबाट छोप्नु गाह्रो विषय हो। तर, लघुकथाकार मैनाली ‘पृथक् बाटो’ को निर्माणमा यो विषयमा खरो उत्रेका छन् (अर्को यथार्थ २९), (चरित्र ६८) (बान्की १६८),(लौ आयो २१४)। त्यसैले त विषयवस्तुमा विविधता हालिएको छ। नयाँ प्रयोगगरिएको छ (अवलोकन ३१)।

‘पृथक् बाटो’ निर्माणमा स्वैरकल्पनाको भरपूर प्रयोग गरिएको छ। मन र मस्तिष्कलाई पात्रका रूपमा उभ्याएर मानवेत्तर पात्रका माध्यमबाट बाटो निर्माण भएको छ (उहापोह ४४)। मानव पात्रको नाम तथा परिवेश पनि कथाले मागेअनुसारको छ (कोल्टो ५९)।

यथास्थिति तथा आदर्शवादी धारको भावभूमिमा बनेको छ ‘पृथक बाटो’। ‘ती अप्सराहरू शकुन्तला जन्माउने खालका छैनन्, किनकि साधनका वरदान उनीहरूले पाइसकेको छन्। यसैगरी गान्धारी जस्तै सय पुत्र पनि जन्माउने छैनन्। युगले तिनीहरूलाई कवज पहिर्‍याइसकेका छन्’। यो भनाइले त्यही धारको पुष्टि गर्छ (पहिचान १३०)।

‘पृथक् बाटो’ को टन्डेली सकिएको छ र म फुकाफाल भएको छु। तर, दिमागभरि त्यो बाटाको धङधङी छँदैछ। अब मसँग ‘पृथक बाटो’ का निर्माता छैनन्। र, त म बिनाडर आफैंसँग भन्दैछु: यति सुन्दर लघुकथाका शीर्षक किन लामा ‘चरीको कहाँ हुन्छ र घर? (पृ. ६९)’, ‘चिन्दैछु म आफूलाई ( पृ. ७४)’, ‘बन्द गेट खुला गेट (पृ. १५७), ‘यस्तो पनि त छ (पृ२००)’, ‘यो पनि कथै हो (२०३)’ ‘हुँदो रहेछ यस्तो पनि (पृ. २५९)’, ‘हो र त्यो आउँदै छ? (पृ. २६४)?

यति राम्रो ‘पृथक् बाटो’ बनेको छ कि त्यसको समापनमा किन विस्तार गरिदिएको होला (अनिष्ट २३)? प्रभावोत्पादन गर्न नसकेका लघुकथाहरू (अभ्यास,२६)किन प्रयोग गरिएको होला? कतिपय लघुकथामा अलिकति सम्वाद किन नहालेको होला(अर्को क्रान्ति २८)? कतिपय लघुकथा किन अनावश्यक तरिकाले लम्ब्याएको होला (चरीको कहाँ हुन्छ र घर! ६९), .दोहोएिका कथाहरू)? सबै लघुकथाका शीर्षक पद वा पदावलीमा किन नराखेको होला ?सबै लघुकथाका उठानमा आकस्मिकताको उपयोग किन नगरेको होला? सबै लघुकथाको विकासमा संक्षिप्तता र तिब्रतालाई किन ख्याल नगरेको होला ?सबै लघुकथाको उत्कर्ष तथा समापन चोटिला किन नबनाएको होला ?अनुप्रास मिलाउन प्रयास गर्दा कथानक प्रस्तुतिमा खलल पुगेको जस्तो मलाई किन लागेको हो कुन्नि ?

वैचारिकतबरले हेर्ने हो भने यथास्थितिवादी तथा आदर्शवादी छन् लघुकथा। यथास्थितिमा रहेको सामाजिक विकृतिमाथि तिब्र व्यङ्ग्य छ, अग्रगमन छैन। कतिपय ठाउँमा लघुकथाकार आफ्नै मनसँग बोल्छन्। पाठकले बुझ्दैनन् (आस्था ४१)। शीर्षक तादात्म्यको अभाव (कतारा ४७) पनि त देखिएको छ। महाभारतको एउटै मिथकमा दुई लघुकथाको निर्माण(अमर मूर आत्मा तथा कमाल) किन पो गरेको होला ?सामान्य कथावस्तुमा दर्बिलो लघुकथा बन्दैन भन्ने ख्याल गरेको भए पनि हुने हो (क्षमता ६१)।

पहिरन, सोचाइ पात्रको व्यक्तिगत कुरा हो भन्न सकिएको छैन (गन्थन ६५) (परिवर्तन १२७)। महिलाले लाउने गरेको छोटो लुगाप्रति व्यंग्य (निष्कर्ष ११८) किन हालेको होला? के महिलाले छोटो लुगा लगाएकैले समाज बिग्रेको हो? किन होला त्यो बाटो विधवा तथा प्रौढ विवाहको विपक्षमा उभिएको (नयाँ बाटो ११२)? के नयाँ पुस्ताभन्दा पुराना पुस्ताले धेरै जानेको छ (शैक्षिक विसङ्गति १२०)?

भूमिकाकारले जातलाई हियाउने गोरो छाला कालो, छाला जस्ता शब्द किन हालेका होलान् भन्ने पनि लागेको छ। यसले रङ्गभेद बताउने भएकाले साहित्यलाई विश्वव्यापी बनाउने हो भने प्रयोग गरिनु हुन्न यस्ता शब्द। किनकि त्यहाँ कालो छाला वा गहुँगोरा मान्छेले पनि लघुकथाको परिभाषा दिएका छन्। तिनको पनि भूमिका छ। तिनको पनि योगदान छ। यो त मेरो निजी गन्थन न हो। मानक कुरा त होइन नि।

आ जेसुकै होस्। आखिर एउटा यात्रा न हो ‘पृथक् बाटो’। यात्रामा देखिएका रोमाञ्चक तथा विद्रुप परिवेशले सुस्ताउने मुडमा छु तर फेरि दिमागभरि त्यही ‘पृथक् बाटो’ का गल्छेंडा तथा कुइनेटाहरूले बनाएका डोबहरूमा म लगातार सम्झिरहेको छु। कुइनेटामा मात्र नभएर घुम्तीमा घुमेको छु। मैदानमा मडारिएको छु र फनफनी फन्का मारिरहेको छु। सतोसत भनिरहेको छु, सङ्गृहीत लघुकथाहरू बेजोडका छन्।

लघुकथाकार मैनाली आफैं विधाविज्ञ समालोचक हुन्। विधारञ्जक तथा विधाभञ्जक हुन सक्ने सामर्थ्य छ उनमा। बनीबनाउ लिकमा होसियारीपूर्वक हिंड्ने र नयाँ लिक बनाउन सक्ने अब्बलता छ उनमा। कथावस्तु चयन, शीर्षक चयन तथा समग्र प्रस्तुतीकरणमा उम्दा छन्। चुस्त छन्। उनको शब्द खेलाउने र शब्दभित्र विचार पस्कने सामर्थ्यको फ्यान भएको छु। मिथकको प्रयोगका दृश्यले फ्यान भएको छु। बिम्ब खेलाउने तरकिबको फ्यान भएको छु। तर पनि प्रकाशकीयमा ‘मैनालीका लघुकथामा भाषिक परिपक्वता छ तर आकस्मिक अन्त्यलाई अझै प्रभावकारी बनाउने ठाउँ तिनमा प्रशस्त रहेको छ’ भनेर भनिएको कुरामा लाहाछाप लगाउँदै जिन्दगीको अर्को दलानमा उभिएर अर्को गोरेटोको मुहान खोज्दै छु। किनकि जिन्दगीले फेरि हिंड्नु नै छ। नहिंडेका दिन त खिसा खत्तम हुन्छ नि यार! जदौ।  

प्रकाशित: १४ मंसिर २०७९ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App